साधुवाद ! क्रान्तिकारी बालिका करुणा

साधुवाद ! क्रान्तिकारी बालिका करुणा

गोरखा : बुढेसकालमा लालनपालन गर्न र मृत्युपछि काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने अन्धकथनलाई चुनौती दिँदै गोरखाकी एक बालिकाले बुवाको अन्त्येष्टि गरी किरिया बसेकी छिन्। गोरखा नगरपालिका-७ बतासेकी १५ वर्षीया करुणा रायमाझी बुधबार मृत्यु भएका पिता रामचन्द्र रायमाझीको दाहसंस्कार गरी किरिया बसेकी हुन्।

मृतक बुवालाई मर्स्याङ्दी र दरौंदीको दोभान (रामशाहघाट)मा दागबत्ती दिएर दाहसंस्कार गरेलगत्तै फर्केर उनी सेतो वस्त्र धारण गरी बुवाको किरियामा बसेकी हुन्। करुणा रामचन्द्रकी एक्ली सन्तान हुन्। उनले बिहीबार रीतभातअनुसार दोस्रो दिनको काजकिरिया गरेकी छिन्। १३ दिनसम्मको अन्तिम संस्कार गर्ने करुणाको भनाइ छ। ‘४५ दिन र वर्ष दिनको कर्म पनि म आफैं गर्नेछु’, उनले भनिन्। दाहसंस्कार र दुई दिनसम्मको किरिया प्रक्रियामा कुनै दुःख अनुभव नगरेको उनको भनाइ छ। ‘बुवा बित्नु भएको छ। मनमा दुःख त छँदैछ, तर हिजो दाहसंस्कार गर्दा र अहिले किरिया गरिरहँदा जे जति काम गरेँ, त्यसमा कुनै गाह्रो लागेको छैन’, उनले भनिन्, ‘यही काम छोरा भएको भए पनि गरिहाल्थ्यो। मैले किन अप्ठेरो मान्ने ? ’ छोरा र छोरीमा कुनै भेद नभएको उनको तर्क छ।

४९ वर्षका रायमाझीको मृत्युपछि उनका सहोदर भाइ काजकिरिया बस्नका लागि तयार भएका थिए। ‘काकाले म गर्छु भन्नुभएको थियो तर मलाई आफ्नो बुवाको अन्त्येष्टि र किरिया आफैं गर्न मन लाग्यो। म आफैं गर्छु भनेको थिएँ। आफन्त, छरछिमेक सबैले हुन्छ भनेर सहमति दिनुभयो’, उनले भनिन्, ‘दुई दिन भयो किरिया बसेका छु। छोराले गर्ने कर्म छोरीले चाहिँ किन गर्न नसक्ने भन्ने लाग्छ। छोरीले पनि छोरासरह कर्तव्य गरे छोरी जातिको पनि महत्त्व बढ्छ।’ बुवाको किरिया गर्ने आफूले अकस्मात निर्णय गरेको उनको भनाइ छ। ‘यो बारेमा मैले कहिल्यै सोचेको पनि थिइनँ। यसो गर्नुपर्छ भनेर मलाई कसैले सिकाएको पनि होइन। योभन्दा पहिले कतै छोरीले किरिया बसेको भनेर थाहा पनि थिएन’, उनी भन्छिन्, ‘मेरो भाइ पनि छैन, दाइ पनि छैन। मैले नगरे कसले गर्छ त भन्ने कुरा मनमा आयो अनि मै गर्छु भनेँ। सबैले हुन्छ भन्नुभयो। अनि गरेँ।’

सेतो वस्त्र धारणा गरेर किरिया बसेकी उनले कपाल भने खौरिएकी छैनन्। पुरोहितको सल्लाह, सुझावअनुसार कपाल व्यवस्थित गरी कर्म गरेको उनको भनाइ छ। करुणा दुई वर्षकी हुँदा आमाको मृत्यु भएको थियो। हजुरआमाको लालनपालनमा उनी हुर्केकी थिइन्। उनी अहिले स्थानीय नवज्योति मावि डण्डीडाँडामा कक्षा ९ मा पढ्दैछिन्। धेरै नबोल्ने करुणा बोलेको कुरा पूरा गरिछाड्ने आँटिली छात्रा रहेको उनका छिमेकीसमेत रहेका सो विद्यालयका शिक्षक सुमन ज्ञवाली बताउँछन्। ‘अहिले बुवाको किरिया गर्ने क्रान्तिकारी आँट गरेकी छिन्। यो धेरै प्रशंसनीय काम हो’, शिक्षक ज्ञवालीले भने, ‘गाउँटोलमा सबैले उनको हिम्मतको प्रशंसा गरेका छन्।’ समाज रूपान्तरणका लागि उनको हिम्मत उदाहरण भएको ज्ञवालीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.