मनास्लु क्षेत्रमा पुरिएका पर्यटकको उद्धार हुन सकेन
गोरखा : मनास्लु क्षेत्रमा पर्यटक पुरिएको घटनास्थलसम्म उद्धारकर्ताहरू पुग्न सकेका छैनन्। चुमनुब्री ३ न्याकफेदीमा चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रास्कोभा पुरिएको ठाउँसम्म प्रहरी तथा स्थानीयवासी उद्धार गर्न जान नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शुक्रबार करिब तीन बजेतिर पहिरोले पुरेको उनलाई साँझसम्म पनि उद्धार गर्न नसकिएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। ‘उहाँलाई पुरेको पहिरोसम्म जाने बाटोमा फेरि अर्को ठूलो पहिरो झरेर बाटो अवरुद्ध भएको छ’, डिएसपी श्रेष्ठले भने, ‘पानी निरन्तर परिरहेको र पहिरो पनि झरिरहेकाले उद्धार गर्न सम्भव भएन।’
चुमनुब्री १ सामागाउँबाट फर्केका उनी र उनका श्रीमानको टिममा उनी पुरिएपछि श्रीमान र गाइड रेशम भट्ट भागेर ज्यान जोगाएका थिए।
प्रतिक्रिया दिनुहोस !