चिनियाँ राष्ट्रपति सीसँग भारतीय प्रधानमन्त्री मोदीले के भने ?
काठमाडौं : चीनको तियानजिन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटमा प्रधानमन्त्री मोदीले सीमामा शान्ति, पारस्परिक सहयोग र सम्बन्ध सुदृढीकरणमा जोड दिएका थिए।
जिनपिङसँगको भेटमा प्रधानमन्त्री मोदीले भने, ʻन्यानो स्वागतका लागि म तपाईंलाई धन्यवाद दिन्छु। गत वर्ष कजानमा हामीले धेरै अर्थपूर्ण छलफल गरेका थियौँ। हाम्रो सम्बन्धले सकारात्मक दिशा पाएको छ। सीमामा शान्ति र स्थिरताको वातावरण छ। सीमा व्यवस्थापनबारे हाम्रा विशेष प्रतिनिधि बीच सम्झौता भएको छ। कैलाश मानसरोवर यात्रा पुनः सुरु गरिएको छ।ʼ
प्रधानमन्त्री मोदीले पारस्परिक विश्वास, सम्मान र संवेदनशीलताको आधारमा सम्बन्धलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्री मोदीले भने,ʻदुई देशबीच सिधा उडान पनि पुनः सुरु हुँदैछन्। २.८ अर्ब जनताको हित हाम्रा सहकार्यसँग जोडिएको छ। हामी हाम्रा सम्बन्धलाई अगाडि बढाउन प्रतिबद्ध छौँ।ʼ
भेटमा राष्ट्रपति सीले आफू पारस्परिक सहयोगका लागि पूर्ण रूपमा तयार रहेको बताए। चीन र भारत दुई सबैभन्दा सभ्य देश भएको भन्दै असल छिमेकी पनि हुनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !