अस्ट्रेलियामा नेपालीको दसैं : कतै सेलरोटी, कतै खसीबाजी
सिड्नी :सिड्नीको उपनगर अस्ट्रलको क्रेइक मैदान छेउमा नेपाली चेलीबेटी आफ्नो संस्कृति र परम्पराको झल्को दिलाउने परिकार सेलरोटी पकाउन निकै व्यस्त देखिन्थे। जहाँ दसैंमा घर जान नपाउँदाको न्यास्रो मेट्न र आफन्त तथा साथीभाइहरूसँग रमाइलो भेटघाटन गर्न आउनेहरू भेला भइरहेका थिए। किनभने युवाहरूले आयोजना गरेको दसैं कप फुटबल प्रतियोगितामा खसीबाजी हुँदै थियो। घर फर्किन नपाएका परदेशी छोराछोरी सम्झेर टीका लगाई दिन यसपटक यहाँ आइपुगेका अभिभावकहरू मैदान छेउका कुर्सीमा लस्करै बसेर कसले खसीबाजी जित्ला ? भनेर अनुमान लगाउँदै थिए।
मैदानमा पुग्ने उनीहरूमध्ये कोही नेपाली मौलिकता झल्कने पोसाकमा थिए। थोरै संख्यामा नै किन नहुन, शिरमा ढाकाटोपी र दौरा–सुरवाल पहिरिएका अभिभावकको उपस्थितिले अस्टे«लियन मैदानलाई नेपालमय तुल्याएको थियो। ‘मलाई त उतै (नेपाल) कै घर भए जस्तै भयो,’ चौरमा उभिएर खसीबाजी हेर्दै गरेकी प्रसुमा सुवेदीले भनिन्, ‘नेपाल फर्किनेहरू गइरहेका छन्। आउनेहरू सबै आइसके। जो जहाँको भए पनि नेपाली एउटै परिवारका सदस्य जस्तो लाग्छ।’
हिन्दु धर्मालम्बीहरूको महानचाड दसैंको उल्लास नेपाली गाउँघरको जस्तै नभए पनि संस्कृति र परम्परा बिस्तार र अनुशरण गर्ने गराउने कार्य यहाँ पनि बढ्दो देखिएको छ।
नेपाली समुदायको संस्कृति र परम्पराले फरक धर्म र संस्कृति अँगाल्दै आएका सिड्नीका अन्य बासिन्दाको समेत मन तान्ने गरेको छ। त्यसैले दसैं जस्तो पर्वमा फरक–फरक संस्कृति र फरक–फरक भोजन अर्थात् खानाका परिकारका बारेमा जान्ने उपयुक्त अवसरका रूपमा लिने गरेको बताउँछन् रैथानेहरू पनि।
यस्तो सुनौलो अवसर गुम्न नदिन र दसैंमा रमाई रहेका नेपाली समुदायलाई आफ्ना परम्पराहरू साझा गर्न प्रेरित गर्ने गरी न्यू–साउथ बेल्स राज्यका सांसद नेथन हेगर्टी पनि खसीबाजी हेर्न पुगे।
‘नेपाली समुदायले आफ्नो भोजन, संस्कृति र परम्पराहरू साझा गर्छन्। यहाँको विद्यमान समुदाय सधैं त्यसमा सहभागी हुन्छन्,’ सेलेरोटी पाक्दै गरेको चौरनजिकै अन्नपूर्ण पोस्ट्सँग सांसद नेथमले भने, ‘त्यसकै माध्यमबाट हामीले फरक–फरक संस्कृतिहरू र फरक–फरक भोजनबारे जान्ने अवसर पाएका छौं। हाम्रो नाच, हाम्रो संगीत, हाम्रो संस्कृति र हाम्रो भोजन साझा गर्न मन पराउँछौं। जसले हाम्रो समुदायलाई महान बनाउँछ।’
उनका अनुसार सिड्नीमा नेपाली समुदायको उपस्थिति तीव्र गतिमा बढिरहेको छ। नेथनले भने, ‘मैले नेपाली समुदायबाट धेरै कुरा सिकेको छु। अर्को वर्ष त नेपाल भ्रमणमा गएर त्यहाँको संस्कृतिको प्रत्यक्ष अनुभव गर्न मन छ। ’
दसैंको मुखमा नेपालमा भएका पछिल्ला राजनीतिक घटना क्रमले अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई चिन्तित तुल्याएको छ। आन्दोलनमा भएको मुठभेड र रक्तपातले कैयांै नेपाली भावनात्मक रूपमा प्रभावित भएका छन्। समाज, घरपरिवार र साथीभाइहरूको सुरक्षा र अवस्थाका बारेमा चिन्ता बढाएको छ। यस्तो बेला आन्दोलनमा ज्यान गुमाउने वा घाइते भएका परिवारप्रति आर्थिक, सामाजिक समर्थन जुटाउने पहल पनि भएका छन्। आन्दोलनपछिको राजनीतिक माहौल, नेतृत्व परिवर्तन, लोकतान्त्रिक प्रक्रिया कस्तो हुने हो ? त्यो पनि चिन्ताको विषय बनेको छ। तर, पनि उत्साहित भएका छन्। समावेशी नेतृत्वको माग, नयाँ र जवाफदेही नेतृत्व र पुराना र परम्परागत राजनीतिक तरिकामा परिवर्तन चाहना साटासाट गर्न पनि दसैंको भेटघाट अर्को अवसर बनेको छ।
धेरैले दसैंका भेटघाट र छलफलको मुख्य विषय पनि अहिलेकै परिस्थति बन्ने गरेको बताए। ‘देशको अवस्था हेर्दा छोराछोरी फर्केर जालान जस्तो लाग्दैन’ दसैं–तिहारमा छोरा–बुहारी भेटन सिड्नी पुगेका खम्बजंग शाहले भने, ‘मलाई पनि फर्केर जान मन छैन। तर, जानै पर्छ के गर्ने ? दसैं–तिहार छोरा–बुहारीसँग बिदा लिएर फर्किने पक्षमा छु।’
दसैं त्यसै पनि असत्यमाथि सत्यको विजयको प्रतीक हो। नेपालमा भएको राजनीतिक सफलतालाई यहाँका कतिपय नेपाली विद्यार्थी र युवाले त्यही रूपमा हेरेका छन्। जसले गर्दा दसैंसँगै उत्साह र अपेक्षा पनि बढेको छ।
नेपालीमा दसैं उत्सव पारिवारिक, सांस्कृतिक र सामाजिक रूपमा निकै उल्लासपूर्वक मनाइने भए पनि यहाँ केही खल्लो अनुभव गर्नेहरू छन। सिड्नी, मेलबर्न, ब्रिस्बेन, पर्थ, एडिलेड जस्ता सहरमा कतै–कतै हिन्दू देवी देउताका मन्दिर पनि छन्। जहाँ दसैंका कार्यक्रम आयोजना भइरहेका छन्। खास गरी सांस्कृतिक कार्यक्रममा धेरै रमाउने गर्छन्। घरभित्र पनि, जमरा राख्ने, पूजा गर्ने परम्पराको पलना भइरहेको छ।
आफन्तहरूसँग टीका थाप्न र आशीर्वाद ग्रहण गर्ने योजना पनि बनाइ रहेका छन्। अस्ट्रेलियामा दसैंमा सार्वजनिक बिदा नपर्ने भएकाले नेपालमा झै धेरै दिन लगाएर टीका थाप्न जाने आउने कार्यक्रम भने कमैले तय गर्छन्। तर, नेपाल जान नसके पनि कतिय नेपाली एउटा देशबाट अर्को देशमा रहेका आफन्तलाई भेट्दै छन्। कतिपय त नेपाल फर्किसकेका छन्।
‘टाढा भएकाले धेरै वर्ष भयो छोराछोरीलाई टीका लगाइ दिन नपाएको। यसपटक त १३ वर्षपछि क्यानडाबाट कान्छी छोरी ज्वाइँ पनि टीका थाप्न सिड्नी आउँदैछन्,’ कान्छा छोरा–बुहारीलाई टीका लगाइ दिन नेपालबाट यहाँ आइपुगेका तुलसी उपाध्यायले भने, ‘घर परिवारका सदस्य जताजता छरिए पनि दसैंले मायाको महसुस गराउँदै आफन्त भएको थालोमा डोर्याउने रहेछ।’
अहिले नेपाली परिकार धेरैको भान्छामा पक्न थालेका छन्। दसैंले आफ्नो पहिचान, धर्म र संस्कृतिमा बाँध्ने सघाउने गरेको धेरैको भनाइ छ। देश फर्किन नपाए पनि अस्ट्रेलियाको एउटा राज्यबाट अर्को राज्य र सहर जहाँ आफन्त र नजिकका नेपालीहरू छन् त्यहाँ पुगेर पनि दसैंको भेटघाट र टीका ग्रहण तयारी भइरहेका छन्।
यसपटक नेपाल घर जान नपाए पनि मेलवर्नबाट अस्मिता भट्टराई मामा, माइजू सँग टीका थाप्न अर्को सहर सिड्नी आउँदै छिन्। अस्मिताले भनिन्, ‘नयाँ पुस्ता होस् वा पुरानो हिन्दूहरूको महान चाडपर्वमा कसैले आफन्त बिर्सन सक्दैन।’
दुई वर्षदेखि सिड्नीमा बस्दै आएकी आरती पौडेल दिदीको हातबाट टीका थाप्न ताजमानिया जाने भएकी छिन्। उनले जहाजको टिकट पनि काटिसकेको बताइन्। ‘त्यो ठाउँ त रमाइलो पनि छ। किनभने नेपाल जस्तै हिमाल पहाड देखिन्छन्। दिदी पनि उतै हुनुहुन्छ,’ जान मन लाग्नुको कारण उनले बताइन्।
प्रतिक्रिया दिनुहोस !