अमेरिकाबाट ७ महिनामा २ लाख बढी आप्रवासी निष्कासित
अमेरिका : अवैधानिक रूपमा अमेरिकामा बस्दै आएका करिब दुई लाख बढी आप्रवासीलाई निष्कासन गरिएको छ। राष्ट्रपति डोनाल्ड जे ट्रम्पको
दोस्रो कार्यकालको ७ महिनामा अमेरिकाबाट यति ठूलो संख्यामा आप्रवासी निष्कासित गरिएका हुन्।
ट्रम्प प्रशासनको सुरुवातदेखि अगस्त २७ सम्म २ लाख ७९ लाई अमेरिकाबाट निष्कासन गरिएको अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन विभाग (युनाइटेड स्टेट्स इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस))को तथ्यांकले देखाएको छ।
ट्रम्प आउनुअघि राष्ट्रपति जो बाइडेनको कार्यकालको अन्त्यतिर अक्टोबरदेखि डिसेम्बरसम्म ७१ हजार ४ सय ५ जना अमेरिकाबाट निष्कासनमा परेका थिए। ट्रम्पले राष्ट्रपति पद सम्हालेयता र उनी आउनुभन्दा अघि बाइडेनको कार्यकालको अन्त्यतिरको तथ्यांकलाई जोड्दा अमेरिकी चालु संघीय आर्थिक वर्षमा करिब २ लाख ७१ हजार ४ सय ८४ अमेरिकाबाट निष्कासनमा परेका छन्।
अमेरिकी आर्थिक वर्षमा अमेरिकाबाट निष्कासन परेकाहरूको यो तथ्यांक दशक यताकै बढी हुन आउँछ। आर्थिक वर्ष सकिन अझै एक महिना बाँकी रहेकाले यो तथ्यांक अझ बढ्न सक्नेछ। अमेरिकामा अक्टोबर १ देखि सेप्टेम्बर ३० आर्थिक वर्ष (फेडरल फिस्कल एयर) हो। जसलाई तीन महिनाको एक भाग गरी चार भागमा बाँडिएको हुन्छ।
दशककै बढी कागजातविहीनलाई अमेरिकाबाट निष्कासन गरिए पनि अमेरिकाको इतिहासमा यो नै सबैभन्दा बढी आर्थिक वर्षमा अमेरिकाबाट कागजातविहीनलाई निकाला गरिएको तथ्यांक भने होइन। सन् २०१४ को आर्थिक वर्षमा ३ लाख १५ हजार ९ सय ४३ जनालाई अमेरिकाबाट निष्कासित गरिएको थियो। त्यसभन्दा अघि सन् २०१३ मा ३ लाख ६८ हजार ६ सय ४४ जना अमेरिकाबाट निष्कासनमा परेका थिए। त्यसबेला बाराक ओबामा अमेरिकाका राष्ट्रपति थिए।
चालु आर्थिक वर्षमा निष्कासनमा परेकाहरूमा ३३ प्रतिशत आपराधिक क्रियाकलापमा संलग्न भएकाहरू रहेको आइसले जनाएको छ। आइसका अनुसार ४७ हजार ८ सय ८५ अपराधी करार भई सजाय पाएका, १६ हजार ५ सय ५२ यौन अपराधमा संलग्न भएका, २ हजार ६ सय ९९ हत्यामा संलग्न भएकाहरू छन् भने २ सय ३७ जना आतंकवादी क्रियाकलापमा संलग्न रहेकाहरू निष्कासनमा परेका हुन्।
पछिल्लो कार्यकालको सुरुवातमै अवैध रूपमा अमेरिका बसेकाहरूलाई देश निकाला गर्नुका साथै आप्रवासन कानुनलाई कडाइका साथ लागू गराउने उद्घोषसहित राज्य संयन्त्रका निकायलाई राष्ट्रपति ट्रम्पले टार्गेट दिँदै सक्रिय पारेका थिए।
सोहीअनुसार युएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र यस मातहतको आइसले सोहीअनुसार सक्रियतासमेत बढाएका छन्। यस क्रममा अमेरिकाका विभिन्न सहर र काउन्टीका प्रहरीसँग मिलेर संयुक्त रूपमा सर्च अभियान पनि चलाएका छन्।
तर, कतिपय डेमोक्रेट दलको सरकार रहेको राज्यहरूले राष्ट्रपति ट्रम्प प्रशासनले अनावश्यक धरपकड बढाएको र कागजातविहीनलाई पक्रने नाममा आप्रवासीलाई दुःख दिने काम गरेको भन्दै सहयोग गर्न अनकानी गरेका छन्। कतिपय ठूला सहरले सर्च अभियानमा सहयोग नगर्ने मात्र होइन, त्यस्ता गतिविधि नगर्न चेतावनी पनि दिएका छन्। तर, यसका बाबजुत पनि ३ लाख ५० हजारको हाराहारीमा आर्थिक वर्षमा कागजातविहीनलाई अमेरिकाबाट निकालिने लक्ष्य होमल्यान्ड सेक्युरिटीले राखेको छ। अहिलेसम्म देश फर्काइनेमा मेक्सिकोका नागरिक बढी रहेका छन्। त्यसपछि होन्डुरस, ग्वाटेमाला, भेनेजुयला, कोलम्बिया हँुदै मध्य र दक्षिण अमेरिकाका छन्।
नेपाललाई दिँदै आएको टेम्पोरी प्रोटेक्टेड स्टाटसको समाप्ति भएसँगै अमेरिकाबाट नेपाली निष्कासनमा पर्ने दर बढ्ने भए पनि अहिलेसम्म ट्रम्प प्रशासनले १ सय ८२ जना नेपालीलाई नेपाल फर्काएको छ। यसअघि जो बाइडेनको कार्यकालमा १ सय ३३ जना नेपाली स्वदेश फिर्ता गरिएका थिए।
प्रतिक्रिया दिनुहोस !