पहिरो पन्छाउने काम नसकिँदा सडक सञ्चालनमा आउन सकेन

पहिरो पन्छाउने काम नसकिँदा सडक सञ्चालनमा आउन सकेन
सुन्नुहोस्

धनकुटा : अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको भेडेटार–रवि–राँके सडक खण्डमा पहिरो पन्छाउने काम नसकिँदा सडक सञ्चालनमा आउन सकेको छैन। जसको कारण सवारी आवतजावत ठप्प भएको छ। सोमबार दिनभरि पहिरो पन्छाउने काम गरिएको थियो।

धनकुटा, इलाम र पाँचथर जोड्ने यो सडक खण्डअन्तर्गत भेडेटार–ओख्रे खण्ड मात्र अहिले सञ्चालनमा छ। भेडेटार–डाँडाबजार खण्डका तीन स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको थियो। साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईका अनुसार सोमबार दिउँसो भेडेटार नजिकैको नाम्जे थुम्कीको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। हाल ओख्रेसम्मको सडक सुचारु भइसकेको छ। तर, ओख्रे–डाँडाबजार खण्डको लुम्फाजुङ र वालुवाखानी क्षेत्रको पहिरो पन्छाउने काम जारी छ।

भेडेटार–रवि–राँके सडक निर्माण गरिरहेको कम्पनीले चारवटा स्काभेटर प्रयोग गरी पहिरो पन्छाइरहेको साँगुरीगढी गाउँपालिका–५ का वडाध्यक्ष खड्ग लिम्बूले बताए। सडकको चौडाहा फराकिलो गर्न भीर कटान गरिएकाले वर्षा हुँदा पहिरो खस्ने गरेको र सडक बारम्बार अवरुद्ध हुने गरेको उनले बताए। भेडेटार–डाँडाबजारको दूरी १२ किलोमिटर छ। हाल भेडेटारदेखि ओख्रेसम्मको ६ किलोमिटर सडक सुचारु भएको छ भने ओख्रेदेखि डाँडाबजारसम्मको ६ किलोमिटर खण्डको पहिरो पन्छाउन मंगलबार दिनभर लाग्ने वडाध्यक्ष लिम्बूले बताए।

यता चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले यो खण्डअन्तर्गत चौबिसेतर्फको खाप्रुङ र कोर्नामा पहिरो खसेर सडक अवरुद्ध भएको छ। डाँडाबजारसम्म पहिरो पन्छाएपछि यताको काम सुरु गर्ने जानकारी प्राप्त भएको उनले बताए। अध्यक्ष लिम्बूका अनुसार सोही खण्डअन्तर्गत पर्ने ६ नं. बुधबारेदेखि सौर्यसम्मको पहिरो पन्छाइसकिएको छ। खाप्रुङ र कोर्नाको पहिरो पन्छिएपछि यातायात सूचारु हुनेछ। राजारानी बजारदेखि ६ नं. बुधबारेसम्मको दूरी २७ किलोमिटर रहेको छ।

छरुवा खोलाको बाढीले क्रसर बगायो
चौबिसे गाउँपालिका–४ फलामेटार नजिकै छरुवा खोलामा आएको लेदोसहितको बाढीले मेसिनरीसहितको क्रसर बगाएको छ।
निर्माणाधीन तमोर करिडोर सडक र पक्की पुलका लागि गिट्टी, बालुवा उत्पादन गर्न रौता कन्स्ट्रक्शनले क्रसर सञ्चालन गरेको थियो। 

बाढीले १०–१२ किलोमिटर सडक कालोपत्रे गर्न तयार गिट्टी, बालुवा र मेसिनरी औजार बगाएको सञ्चालक सन्तोष दाहालले बताए। बाढीले दुईवटा ट्याक्टरसमेत बगाएर तमोर खोलाको किनारमा पु¥याएको छ। यसबाट ७० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको उनले जनाए। तमोर कोरिडोर सडक खण्डअन्र्तगत पक्की पुल नभएका खोलामा निरन्तर बाढी आइरहेको र खोलाको बहाव नघटेको कारण सोमबार सवारीसाधन नचलेको फलामेटारका स्थानीय महेन्द्र न्यौपानेले बताए।

कोशी राजमार्गको पहिरो स्थलमा एकतर्फी यातायात सञ्चालन
कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डअन्तर्गत भेडेटार–मूलघाट खण्डमा पहिरो गएको स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय धनकुटाकी सुपरभाइजर अमृता राईले बताइन्। उनका अनुसार मूलघाटदेखि भेडेटारसम्म विभिन्न तीन ठाउँमा पहिरो गएको छ। जसको कारण सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएर आइतबार साँझदेखि सडक सञ्चालनमा आइसकेको छ। 

तर, अहिले पनि पहिरो भएको स्थलमा सडक साँघुरो भएका कारण एकतर्फी मात्र सवारीसाधन आवतजावत गरिरहेको उनले बताइन्। पहिरोको जोखिम अझै पनि छ। वर्षा हुनेबित्तिकै पहिरोले बाटो अवरुद्ध बनाउन सक्छ। सडकको पूरै पहिरो नपन्छाएसम्म एकतर्फी मात्रै यातायात सञ्चालन हुने उनले बताइन्। उनले भनिन्, आज रातभरि पहिरो पन्छाएर भोलिदेखि दुवैतर्फबाट सञ्चालन गर्ने प्रयासमा छौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.