कारागार सुरक्षित बनाऊ

कारागार सुरक्षित बनाऊ
सुन्नुहोस्

कैलाली जिल्ला कारागारमा हालै भएको घटना केवल दुई समूहबीचको झडपमात्र होइन, नेपालको कारागार प्रणालीको गहिरो संकटको संकेत हो । ‘ए’ ब्लकका कैदीहरूले पर्खाल भत्काएर ‘बी’ ब्लकमा अन्धाधुन्ध आक्रमण गर्दा एक जनाको ज्यान गयो, ४८ जना घाइते भए, जसमा केहीको अवस्था अझै गम्भीर छ । १ सय ५० जनाको क्षमता भएको कारागारमा ६ सय ९५ कैदीबन्दी राखिएको तथ्य आफैंमा सुरक्षा 
चुनौतीको पहिलो संकेत हो ।

यो दुर्घटना अचानक घटेको थिएन । लामो समयदेखि कारागारभित्र गुटगत राजनीति र हैकम चल्दै आएको थियो । नवीन रावल समूह र जयन्द्र शाह समूहबीचको पुरानो आपराधिक द्वन्द्व जेलभित्र पनि निरन्तर चल्दै आएको छ । प्रशासनिक नेतृत्वमा निरन्तर हेरफेर, प्रमुख पदाधिकारीहरूको अनुपस्थिति, र कमजोर निगरानीले हिंसालाई अझै बढावा दिएको छ ।

कारागार, जसको मुख्य उद्देश्य कैदीलाई सुरक्षित राख्नु र सुधारको मार्गमा लैजानु हो, अहिले अपराधको अखडामा परिणत भएको छ । गुटगत द्वन्द्व, अवैध आर्थिक चलखेल तथा कारागारभित्रैबाट बाहिरसम्म आपराधिक गतिविधि सञ्चालन हुनु, यी सबैले देखाउँछ, हाम्रो कारागार प्रणाली संरचनागत र नीतिगत दुवै दृष्टिले कमजोर छ ।

कैलालीको घटना कारागार प्रशासनको आन्तरिक समन्वय र सुरक्षा व्यवस्थामा गम्भीर त्रुटि भएको प्रमाण हो । हिंसात्मक घटना हुनुअघि नै विभिन्न समूहबीच तनाव रहेको जानकारी भए पनि, पर्याप्त सुरक्षा तयारी र निगरानीको अभाव देखियो । दुवै पक्षलाई छलफलमा बसालेर झमेला नगर्ने सहमति गरिए पनि, त्यो केवल कागजी प्रतिबद्धतामात्र रह्यो ।

देशभरका कारागारको अवस्था दयनीय छ । सुधारात्मक न्यायप्रणाली अवलम्बन गर्दै कारगारलाई खाली गराउने नीति हुनुपर्नेमा झन् थप भइरहेको छ । कारागारलाई सुरक्षित बनाउन क्षमताभन्दा चार गुणा बढी कैदी राख्ने प्रथा तुरुन्त अन्त्य गर्नुपर्छ । आवश्यक भौतिक संरचना र सुरक्षाकर्मीको संख्या बढाउन बजेट र नीतिगत प्राथमिकता दिनुपर्छ । मानवअधिकारलाई आत्मसाथ गर्नेतर्फ सरकारी नीति हुनुपर्छ ।

जेल नै आपराधिक अखडा हुनु निकै विडम्बना हो । जसलाई सुरक्षा संयन्त्रले नै मलजल गरिरहेको छ । कारागारभित्र आपराधिक नेटवर्क तोड्न कडा निगरानी, आकस्मिक तलासी र अत्याधुनिक सुरक्षा प्रविधिजस्तै सीसीटीभी क्यामेरा, मेटल डिटेक्टर र मोबाइल जामरको प्रयोग अनिवार्य गर्नुपर्छ । कारागार प्रमुख र प्रशासनिक संरचनामा स्थिर नेतृत्व र जिम्मेवारीको स्पष्टता गरिनुपर्छ । यी सबै दायित्व सरकारको हो ।

कैदीहरूलाई सुधारतर्फ केन्द्रित गर्दै हिंसात्मक प्रवृत्ति घटाउन मनोवैज्ञानिक परामर्श, व्यावसायिक तालिम र सामाजिक पुनस्र्थापनाका कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्नुपर्छ । यस्ता घटनाहरूको घटनाको निष्पक्ष र छिटो छानबिन गरी दोषीहरूलाई कारबाही गर्ने प्रणालीलाई मजबुत बनाउनुपर्छ । तबमात्रै कारगार सुरक्षित रहन सक्छन् । 

कैलालीको घटना केवल एक कारागारको समस्या होइन, यो सम्पूर्ण कारागार प्रणालीमा रहेको गहिरो रोगको लक्षण हो । तत्काल सुधारात्मक कदम चालिएन भने, जेलहरू सुधारगृह होइन, अपराधको कारखाना बन्नेछन्, जसको असर सम्पूर्ण समाजमा फैलिनेछ । राज्यले अब ढिलो नगरी कारागार सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गर्नैपर्छ । कारागार न्याय र सुधारको थलो हो, हिंसा र अपराधको केन्द्र होइन भन्नेतर्फ सरकारले ध्यान दिनुपर्छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.