एनआरएनए भन्छन् : मातृभूमिका लागि उभिने समय हो
अमेरिका : नेपालको पछिल्लो परिवर्तित राजनीतिक अवस्थासँगै राजनीतिक स्थिरता र दिगो अर्थतन्त्रलाई लिएर सर्वस्त्र चिन्ता छ। गैरआवासीय नेपालीहरूमा पनि त्यसको प्रभाव देखिएको छ।
नेपालमा जुन आन्दोलन भयो र त्यसले जुन परिवर्तन ल्यायो, त्यसलाई सकारात्मक रूपमा लिएका गैरआवासीय नेपालीहरू आन्दोलनका क्रममा सरकारी भौतिक संरचना, निजी भवन, उद्योग, कलकारखाना तथा व्यापारिक–व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी र तोडफोडबाट पुगेको क्षतिलाई लिएर गम्भीर देखिएका छन्। यसबाट तत्कालीन क्षति मात्र होइन समग्रमा यसले पार्ने दुरगामी असरलाई लिएर गैरआवासीय नेपालीहरू
चिन्तित छन्।
नेपालमा विस्तारै वैदेशिक लगानी बढ्दै गइरहेको, गैरआवासीय नेपालीहरूले पनि सामूहिक र व्यक्तिगत लगानीलाई बढाइरहेको र खासगरी नेपालको पर्यटन क्षेत्रमा सुधारको संकेत देखिरहँदा यसले कतै त्यसमा दुरगामी असर गर्ने त होइन भन्ने चिन्ता उनीहरूको रहेको छ। पछिल्ला केही वर्षयता नेपालमा फर्किएर उद्यममा लाग्नेहरूको संख्या पनि दिनानुदिन बढ्ने क्रममा रहेको थियो।
राजनीतिक उद्देश्य प्राप्तिको निम्ति होस् वा देशमा भ्रष्टाचार निरुपण जस्ता सकारात्मक उद्देश्य राखिएका परिवर्तनमुखी आन्दोलन वा विरोधका कार्यक्रमहरूमा देशको अर्थतन्त्रसँग जोडिने उद्योग कलकारखानाहरू निशाना बनाइनुले समग्रमा त्यसले देशलाई अप्ठ्यारोमा पार्ने भएकाले त्यसतर्फ सबै गम्भीर बन्नुपर्ने गैरआवासीय नेपालीहरू बताउँछन्। तर, पनि आन्दोलनका क्रममा भएको अनावश्यक क्षतिबाट पाठ सिक्दै अघि बढ्नुको विकल्प नभएकाले फेरि नेपालको समृद्धि र भौतिक संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने आवश्यकता खड्किएको उनीहरूको भनाइ छ।
विगतका आन्दोलनहरूभन्दा उद्देश्य र परिणाम फरक तथा सकारात्मक लिएको पछिल्लो आन्दोलन र त्यसबाट परिवर्तित देशको अवस्थाकाबीच गैरआवासीय नेपालीहरू देश विकासका लागि र देशको अर्थतन्त्रको सवलीकरणका निम्ति अझ जिम्मेवार बन्दै देशमा लगानी गर्न अघि आउनुपर्ने नेपालमा लगानी गरिरहेका गैरआवासीय नेपालीहरूको धारणा रहेको छ।
मातृभूमिलाई अप्ठ्यारो पर्दा अझ बढी गैरआवासीय नेपालीको साथ, सहयोग र लगानीको खाँचो रहने भएकाले त्यसलाई बुझ्दै व्यक्तिगत वा सामूहिक लगानीका लागि लाग्न उनीहरूले आग्रह गरेका छन्। अहिले विदेशीलाई देशमा लगानी गर भन्ने वातावरण धुमिल भएकाले यो बेला अझ नेपालमा रहेका नेपाली उद्यमी र गैरआवासीय नेपालीको लगानी नेपालका लागि आवश्यक पर्ने उनीहरूको भनाइ छ। तर, त्यसका लागि नेपालमा रहेका उद्योगी, व्यापारी र लगानीकर्ताहरूको मनोबल उच्च पार्दै सोका निम्ति वातावरण सिर्जना गर्न नेपाल सरकार र सम्बद्व सबै लाग्नुपर्नेमा उनीहरूको जोड छ। यसैगरी, लगानी संरक्षणको सुनिश्चितता नदेखिएका कारण वर्षौं विदेशमा कमाएको रकम लगानी गरेका र गर्न चाहेका गैरआवासीय नेपालीहरूमा बढेको निराशालाई चिर्न अन्तरिम सरकार र सम्बद्व पक्ष सबैले एनआरएनहरूमा विश्वास जगाउने गरी योजनाहरू ल्याउनु आवश्यक रहेको उद्यमी गैरआवासीय नेपालीहरूको भनाइ छ।
नेपालमा गैरआवासीय नेपालीहरूले व्यक्तिगत र सामूहिक रूपमा जलविद्युत् परियोजना, आईटी व्यवसाय, अस्पताल, बैंकिङ क्षेत्र, होटल व्यवसाय, सुनचाँदी व्यवसाय, अटो व्यवसाय, खाद्यान्न उत्पादन गर्ने उद्योगधन्दा, पर्यटन व्यवसाय, कृषि पशुपालन लगायतका क्षेत्रमा लगानी गरेका छन्। जुन साना लगानीकादेखि ठूला लगानीसम्मका छन्।
कुमार पन्त,
पूर्वअध्यक्ष, एनआरएनए
लामो समयदेखि जर्मनीमा बस्दै आएका कुमार पन्त नेपालमा भएको पछिल्लो आन्दोलन र त्यस क्रममा उद्योग कलकारखानामा भएको क्षतिले दूरगामी प्रभाव पार्ने बताउँछन्। नेपालमा समेत विभिन्न व्यावसायिक प्रतिष्ठानहरूमा लगानी गरेका पन्त मातृभूमिमा परेको अप्ठ्यारो अवस्थाका बीचमा अझ बढी गैर आवासीय नेपालीहरू मातृभूमिको साथमा उभिनुपर्नेमा जोड दिन्छन्।
‘लामो द्वन्द्वको समयमा पनि हामीले लगानी गरेका थियौं, भूकम्प गएको समय पश्चात् र कोरोना कालको अन्त्यपछि पनि लगानी बढाएका थियौं। नेपालसँग हाम्रो भावना जोडिएको छ,’ उनी भन्छन्– ‘हो अस्तिको घटनाले दुरगामी प्रभाव नपर्ने होइन, लगानी गर्ने वातावरण बन्दैंछ भनेर विदेशीहरूलाई पनि भनिरहेका थियौं, त्यसमा केही असर पर्ने नै भयो तर हामी विदेशी होइनौं,नेपाली नै हौं। यो बेला झन् देशलाई हाम्रो आवश्यकता छ। मुख्य कुरा अहिले गैरआवासीय नेपालीहरू देशको निम्ति उभिनुपर्ने बेला आएको छ।’
जे जस्तो भए पनि देशमा राजनीतिक स्थिरता चाहिँदो रहेछ भन्ने हेक्का सबैलाई हुनुपर्ने बताउँदै उनी बिचलित र नआत्तिकन सबैले एक भएर देशका लागि सोचियो र गरियो भने असम्भव नभएको बताउँछन्। गैरआवासीय नेपाली भनेका नेपालका लागि सम्पत्ति जत्तिकै भएको बताउँदै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष पन्त भन्छन्– ‘गैरआवासीय नेपालीलाई पराई ठान्नुभएन, नागरिकता, दोहोरो कर, लगानीको सुनिश्चितता जस्ता लगानी मैत्री वातावरण निर्माणमा नेपाल सरकारले भूमिका खेल्नुपर्यो।’
रामेश्वर साह,
अगुवा, एनआरएनए कतार
लामो समय कतारलाई आफ्नो कर्मभूमि बनाए, रामेश्वर साहले। नेपाल फर्की उद्योग व्यवसायमा संलग्न साह पछिल्लो नेपालको परिवर्तनलाई सकारात्मक अपरिहार्य र नेपाल विकासको प्रस्थान विन्दुको रूपमा लिनुपर्ने बताउँछन्। आन्दोलनको क्रममा भएको क्षतिप्रति दुःख प्रकट गर्दै उनी भइसकेको कुरामा बढी चिन्ता लिनुभन्दा ‘अब देश बनाउनुपर्छ र बन्छ’ भनेर उच्च मनोबलका साथ सबै लाग्नुपर्नेमा जोड दिन्छन्।
‘परिवर्तन अपरिहार्य थियो, सबैले भ्रष्टाचारले सीमा नाघेको अनुभव गरेकै थिए, अस्त व्यस्त थियो। सबैको चाहना जेन–जीले पूरा गरिदिए,’ उनले भने, ‘तर आन्दोलनका क्रममा भएको मानवीय क्षति, जेका लागि गरिएको थियो, त्यो सरकारको विघटनपश्चात् पनि भएका अवाञ्छित गतिविधि ती सबैं क्राइम थिए, त्यसलाई त्यही रूपमा लिनुपर्दछ। हो, देश आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिले कम्तिमा १० वर्षपछि पुगेको छ, तर यसलाई नै लिएर चिन्ता गर्ने होइन बरु सबै एक भएर अगाडि बढ्नुपर्दछ।’
कठिन घडीमा पनि देशभित्र र बाहिरका लगानीकर्तामा देखिएको उच्च मनोबल साँच्चिकै प्रशंसनीय रहेको बताउँदै साहले थपे– काम नगर्ने रातारात धनी बन्न खोज्ने मानसिकताले ग्रस्त भएका देश जस्तै हाम्रो देश भएको थियो। अब फेरि यस्तो प्रकारको आन्दोलन गर्न नपर्ने गरी जनताले पनि आउँदो चुनावमा आफ्ना प्रतिनिधि चुन्नुपर्नेछ।’ नेपालको क्रान्ति र क्रान्तिपछिको सरकारलाई विश्वले स्वागत नै गरेकाले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
स्वतन्त्र प्रताप शाह,
अध्यक्ष, नेपाली युवा उद्यमी महासंघ
नेपालमा भएको जेन–जीको आन्दोलनलाई नेपाल बाहिर रहेका युवा उद्यमीहरूले पनि नजिकबाट हेरेको स्वतन्त्र प्रताप शाह बताउँछन्। ‘गैरआवासीय नेपाली अझ त्यसमा पनि दोस्रो पुस्ताका युवा उद्यमीहरूले नेपालमा लगानी बढाइरहेको अवस्था छ, नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय महासंघका अध्यक्षसमेत रहेका शाहले भने, ‘जेन–जीको आन्दोलनको अहिलेको माग थियो, तर आन्दोलनको नाममा जे नहुनुपर्ने थियो ती घटनाले दुःखित बनाएको छ, तर अब फेरि देशका लागि एक हुनुपर्ने आवश्यकता खड्किएको छ।’
कोरोना र भुकम्पको समयमा पनि नेपाल उठेको हो उल्लेख गर्दै शाहले भने– ‘यो बेला उद्योगी, व्यवसायी उद्यमीहरू हतोत्साही हुने, पलायन हुने हो भने बेरोजगारी झन् बढ्नेछ, युवामा अझ नैराश्यता बढेर जानेछ, आर्थिक स्थिति झन् विग्रन सक्छ हामी यो बेला अझ उच्च मनोवल लिएर अघि आउनुपर्दछ। युवाले पनि अब रचनात्मक साथ दिन जरुरी छ। परिवर्तन माग भएपनि जुन अकल्पनीय घटना भयो, त्यो हाम्रो कन्ट्रोलमा थिएन भनेर बुझौं, हामीले देशलाई सहयोग गर्ने भनेकै कठिन अवस्थामा हो, सजिलो अवस्थामा त जसले पनि गर्छ नेपालमा लगानी गरौं।’ अष्ट्रेलियामा बस्दै आएका शाहले भने– ‘राम्रो हुनलाई कहिले काहीँ थोरैं कुरा नराम्रो पनि सहज पर्दछ।’ युवालाई थप फ्रस्टेसनमा जान नदिनका लागि सबैले योगदान गर्नुपर्ने बेला आएको नेपाल क्रिकेट लिगको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मालिक समेत रहेका शाह बताउँछन्।
हिक्मत थापा,
पूर्वकोषाध्यक्ष, एनआरएनए
पछिल्ला केही वर्षयता गैरआवासीय नेपालीहरू नेपालमै लगानी गर्न उत्साहित भइरहेको अवस्थामा मुलुकका घटनाक्रमले केही चुनौती थपिएको हिक्मत थापा बताउँछन्। अफ्रिकी महादेशको नाइजेरियामा बस्दै आएका उनले नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेका छन्। अहिलेको आन्दोलनको त्रममा भएको क्षतिले मर्माहत बनाएको उल्लेख गर्दै उनी भन्छन्– ‘एनआरएनहरूको लगानी रहेको व्यापारिक प्रतिष्ठान, एनआरएनहरूका निजी सम्पत्तिमा समेत आगजनी र तोडफोड गरिएको घटनाले लगानी गर्न चाहेकाहरूमा केही नैराश्यता जन्मिएको छ।’
खासगरी एनआरएनहरूको पहिलो पुस्ता नेपालमै फर्कन खोजिरहेको र त्यसका लागि वातावरण बनाउँदै लगानी गरिरहेको परिप्रेक्ष्यमा यस्ता घटनाहरूले अविश्वास बढेर जाने र लगानीको सुनिश्चिततामै प्रश्न उभिने भएकाले सबै पक्ष गम्भीर बन्नुपर्नेमा थापा जोड दिन्छन्। मातृभूमि नेपाललाई अप्ठ्यारो परेको अवस्थामा नेपालमा रहेका उद्योगी व्यवसायीहरूका साथै गैरआवासीय नेपाली उद्यमीहरूको साथ आवश्यक पर्नेतर्फ जोड दिँदै एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलममेन्ट लिमिटेडका पूर्वसञ्चालक तथा एनआरएनएका पूर्व कोषाध्यक्ष समेत रहेका थापाले भने– ‘पहिला हामी नेपालीहरूले नै लगानी बढाउनु आवश्यक छ, त्यसपछि विश्वासको वातावरण बढाउँदै विदेशी लगानी पनि लग्न सकिन्छ।’ उनले आन्दोलनवाट प्राप्त उपलब्धि नेपालको विकासको लागि कोसेढुंगा बन्नुपर्नेमा जोड दिए।
देशभित्र र बाहिर रहेका सबै नेपालीले हातेमालो गरौं : उपेन्द्र महतो
गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा. उपेन्द्र महतोले देशभित्र र बाहिर रहेका सबै नेपालीले हातेमालो गरेर सुरक्षित, समृद्ध र सुन्दर नेपाल सिर्जना गर्न आहान गरेका छन्। देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखी गत भदौ २३ गते सडकमा उत्रिएका जेन–जी पुस्ताका हजारौं युवाको शान्तिपूर्ण आन्दोलनमा सरकारको बर्बर दमन देखेर आफू विचलित भएको पनि महतोले स्मरण गरे।
डा. महतोले अनाहकमा ज्यान गुमाएका युवाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आफू नेतृत्वको नेपाल मेडिसिटी हस्पिटलमा घाइतेहरूको निःशुल्क उपचार गराएको पनि विज्ञप्ति जारी गर्दै स्मरण गराएका छन्। उनले भनेका छन्, ‘केही युवा अझै पनि उपचाररत छन्। त्यस्तो संकटको बेला हामीले जे सम्भव थियो, त्यो गर्ने प्रयास गरिनै रहेका थियौं।
भोलिपल्ट काठमाडौं र क्रमशः देशैभरि जुन हिंसात्मक ताण्डव भयो, त्यो जेन–जी प्रतिनिधित्व गर्ने सचेत युवाको आन्दोलन त कदापी थिएन, त्यो हिंसाको हुण्डरीमा संसद् भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतजस्ता राज्यका संस्था, सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक धरोहरहरूलगायतका थुप्रै अत्यावश्यक भौतिक संरचनासंगै हाम्रो घरजस्ता असंख्य निजी निवास पनि तहसनहस भए। मेरो परिवार केही मिनेटले बाँच्न सफल भयो।’
डा. महतोले वातावरण अलि सग्लिएपछि यो विध्वंशको पनि छानबिन हुने र दोषीले सजाय पाउलान् भन्ने आशा राखेका छन्। तर, कोभिड महाव्याधिपछि बल्लबल्ल तंग्रिन लागेको मुलुक यो घट्नापछि दशकौं पछाडि धकेलिएको महतोको भनाइ छ। उनकाअनुसार यसको प्रभाव जेन–जीकै जीवनमा पनि अत्यन्त नकारात्मक ढंगले पर्नेमा कुनै सन्देह छैन।
महतोले आफू तत्कालीन सोभियत संघ र पछि रुस, बेलारुसमा उच्चशिक्षा हासिल गरेपछि उतै व्यवसायमा रमाएको, र केही मिहिनेत, केही भाग्य र केही संयोगहरूले व्यवसाय सफल हुँदै गएको पनि स्मरण गराएका छन्। उनले भनेका छन्, ‘म सिराहाको एउटा पिछडिएको गाउँमा जन्मे, हुर्केको मान्छेलाई ईश्वरको अनुकम्पाले त्यहाँसम्म पुर्यायो र जीवनमा अगाडि बढ्ने सुनौलो अवसर दिलायो। तर, यता आफ्नो मातृभूमि भने अकल्पनीय द्वन्द्वमा फस्दै गएको थियो। माओवादी आन्दोलनको प्रभावले हाम्रो अर्थतन्त्र जर्जर हुँदै गयो। नेपाली भन्नेबित्तिकै विदेशमा हामीलाई शंकाको नजरले हेर्ने प्रवृत्ति बढेर गयो। हरियो पासपोर्ट देख्नेबित्तिकै विमानस्थलहरूमा हेपिएका अनगिन्ति अनुभव भोग्दै जाँदा आफ्नो देश अभाव र विपन्नतासाग जुधिरहुञ्जेल व्यक्तिगत समृद्धिको खासै अर्थ नहुने रहेछ भन्ने अनुभूति घनिभूत हुँदै गयो।’
संसारभरि छरिएर रहेका नेपालीहरूलाई संगठति गरेर नेपालको निर्माणसँग जोड्न सकियो भने तिनको सामूहिक योगदानले देशको शान्ति र समृद्धिमा गतिलो भूमिका खेल्न सक्छ भन्ने लागेर केही असल साथीहरूसाग मिलेर गैरआवासीय नेपाली (एनआरएनए) अभियान सुरु गरेको पनि उनले स्मरण गराएका छन्।
जेन–जी आन्दोलनको क्रममा डा. महतोको १५० वर्षको पुरानो इतिहास बोकेको घरसमेत आगजनीले खरानी भएको छ। महतोले भनेका छन्, ‘सन् २००६ मा सहदेव शमशेर राणासाग खरिद गरी आफू र आफ्नी धर्मपत्नी डा. समता प्रसादले बडो जतनले पुनर्निर्माण र संरक्षण गरेर राखेको करिब १५० वर्ष पुरानो घर खरानी भएको छ। मलाई त्यसरी भष्म भएर सिद्धिएको
घरभित्र जलेका हजार सपनाहरूको असाध्यै माया लागिरहेको छ।’
अन्जनीकुमार फुयाँल,
अगुवा, एनआरएनए बेलायत
नेपालको परिवर्तित पछिल्लो अवस्थाको सुरुवाती केन्द्रमा रहेको सामाजिक सञ्जाल प्रतिवन्धको विषय र विश्वको केन्द्रमा उभिएको इन्र्फमेसन टेक्नोलोजीलाई नबुझ्दा अहिलेको अवस्था देखा परेको बताउँछन्, बेलायतमा बसेर आईटी क्षेत्रमा संलग्न अन्जनीकुमार फुयाँल। आईटी कम्पनी जेनिस सोलुसनका सीईओ तथा एडब्लूएस् यूके र आयरल्यान्डका लागि ब्रान्ड एम्ब्यासडर रहेका फुयाँल भन्छन्– ‘पछिल्लो आन्दोलनले ग्राउण्ड जिरोमा देशलाई उभ्याएको छ, पुरानो ब्यागेज हामीसँग छैन, अव हामीले यसलाई कसरी हेर्छौं र कसरी काम गर्छौं नयाँ ब्यागेज कस्तो बोक्छौं र के के राख्छौं त्यसले सबै कुरा निर्भर रहनेछ।’
ट्रेनका डिब्बाहरू जस्तै अब सबै डिब्बा सकिएर संभावना बोकेको आईटी क्षेत्रको डिब्बा बाँकी रहेकाले त्यसमा केन्द्रित रहेर काम गर्ने हो भने नेपालका युवालाई रोजगारी दिनेदेखि लिएर देश सम्पन्नताको दिशामा अघि बढ्न सक्ने संभावना रहेको नेपालमा समेत आईटी व्यवसायमा संलग्न अन्जनी बताउँछन्। परिवर्तनलाई आत्मसात गर्दै टेक्नोलोजी र विश्व कसरी अघि बढिरहेको छ भनेर मापन गरेर काम गर्न सक्नुपर्नेमा उनी जोड दिन्छन्।
अर्जुनकुमार श्रेष्ठ,
अगुवा, एनआरएनए बेल्जियम
‘नेपाल बन्दैछ, बन्नुपर्दछ, र बनाउनका लागि हामी गैरआवासीय नेपाली पनि लाग्नुपर्दछ भनेर नैं म बेल्जियमवाट नेपाल फर्किएको हुँ।’ बेल्जियममा विभिन्न व्यापारिक प्रतिष्ठान सञ्चालन गर्दै नेपालमा औषधि उद्योग सञ्चालनका साथै औषधि जन्य पदार्थसँग सम्बन्धित वस्तुको व्यापारमा संलग्न अर्जुनकुमार श्रेष्ठ भन्छन्– ‘अहिले अलि जटिल स्थिति बनेको छ, पाइपलाइनमा भएका योजनाहरू के गर्ने भन्ने संकोच जन्मिएको छ।’
विस्तारै विदेशीहरूलाई पनि नेपालमा लगानी गर्न आग्रह गर्दै आएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘उनीहरूको विश्वास जित्न समय लाग्छ नै तर पनि हामी गैरआवासीय नेपालीहरूले भने देशका लागि अप्ठ्यारो अवस्थामै सहयोग गर्ने हो त्यो वातावरण भने सरकारले बनाउनुपर्ने हुन्छ।’
यो परिवर्तनले देशमा भ्रष्टाचारमा शुन्य सहनशीलता, कानुनी सर्वोच्चता र लगानी मैत्री वातावरणको सुनिश्चितता गर्न सकेको खण्डमा ढिलो चाँडो नेपालमा लगानी अझ भित्रने अवस्था बन्दैं जाने एनआरएनएका पूर्वउपाध्यक्षसमेत रहेका श्रेष्ठको भनाइ छ।
रविना थापा,
पूर्वअध्यक्ष, एनआरएनए
जुन एजेन्डा लिएर नेपालमा आन्दोलन भयो र त्यसले जुन परिवर्तन ल्यायो त्यो सबैका लागि आवश्यक रहेको ठान्छिन्, रविना थापा। अमेरिकामा लामो समयदेखि व्यापार व्यवसायमा संलग्न उनी पछिल्ला केही वर्षदेखि नेपालमा व्यक्तिगत लगानी गर्नुका साथै सामूहिक लगानी लैजान सक्रिय छिन्। नेपालमा अब लगानी बढाउनका लागि वन डोर प्रणालीको सुरुवात गर्न आवश्यक रहेको बताउँदै पछिल्लो समय जलविद्युत् परियोजना (हाइड्रो) निर्माणमा सक्रिय उनी भन्छिन्– ‘लगानी गर्ने कुरालाई प्रोजेक्टका आधारमा वन डोर प्रणाली बनाएर एकै ठाउँवाट काम हुने अवस्था बन्नुपर्दछ, सरकारले लगानीको सुनिश्चितता गरिदिनुपर्दछ।’
प्राथमिकताका आधारमा सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरूलाई अघि बढाउनुपर्नेमा जोड दिँदै थापाले थपिन्, ‘गैरआवासीय नेपाली र नेपाल सरकार मिलेर गर्न सकिने कुराहरूलाई जतिसक्दो चाडो थालनी गर्नुपर्दछ।’ गैरआवासीय नेपालीलाई वंशजको आधारमा नागरिकता दिने कुरालाई पनि सरकारले महत्व दिनुपर्ने बताउँदै एनआरएनए की पूर्वअध्यक्ष थापा नेपालभित्रका नेपाली र नेपाल बाहिर बसेका नेपाली मिलेर देश बनाउने बेला आएकोमा जोड दिन्छिन्।
सोनाम लामा,
पूर्वउपाध्यक्ष, एनआरएनए
नेपालमा आएको परिवर्तनलाई सकारात्मक दिशाका रूपमा लिन्छन्, सोनाम लामा। लामो समयदेखि अमेरिकालाई कर्म थलो बनाउँदै नेपाल र अमेरिकामा विशेषतः होटल व्यवसायमा संलग्न लामा जेन–जी परिवर्तनको वाहक भएकालाई उनीहरूलाई पनि समेट्दै देशलाई नयाँ मार्गमा लानुपर्ने सुझाउँछन्।
‘तत्काल देशको भौतिक संरचनाको पुर्नर्निमार्णका लागि इमर्जेन्सी फन्ड बनाउने र त्यसमा हामी सबै एनआरएनहरूले पनि सकेको सहयोग गर्नुपर्दछ,’ उनी भन्छन्– ‘यो आन्दोलन केवल आन्दोलन मात्र नभएर इतिहासले सम्झिरहने जेन–जी आन्दोलन भएकाले हामीले केही अप्ठ्यारो अवस्था आएको भए पनि यो देशको निम्ति जरुरी थियो भन्ने हिसावले बुझेर लाग्नुपर्दछ। हामी जो जसले नेपालमा लगानी गरिरहेका छौं, हामीहरूले लगानी अझ बढाउनुपर्यो, र अरूलाई पनि लगानी गर भनेर उत्प्रेरित गर्नुपर्यो।’
एनआरएनएका पूर्वउपाध्यक्ष तथा युनाइटेड नेपाली डायस्पोरा अर्गनाईजेशन का अध्यक्षसमेत रहेका लामाले भने– ‘हामी सबै लाग्ने हो भने देशलाई लयमा ५/६ महिना भित्रनै फर्काउन सकिन्छ, १० वर्षभित्र विकास भएको देशको रूपमा चिनाउन सकिन्छ।’
प्रतिक्रिया दिनुहोस !