दार्शनिक प्लेटोले त भनेको सम्झन्छु, ‘यदि तपाईं राजनीतिमा चासो राख्नु हुँदैन भने तपाईं मूर्खहरूको शासनमा बस्न बाध्य हुनुहुनेछ।’
स्मारिका पराजुली (२१) । जेनरेसन जेड अर्थात् जेन–जी पुस्ताले पुरानो पुस्ताको त्यो सरकारलाई यसरी र यति छिट्टै ढाल्ला र आफू अनुकूलको सरकार बनाउला भन्ने सोचेकै थिइनँ । तर अहिलेको नेपाली राजनीतिमा ठूलो छाप छोड्न सफल भएको छ । राजनीतिक विषयमा खासै रुचि नदिने भनेर चिनिने यो पुस्ताले आज देशलाई फड्को मार्न बाध्य बनाएको छ । सामाजिक सञ्जाल र इन्टरनेटको विकाससँगै हुर्किएको पुस्ताले आफ्नो आन्दोलनको सुरुवात पनि सामाजिक सञ्जालबाटै सुरु गरेर सडकसम्म आइपुगेको थियो ।
विभिन्न पदमा पुग्न सफल व्यक्तित्वका छोराछोरीले कसरी विलासिताको जीवनयापन गरिरहेका छन् भन्ने प्रश्न सञ्जालमा उठाइएको थियो । पहिला यो ट्रेन्ड सुरु हुँदा कानुनको विद्यार्थी भएर पनि होला यो ट्रेन्ड कानुनी रूपमा मलाई गलत लागेको थियो । प्रमाण बेगर लागेको आरोप र बाबुआमाले गरेको कसुरमा छोराछोरीको नाम मुछिनु सैद्धान्तिक रूपमा गलत थियो । सामाजिक सञ्जालमा यो ट्रेन्ड चर्किंदै गर्दा सामाजिक सञ्जाल बन्द गर्ने गरी भएको सरकारको निर्णयले आगोमा घिउ थप्ने काम गर्यो ।
मेरो वैयक्तिक स्वतन्त्रताको हक राज्यले खोस्न खोजेको हो भन्ने महसुस मेरो पुस्ताले पनि गर्न थाले । सरकार र राजनीतिक दलप्रतिको युवा आक्रोशलाई यस निर्णयले ‘क्याटालिस्ट’को भूमिका निर्वाह गर्यो । यसै कर्ममा टिकटकमा भदौ २३ गते माइतीघर मण्डलामा सबै युवा भेला भएर भ्रष्टाचारविरुद्ध आवाज उठाउने भन्ने कुरा एक कान, दुई कान मैदान भयो । सुरुमा त यो आन्दोलन सफल हुँदैन जस्तो सोचेको थिएँ । तर यो कुराको प्रचार सामाजिक सञ्जालमा यसरी हुन थाल्यो कि मलाई पनि जानुपर्छ जस्तो लाग्यो ।
आन्दोलन हुने दिन बिहानसम्म पनि जाने कि नजाने टुंगो थिएन तर सञ्जालमा सबैजना आन्दोलनमा गएको देखेपछि मन थामिएन । म र साथी पनि देशका लागि जानुपर्छ भनेर करिब ११ः३० बजेतिर आन्दोलनमा सहभागिता जनाउन पुग्यौं । आन्दोलनमा कलेज डे«स लगाएर जाने कि ? भन्ने कुरा आयो तर फेरि प्रहरीले आन्दोलनलाई सहयोग गर्ने र व्यवस्था मिलाइदिने भन्ने कुरा पनि आयो । त्यसपछि हामी केही हुँदैन भनेर ढुक्क भएर ड्रेसबिनै गयौं ।
आन्दोलनमा होमिएको यो मेरो पहिलो अनुभव हो । त्यसैले मनमा अलि अलि डर थियो । बानेश्वर पुगेपछि डर अलि कम भयो । त्यहाँ सबैजना आआफ्नो समूहमा शान्तपूर्ण ढंगले सहभागिता जनाउँदै थिए । कतै नारा त कतै देशभक्तिका गीत गुञ्जिरहेका थिए । स्कुल पढ्ने विद्यार्थी पनि डे«समा सहभागिता जनाउन आएका थिए । त्यो भिडमा भिडलाई उत्तेजित बनाउने मोटरसाइकलको आवाज निकालेर शान्त आन्दोलनलाई उत्तेजित बनाउने कोसिस पनि हुँदै थियो भने एउटा जमातले हल्ला गर्नेलाई गाली पनि गर्दै थिए ।
२३ गतेको आन्दोलन शान्तिपूर्ण रूपले गरिएको आन्दोलन थियो । आन्दोलन शान्तिपूर्ण हुँदै गर्दा बीचमा अचानक खै कताबाट आन्दोलन हाइज्याक भएको महसुस भयो । भिड धेरै थियो । भनिन्छ, भिडले न कान सुन्छ न त आँखा देख्छ । त्यो दिन पनि त्यस्तै भएको महसुस भयो । अवसरवादीहरूले घुसपैठ गरी भिडलाई उत्तेजित बनाउने कोसिस गरे र शान्तिपूर्ण आन्दोलन गर्न गएको पुस्ताको नाममा कसैले फाइदा उठाए ।
हामी बानेश्वरबाट बिजुलीबजार जाने बाटोमा थियौं । अगाडि गोली चलाएर एकजनाको मृत्यु भएको छ यता बस्नु सुरक्षित हुँदैन भन्ने कुरा आयो । हामी अनामनगरतर्फ लाग्यौं । यतिबेलासम्म बिजुलीबजार र माइतीघरतिर हुने भिडलाई गोली चलेको थाहा नै थिएन । घर आएर समाचार हेर्दा हामी त्यहीँ हुँदा गोली चलाउन थालिसकेको रहेछ भन्ने थाहा पाएँ । यसरी प्रहरीले भिडलाई चेतावनी नदिइकनै गोली प्रहार गरेको थियो ।
प्रदर्शनकारीलाई तितरबितर नगरी अगाडि जो–जो थिए, उनीहरूलाई ताकेर गोली प्रहार गरेको रहेछ । सुरक्षाकर्मीले प्रयोग गरेको असमानुपातिक बलले मानव अधिकारमा ठूलो प्रश्नचिह्न लगाएको छ । कानुनी व्यवस्था कायम राख्न सुरक्षाकर्मीले बल प्रयोग गर्न सक्छन् तर त्यसको एउटा मापदण्ड र नियम हुन्छ, यति कुरा कानुनको औपचारिक अध्ययनले मलाई सिकाएको छ । २३ गतेको आन्दोलनमा प्रयोग गरेको बल ‘आर्बिट्ररी युज अफ फोर्स’ थियो ।
सुरक्षाकर्मीले प्रयोग गर्ने बल आवश्यक र समानुपातिक हुनुपर्छ भन्ने मानव आधिकारको विश्वव्यापी मान्यता छ । यति प्रदर्शनकारीहरूले हिंसात्मक गतिविधि गरिरहेका छैनन् भने उनीहरू माथि अत्यधिक बल प्रयोग गर्नु पनि मानव अधिकारको गम्भीर उल्लंघन हो । भदौ २३ गतेको घटनामा कोही पनि हातहतियार लिएर उपस्थित भएका जेन–जी थिएनन्, तर मर्ने सबै विद्यार्थी थिए ।
भदौ २३ को घटनामा प्रहरीद्वारा बल प्रयोग गरी जुन हत्या गर्यो, त्यो एउटा नरसंहार थियो । पहिलो दिनको नरसंहारको आक्रोशमा भोलिपल्ट जेन—जी पुस्तासँगै तिनका अभिभावक र सबैजसो पुस्ता सडकमा उत्रिन बाध्य भयो । जुन आक्रोश केबल २३ गतेको घटनाको मात्र थिएन, धेरै वर्षदेखिको देशको ‘कुशासन’प्रतिको रिस पनि थियो । जनताको आवाजलाई निरन्तर बेवास्ता गरेर देशमा गरिरहेको भ्रष्टाचार र कुशासनप्रतिको रिसको स्वरूप ठाउँठाउँमा देखिन थाल्यो । परिणाम, नेताहरूको निजी सम्पत्ति जलाइयो र पार्टी कार्यालयहरू जलाइए ।
युवाको विदेश पलायन, बढ्दो बेरोजगारी, राज्यमा सेवामा चरम भ्रष्टाचार र घुसखोरी पनि आक्रोशमा घिउ थप्ने साधन बने । राजनीतिक दल र तिनका नेताविरुद्ध विस्फोटक भएर आन्दोलनकारी सडकमा छताछुल्ल भएको देखिन्थ्यो । दुर्भाग्य, जनताको आक्रोशको फाइदा उठाएर २४ गते घुसपैठ भएको देखिन्छ । संसद् भवन त जलेकै थियो, सिंहदरबार जलाउने, सर्वोच्च अदालत खरानी बनाउने, बैंक लुट्ने आदि सबै भए । जुन काम जेन–जीको थिएन । २३ गतेको आन्दोलनमा उत्रेको जेन–जी पुस्ता त सामाजिक सञ्जालमा सिंहदरबार जलाउनु हुँदैन भनेर चिन्ता व्यक्त गरिरहेको थियो । सर्वोच्च अदालत र सिंहदरबार जल्दा त मेरो पनि मन रोएको थियो ।
कानुन पढ्दा पहिलो वर्षमा ‘न्यायाधीश भ्रष्ट हुन्छन्, न्यायालय कहिल्यै भ्रष्ट हुँदैन’ भनेर पढाइएको थियो । सर्वोच्च अदालत जलेको देख्दा न्यायालय त भ्रष्ट थिएन, किन जलाएको होला भनेर मनभरि पीडा भयो । दुईदिने घटनाले देशमा एउटा ‘पावर भ्याकुम’ सिर्जना गरायो । यो आन्दोलनले नेपालमा नयाँ युगको सुरुआत गरायो । यद्यपि, जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन भ्रष्टाचारविरुद्धको आन्दोलन थियो । हामी सत्ता परिवर्तन भएमा के गर्ने ? तयार नै थिएनौं । हाम्रो पुस्ताले न राजनीति बुझेको थियो, न त देशको संरचनागत बनोट ।
हामीलाई एउटा नयाँ चुनौती थियो, हामीलाई नेतृत्व गर्ने व्यक्तिको खोजी गर्ने । सामाजिक सञ्जालसँगै हुर्किएको पुस्ता हामीले सामाजिक सञ्जाल ‘डिस्कोर्ड’मा घण्टौं छलफल गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व गर्न योग्य व्यक्तिको रूपमा छान्यौं । त्यो डिस्कोर्डको मिटिङमा म पनि थिएँ । निकैबेरसम्म सुनें । हाम्रो पुस्तामा जोस त छ तर ज्ञान र अध्ययनको कमी रहेछ भन्ने आभास पाएँ ।
राज्यका अंगहरू कसरी परिचालन हुन्छन् ? सरकार कसरी चल्छ ? जस्तो सामान्य प्रणालीबारेको ज्ञान कमजोर भएको पाएँ । माथि नै भनेको थिएँ नि यो पुस्ता राजनीतिमा चासो नदिने पुस्ता हो भनेर । सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको निर्वाचन सुन्दा निकै खेलाँची जस्तो सुनिएता पनि त्यो समयको माग थियो । जसले अन्तर्राष्ट्रिय रूपमा पनि देशलाई प्रख्यात बनाएको देखिन्छ । यसको राम्रो पक्ष भने देशका लागि सामाजिक सञ्जालको प्रयोग कसरी हुन्छ भन्ने एउटा उदाहरणको बन्न पुग्यो ।
प्रधानन्यायाधीश सुशीला कार्कीलाई जेन—जीले रुचाउँदा धेरै प्रश्न आए । एउटा संविधान अनुकूल नियुक्ति थियो वा थिएन ? दोस्रो, जेन–जी युवा पुस्तालाई किन सुशीला कार्कीले नेतृत्व गर्ने ? आदि । ‘पिपुल्स विल’ संविधानवादको मर्म हो र यो संविधानभन्दा माथि हुन्छ जस्तो तर्क दिएर भएको नियुक्ति आवश्यकताको सिद्धान्तले ल्याएको हो । संविधानले जनतालाई सार्वभौमसत्ता सुम्पेको छ भन्ने मलाई पनि लागेको छ ।
राम्रो लागेको पक्ष भनेको युवामा राजनीतिक चेतना प्रस्फुटन भएको छ । प्लेटोले भने अनुसार, ‘यदि तपाईं राजनीतिमा चासो राख्नु हुँदैन भने तपाईं मूर्खहरूको शासनमा बस्न बाध्य हुनुहुनेछ ।’ जुन पुस्ताले म राजनीति बुझ्दिनँ, मलाई चासो लाग्दैन भन्ने गथ्र्याे, आज त्यही पुस्तामा राजनीतिलाई आफ्नो ठानिरहेछ, यसमा टेकेर देश बनाउन अघि सरिरहेको छ ।
अचम्म लाग्छ, एक महिना अघिसम्म म आफै| पनि राजनीतिमा चासो नदिने मानिस थिएँ । कानुनको विद्यार्थी भएकाले अलिअलि त थाहा थियो तर यो आन्दोलनपश्चात् खोजी—खोजी राजनीतिक विषयमा चासो दिने भएकी छु । लोकतान्त्रिक देशका नागरिकका लागि राजनीतिक चेतना अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने पढेकी थिएँ अहिले महसुस गर्दैछु । हामीहरू भनेका खासमा राष्ट्रका भविष्य हौं, राष्ट्रका मानव सम्पत्ति हौं ।
कोटेश्वर, काठमाडौं
प्रतिक्रिया दिनुहोस !