पुनरुत्थानको आशामा अर्थतन्त्र
नेपालको अर्थतन्त्रले इतिहासकै कठिन समयको सामना गरिरहेको छ। यो अवस्था देशमा विद्यमान राजनीतिक अस्थिरता, प्रि–मनसुन र मनसुनपछिका विनाशकारी बाढीका कारण भएको हो। जुन यस वर्षको सुरुमा भएका युवा प्रदर्शनहरूको प्रभावको ज्वारभाटा जस्तो छ। राजनीतिक परिवर्तनहरू र बाढीका कारण मुख्य रूपमा पर्यटन जस्ता सेवा उद्योगहरू धेरै प्रभावित भएका छन्। जसका कारणले राज्यका दैनिक क्रियाकलापहरू ठप्प प्रायः भएका छन्। धेरैको रोजगारी गुम्न गएको अनि व्यापार घाटा फराकिलो हुन गएको छ।
यसरी, बैंकहरूमाथि थप दबाब सृजना हुन गएको छ। यस क्रममा ५ सय ८६ मिलियन अमेरिकी डलर (७८ अर्बभन्दा बढी नेपाली रुपैयाँ)को प्रत्यक्ष क्षति पुगेको छ। जसमा पर्यटन क्षेत्रमा २५–३० अर्ब रुपैयाँ र खुद्रा तथा अटोमोबाइल क्षेत्रमा १५ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको सरकारी अनुमान छ। प्रदर्शन र तोडफोड आदिका कारण प्रि–बुकिङ भइसकेका होटलहरू रद्द भई खाली हुन गए र हजारौं रोजगारी गुम्न पुगे। यसले गर्दा पर्यटन, व्यापार र समग्र अर्थतन्त्रलाई नै गहिरो असर पुग्न गएको छ।
यसबीच, रेमिट्यान्सको रेकर्ड वृद्धि (३३ प्रतिशतले बढेर जीडीपीको २५–३० प्रतिशत योगदान), विदेशी मुद्रा सञ्चितिको बलियो अवस्था (२०.४१ बिलियन अमेरिकी डलर, १७–२० महिनाको आयात धान्ने) र कम मुद्रास्फीति (१.४७–४.१ प्रतिशत)ले गर्दा अर्थतन्त्रलाई डुब्नबाट जोगाएका छन्। डिसेम्बर २०२५ सम्मको तथ्यांकले अर्थतन्त्र स्थिर रहँदै सुधारको संकेत देखा परिरहेको छ। यस सन्दर्भमा नेपाल राष्ट्र बैंकको सुझबुझपूर्ण निर्णय, सक्रिय र लचिलो मौद्रिक नीतिले अहिलेको विषम अवस्थाबाट पार लगाउने आशा पलाएको छ।
सुस्त तर स्थिर आर्थिक वृद्धि : केन्द्रीय बैंकको भगीरथ प्रयत्नका बाबजुद बैंकहरूले व्यवसायी वा व्यक्तिहरूलाई ऋण प्रवाह हुन सकिरहेको छैन। जसले गर्दा बैंकहरूमा अधिक तरलता रहन गएको छ। गत आर्थिक वर्ष २०२४–२५ मा नेपालको कुल ग्राहस्थ उत्पादन वृद्धि ४.६ प्रतिशत रहेको थियो। जुन कृषि, उद्योग र सेवामा आएको सुधारबाट भएको हो तर हालैको जेन–जी प्रदर्शनहरू, बाढी र राजनीतिक अस्थिरताका कारण आगामी वर्षहरूमा यसको वृद्धिदर सुस्त हुने देखिएका छन्।
यदि यो समस्यालाई समयमा नै हल गर्न सकिएन भने बेरोजगारीको दर उकालो लागिरहने क्रम नरोकिने देखिन्छ। यसले गर्दा सुस्तरी अर्थतन्त्र नकारात्मक दिशाउन्मुख हुन जाने प्रायः निश्चित नै छ। यस सम्बन्धमा विश्व वैंकले आव २०२५–२६ मा प्रदर्शन र अस्थिरताको प्रभावले अर्थतन्त्रमा २.१ प्रतिशत वृद्धि एसियन विकास बैंकले रेमिट्यान्स र पर्यटन पुनरुत्थानमा आशामा ३ देखि ५.१ प्रतिशत र आईएमएफले मध्यम सुधार हुने भनी ५.२ प्रतिशतको नवीनतम प्रक्षेपणहरू जारी गरेका छन्। यी प्रक्षेपणहरूले अर्थतन्त्रमा छोटो अवधिमा नै सुस्ती रहेको देखाएको छ। तापनि, रेमिट्यान्सको निरन्तर वृद्धि, पर्यटन उद्योगमा भएको क्रमिक पुनरुत्थान र नेपाल राष्ट्र बैंकको नीतिगत समायोजनले लामो अवधिमा सुधार ल्याउन सक्ने देखिन्छ।
अर्थतन्त्रका चुनौतीहरू : नेपालको अर्थतन्त्र कृषिका साथ साथै विदेशमा काम गर्ने नागरिकहरूले घरमा पठाइएको पैसा र पर्यटन व्यवसायमा निर्भर रहेको छ। यो आर्थिक वर्षको सुरुको चार महिनामा नेपालले व्यापार गर्ने १ सय ४२ देशहरूमध्ये १ सय १३ देशसँग व्यापार घाटा रहेको छ। राजनीतिक अस्थिरता, जेन–जी प्रदर्शनहरू र बाढीका कारण पर्यटन व्यवसाय नराम्ररी घट्न गई कुल ग्राहस्थ वृद्धि लक्ष्यहरू पूरा गर्न कठिन रहेको भन्ने विश्व बैंक तथा एसियन डेभलपमेन्ट बैंकका विशेषज्ञहरूको भनाइलाई केन्द्रीय बैंकले समेत अस्वीकार गरेको छैन।
अस्थायी रूपमा नै भए तापनि विदेशबाट आएको रेमिट्यान्सले युवा बेरोजगारी वा देश छोड्ने जस्ता ठूला समस्यालाई केही हदसम्म थेगी रहेको छ। यदि, अर्थतन्त्रमा देखिएका यी समस्याहरूको हल हुन सकेन र ओरालो लागेको अर्थतन्त्रमा सुधार हुन सकेन भने यसको वृद्धिदर अझै झर्नेछ। बेरोजगारी समस्या झन् बढ्न सक्छ। यसबीच नेपालको बैंकिङ क्षेत्र अनौठो समस्याले गुज्रिरहेको छ। बैंकसँग पर्याप्त मात्रामा नगद मौज्दात रहेको छ, तर आवश्यक ठाउँमा ऋणहरू प्रवाह हुन सकिरहेको छैन। बैंकमा रकम जम्मा गर्नेको संख्या र ऋणहरू लिनेको संख्या घटेको छ।
क्रेडिट वृद्धिमा तीन वर्षको न्यूनतम रेकर्ड कायम हुन पुगी मध्य अक्टोबर २०२५ सम्म आइपुग्दा ठूला बैंकहरूबाट निजी व्यवसायहरूलाई दिइएको क्रेडिट १.६ प्रतिशतले मात्र बढ्न सकेको छ। यसैगरी, बैंकहरूमा रिजर्भ एनआरबीबाहेक ३१२.१ बिलियन रुपैयाँ पुगेको थियो। जुन गत वर्षभन्दा १८.७ प्रतिशत रहेको, विदेशी मुद्रा सञ्चितितर्फ २,५८२–२,८८० बिलियन रुपैयाँ गत वर्षभन्दा ६.९ प्रतिशतदेखि ७.६ प्रतिशत रहेको गरी कुल बैंक जम्मा ७.२९ ट्रिलियन रुपैयाँ गत वर्षभन्दा १२.५ प्रतिशत रहेको छ।
बैंकहरूमा रहेको यो ‘तरलता आफैंमा ठूलो विरोधाभासका रूपमा रहेको छ’, एकातिर बैंकहरूमा अधिक मात्रामा नगद थुप्रिए तापनि दृश्य, अदृश्य जोखिमका कारण ऋण दिन हिच्किचाइरहेका छन्। अर्कोतिर, व्यवसायहरू र व्यक्तिहरूले सरल तवरले ऋण प्राप्त गर्न नसक्दा अर्थतन्त्र र रोजगारीको वृद्धि हुन सकिरहेको छैन। यो तरलता विरोधाभासले उत्पादनशील क्षेत्रमा लगानी रोकेको छ, जसले गर्दा अर्थतन्त्रको गतिलाई सुस्त बनाएको छ। यसका साथै नेप्से सूचकांकमा आएको लगातारको गिरावटले स्टक बजारसमेत अस्थिर हुन पुगेको छ। रेमिट्यान्स, सञ्चिति र मुद्रास्फीति नियन्त्रण जस्ता कार्य नेपालको अर्थतन्त्रमा बलिया पक्षहरू रहेका र यी आधारहरूले अर्थतन्त्रलाई स्थिरता प्रदान गरिरहेका छन् र पुनरुत्थानका लागि जग बन्न पुगेका छन्।
अर्थतन्त्रको स्थिरता र पुनर्निर्माणका लागि राष्ट्र बैंकको भूमिका
नेपालमा मौद्रिक तथा आर्थिक स्थिरताका लागि अभिभावकीय भूमिका निर्वाह गर्दै आएको केन्द्रीय बैंक, लचिलो मौद्रिक नीतिमार्फत ऋणमा ब्याज घटाएको छ। लगानी प्रवर्धन र अर्थतन्त्रका यावत समस्यालाई हल गरी सकारात्मक गति हासिल गर्न प्रयत्नशील रहेको छ। यसका लागि केन्द्रीय बैंकले अतिरिक्त नगद व्यवस्थापनका निमित्त बैंकहरूमा रहेको अधिक तरलता नियन्त्रण गर्न अधिशेष सोसी मुद्रा स्फीतिलाई नियन्त्रणमा राख्ने कार्य गरेको छ। यस अगाडिका नीतिगत दरहरू घटाएर तरलता व्यवस्थापन गर्ने र क्रेडिट पोलिसी समायोजन गर्ने कार्यसमेत गरिरहेको छ।
राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले मुद्रास्फीति नियन्त्रण राख्दै ब्याज दरहरूको स्मार्ट समायोजन गर्नेतर्फ जोड दिएका छन्। यसबीच, नेपाल राष्ट्र बैंकले नेपाललाई एफएटीएफ ग्रे–लिस्टबाट हटाउन एएमएल/सीएफटी सुधारका कार्यहरू गरिरहेको छ। हालको अस्थिरताको समयमा विदेशी ऋणहरू, लगानीहरू र स्टक मुद्दाहरूलाई समेत ध्यान दिई बैंकहरूको गुमेको विश्वास फर्काउने, लगानी बढाउने जस्ता नेपाल राष्ट्र बैंकको प्रगतिशील कार्यले नूर गिरेको अर्थतन्त्रमा आशा पलाएको छ।
अन्तमा, रेमिट्यान्सहरू नेपाली अर्थतन्त्रका लागि जीवन रक्षक हुन् तर यसमाथि सधैं निर्भर रहन कदापि हुँदैन। युवाहरूका लागि वास्तविक रोजगारीहरू र खुलापन चाहिन्छ। केन्द्रीय बैंकको प्रयासहरू हालको अर्थतन्त्रलाई स्थिर बनाउनका लागि राम्रो सुरुआत हो तर साँचो स्थिरता प्राप्तिका लागि उत्पादनशीलता र सुधारमा केन्द्रित रही सबै तह र तप्काबाट परिवर्तनका लागि सहमत हुन आवश्यक छ।
हालको अवस्थामा पोल्टाको खस्न नदिने र पोखिएको टिप्ने नीति लिई हालको जीडीपीको करिब ४४ प्रतिशत ऋण रहेको अवस्थालाई गम्भीरताका मनन गरी पुनः उधारो र ऋण लिई अन्य क्षेत्रमा लगानी वृद्धि गर्नुका साटो बढी उत्पादन हुने क्षेत्रमा र आयात प्रतिस्थापन हुने क्षेत्रमा आन्तरिक पुँजी परिचालन गरी लगानी केन्द्रित गर्नु उपयुक्त विकल्प हुन सक्छ।
प्रतिक्रिया दिनुहोस !