आमा बचाऔं

आमा बचाऔं

आमा बचाउनु तथ्यांकको मात्र होइन, मानसिकताको प्रश्न हो। आमा बचाउन विद्यालयदेखि समाजसम्म सचेतना, प्रजनन अधिकारको सुनिश्चित र स्वास्थ्य सेवा लिने संस्कारको विकास गर्नुपर्छ।

उनी विराटनगर निवासी हुन्। माइत पनि विराटनगर अनि ससुराली (घर) पनि। आठ–दस कोस जंगल काटेर वा लामो यात्रा गरेर अस्पताल पुग्नुपर्ने बाध्यता उनलाई थिएन। स्वास्थ्य संस्थाहरू टाढा पनि थिएन। आर्थिक अभाव पनि थिएन। त्यसै त नेपालमा गर्भ परीक्षणहरू धेरै महँगो छैन, त्यसमा पनि उनको स्वास्थ्य बिमा रहेछ। अर्थात् निःशुल्क जाँच, परामर्श र उपचारको सुविधा उपलब्ध थियो। ससुरा जागिरे, श्रीमान्को व्यापार। परिवार अशिक्षित थिएन, उनी स्वयम् १२ पढेकी।

तर १७ वर्षमै उनले प्रेमविवाह रोजिन्। ३७ हप्ताको गर्भ भएसम्ममा जम्मा दुई पटक परीक्षण। र त्योे पनि कुनै स्वास्थ्य केन्द्रमा नभई अवकाश पाएकी नर्ससँग र टेस्टका नाममा दुईवटा अल्ट्रासाउन्ड। त्यसैलाई सम्पूर्ण एन्टिनेटल केयर (गर्भको पूर्ण परीक्षण) ठानिएको रहेछ। अनि प्रसव पिडामा जोखिम बढेपछि मात्रै अस्पताल आइपुगेकी कथा कुनै चलचित्रको नभई एउटा बालिकाको सत्यकथा हो। जबकि बालबालिकासम्बन्धी ऐन २०७५ ले १८ वर्ष पार नगरेकालाई बालबालिका भनी परिभाषित गरेको छ अनि मुलुकी अपराध संहिता ऐन, २०७४ ले २० वर्ष नपुगी विवाह गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ।

तर पछिल्लो तथ्यांकअनुसार, नेपालमा ३६ दशमलव ६ प्रतिशत बालिकाको विवाह १८ वर्ष नपुग्दै हुन्छ। अझ १० दशमलव ४ प्रतिशत विवाह १५ वर्षभन्दा कम उमेरमै हुने गरेको देखिएको छ। यहाँ प्रश्न एउटा महिलाको मात्र होइन। यो प्रश्न समाजको चेतनामाथि हो। स्वास्थ्य प्रणालीको जिम्मेवारीबोधमाथि हो। र हामी सबैको आत्मसमीक्षामाथि हो। बालविवाहः केवल सामाजिक समस्या होइन, स्वास्थ्य संकट पनि हो र आर्थिक र रोजगारको चुनौती पनि हो।

विश्वभरिकै गणना गर्ने हो भने हरेक तीन मिनेटमा कतै न कतै एउटी किशोरीको विवाह हुने गरेको छ। युनिसेफले सन् २०२३ मा प्रकाशन गरेको तथ्यांकअनुसार करिब ६५ करोड महिला १८ वर्ष पार नगरी विवाहित हुने गरेका छन्। नेपालमा अवस्था झन् डरलाग्दो छ। करिब ३३ प्रतिशत केटीहरू १८ वर्ष नपुग्दै विवाहमा बाँधिन्छन्। हाम्रो कानुनले विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको छ। तर समाजले यो कानुनलाई कागजमै सीमित बनाएको छ। किशोरावस्थामा गर्भ रहनु भनेको एउटा कलिलो कोपिला राम्रो फूल फुल्नुभन्दा पनि पहिले नै फल लाग्ने विवशता जस्तै हो। शारीरिक र मानसिक रूपमा अयोग्य भएको अवस्थामा रहेको गर्भले आमा र बच्चा दुवैको जीवनको अँध्यारो बनाउँछ। किशोरावस्थामा गर्भाशय अर्थात् पाठेघर पूर्णरूपमा विकसित हुँदै हुन्छ। यस अवस्थामा रहेको गर्भले पाठेघरको भित्री तह (इन्डोमेट्रियम) मा असर गर्छ। त्यस्तै पाठेघरको मुख (सर्विक्स) परपक्व हुँदैन। त्यसले गर्भधारण र गर्भको निरन्तरतामा गराउने क्षमतामा सीमितता हुन्छ, र प्रसूतिको समयमा राम्रोसँग खुल्न नसक्ने तथा समस्या गराउने हुन सक्छ।

किशोरावस्थामा हर्मोनले उतारचढाव हुन्छ। हर्मोनहरूको सन्तुलन कायम हुन सकेको हुँदैन। यस अवस्थामा भएको गर्भधारणले विशेषतः इस्ट्रोजन र प्रोजेस्टेरोनको सन्तुलन बिगार्छ। र उसका कारणले थाइराइड ग्रन्थीमा असर हुने, ग्रोथ हर्मोनको उत्पादन प्रभावित हुने सम्भावना रहन्छ। त्यस्तै उनीहरूमा रक्तनलीहरूको पूर्ण विकास नभएको, प्लेसेन्टल इम्प्लान्टेसन असामान्य हुने भएकाले प्री–एक्लेम्पसिया र इक्लेम्पसिया जोखिम २–३ गुणाले बढी हुन्छ। रक्तअल्पताको सम्भावना पनि उच्च रहन्छ। यिनीहरूमा संक्रमणहरू, रक्तस्राव हुने सम्भावना बढी हुन्छ। त्यस्तै प्रसवको समय बढी लाग्ने तथा अबरुद्ध (ओब्स्ट्रक्टेड लेबर) हुने हुन्छ। र यसैका कारण शल्यक्रिया गर्नुपर्ने सम्भावना पनि बढ्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार १५–१९ वर्षका आमाहरूमा मातृमृत्युको जोखिम २०–२४ वर्षका महिलाभन्दा दोब्बर हुन्छ। १०–१४ वर्ष उमेरमा त यो जोखिम पाँच गुणासम्म बढी हुन्छ। यो तथ्यमात्र होइन, चेतावनी पनि हो।

नेपालले मातृमृत्यु दर घटाउन प्रगति गरेको छ। यो तथ्य स्वीकार्नुपर्छ। सन् १९९६ मा प्रति एक लाख जीवित जन्ममा ५३९ रहेको मातृमृत्यु दर सन् २०२१ मा १ सय ५१ मा झरेको छ। संस्थागत प्रसव सेवा, एएनसी (गर्भ परीक्षण) क्लिनिक, आमा सुरक्षा कार्यक्रमलगायतका प्रभावकारी कदमहरूले यो सम्भव भएको हो। तर प्रश्न अझै बाँकी छ— किन अझै आमा मरिरहेका छन् ? 

मातृमृत्यु अध्ययन प्रतिवेदन २०२१, को तथ्यांकअनुसार करिब ६१ प्रतिशत मातृ मृत्युदर सुत्केरीपछि (पोस्ट डेलिभरी) हुन्छ। ती अधिकांश जटिलता समयमै पहिचान गर्न सके अर्थात् राम्रोसँग नियमित गर्भपरीक्षण गर्न सकिए कम गर्न सकिन्थ्यो। सोही तथ्यांकअनुसार प्रतिशत मातृमृत्यु घरमा र १७ प्रतिशत मृत्यु बाटोमा भएको छ अर्थात् ती आमाहरू अस्पतालसमेत पुग्न सकेनन्। अध्ययनले करिब दुई तिहाइ (७४ प्रतिशत) मातृमृत्युमा कुनै न कुनै ढिलाइ रहेको प्रमाणित गरेको छ। अर्थात् हाम्रो देशमा स्वास्थ्य सेवाको भौतिक ढाँचामा सुधार आयो। गाउँगाउँमा स्वास्थ्यचौकी, नगरनगरमा अस्पताल, निःशुल्क प्रसव सेवा र एम्बुलेन्सहरूकोे सुविधा बढाउन सक्यौं। तर यी सबै सुविधाहरू हाम्रा ओठमा मात्र बसेका छन्, हाम्रा हृदयमा प्रवेश गर्न सकेनन्। समयमा नै सचेत भएर ‘सेवा लिने संस्कार’ बनाउन सकेका छैनौं। अस्पताल बन्यो तर समयमा अस्पताल पुर्‍याउन सक्ने सोच र वातावरण बनाउन सकिएको छैन।

जटिलता भएका वा मृत्यु हुने धेरै आमाहरूले नियमित गर्भ परीक्षण गरेका हुँदैनन्। गर्भलाई एउटा प्राकृतिक प्रक्रियाका रूपमा लिन्छन्। ‘अहिले त ठीकै छ’ भन्ने सोच, र कतिले अल्ट्रासाउन्ड (भिडियो एक्स—रे) लाई नै पूर्ण गर्भको परीक्षण सम्झने संस्कारले ठूलो जोखिम जन्मिने गरेको यथार्थ पाइन्छ। प्रसवको योजना बनाउने कुरा त हाम्रो मानसिकतामा पनि रहँदैन। त्यसैले लामो गर्भको अवधिपछि हुने प्रसव ‘आपत्कालीन स्थिति (इमर्जेन्सी)’ बन्न पुग्छ र उचित व्यवस्थापन गर्न सकिँदैन, दुर्घटना हुन पुग्छ। अनि दोष स्वास्थ्यकर्मी र सरकारलाई थुपार्छौं। मातृमृत्युमा दोष एउटै महिलामा वा कुनै एक पक्षमा मात्र थुपार्न मिल्दैन। यो हाम्रो सामाजिक सोचको असफलता हो, परिवारको मौनता हो, राज्यको अधुरो प्रयास हो भन्दा फरक नपर्ला। र कहीँ न कहीँ हामी स्वास्थ्यकर्मीहरूले पनि चेतनालाई पर्याप्त प्राथमिकता नदिएको परिणाम पनि हो। गर्भावस्था केवल पेट (पाठेघर) बढ्नुमात्रै होइन, यो निरन्तर निगरानी चाहिने अवस्था हो भन्ने कुरा सबैले बुझ्नुपर्छ। समाजको संस्कारमा रूपान्तरण नभएसम्म, सेवा हुँदाहुँदै पनि जोखिम घट्ने सम्भावना कम रहन्छ।

गर्भावस्था महिलाको मात्र दायित्व होइन। यो जिम्मेवारी पति, आमा–बुबा, ससुरा–सासू र पूरै परिवारको साझा उत्तरदायित्व हो। तर हाम्रो समाजमा गर्भलाई अझै पनि ‘महिलाको निजी कुरा’ भनेर पुरुषहरू सजिलै पन्छिन्छन्। घरमा शिक्षित मान्छे हुनु, जागिरे ससुरा हुनु वा आर्थिक अभाव नहुनुजस्ता तथ्यहरूले मात्र स्वस्थ्य चेतना छ भनेर प्रमाणित हँुदैन। जब परिवारले समयमा नै गर्भको व्यवस्थापनमा गर्भवतीलाई साथ दिन्छन्, उनको निर्णयमा सहभागी हुन्छन् र उनलाई समयमा नै हात समातेर अस्पतालसम्म पुर्‍याउँछन्। तब मात्र चेतना पुगेको मान्न सकिन्छ।

मातृमृत्युलगायत गर्भका यस्ता समस्याहरू व्यक्तिगत लापरबाहीमात्र होइन, राज्य र प्रणालीको असफलता पनि हो। बालविवाह रोक्न कानुन त छ, तर त्यसको प्रभाव कति छ ? किशोरी गर्भवती भेटिँदा किन कुनै सामाजिक वा संस्थागत हस्तक्षेप हुँदैन ? सहरका गल्ली र टोलमै नियमित गर्भजाँच नगरिएका गर्भवतीहरूलाई कसले खोज्ने ? सेवा उपलब्ध गराउनु निश्चय नै ठूलो उपलब्धि हो, तर त्यो सेवा प्रयोग हुने वातावरण बनाउनु—चेतना, दबाब र संरचनासहितको सुविधा उपलब्ध गराउनु राज्यको असली दायित्व हो।

अन्ततः प्रश्न एउटै ठाउँमा आएर ठोक्किन्छ— आखिर आमा किन मर्छिन् ? सेवा नभएर होइन, डाक्टर नपाएर होइन, पैसा नभएर पनि होइन। आमाहरू मर्दैछन्, किनकि हामीले समयमै स्वास्थ्यलाई प्राथमिकता दिएनौं। आमाहरू मर्दैछन्, किनकि समाजले किशोरीलाई आमा बन्न हतार गरायो। आमाहरू मर्दैछन्, किनकि जोखिम देख्दादेख्दै पनि सचेतनालाई महŒव दिइएन। यदि अहिलेकै सोच बोकेर अघि बढिरह्यौं भने, मातृमृत्युका आँकडा कागजमा थप केही घट्लान्, तर पिडा घट्दैन। त्यसैले अब निर्णय हाम्रो हातमा छ — प्रगतिका सूचकांकमा रमाएर आत्मसन्तुष्टि लिने कि, घरघरबाट सचेतनाको क्रान्ति थाल्ने ? आमा बचाउनु तथ्यांकको मात्र होइन, मानसिकताको प्रश्न हो। आमा बचाउन विद्यालयदेखि समाजसम्म सचेतना, प्रजनन अधिकारको सुनिश्चित र स्वास्थ्य सेवा लिने संस्कारको विकास गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.