अग्रमत

हामी हिँड्ने बाटो

हामी हिँड्ने बाटो

समाजवाद भनेको मेरो बुझाइमा जनताको दैनिकीमा प्रत्यक्ष असर गर्ने, समानता र न्याय सुनिश्चित गर्ने आर्थिक तथा सामाजिक प्रणाली हो ।

गएको असार महिनामा मैले ‘समृद्ध नेपाल, सुखी नेपाली’सम्म पुग्नका लागि आवश्यक एउटा अनिवार्य खुड्किलो, जसलाई मैले ‘परिपूर्ण लोकतन्त्र’ अर्थात् ‘कम्प्रिहेन्सिभ डेमोक्रेसी’ भनेको छु, त्यसको बारेमा चर्चा गरेको थिएँ । मैले त्यस लेखमा ‘परिपूर्ण लोकतन्त्र’ वास्तवमा के हो ? के यो एउटा राजनीतिक दर्शन हो कि शासनको वैकल्पिक प्रणाली पनि ? नीतिगत खाका हो कि विकासको मोडेल पनि ? वा सबै हो ? भन्ने प्रश्नहरूको पृष्ठभूमिमा लोकतन्त्रको ‘स्पिरिट’, सामाजिक संरचना, राज्यदृष्टिकोण र दायित्वका बारेमा चर्चा गरेको थिएँ ।

२०७४ सालमा म दोस्रो पटक प्रधानमन्त्री भएँ । त्यतिबेलादेखि नै सरकारको नेतृत्व गर्दा देश विकासको कार्यसूची सुशासन, विकास र समृद्धिलाई बनाएको छु । विकाससम्बन्धी राज्यका नीतिहरू लोककल्याणकारी राज्यको अवधारणामा तय गरेको छु । त्यतिबेला नेपालको दीर्घकालीन राष्ट्रिय सोच कस्तो हुनुपर्छ भनेर ‘नेपालको दीर्घकालीन सोच २१००’ सार्वजनिक गरेको थिएँ । त्यही सो भित्र मैले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई देशको दीर्घकालीन लक्ष्यकोे रूपमा स्थापित गरें । एउटा यथार्थपरक, चरणगत र सूचक–नियन्त्रित नीति संरचना तयार पारें । जसमा स्पष्ट लक्ष्यहरू, तिनका प्राप्तिका चरणहरू र मूल्यांकनका मापन सूचकहरू निर्धारण गरिएका थिए । मैले नेतृत्व सम्हालेको सरकारले जुन दृष्टिकोण स्थापित गर्‍यो, त्यो दृष्टिकोणलाई सिंगो राष्ट्रको साझा आकांक्षाको रूपमा स्वीकार गरिएको छ । मलाई यसमा खुसी लागेको छ । 

म आजको यो लेखमा ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सोचभित्रको सोच के हो ? भन्ने बारेमा संक्षिप्त रूपमा चर्चा गर्छु । तर त्यसअघि समृद्धि र सुखका सम्बन्धमा मेरो आफ्नो व्यक्तिगत बुझाइलार्ई फेरि एकपटक दोहोर्‍याउन चाहन्छु । 

मेरो बुझाइमा, जब जैविक र मानवीय न्यायोचित आवश्यकताहरू सहज रूपमा उपलब्ध हुन्छन्, त्यो अवस्थालाई हामी समृद्धि भन्छौं । यो तबमात्र सम्भव हुन्छ, जब हामी प्राकृतिक र मानव स्रोतहरूको अधिकतम सदुपयोग गरेर निर्माण, उत्पादन र विकासलाई अगाडि बढाउँछौं । यसरी प्राप्त समृद्धिमा सुरक्षा, न्याय, समानता, हक–अधिकार, अवसर र सम्मान जोडिएपछि मात्र मानव जातिले सुख प्राप्त गर्छ । 

हामी पार्टी र सरकारको नेतृत्वमा बस्नेहरूले सोच्न्नुपर्ने प्रश्न नै यही हो– जैविक र मानवीय न्यायोचित आवश्यकताहरूको सहज उपलब्धता कसरी 
गराउने ? प्राकृतिक र मानव स्रोतहरूको अधिकतम सदुपयोग कसरी गर्ने ? र, निर्माण, उत्पादन र विकासलाई कसरी अगाडि बढाउने ? त्यतिमात्र होइन, हरेक नागरिकलाई म सुरक्षित छु भन्ने अनुभूति कसरी दिलाउने ? न्याय, समानता, हक–अधिकार, अवसर र सम्मानको प्रत्याभूति कसरी गराउने ? यस्ता प्रश्नहरूको समाधान दिने संरचना कसरी तयार गर्ने ? 

  • यो देशले कहिल्यै ठूलो सपना नै देख्न पाएको थिएन। देशको सपना, एक हिसाबले भन्ने हो भने ओइलाएको थियो, किनकि यो थिचिएको थियो, दबिएको थियो।
  • १५औं पञ्चवर्षीय योजनामा सुख र समृद्धि भनेको के हो ? यसका दीर्घकालीन राष्ट्रिय लक्ष्यहरू के के हुन् ? ती लक्ष्य कसरी प्राप्त गर्ने ? लक्ष्य प्राप्त भएको वा नभएको मापन कसरी गर्ने ? भन्ने जस्ता विषयमा हामीले केस्राकेस्रा केलाएर नीति बनायौं।
  • कुनै राष्ट्रको वास्तविक प्रगति केवल आर्थिक तथ्यांक वा जीडीपीको वृद्घिबाट मात्र मापन हुँदैन। यसको साँचो मूल्यांकन जनताको जीवनस्तरबाट हुन्छ।

मेरो विचारमा, २०७६ सालमा हामीले ल्याएको १५औं पञ्चवर्षीय योजना यसको पानीढलो हो । जसले माथिका उल्लेखित प्रश्नहरूमा गम्भीर ढंगले सोचेको छ । यस योजनाको मुख्य उद्देश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा आकांक्षाको जग बसाल्नु थियो । भन्नुको अर्थ, मैले माथि उल्लेख गरेका प्रश्नहरूको उत्तर खोज्नु थियो । म अहिले पनि सम्झन्छु, मैले त्यतिबेला राष्ट्रिय योजना आयोग, अर्थलगायत अन्य मन्त्रालयमा काम गर्ने साथीहरूलाई राति राति बोलाएर ‘सुख र समृद्धि’का सम्बन्धमा मेरो आफ्नो दृष्टिकोण पस्किएको, यस्ता प्रश्नहरूमा घण्टौं मन्थन गरेको । परिणामस्वरूप १५औं पञ्चवर्षीय योजनामा सुख र समृद्धि भनेको के हो ? यसका दीर्घकालीन राष्ट्रिय लक्ष्यहरू के के हुन् ? ती लक्ष्य कसरी प्राप्त गर्ने ? लक्ष्य प्राप्त भएको वा नभएको मापन कसरी गर्ने ? भन्ने जस्ता विषयमा हामीले केस्राकेस्रा केलाएर नीति बनायौं । केस्रा–केस्रा केलाएर नीति बनाउनु जरुरी थियो । किन ? तल अब यसको व्याख्या गर्छु ।

प्राय : भन्ने गरेको छु— यो देशले कहिल्यै ठूलो सपना नै देख्न पाएको थिएन । देशको सपना, एक हिसाबले भन्ने हो भने, ओइलाएकोे थियो, किनकि यो थिचिएको थियो, दबिएको थियो ।

हुन त पहिले पनि सपना नभएका होइनन्, तर ती सपना प्राय : व्यक्तिका, निजी स्वार्थका, शासकीय महŒवाकांक्षाका, पद र शक्तिको रक्षाका मात्र हुन्थे । शासक वर्गका सपना प्राय : आफ्नै लागि वा आफ्ना वंशका लागि सीमित हुन्थे । ती संकीर्ण स्वार्थहरूको वरिपरि मात्र घुम्थे । ती सपना कहिले श्री ३ का हुन्थे, त कहिले श्री ५ का । जनताको पीडा, जनताको आकांक्षा, जनताको आवश्यकता, चाहना र भविष्य ती स्वार्थमा कतै अट्दैनथे, कतै भेटिँदैनथे । देखाइएका सपना पनि अमूर्त हुन्थे ।

शासित र शोषित जनताले सुन्दर जीवनका सपना देख्ने अवसर नै पाउँदैनथे । तिनलाई जीवनका होइन, मृत्युपछि मात्र प्राप्त हुने मोक्ष र मुक्तिका सपना देखाइन्थे । यस जीवनका होइन, अर्को जीवनका सुखका लोभ देखाइन्थे; इहलोकका होइन, परलोकका सपना सुनाइन्थे । यथार्थ जिन्दगीका होइन, कथाका सपना देखाइन्थे ।

नेतृत्वको सपना खासमा के हो भन्ने कुरा जनताले कहिल्यै बुझ्दैनथे । यही पृष्ठभूमिमा, यही लोकमा सुख प्राप्तिका सपना, वर्तमानमा र भविष्यका सन्तानका लागि मानवोचित जीवनका सपना अर्थात् यथार्थ सपना देखाउनु जरुरी थियो । जनतालाई खाली सपना देखाउनु मात्र होइन, ती सपना कसरी प्राप्त हुन्छन् ? कुन सपना कहिलेसम्म पूरा  हुन्छ ? र सपना पूरा हुँदा के कुरा प्राप्त हुन्छ भन्ने कुरा पनि बताउनु जरुरी थियो । त्यसैले हामीले १५औं योजनामा ‘समृद्धि र सुख’ प्राप्तिका लक्ष्यहरूलाई चरणबद्ध रूपमा विभाजन गर्‍यौं र तिनका सूचकहरू तयार पार्‍यौं । 

त्यसको बारेमा म अर्को लेखमा चर्चा गर्नेछु । ‘नेपालको दीर्घकालीन सोच २१००’ मा हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भनेको के हो भनेर परिभाषित गर्‍यौं । जहाँ हामीले भनेका थियौं— ‘समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको सघन अन्तरआबद्धता तथा उच्च उत्पादकत्व भएको, समान अवसर प्राप्त, स्वस्थ, शिक्षित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक ।’ अब म यस सोचभित्र राखिएका ६ वटा मुख्य सोचको एक–एक गरी व्याख्या गर्छु ।


१ . समुन्नत अर्थतन्त्र  : हरेक घरमा आयको स्रोत

मेरो बुझाइमा ‘समुन्नत अर्थतन्त्र’ आफैंमा एउटा आर्थिक संरचना हो, जसले नागरिकलाई काम गर्ने अवसर, स्थिर आयको स्रोत, र दैनिक जीवनका आवश्यकता स्वयं पूरा गर्न सक्ने क्षमता प्रदान गर्छ । यसको लागि अहिलेको वर्तमान संरचनामा आमूल परिवर्तन नगरी हुँदैन ।

नेपालको लगभग ६० प्रतिशत जनसंख्या अझै पनि कृषिमा संलग्न छ । यसलाई परिवर्तन गर्नु जरुरी छ । तर परिवर्तन जबरजस्तीले होइन, आफैं परिस्थिति बदलिने वातावरण सिर्जना गरेर गर्नुपर्छ । जब किसानले सेवा, व्यापार वा उद्योगमा संलग्न हुँदा बढी आम्दानी गर्न थाल्छन्, तब उनीहरू स्वत : नै परम्परागत उत्पादन–केन्द्रित कृषिबाट सेवा र उद्योग–केन्द्रित गतिविधितर्फ सर्नेछन् ।

यसका लागि कृषिलाई आधुनिक (मोडर्नाइज्ड) र यान्त्रिकीकरण (मेकनाइज्ड) गरिएको बनाउन जरुरी छ । यसको लागि हामीले चार वटा काम गर्नुपर्छ । 

  • सिँचाइको सुविधा पुर्‍याउने, मल र बिउको गुणस्तर सुधार्ने ।
  • आधुनिक उपकरण र प्रविधि भित्र्याउने ।
  • उत्पादनलाई बजारसम्म पुर्‍याउने आपूर्ति शृंखलाको विकास गर्ने ।
  • प्रशोधन उद्योगहरूको स्थापना गर्ने ।

यति काम मात्र गर्न सके पनि कृषिमा ठूलो फड्को मार्न सकिन्छ ।

जब कृषिबाट प्राप्त आम्दानी स्थिर र उच्च हुन्छ, त्यसको आधारमा ग्रामीण जनसंख्याको केही हिस्सा सेवा, व्यापार र उद्योगमा स्वाभाविक रूपान्तरण हुन्छ । यसरी कृषिमा आधारित अर्थतन्त्र क्रमश : विविधीकृत हुँदै सन्तुलित र उत्पादनशील अर्थतन्त्रमा परिणत हुन्छ ।

यसरी कृषि निर्वाहमुखीबाट व्यावसायिक र आम्दानीमुखी बन्छ । त्यसैगरी अन्य उत्पादनहरू पनि प्रविधिको सहायताले आधुनिक र नाफा दिने बन्छन् ।
पर्यटनलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्छ, जसले स्थानीय स्रोतसाधनको प्रयोग बढाउँछ र साना व्यवसाय, होमस्टे र हस्तकलाजस्ता क्षेत्रमा आर्थिक गति ल्याउँछ । यसले युवाहरूलाई गाउँमै बसेर आय आर्जन गर्न सक्ने बनाउँछ ।

२. स्वाधीनता  : राजनीतिक मात्र होइन, आर्थिक पनि
हामी बिहान उठेदेखि बेलुकी नसुतेसम्म आयातीत सामग्री प्रयोग गरिरहेका छौँ । सामान्यभन्दा सामान्य कुरामा पनि हामी आत्मनिर्भर छैनौँ । यस्तो स्तरको निर्भरता दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन्छ, किनकि आर्थिक स्वाधीनता बिना राजनीतिक स्वाधीनता अधुरो हुन्छ ।

कम्तीमा बिहान उठ्नेबित्तिकै प्रयोग गर्ने दन्तमञ्जन, ब्रस र साबुनजस्ता सामान नेपाली उत्पादन नै प्रयोग गर्न पाइयोस् । हाम्रोजस्तो उर्वर प्रकृति भएको देशमा पहिलो खानेकुरा नेपाली माटोमा उब्जिएको नै मुखमा परोस् । दिनभरको निर्वाह र सुत्नुअघि प्रयोग गर्ने सामान पनि नेपाली होस् । मेरो विचारमा, जब हामीले आफूलाई आवश्यक वस्तुहरू आफ्नै माटो, श्रम र सीपबाट उत्पादन गर्न थाल्छौं, तबमात्र हामीले वास्तविक स्वाधीनता प्राप्त गर्छौँ । 
यसका लागि चार कुरा तत्कालै गर्नु आवश्यक छ ।

क.    ऊर्जामा आत्मनिर्भरता – जलविद्युत्, सौर्य, हावा र अन्य नवीकरणीय स्रोतको अधिकतम उपयोग गरेर ऊर्जा उत्पादनमा पूर्ण आत्मनिर्भर बन्नुपर्छ ।
ख.    कृषि सशक्तीकरण – आधुनिकीकरण, यान्त्रिकीकरण र उत्पादन वृद्धिमार्फत खाद्यान्न तथा कच्चा पदार्थमा आत्मनिर्भर हुनुपर्छ ।
ग.    घरेलु उद्योगको प्रवर्द्धन – आयातित वस्तुहरूको स्थानमा स्वदेशी उत्पादन प्रतिस्पर्धी बनाउन प्राविधिक सहयोग, लगानी प्रोत्साहन र बजार विस्तार गर्नुपर्छ ।
घ.    वैदेशिक व्यापारमा समान साझेदारी – निर्यातलाई बढाउँदै, आयातसँग सन्तुलन कायम गर्ने र व्यापार सम्झौताहरू नेपालको दीर्घकालीन हितअनुसार गर्नुपर्छ ।

null

३. समाजवाद उन्मुख अर्थतन्त्र  : समानता र न्यायको आधार
‘समाजवाद’ भन्ने शब्द आजकल प्राय : कोरा दर्शन वा सिद्धान्तजस्तो मात्र सुनिन थालेको छ । तर मेरो बुझाइमा, समाजवाद भनेको जनताको दैनिकीमा प्रत्यक्ष असर गर्ने, समानता र न्याय सुनिश्चित गर्ने आर्थिक र सामाजिक प्रणाली हो । अर्को अर्थमा, समाजवाद भनेको समावेशी नीति र समान अवसरको संयोजन पनि हो । यसको लक्ष्य केवल आर्थिक वृद्धिदर बढाउनु मात्र होइन, त्यो वृद्धिको लाभ हरेक नागरिकले समान रूपमा अनुभव गर्ने वातावरण सिर्जना गर्नु हो । कसैलाई अवसरको अभाव नहोस् र कसैकोमा आवश्यकताभन्दा बढी सुविधा मात्र केन्द्रित नहोस् ।

त्यसैले चार कुरामा तत्कालै ध्यान दिनु जरुरी छ ।
क.    स्वास्थ्यमा समान पहुँच – अस्पतालको ढोका धनी र गरिब दुवैका लागि समान रूपमा खुला होस् । उपचारको गुणस्तरमा आर्थिक हैसियतका आधारमा भेदभाव नहोस् ।
ख.    शिक्षामा समान अवसर – धनी वा गरिब सबै बच्चाले समान गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् ।
ग.    कर प्रणालीमा न्याय – धेरै आम्दानी गर्नेहरूले बढी कर तिरून् र संकलित स्रोत कमजोर वर्गको आधारभूत सेवा र विकासमा प्रयोग होस् ।
घ.    कृषि र श्रमको सम्मान – किसानलाई आवश्यक अनुदान र प्रविधिको सुविधा होस्, श्रमिकको सीपको उचित मूल्य र सुरक्षित कार्य वातावरण सुनिश्चित होस् ।

४. सघन अन्तरआबद्धता  : आत्मसम्मानसहितको विश्वसँग सम्बन्ध
विकासको यात्रामा नेपाल एक्लै हिँड्न सम्भव छैन । हामीले संसारसँग सहकार्य गर्नै पर्छ, तर सहकार्य आत्मसम्मानसहित हुनुपर्छ ।
म चाहन्छु—

  •  नेपाली उत्पादनले सहज रूपमा अन्तर्राष्ट्रिय बजार पाओस् ।
  •  नेपाली ज्ञान, सीप र प्रविधि विश्वसँग प्रतिस्पर्धा गरोस् ।
  • हाम्रा श्रमिकहरू विदेशमा शोषण नभई सम्मान पाऊन् ।

नेपाल बन्द भएर बस्दैन । तर संसारसँगको सम्बन्ध हाम्रो हितमा हुनुपर्छ र हाम्रो सहभागिता न्यायोचित हुनुपर्छ ।

५. उच्च उत्पादकत्व  : कम स्रोतबाट धेरै मूल्य सिर्जना
एउटा किसानसँग १० रोपनी खेत छ । परम्परागत तरिकाले जोतेर उनले एक सिजनमा ६० बोरा धान फलाउँछन् । तर यदि उनले आधुनिक प्रविधि र यान्त्रिकीकरण अपनाए, उच्च गुणस्तरको बिउ, मल व्यवस्थापन, सिँचाइ, र कुशल कृषि योजना प्रयोग गरे, त्यही खेतबाट एक सिजनमा कम्तीमा दुई सय बोरा धान फलाउन सक्छन् । यही हो उच्च उत्पादकत्व ।यसका लागि हामीले तत्काल चार वटा कुरामा ध्यान दिनुपर्छ ।
क.    कृषि यान्त्रिकीकरण – नश्ल सुधार, उन्नत जातको बिउ, आधुनिक उपकरण, ट्र्याक्टर, थ्रेसर, आधुनिक तरिकाले मल÷औषधि छर्ने प्रविधि, र सिँचाइ प्रणालीको उपलब्धता तथा सुधार ।
ख.    उद्योगको स्वचालन (अटोमेसन) – उत्पादन प्रक्रियामा मेसिन र प्रविधिको प्रयोग गरेर समय, श्रम र लागत घटाउने, र गुणस्तर बढाउने ।
ग.    श्रमशक्तिको सीप अभिवृद्धि – सीप तालिम, प्राविधिक शिक्षा र दक्ष जनशक्ति विकास, जसले कामको गुणस्तर र गति दुवै बढाउँछ ।
घ.    प्रविधिको प्रयोग – सूचना प्रविधि, डिजिटल प्रणाली, अनुसन्धान र नवप्रवर्तनको (इनोभेसन) प्रयोग ।

६. समान अवसर प्राप्त, सभ्य, सुसंस्कृत, शिक्षित, स्वस्थ र उच्च जीवनस्तर भएका नागरिक

कुनै राष्ट्रको वास्तविक प्रगति केवल आर्थिक तथ्यांक वा जीडीपीको वृद्धिबाट मात्र मापन हुँदैन । यसको साँचो मूल्यांकन जनताको जीवनस्तरबाट हुन्छ । नागरिकहरू कत्तिको सुरक्षित, शिक्षित, स्वस्थ र अवसरयुक्त जीवन बिताइरहेका छन् भन्ने कुराले नै कुनै पनि राष्ट्रको वास्तविक अवस्था बताउँछ । यसबाहेक, त्यहाँका नागरिक कत्तिको सभ्य र सुसंस्कृत छन् भन्ने कुराले पनि राष्ट्रको स्तर निर्धारण गर्छ । समाजमा शान्ति र सुव्यवस्था केवल कानुन र यसको कार्यान्वयनबाट होइन, मानवीय चेतना, उत्तम व्यवहार र मानवतावादी आचरणबाट कायम हुनुपर्छ ।

‘समृद्धि’ हासिल हुँदैमा, प्रतिव्यक्ति आय बढ्दैमा अथवा देशको जीडीपी बढ्दैमा मात्र सिंगो देशको गरिबी हट्दैन । यदि समृद्धि र खुसीको समुचित वितरण भएन भने समाजको एक हिस्सा जहाँको त्यहीँ रहन्छ भन्ने कुरा हामीले विभिन्न देशका उदाहरणबाट देखिसकेका छौं । यो न्याय होइन ।

जस्तो, यो देशमा शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरू पनि छन् । अरूजस्तै उनीहरू पनि यस देशका सन्तान हुन् । उनीहरूले आफ्नो अवस्थाअनुसार सुरक्षित, स्वतन्त्र र देशका सम्मानित नागरिक भएर सकेसम्म सहज जीवन बाँच्न पाउनुपर्छ । उनीहरूले आफ्नो विधा, रुचि र क्षमताअनुसार प्रगति गर्न सक्नुपर्छ । प्रतिस्पर्धामा सबैले जित्छन् भन्ने हुँदैन । कोही अगाडि पर्छन्, कोही पछाडि पर्छन् तर दौडने अवसर भने सबैले पाउनुपर्छ । दौडन सक्ने क्षमता सबैमा विकास गर्नुपर्छ ।

समाजको प्रबन्ध यस्तो हुनु हुँदैन जसले निष्ठुर र निर्दयी भएर एउटा मानिसलाई भोकै तड्पाएर भिखमग्गा बनाउँछ । फेरि अर्कोतिर टोकरीमा सुकामोहर राखेर दया पनि देखाई रहन्छ ।

त्यसैले मैले सधैं भन्दै आएको छु—सबै नागरिकले अपराध, विभेद र अन्यायबाट मुक्त भएर गरिमासहित बाँच्न पाउनुपर्छ । उनीहरूले आफ्नो क्षमता विकास गर्न र सपना पूरा गर्न पर्याप्त अवसर पाउनुपर्छ । जुन राष्ट्रका नागरिकले आफ्नो जीवनमा सुरक्षा, सम्भावना र आत्मसम्मान महसुस गर्छन्, त्यही राष्ट्र साँच्चिकै समृद्ध र सफल हुन्छ । हामी हिँड्ने बाटो यही हो । 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.