बिपिन जोशी : केही वर्षबाट बनेको अधुरो तिहार, खल्लो तीज र पुष्पाको अनन्त प्रतीक्षा

बिपिन जोशी : केही वर्षबाट बनेको अधुरो तिहार, खल्लो तीज र पुष्पाको अनन्त प्रतीक्षा

तेल अभिव : संसारमा सबैभन्दा न्यानो सम्बन्धमध्ये एक हो दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता। यही आत्मीयतालाई अझै बलियो पार्ने पर्व हुन तीज र तिहार। तर, कहिलेकाहीँ भाग्यले यस्तो खेल खेल्छ कि पर्वको अर्थ नै पीडामा परिणत हुन्छ।

आज इजरायलमा बस्ने नेपाली समुदाय, नेपालमा रहेको एक परिवार र विशेषगरी एउटी बहिनी यही पीडामा बाँधिएकी छन्। यो कथा हो बिपिन जोशीको।

२०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आतङ्ककारी आक्रमण संसारकै लागि कालो दिन थियो। हजारौं मानिस मारिए, सयौं अपहरण भए। त्यही दिन इजरायलमा अध्ययन र श्रमको यात्रामा रहेका २२ वर्षीय नेपाली युवा, बिपिन जोशी पनि आतङ्ककारीको कब्जामा परे। १० जना नेपालीले त ज्यान नै गुमाए। केही घाइते शरीर र सयौं मनोवैज्ञानिक पीडा बोकेर देश फर्किए। 

दिन बित्दै गए, महिना बित्दै गए। तर, बिपिन अझै फर्किएनन्। आज झण्डै दुई वर्ष भइसकेको छ, उनी अझै हमासको कैदमा छन्। यसबीचमा दर्जनौं अन्तर्राष्ट्रिय पहल भए, कैयौं देशका नागरिकहरू फर्काइए। तर, दुर्भाग्य, बिपिन अझै फर्किन सकेका छैनन्, फर्काउन सकिएको छैन।

बिपिनकी बहिनी, पुष्पा जोशी। दाजुसँग बिताएका बाल्यकालका सम्झना, घरको न्यानो वातावरण, दाजुको साथमा रमाएको पल, यी सबै अहिले उनको लागि स्मृतिको खजानामात्र बनेका छन्। तीज आउँदा चेलीको मन माइती खोज्छ। सजिन, गाउन, रमाउन मन लाग्छ। तर, यस वर्ष पुष्पाका लागि तीज आँसुको महासागर बनेर आयो। माइतीबाट सजिनुपर्ने हात खाली रहे, रमाउनुपर्ने हृदय चिरियो, चिच्याउँदै कराउँदै माइती खोज्नुपरेको पीडा कति होला।

null

यतिबेला इजरायलमा रहेका चेलीहरूको तीज पनि खल्लो रह्यो। रमाइलो गर्ने, गीत गाउँदै माइती सम्झने त्यो पर्वमा सबैले चेली पुष्पा र उनको आमाको पीडा प्रत्यक्ष देखे/भोगे। कसरी रमाउन सक्थे, कसरी सम्हालिन सक्थे, जब उनकै आँखाबाट संसारका अगाडि आँसु बगिरहेको छ।

अब झन् तिहार नजिकिँदैछ। नेपाली संस्कृतिमा दिदीबहिनीका लागि तिहार केवल चाड होइन, जीवनकै एउटा ठूलो प्रतीक हो। टीका लगाउने संस्कार, ओखर फोड्ने परम्परा, मिठाई बाँड्ने खुसी यी सबै दाजुभाइको अस्तित्वसँग गाँसिएका छन्। हिन्दू संस्कारअनुसार तिहारमा चेलीले माइतीको रक्षाका लागि तेलको धाराले छेकेर यमराज (दुश्मन)बाट छेक्ने चलन छ भन्ने धार्मिक आस्था छ। दिदीबहिनीको आँसु, मायाले भरिएको टीका र हातमा बाँधिएको रक्षा सूत्रले दाजुभाइलाई अमर आशीर्वाद दिने विश्वास गरिन्छ। तर, आज यी चेलीको पीडा सुन्दा, देख्दा भगवान पनि देब्रे भएजस्तो लाग्छ।

घर-आँगनको धुलोमा खेल्दै हुर्किएका यी दाजु-बहिनी! अहिले त्यही घर आँगन र तीज, तिहार र यस्ता पर्वहरूमा दाजुको अभावले झन् कति पोल्छ होला। मन त घरको आँगनमा रमाउँदै दाजुसँग चाहन्छ, तर दूरी र परिस्थितिले उनको रहर अधुरो बनाइदिएको छ। उनीहरूको सम्बन्ध केवल रगतको मात्र होइन, आत्माको नाता हो। त्यो नातालाई सम्झँदा, टाढा हुँदा, पुष्पाको आँखाबाट बग्ने नुनिलो आँशुले नै वास्तविक पीडा बोकेको छ।

तर, पुष्पाको मनमा एउटा मात्र प्रश्न छ, 'कहिले म आफ्नो दाजुको निधारमा टीका लगाउन पाउँछु?' ओखर हातमा भएको वर्षौं बित्यो, तर दाजु बिना फुट्दैन। टीका मनमा छ, तर निधार बिना लाग्दैन। दुई वर्षदेखि यो संस्कार उनको जीवनमा अधुरो छ। आखिर कहिलेसम्म?

आमा-बाबुका लागि छोराको अनुपस्थिति सबैभन्दा ठूलो पीडा हो। झण्डै दुई वर्षदेखि छोराको खबर पर्खिरहेका बहिनी पुष्पा र आमा इजरायल आइपुगेका छन्। तर, दाइको मुख देख्न होइन, बरु संसारलाई दाइको मुक्ति माग्न। उनको आमाको आँखा देख्दामात्रै बुझिन्छ, यो पीडा शब्दभन्दा ठूलो छ। जुन जति कलमले लेखे कोरे र बोले पनि कम्ती हुन्छ।

null

इजरायलमा रहेका नेपाली समुदाय आज एकढिक्का भएर पुष्पा र आमासँग उभिएका छन्। नेपालीहरूका लागि यो केवल उनीहरूको व्यक्तिगत पीडामात्र होइन, सम्पूर्ण नेपालीको सामूहिक घाउ हो। हामी सबै आवाज उठाउन तयार छौं, सडकमा निस्कन तयार छौं, अन्तर्राष्ट्रिय समाजसँग माग गर्न तयार छौं। जुन सबैले आ-आफ्नो ठाउँबाट गरिरहेका छन्।

मानवअधिकार, न्याय र शान्तिको कुरा गर्ने संसारले अझै पनि बिपिनलाई फर्काउन सकेको छैन। यो विडम्बना हो। जब अरू देशका नागरिक बन्धनबाट मुक्त हुन्छन्, तब प्रश्न उब्जन्छ किन अझै बिपिन फर्किएनन्? के एउटा नेपाली युवाको जीवन सस्तो हो? अथवा भाषा, सानो देश अनि राजनीतिले गाँजिएको हाम्रो देशको अवस्थाले आवाज पुग्न नसकेको हो? प्रश्नै-प्रश्न, जिज्ञासा र पीडा हरेक नेपालीहरूको मनमा मडारिरहेको छ।

नेपाली परम्परामा भाइ-बहिनीको सम्बन्ध केवल रक्तसम्बन्ध होइन, आत्माको सम्बन्ध हो। दाजु भनेको चेलीको ढाल हो। बहिनी भनेको दाजुको प्रेरणा हो। तिहारमा टीका लगाउने संस्कारले यही सम्बन्धलाई चिरस्थायी बनाएको छ। तर, जब एउटी बहिनी दुई वर्षदेखि आफ्नो दाजुको प्रतीक्षामा छिन्, त्यो पीडा सम्पूर्ण संस्कृति र नेपाली समुदायको पीडा हो। बहिनी पुष्पाले इजरायलमा भएको आन्दोलन र अभियानहरूमा बोलेका शब्दहरूले पनि महसुस गर्न सकिन्छ, दाजु-बहिनीको सम्बन्ध माया ममता।

अघिल्ला पर्वहरू र यस वर्षको तीज पुष्पाका लागि खल्लो भयो। रमाउनुपर्ने उनी माइतीको सम्झनामा आँसु झारिरहेकी छन्। अब आउने तिहार अधुरो नरहोस्, हामी कामना गर्छौं, गरिरहनेछौं। आशा बाँकी छ, हाम्रो हामी आत्तिएका छौं, हार मानेका छैनौं।

एउटा चेलीले यो प्रवासी भूमिमा आएर नेपाली, अंग्रेजीलगायत आफूले जानेको सुनेको भाषामा सकिनसकी हजारौंको भिडमा आफ्नो दाजुको रिहाइका लागि गरेको याचना कति पीडादायी होला? लेख्नै हात काम्छ, यो परिवार र चेलीमा परेको पीडा सम्झिँदा मात्रै पनि। त्यो याचनामा बोलेका र कयौं लुकाएका शब्दहरू महसुस गर्दा हरेक नेपालीको मुटु चिरिन्छ। यहाँ चेलीको स्वरमा दाजुको खोजी मात्र छैन, सम्पूर्ण नेपाली युवाको भविष्य, आमाबाबुको आँसु र देशकै पीडा गुन्जिरहेको छ।

हामी सबै नेपालीहरूको एउटै प्रार्थना छ- भगवान्, यी चेलीको आशा नखोस्। आमा-बहिनीको आँसु पुछियोस्। यस तिहारमा चमत्कार होस्, बिपिन फर्कून्। बहिनीले निधारमा टीका लगाउन पाओस्। आमाले छोराको अनुहार देख्न पाओस्। अनि फेरि तीज र तिहार खुसीसहित मनाउन पाओस्।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.