भिजिट भिसा प्रकरण, सहसचिव भट्टराईसहित ७ विरुद्ध मुद्दा

भिजिट भिसा प्रकरण, सहसचिव भट्टराईसहित ७ विरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसमेत ७ जना र २ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले उनीहरूविरुद्ध भिजिट भिसा तस्करी गरेर भ्रष्टचार र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष मुद्दा दर्ता गरेको हो।

भट्टराईको गाउँले बहिनी कविता पौडेल र जग्गा कारोबारीलाई पनि मुद्दा हालिएको छ। अख्तियारले भट्टराई, पौडेल र सुवेदीविरुद्ध ७९ लाख ८० हजार बिगो मागदाबी गरेको छ। त्यस्तै अख्तियारले अध्यागमन अधिकृत यज्ञराज अर्यालविरुद्ध पनि मुद्दा हालेको छ। अध्यागमन अधिकृत अर्याललाई ८ लाख बिगो कायम गरिएको छ।

ग्रीनलाइन होलिडेज प्रालि र कम्पनीका अध्यक्ष बालकृष्ण खड्कालाई पनि प्रतिवादी बनाएको छ। ग्रीनलाइन होलिडेज प्रालि र त्यस कम्पनीका अध्यक्ष खड्काविरुद्ध ३० लाख २० हजार बिगो तोकिएको छ। फेमली होलिडेज ट्राभल्स एन्ड टुर्स प्रालि र कम्पनीका संस्थापक सेयर सदस्य एवं सञ्चालक दीपक भण्डारीलाई पनि अख्तियारले मुद्दा हालेको छ। उनीहरूविरुद्ध १० लाख ६० हजार बिगो मागदाबी गरिएको छ। 

त्यस्तै ग्रीनलाइन होलिडेजका तत्कालीन सेयर सदस्य एवं सञ्चालक राम खड्काविरुद्ध पनि मुद्दा चलाइएको छ। उनीविरुद्ध ३० लाख २० हजारको बिगो मागदाबी छ। भट्टराई, पौडेल र सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुर पनि अख्तियारले तत्कालीन अध्यागमन कार्यालय प्रमुख भट्टराई, उनको बहिनी नाता पर्ने कविता पौडेल र जग्गा कारोबारी खेमप्रसाद सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको छ। भट्टराईविरुद्ध १ करोड ३ लाख ७९ हजार ६ सय बिगो कायम गरिएको छ। उनको बहिनी नाता पर्ने पौडेल र जग्गा करोबारी सुवेदीविरुद्ध पनि १ करोड ३ लाख ७९ हजार ६ सय विगो कायम गरिएको छ।

कसरी भयो घुस लेनदेन ?
सहसचिव भट्टराई अध्यागमन कार्यालयमा ०८१/०६/२३ गतेदेखि ०८२/०२/०७ गतेसम्म प्रमुख अध्यागमन अधिकृतको रूपमा कार्यरत थिए। उक्त अवधिमा भिजिट तथा पर्यटन भिसामा विदेश यात्रामा आवश्यक पर्ने कागजातहरूसम्बन्धी जारी भएको निर्देशनको प्रक्रिया अनुशरण गरी यात्रु प्रस्थान गर्दा पेस गर्नुपर्ने सम्पूर्ण कागजातहरू अध्यागमन प्रणालीमा अपलोड गरी अभिलेखीकरण गर्नु गराउनुपर्नेमा सोसमेत नगरी/नगराई भिजिट भिसामा विदेश जाने नेपाली यात्रुहरूलाई दुःख हैरानी दिई यात्रुहरूबाट घुस/रिसवतबापत थप रकम लिई खाने खुवाउने मनसायले आफ्नो जिम्मेवारीसँग स्वार्थ बाझिने व्यक्तिहरू बाल कृष्ण खड्का तथा दीपक भण्डारी समेतसँग नियमित सम्पर्क भेटघाट गर्ने गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ।

उनीहरूबाट उपहार लिने, मोबाइल लगायतका सामानहरू खरिद गराउने गरेको देखिएको छ। भट्टराईले पार्सलका नाममा बालकृष्ण खड्का समेतको भेनोलिभा रेष्टुरेण्टमा गई राम खड्काबाट घुस/रिसवतबापतको रकम नै लिएको पनि भेटिएको अख्तियारको आरोपपत्रमा छ। बालकृष्ण खड्का तथा दीपक भण्डारीले विभिन्न माध्यमबाट टिपाएका विदेश जाने यात्रुहरूको नाम आफ्नो डायरीमा पटक–पटक टिपोट गरी सोबापत प्राप्त हुने घुस/रिसवतको रकमको हिसाबकिताब राख्ने गरेको पनि पाइएको अख्तियारले जनाएको छ। भिजिट भिसामा विदेश प्रस्थान गरेका यात्रुहरूका बारेमा बालकृष्ण खड्कालाई जानकारीसमेत दिने गरेको पनि पाइएको आरोप पत्रमा छ।

भट्टराईले आफ्नो कार्यालयको प्रशासन शाखामा काम गर्ने अध्यागमन अधिकृत यज्ञराज अर्याललाई आफ्नो घरमा बोलाई घुस/रिसवतबापत ८ लाख दिएको भेटिएको छ। भट्टराईले कविता पौडेलको नाममा रहेको मोबाइल सिम प्रयोग गरी बदनीयतपूर्वक सेटिङ गरी भिजिट भिसाका यात्रुहरूको नामावली आदानप्रदान गर्ने गरेका पनि अख्तियारको अनुसन्धान देखिएको छ। कविता पौडेलको नामको सिमलाई नै अधिक रूपमा प्रयोग गरेको भेटिएका छ। 

भट्टराईले भिजिट भिसामा विदेश जाने यात्रुहरूको पासपोर्टका इमेजहरू आफूले प्रयोग गर्ने ल्यापटपमा राखेको तथा भिजिट भिसामा विदेश जाने केही महिलाहरूको मात्र एकमुष्ट सूचीलाई नबुझिने गरी ब्लर गराई मोबाइलमा फोटो खिची राखेको अनुसन्धानमा छ। भिजिट भिसामा विदेश जाने यात्रुहरूमध्ये केही यात्रुका नामावली बालकृष्ण खड्कासमेतले पठाएको नामावलीसँग दोहोरिन गएको देखिएको छ। यस गर्दा भट्टराईले बदनीयत राखी भिजिट भिसामा मानिस विदेश पठाउने र सोबापत घुस/रिसवत प्राप्त गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

अख्तियारको अनुसन्धानअनुसार भट्टराईले बालकृष्ण खड्का, दीपक भण्डारीहरूसमेतबाट विभिन्न माध्यमबाट सेटिङमार्फत भिजिट भिसामा विदेश जाने यात्रुहरूको नामावली प्राप्त गर्ने गरेको थिए। उक्त नामावलीहरूलाई विभिन्न डायरीहरूमा यात्रुहरूका नामावली, गन्तव्य मुलुक, प्रस्थान मितिसमेतका विवरण टिपी उल्लिखित पानाहरूमा सांकेतिक रूपमा हिसाबकिताबसमेत राखी घुस/रिसवत लिने गरेको देखिएको छ। केही घुस रिसवतको रकम अध्यागमन अधिकृतहरूबीच बाँडफाँट गर्ने गरेको पनि भेटिएको छ। उक्त घुस/रिसवतबाट प्राप्त ठूलो रकम कविता पौडेलको नाममा जग्गा कारोबारीसमेत रहेका खेमप्रसाद सुवेदीमार्फत जग्गा खरिद गराइदिएको भेटिएको छ।

अख्तियारका अनुसार भट्टराईले घुस/रिसवतबापत प्राप्त रकम कविता पौडेलमार्फत खेमप्रसाद सुवेदीलाई दिएको देखिएको छ। जग्गा कारोबारी सुवेदीले कविता पौडेलबाट पटक–पटक नगदै रकम लिएको देखिएको छ। उक्त रकम लिन जाँदा भट्टराईलाई सोधेर मात्र रकम लिन जाने गरेको भेटिएको छ। सुवेदीलाई नगदै रकम दिँदा कविता पौडेलले आफ्नो कार्यालयमा काम गर्ने मोहन अधिकारीलाई बैंकबाट रकम झिक्न लगाएको देखिएको छ। बैंकमा रकम रहेको श्रोत देखाउनका लागि सोनाम तामाङसँग सरसल्लाह गरी जग्गाको बैना फिर्ता गरेको कागज गरेको पनि देखिएको छ। भट्टराईले घुस/रिसवतबापत प्राप्त रकम कविता पौडेल तथा खेमप्रसाद सुवेदीमार्फत परिचालन गरे गराएको तथ्य पुष्टि भएको अख्तियारको आरोपपत्रमा छ।

अनुसन्धानमा प्रमाण एवं आधार र कारणहरूबाट भट्टराईले प्रमुख अध्यागमन अधिकृतको रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा बदनीयतपूर्ण तरिकाले बालकृष्ण खड्का, दीपक भण्डारी, राम खड्का, कविता पौडेल र खेमप्रसाद सुवेदी समेतसँग सेटिङ गरेको देखिएको छ। उनीहरूले एक आपसमा साँठगाँठ गरी २ सय ५७ (२ सय ५७) जना नेपाली यात्रुलाई भिजिट भिसामा विदेश पठाउँदा बालकृष्ण खड्का, दीपक भण्डारी, राम खड्कामार्फत घुस/रिसवत बापतको रकम लेनदेन गरेको देखिएको छ। यो घुस/रिसवत लेनदेनमा कविता पौडेल र खेमप्रसाद सुवेदीले मतियारको कार्य समेत गरेको अुनसन्धानबाट पुष्टि भएको छ।

भट्टराई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी निर्वाह गरेको अवधिमा कविता पौडेलसँग ८ सय ५८ पटक, बालकृष्ण खड्कासँग १ सय १८ पटक, दीपक भण्डारीसँग २ सय ५३ पटक र खेमप्रसाद सुवेदीसँग ५३ पटक फोनकल गरेको पनि पाइएको छ। भट्टराईको बालकृष्ण खड्का एवं दीपक भण्डारीसँग यात्रुहरूका नामावली टिपोट गर्ने तथा घुस/रिसवत एवं उपहारहरू लिनेदिने सम्बन्धमा तथा भट्टराई र कविता पौडेलबीच घुस/रिसवतबापत प्राप्त रकमको परिचालन गर्ने सम्बन्धमा पटक–पटक मेसेजहरू आदानप्रदान भएको देखिएको देखिएको छ।

कविता पौडेलले आफ्नो डायरीमा खेमराज सुवेदी (खेमप्रसाद सुवेदी) ले विभिन्न समयमा रकम लिएको भनी टिपोट गरेको बेहोरा खुल्न आएको छ। भट्टराईसमेतले बदनियतपूर्वक सेटिङ गरी २ सय ५७ (दुई सय सन्ताउन्न) जना नेपाली यात्रुलाई भिजिट भिसामा मानिस विदेश पठाउँदा बालकृष्ण खड्का, दीपक भण्डारी, राम खड्काले घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको सम्बद्ध कसुर गरेको पुष्टि भएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

उनका अनुसार भट्टराई कविता पौडेल र खेमप्रसाद सुवेदीले यो कसुरबाट प्राप्त सम्पत्ति लुकाउने/छल्ने, बदल्ने कार्य गरी गराई एवं सो कार्यमा मद्दत दुरूत्साहन, सहजीकरण, सरसल्लाह गरी निजहरूले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा ३ बमोजिमको कसुर गरेको वारदात पुष्टि भएको देखिएको छ। उनीहरूले घुस/रिसवत लिई लिन लगाई भ्रष्टाचार गरेको देखिएको छ। उक्त भ्रष्टाचार सम्बद्ध कसुर रही सम्पत्ति शुद्धीकरण कसुरसमेत भए गरेको भट्टराई, यज्ञराज अर्याल, बालकृष्ण खड्का, दीपक भण्डारी, राम खड्का, कविता पौडेल र खेमप्रसाद सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर गरेको भेएिको छ। भट्टराई, कविता पौडेल र खेम प्रसाद सुवेदीले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा ३ बमोजिमको कसुर गरेको पुष्टि भएको देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.