पृथ्वीनारायण शाहले दिएको खड्ग फूलपाती सँगै भित्र्याइयो जाजरकोट दरबार
जाजरकोट : तत्कालीन गोरखा राज्यका राजा पृथ्वी नारायण शाहले नेपाल एकीकरण अभियानका सिलसिलामा दुई सय ५७ वर्षअघि जाजरकोट राज्यलाई उपहार स्वरूप दिएको खड्ग अर्थात तरबार बडा दशैंको फूलपातीको अवसर पारेर शक्तिको प्रतीकका रूपमा सोमबार जाजरकोट दरबारमा भित्र्याइएको छ।
बडादशैंका अवसरमा फूलपाती भित्र्याउने कार्यक्रम अनुसार तत्कालीन जाजरकोट राज्यको शक्तिको प्रतीकका रूपमा रहेको उक्त खड्ग जाजरकोटको पुरानो सदरमुकाम जगतिपुरबाट जाजरकोट दरबारमा भित्र्याइएको हो।
स्थानीय सर्वसाधारणहरू, सरकारी कर्मचारी र सुरक्षाकर्मीहरूको व्यापक सहभागितामा शंख ध्वनी र बाजागाजा सहित भेरी नगरपालिका-४ शान्तिचौतारामा स्वागत गदै गैरीखालीमा पूजाआजा र सलामी दिएर उक्त खड्गलाई जाजरकोट दरबार लगिएको हो। बोकाको बली दिएर प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले विधि पूर्वक पूजाआजा गरेर दरबारमा फूलपाती र खड्ग भित्र्याएका हुन्। सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सलामी दिएका थिए।
१८२५ माघ ५ गते काँसीको मणिकर्णिकाघाटमा गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालीन जाजरकोटी राजा हरि शाहसँग नेपाल एकीकरण अभियान सफल पार्ने उद्देश्यले धर्मसन्धी गर्दै उक्त खड्ग (तरबार) जाजरकोट राज्यलाई उपहार स्वरूप दिएका थिए। दुई राज्यका बीचमा एक अर्कालाई सहयोग गर्ने सम्झौता गर्दै दुवै राजाले मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा उक्त खड्ग जाजरकोटी राजालाई दिइएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए।
उनले झन्डै ७ सय वर्ष अघि स्थापना भएको जाजरकोट राज्यको सुरुको राजधानी जगतिपुरमा राखिएको उक्त खड्ग अर्थात तरबार १८५२ सालमा अहिलेको सदरमुकाम खलंगामा राजधानी सारिएपछि दशैंको फूलपातीका दिन विशेष पूजाआजासहित जगतिपुरबाट खलंगा दरबारमा ल्याउने परम्परा सुरु भएको बताए।
फूलपातीका दिन विशेष पूजाआजा सहित बली दिएर जाजरकोट दरबारमा रहेको जमारा घरमा उक्त खड्ग भित्र्याउने परम्परा रहेको छ। जाजरकोट दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ। पहिला राजाले गर्ने खड्ग पूजा राज्य रजौटा उन्मूलन भएपछि २०१८ सालबाट प्रमुख जिल्ला अधिकारीले गदै आएका छन्। जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गत वर्ष गएको भूकम्पले दरबारमा क्षतिग्रस्त भएको छ। त्यही क्षतिग्रस्त दरबारमा विधिपूर्वक शक्तिको प्रतीक खड्ग भित्र्याइएको हो।
जगतिपुरमा रहेको राजा र देवताको शक्तिलाई विस्तारै खलंगास्थित दरबारमा सार्ने उद्देश्यले प्रत्येक वर्ष फूलपातीका दिन पूजाआजासहित उक्त खड्गलाई खर्के देउताका रूपमा पुज्दै ल्याउन थालिएको भेरी नगरपालिका-४ का ७९ वर्षीय समाजसेवी खम्बजंग शाहले बताए। फूलपातीका दिन जाजरकोट दरबारमा भित्र्याइएको उक्त खड्गलाई दशैंको फूलपातीदेखि विजयादशीमीको दिनसम्म पञ्चे बाजाको ध्वनिका साथ बोका, रांगाको बली दिएर भव्य रूपमा पूजाआजा गरी दशमीकै दिन टीका लगाइसकेपछि जगतिपुरमै फर्काउने परम्परा रहे पनि मुलुकको १० वर्षे माओवादी द्वन्द्वका क्रममा असुरक्षाका कारण उक्त खड्ग २०५८ देखि जिल्ला प्रहरी कार्यालयको परिसरमै रहेको कालिका मन्दिरमै राख्ने गरिएको थियो।
गत वर्षदेखि पुरानै परम्परा अनुसार जगतिपुरबाट खड्ग जाजरकोट दरबारमा भित्र्याइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। जाजरकोट राज्यको उत्पति र खड्ग सुरुमा राखिएको मन्दिरको गरिमा र महत्व जोगाउनका लागि उक्त खड्गलाई जगतिपुरमै राख्ने पुरानै परम्पराको निरन्तरता दिने काम भएको प्रजिअ पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस !