डेढ सय वर्षदेखि भक्तपुरको लाखे नाच जाजरकोटमा

डेढ सय वर्षदेखि भक्तपुरको लाखे नाच जाजरकोटमा

जाजरकोट : करिब डेढ सय वर्षदेखि इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाचले अहिले पनि जाजरकोटमा निरन्तरता पाइरहेको छ। तत्कालीन जाजरकोटी राजा स्वर्गीय उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच सुरु गराएका थिए। अहिले यो नाच जिल्लाका सबै समुदायको साझा सम्पत्ति जस्तै भएको छ। 

जाजरकोटका सबै समुदायका मानिसले यसलाई साझा पर्वका रूपमा लिन थालेपछि यो नाच सबैको साझा सम्पत्ति भएको हो। अन्तिम दिन आइतबार लाखे नाच हेर्न हजारौं स्थानीय बासिन्दा सदरमुकाम खलंगा आएका छन्। खलंगामा रहेको राधाकृष्ण मन्दिर हुँदै बजार परिक्रमा गरेर भेरी नगरपालिका-४ गैरीखालीमा भव्य लाखे जात्रा विभिन्न झाँकीका साथ मनाइएको हो। 

जाजरकोटि राजा उपेन्द्रविक्रम शाहले भक्तपुरबाट जिल्ला भित्र्याएका नेवार समुदायका स्वर्गीय गोविन्दमान भडेलले डेढ सय वर्षअघि सुरु गरेको लाखे नाच जाजरकोटको एउटा मौलिक र सामाजिक एकता दर्शाउने पर्व भएको स्थानीय जनक भडेलले बताए। 

विगत केही समय सरोकारवालाहरूको बेवास्ताका कारण ओझेलमा परेको थियो। जिल्लाको महत्त्वपूर्ण पुरातात्विक सम्पदा भएकाले यसको संरक्षणमा आफूहरूले पहल गरेको नेवार समुदायको संस्था  नेवाः दे्वबु जाजरकोट अध्यक्ष दिनेश श्रेष्ठले बताए। उनले वर्षभरीका दुःख, पिडा बिर्साउन पनि यस वर्ष पनि लाखे नाचलाई निरन्तरता दिइएको बताए।

उनले प्रत्येक वर्ष साउन महिनाको कृष्ण त्रयोदशीका दिन गठेमङ्गल पर्व मनाउँदै यो लाखे नाच सुरु हुने बताए। सामाजिक एकता, मेलमिलाप र मनोरञ्जन दिनका लागि जिल्ला सदरमुकाम खलङ्गामा मात्रै देखाइने लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट सकिने गर्दछ। आइतबार राक्षसको प्रतिकको रुपमा रहेका भप्पु र लाखेको भगवान कृष्णले बध गरे सँगै यो पर्व सकिएको छ। द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै खलङ्गा बजार क्षेत्रमा लाखे नाच मनाउने चलन सबैका लागि मनोरञ्जनको उत्कृष्ट नमुना भएको भेरी नगरपालिका ४ का ७९ वर्षीय समाजसेवी खम्बजंग शाहले बताए।

नेवार समुदायमा प्रचलित लाखे नाच जाजरकोटमा निकै लोकप्रिय भए पनि सरोकारवाला र स्थानीयको बेवास्ताले विस्तारै सङ्कटमा पर्न थालेको स्थानीय बासिन्दाको गुनासो छ। खासगरी युवापुस्ताको सक्रियता र चासोको अभावले लाखे नाच निरन्तर चलिरहेको भए पनि मौलिक बन्न नसकेको सरोकारवालाको गुनासो छ।

विगत देखि नै निकै लोकप्रिय र भव्य स्थानीय पर्वका रूपमा रहेको लाखे नाचलाई लोप हुन नदिन र यसको संरक्षण तथा सम्वर्द्धनका लागि आफूहरू निरन्तर सक्रिय रहेको नेवाः दे्वबु जाजरकोट अध्यक्ष श्रेष्ठले बताए। उनले सबैको साथ र सहयोगको अपेक्षा गरे। लाखे नाचका क्रममा स्थानीय लोकभाका, वेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य प्रहार गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ। 

लाखे नाचका बेला कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रूप गरेको लाखे र उसका सिपाइका प्रतीकका रूपमा विभिन्न काला-सेता र अन्य रङ्गका मुखुण्डो लगाएका भप्पु र अन्य हास्य पात्रका रमाइला र मनोरञ्जनात्मक गतिविधिले स्थानीय बस्ती र बजारमा छुट्टै रौनक छाउने गर्छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.