प्रयोग नभई थोत्रियो भूकम्पपीडितको भवन

प्रयोग नभई थोत्रियो भूकम्पपीडितको भवन
९ वर्षदेखि प्रयोगविहीन पालुङटार–७ गोरखाको महल ।

गोरखा : झट्ट हेर्दा अपार्टमेन्ट, सपिङ महल तथा कर्पोरेट टावरजस्तो देखिने यो बंगला कुनै देशी, विदेशी सहरको नभई पालुंटार नगरपालिकाको एउटा कुना बिरुवाटारको हो । बिरुवाटार पालुंटार–७ मा अवस्थित ८, १० घर रहेको सानो स्थानीय बजार हो । यहाँबाट सात सय मिटर दक्षिण–पूर्व कच्ची बाटो गएपछि पुर्ने पीपल भन्ने गाउँ आउँछ, त्यहीँ ठडिएको अलिसान हबेली हो यो । २०७२ सालको भूकम्पपछि घरबासविहीन भूकम्पपीडितहरूलाई आश्रय दिने उद्देश्यले निर्माण गरिएको यो हबेली नौ वर्षदेखि रित्ताको रित्तै छ ।

करिब सात रोपनी सार्वजनिक जमिन चर्चेर ३१ करोडको लागतमा निर्माण गरिएको यी भीमकाय भवन अहिले माकुराको जालो र झाडीभित्र थोत्रिरहेको छ । ‘यहाँ घरबासविहीन भूकम्पपीडितलाई राख्न भनेर बनाइएको हो तर भूकम्पपीडितहरू बस्न नमानेपछि एक दिन पनि प्रयोग भएन’, वडाध्यक्ष अर्जुन कुमाल भन्छन्, ‘नौ वर्ष भयो यो भवन रित्ताको रित्तै छ ।’ घरबासविहीन भूकम्पपीडित प्रतिपरिवार दुई कोठाका दरले उपलब्ध गराउने भनिए पनि सुविधासम्पन्न भवन यति लामो समय प्रयोगविहीन भएको उनको भनाइ छ ।

यहाँ पाँच तला भएका भीमकाय चारवटा भवनहरू छन् । तारबार गरेर कम्पाउन्डिङ गरिएको छ । ‘पाँच–पाँचतले चारवटा भवन छन् । सबै गरेर यहाँ १२० वटा कोठा छन् । बिजुली, पानी, शौचालय, सबै सुविधासम्पन्न छन्’, वडाध्यक्ष कुमाल भन्छन्, ‘भूकम्पपीडितलाई राख्ने भनिएको थियो, तर खेतबारीको काम गरिखाने भूकम्पपीडित यहाँ बासमात्र दिएर बस्न मानेनन् । गरिखाने जग्गाजमिन पनि चाहिन्छ, आफ्नो टोल, संस्कृति, परम्परा, गाउँ समाज छोडेर यहाँ आएर बस्न मानेनन् ।’ भूकम्पपीडित बस्न नमानेपछि यसलाई कसरी प्रयोग गर्ने भन्ने विषय अनिर्णीत हुँदा यी भवनहरू नौ वर्षदेखि थोत्रिएका छन् ।

महलभित्र पस्ने गेट खुलै छ, तर भवन झाडीले ढाकेकाले भित्र छिर्न मुस्किल छ । ठूला लाइटिङ सिस्टमहरू बेस्याहार छन् । स्याहार सम्भारको अभावमा कतै घामपानीले रङ खुइलिएका छन् ।

स्थानीय नेताहरूले कुनै भाषणमा यहाँ कृषि क्याम्पस चलाउने भन्छन्, कसैले नगर अस्पताल बनाउने भनेर झ्याली पिटाउँछन् । कसैले सीटीईभीटीले एचए पढाउने मेडिकल कलेज बनाउने हल्ला पिटाएका छन् । पछिल्लो समयमा यसलाई सशस्त्र प्रहरी स्कुल बनाउने हल्ला चलेको छ । ‘पछिल्लो चरणमा यहाँ सशस्त्र प्रहरी स्कुल चलाउन दिने भन्ने कुरा भएको छ’, वडाध्यक्ष अर्जुन कुमालले भने, ‘त्यसो भयो भने हाम्रो वडालाई मात्र होइन, पालिकालाई नै राम्रो हुन्छ ।’

सशस्त्र प्रहरी स्कुल बनाउने भनेर तीन महिनाअघि छलफल भए पनि प्रक्रिया भने केही पनि अघि बढेको छैन । ‘जसले जे बनाउने भनेर हल्ला गरे नि यसलाई कि अस्पताल बनाए राम्रो, कि गार्मेन्ट उद्योग सञ्चालन गर्न निजी क्षेत्रलाई दिए राम्रो हुन्छ भन्ने लाग्छ’, स्थानीय भरतराज पाण्डे भन्छन्, ‘त्यसो भयो भने स्थानीयले रोजगारी पनि पाउने, स्वदेशी उद्योग पनि फस्टाउने हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.