सत्ता पल्टाउने जेन–जी ‘स्पिरिट’

संस्मरण

सत्ता पल्टाउने जेन–जी ‘स्पिरिट’

दार्शनिक प्लेटोले त भनेको सम्झन्छु, ‘यदि तपाईं राजनीतिमा चासो राख्नु हुँदैन भने तपाईं मूर्खहरूको शासनमा बस्न बाध्य हुनुहुनेछ।’

स्मारिका पराजुली (२१) । जेनरेसन जेड अर्थात् जेन–जी पुस्ताले पुरानो पुस्ताको त्यो सरकारलाई यसरी र यति छिट्टै ढाल्ला र आफू अनुकूलको सरकार बनाउला भन्ने सोचेकै थिइनँ । तर अहिलेको नेपाली राजनीतिमा ठूलो छाप छोड्न सफल भएको छ । राजनीतिक विषयमा खासै रुचि नदिने भनेर चिनिने यो पुस्ताले आज देशलाई फड्को मार्न बाध्य बनाएको छ । सामाजिक सञ्जाल र इन्टरनेटको विकाससँगै हुर्किएको पुस्ताले आफ्नो आन्दोलनको सुरुवात पनि सामाजिक सञ्जालबाटै सुरु गरेर सडकसम्म आइपुगेको थियो ।

विभिन्न पदमा पुग्न सफल व्यक्तित्वका छोराछोरीले कसरी विलासिताको जीवनयापन गरिरहेका छन् भन्ने प्रश्न सञ्जालमा उठाइएको थियो । पहिला यो ट्रेन्ड सुरु हुँदा कानुनको विद्यार्थी भएर पनि होला यो ट्रेन्ड कानुनी रूपमा मलाई गलत लागेको थियो । प्रमाण बेगर लागेको आरोप र बाबुआमाले गरेको कसुरमा छोराछोरीको नाम मुछिनु सैद्धान्तिक रूपमा गलत थियो । सामाजिक सञ्जालमा यो ट्रेन्ड चर्किंदै गर्दा सामाजिक सञ्जाल बन्द गर्ने गरी भएको सरकारको निर्णयले आगोमा घिउ थप्ने काम गर्‍यो ।

मेरो वैयक्तिक स्वतन्त्रताको हक राज्यले खोस्न खोजेको हो भन्ने महसुस मेरो पुस्ताले पनि गर्न थाले । सरकार र राजनीतिक दलप्रतिको युवा आक्रोशलाई यस निर्णयले ‘क्याटालिस्ट’को भूमिका निर्वाह गर्‍यो । यसै कर्ममा टिकटकमा भदौ २३ गते माइतीघर मण्डलामा सबै युवा भेला भएर भ्रष्टाचारविरुद्ध आवाज उठाउने भन्ने कुरा एक कान, दुई कान मैदान भयो । सुरुमा त यो आन्दोलन सफल हुँदैन जस्तो सोचेको थिएँ । तर यो कुराको प्रचार सामाजिक सञ्जालमा यसरी हुन थाल्यो कि मलाई पनि जानुपर्छ जस्तो लाग्यो ।

आन्दोलन हुने दिन बिहानसम्म पनि जाने कि नजाने टुंगो थिएन तर सञ्जालमा सबैजना आन्दोलनमा गएको देखेपछि मन थामिएन । म र साथी पनि देशका लागि जानुपर्छ भनेर करिब ११ः३० बजेतिर आन्दोलनमा सहभागिता जनाउन पुग्यौं । आन्दोलनमा कलेज डे«स लगाएर जाने कि ? भन्ने कुरा आयो तर फेरि प्रहरीले आन्दोलनलाई सहयोग गर्ने र व्यवस्था मिलाइदिने भन्ने कुरा पनि आयो । त्यसपछि हामी केही हुँदैन भनेर ढुक्क भएर ड्रेसबिनै गयौं ।

आन्दोलनमा होमिएको यो मेरो पहिलो अनुभव हो । त्यसैले मनमा अलि अलि डर थियो । बानेश्वर पुगेपछि डर अलि कम भयो । त्यहाँ सबैजना आआफ्नो समूहमा शान्तपूर्ण ढंगले सहभागिता जनाउँदै थिए । कतै नारा त कतै देशभक्तिका गीत गुञ्जिरहेका थिए । स्कुल पढ्ने विद्यार्थी पनि डे«समा सहभागिता जनाउन आएका थिए । त्यो भिडमा भिडलाई उत्तेजित बनाउने मोटरसाइकलको आवाज निकालेर शान्त आन्दोलनलाई उत्तेजित बनाउने कोसिस पनि हुँदै थियो भने एउटा जमातले हल्ला गर्नेलाई गाली पनि गर्दै थिए ।

२३ गतेको आन्दोलन शान्तिपूर्ण रूपले गरिएको आन्दोलन थियो । आन्दोलन शान्तिपूर्ण हुँदै गर्दा बीचमा अचानक खै कताबाट आन्दोलन हाइज्याक भएको महसुस भयो । भिड धेरै थियो । भनिन्छ, भिडले न कान सुन्छ न त आँखा देख्छ । त्यो दिन पनि त्यस्तै भएको महसुस भयो । अवसरवादीहरूले घुसपैठ गरी भिडलाई उत्तेजित बनाउने कोसिस गरे र शान्तिपूर्ण आन्दोलन गर्न गएको पुस्ताको नाममा कसैले फाइदा उठाए ।

हामी बानेश्वरबाट बिजुलीबजार जाने बाटोमा थियौं । अगाडि गोली चलाएर एकजनाको मृत्यु भएको छ यता बस्नु सुरक्षित हुँदैन भन्ने कुरा आयो । हामी अनामनगरतर्फ लाग्यौं । यतिबेलासम्म बिजुलीबजार र माइतीघरतिर हुने भिडलाई गोली चलेको थाहा नै थिएन । घर आएर समाचार हेर्दा हामी त्यहीँ हुँदा गोली चलाउन थालिसकेको रहेछ भन्ने थाहा पाएँ । यसरी प्रहरीले भिडलाई चेतावनी नदिइकनै गोली प्रहार गरेको थियो ।

प्रदर्शनकारीलाई तितरबितर नगरी अगाडि जो–जो थिए, उनीहरूलाई ताकेर गोली प्रहार गरेको रहेछ । सुरक्षाकर्मीले प्रयोग गरेको असमानुपातिक बलले मानव अधिकारमा ठूलो प्रश्नचिह्न लगाएको छ । कानुनी व्यवस्था कायम राख्न सुरक्षाकर्मीले बल प्रयोग गर्न सक्छन् तर त्यसको एउटा मापदण्ड र नियम हुन्छ, यति कुरा कानुनको औपचारिक अध्ययनले मलाई सिकाएको छ । २३ गतेको आन्दोलनमा प्रयोग गरेको बल ‘आर्बिट्ररी युज अफ फोर्स’ थियो ।

सुरक्षाकर्मीले प्रयोग गर्ने बल आवश्यक र समानुपातिक हुनुपर्छ भन्ने मानव आधिकारको विश्वव्यापी मान्यता छ । यति प्रदर्शनकारीहरूले हिंसात्मक गतिविधि गरिरहेका छैनन् भने उनीहरू माथि अत्यधिक बल प्रयोग गर्नु पनि मानव अधिकारको गम्भीर उल्लंघन हो । भदौ २३ गतेको घटनामा कोही पनि हातहतियार लिएर उपस्थित भएका जेन–जी थिएनन्, तर मर्ने सबै विद्यार्थी थिए ।

भदौ २३ को घटनामा प्रहरीद्वारा बल प्रयोग गरी जुन हत्या गर्‍यो, त्यो एउटा नरसंहार थियो । पहिलो दिनको नरसंहारको आक्रोशमा भोलिपल्ट जेन—जी पुस्तासँगै तिनका अभिभावक र सबैजसो पुस्ता सडकमा उत्रिन बाध्य भयो । जुन आक्रोश केबल २३ गतेको घटनाको मात्र थिएन, धेरै वर्षदेखिको देशको ‘कुशासन’प्रतिको रिस पनि थियो । जनताको आवाजलाई निरन्तर बेवास्ता गरेर देशमा गरिरहेको भ्रष्टाचार र कुशासनप्रतिको रिसको स्वरूप ठाउँठाउँमा देखिन थाल्यो । परिणाम, नेताहरूको निजी सम्पत्ति जलाइयो र पार्टी कार्यालयहरू जलाइए ।

युवाको विदेश पलायन, बढ्दो बेरोजगारी, राज्यमा सेवामा चरम भ्रष्टाचार र घुसखोरी पनि आक्रोशमा घिउ थप्ने साधन बने । राजनीतिक दल र तिनका नेताविरुद्ध विस्फोटक भएर आन्दोलनकारी सडकमा छताछुल्ल भएको देखिन्थ्यो । दुर्भाग्य, जनताको आक्रोशको फाइदा उठाएर २४ गते घुसपैठ भएको देखिन्छ । संसद् भवन त जलेकै थियो, सिंहदरबार जलाउने, सर्वोच्च अदालत खरानी बनाउने, बैंक लुट्ने आदि सबै भए । जुन काम जेन–जीको थिएन । २३ गतेको आन्दोलनमा उत्रेको जेन–जी पुस्ता त सामाजिक सञ्जालमा सिंहदरबार जलाउनु हुँदैन भनेर चिन्ता व्यक्त गरिरहेको थियो । सर्वोच्च अदालत र सिंहदरबार जल्दा त मेरो पनि मन रोएको थियो ।

कानुन पढ्दा पहिलो वर्षमा ‘न्यायाधीश भ्रष्ट हुन्छन्, न्यायालय कहिल्यै भ्रष्ट हुँदैन’ भनेर पढाइएको थियो । सर्वोच्च अदालत जलेको देख्दा न्यायालय त भ्रष्ट थिएन, किन जलाएको होला भनेर मनभरि पीडा भयो । दुईदिने घटनाले देशमा एउटा ‘पावर भ्याकुम’ सिर्जना गरायो । यो आन्दोलनले नेपालमा नयाँ युगको सुरुआत गरायो । यद्यपि, जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन भ्रष्टाचारविरुद्धको आन्दोलन थियो । हामी सत्ता परिवर्तन भएमा के गर्ने ? तयार नै थिएनौं । हाम्रो पुस्ताले न राजनीति बुझेको थियो, न त देशको संरचनागत बनोट ।

हामीलाई एउटा नयाँ चुनौती थियो, हामीलाई नेतृत्व गर्ने व्यक्तिको खोजी गर्ने । सामाजिक सञ्जालसँगै हुर्किएको पुस्ता हामीले सामाजिक सञ्जाल ‘डिस्कोर्ड’मा घण्टौं छलफल गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व गर्न योग्य व्यक्तिको रूपमा छान्यौं । त्यो डिस्कोर्डको मिटिङमा म पनि थिएँ । निकैबेरसम्म सुनें । हाम्रो पुस्तामा जोस त छ तर ज्ञान र अध्ययनको कमी रहेछ भन्ने आभास पाएँ ।

राज्यका अंगहरू कसरी परिचालन हुन्छन् ? सरकार कसरी चल्छ ? जस्तो सामान्य प्रणालीबारेको ज्ञान कमजोर भएको पाएँ । माथि नै भनेको थिएँ नि यो पुस्ता राजनीतिमा चासो नदिने पुस्ता हो भनेर । सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको निर्वाचन सुन्दा निकै खेलाँची जस्तो सुनिएता पनि त्यो समयको माग थियो । जसले अन्तर्राष्ट्रिय रूपमा पनि देशलाई प्रख्यात बनाएको देखिन्छ । यसको राम्रो पक्ष भने देशका लागि सामाजिक सञ्जालको प्रयोग कसरी हुन्छ भन्ने एउटा उदाहरणको बन्न पुग्यो ।

प्रधानन्यायाधीश सुशीला कार्कीलाई जेन—जीले रुचाउँदा धेरै प्रश्न आए । एउटा संविधान अनुकूल नियुक्ति थियो वा थिएन ? दोस्रो, जेन–जी युवा पुस्तालाई किन सुशीला कार्कीले नेतृत्व गर्ने ? आदि । ‘पिपुल्स विल’ संविधानवादको मर्म हो र यो संविधानभन्दा माथि हुन्छ जस्तो तर्क दिएर भएको नियुक्ति आवश्यकताको सिद्धान्तले ल्याएको हो । संविधानले जनतालाई सार्वभौमसत्ता सुम्पेको छ भन्ने मलाई पनि लागेको छ ।

राम्रो लागेको पक्ष भनेको युवामा राजनीतिक चेतना प्रस्फुटन भएको छ । प्लेटोले भने अनुसार, ‘यदि तपाईं राजनीतिमा चासो राख्नु हुँदैन भने तपाईं मूर्खहरूको शासनमा बस्न बाध्य हुनुहुनेछ ।’ जुन पुस्ताले म राजनीति बुझ्दिनँ, मलाई चासो लाग्दैन भन्ने गथ्र्याे, आज त्यही पुस्तामा राजनीतिलाई आफ्नो ठानिरहेछ, यसमा टेकेर देश बनाउन अघि सरिरहेको छ ।

अचम्म लाग्छ, एक महिना अघिसम्म म आफै| पनि राजनीतिमा चासो नदिने मानिस थिएँ । कानुनको विद्यार्थी भएकाले अलिअलि त थाहा थियो तर यो आन्दोलनपश्चात् खोजी—खोजी राजनीतिक विषयमा चासो दिने भएकी छु । लोकतान्त्रिक देशका नागरिकका लागि राजनीतिक चेतना अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने पढेकी थिएँ अहिले महसुस गर्दैछु । हामीहरू भनेका खासमा राष्ट्रका भविष्य हौं, राष्ट्रका मानव सम्पत्ति हौं ।
कोटेश्वर, काठमाडौं


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.