तौथलीमा दही छ्यापेर मनाइयो जात्रा
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीमा दही छ्याप्दै धुमधामका साथ जात्रा मनाइएको छ। तौथली भेगभर जिल्लाभरबाट आएका बृद्धबृद्धादेखि युवासम्मले ठेकी र बाल्टीबाट अबिर मिसिएको दही निकाल्दै एकअर्कालाई छ्यापा छ्याप गरी जात्रा मनाएका हुन्।
स्थानीय अगुवा मोहन श्रेष्ठका अनुसार ६ वटा परम्परागत लिंगोमा पूजा, सगुन खुवाएपछि बजारबीच बाट दहीको होली सुरु हुने गर्छ।‘मुलुकमै यस्तो अनौठो दही छ्याप्ने परम्परा र अनेकौं प्राचीन पूजा, अनुष्ठान र जात्रा कहीँ छैन,’श्रेष्ठले भने, ‘यस्तो प्राचीन इतिहास बोकेको तौथलीमा मात्रै छ।’
शुक्रबार दिउँसोबाट सुरु भएको दही छ्याप्ने जात्रा अबेरमा सकेपछि महादेवीलाई जगाउन लिंगो नचाउँदै तरबार, खुँडा, खुकुरी देखाएर नृत्य निकालिएको थियो।ललिता त्रिपुरा सुन्दरी महादेवीको मन्दिरमा जात्रा पुग्दा सबैतिर दही नै दहीले सेताम्मे भइसकेको देखिन्थ्यो।‘महाकाली भगवती (ललिता त्रिपुरा सुन्दरी)ले महिषासुरको वध गरेको खुसीयालीमा किराँतकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको छ,’तौथलीका वडाध्यक्ष यादव श्रेष्ठले भने। गुठियार, स्थानीयले गाई, भैंसी नथाकोस् र पशुपालन, व्यवसाय सप्रिँदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गर्दैआएका छन्।

‘खासमादही प्रसादको रूपमा बाँडिएको हो, सबैलाई दिएर साध्यनहुने भएपछि चारैतिर छ्यापा छ्याप गरिन्छ,’उनले भने। दहीजात्राको संरक्षणका लागि गाउँपालिकाले एक लाख बजेट छुट्याएको छ। हनुमानढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरा सुन्दरी देवीको रोचक जात्रा, पूजा र बलीबडा दसैँको फूलपातीबाट नै सुरु हुने गर्छ।
यो मन्दिरमा दशैंको फूलापतीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनकापहरी समुदायले तीन वटा माछा चढाउँछन्। महाअष्टमीको दिनकालो रंगको बोकाको मात्रै बली दिइन्छ। दशमीको रात यहाँ वर्षमा एकपटक मात्रै देखिने दुर्लभ भैरव, कुमारी,चण्डी, स्यालकहनजस्तानृत्य जात्रा हुन्छ। भूकम्पमा ध्वस्त भएपछि पुरातत्व विभागको तीन करोड ६५ लाखमा पुरानै संरचनामा पुनर्निर्माण गरिएको त्रिपुरा सुन्दरी माईमा गरिएको भाकल पूरा हुने धार्मिक मान्यता रहेको छ।

प्रतिक्रिया दिनुहोस !