खोज्नुस् त ! जताततै भेटिन्छ खुसी

खोज्नुस् त ! जताततै भेटिन्छ खुसी

खुसीको स्विच सधैं तपाईंकै हातमा छ। यसलाई अन गरेर जीवनको हरेक क्षणको मिठास ग्रहण सकिन्छ। राम्रो सम्बन्ध नै लामो, स्वस्थ र खुसी जीवनको एकमात्र सबैभन्दा महत्तवपूर्ण स्रोत हो।

आजको युगमा खुसी मानव जीवनको सबैभन्दा ठुलो र शाश्वत खोजी हो। आदिमकालदेखि नै मानिस धन, दौलत, पद, शक्ति वा भौतिक सुख–सम्पत्तिको पछि लागेका छन्। जसको मूल कारण पनि अन्ततः यही परम आनन्दको अनुभूति प्राप्त गर्नु नै हो। हरेक संरचना, चाहे त्यो विशाल साम्राज्य होस् वा एउटा सानो घर, त्यसको जगमा कतै न कतै खुसी खोज्ने मानवीय चाहना लुकेको हुन्छ नै।

तर, विडम्बना के छ भने हामी प्रायः खुसीलाई जीवनको अन्त्यमा प्राप्त हुने एउटा गन्तव्य, कुनै ठुलो सफलतामा टाँसिएको एउटा पुरस्कार वा जटिल, महँगो र दुर्लभ वस्तु सम्झन्छौं। यसकारण दैनिक जीवनमा सहजै उपलब्ध खुसीका सरल र सुलभ स्रोतहरूबाट हामी टाढा पुग्छौं। वास्तवमा, खुसीको परिभाषा भौतिक सफलता वा बाहिरी सुख–सुविधासँग जोडेर हेर्ने गरिन्छ। यसको सरल र गहिरो अर्थले आन्तरिक मनस्थितिको रूपमा प्रस्तुत गर्छ। खुसी भनेको बाहिरी परिस्थिति जस्तोसुकै भए पनि आफ्नो वर्तमान अवस्थामा सन्तुष्टि, शान्ति र आनन्दको अनुभव गर्नु हो।

खुसी बाह्य अस्थिरताहरू (जस्तैः संकट, उतारचढाव) बाट स्वतन्त्र रहेको र यसको स्रोत नियन्त्रण गर्न नसकिने घटनाहरूभन्दा पनि ती घटनाप्रति प्रतिक्रियामा निहित रहन्छ। खुसी वर्तमान क्षण (यहाँ र अहिले)मा मात्र महसुस गर्न सकिन्छ। विगतको पछुतो वा भविष्यको चिन्ताबाट मुक्त भएर सजगताको अभ्यास गर्दा नै मनले शान्ति पाउँछ, खुसी प्राप्त हुन्छ। यो आन्तरिक अवस्था भौतिक सम्पत्तिभन्दा बढी कृतज्ञता, सजगता र अर्थपूर्ण सम्बन्धहरूको विकासबाट उत्पन्न हुन्छ। जसले पुष्टि गर्छ कि खुसी खोज्ने वस्तु नभई हाम्रो मनभित्रै विकास गर्ने आन्तरिक प्रक्रिया हो।

विभिन्न दर्शनले सधैं सिकाउँदै आएका छन् कि साँचो खुसी बाह्य परिस्थितिहरूमा भन्दा बढी हाम्रो आन्तरिक मनस्थिति, दृष्टिकोण र जीवनशैलीमा निर्भर हुन्छ। खुसी कुनै महँगो उत्पादन होइन, बरु यो हाम्रो जीवनको मौलिक बुझाइ र सरल व्यवहारमा निहित छ। वर्तमानमा बाँच्ने कला र सजगताबारे चर्चा गरौं। खुसीको सबैभन्दा ठुलो शत्रु भनेको त विगतको पछुतोमा अल्झिनु वा भविष्यको चिन्तामा हराउनु हो। यी दुवै अवस्थाले वर्तमान क्षणबाट विमुख गराउँछ।

सजगताको शक्ति, बौद्ध दर्शन र आधुनिक मनोविज्ञान दुवैले सजगताको अभ्यासलाई खुसीको अपरिहार्य माध्यम मानेका छन्। सजगता भनेको कुनै निर्णय वा मूल्यांकन नगरी, केवल ध्यान दिएर श्वासप्रश्वास, भावना र वरपरको वातावरणलाई महसुस गर्नु हो। जब हामी पूर्णरूपमा वर्तमानमा हुन्छौं— चाहे हामी चियाकफी पिइरहेका हौं, हिँडिरहेका हौं वा कसैसँग कुरा गरिरहेका हौं— तब हामी अनावश्यक चिन्ताहरूबाट मुक्त हुन्छौं। त्यस क्षणको वास्तविक मिठासलाई ग्रहण गर्न सक्छौं।

खुसीलाई महँगो बन्न नदिऔं। खुसी कुनै जादु होइन, न त यो कुनै अलौकिक शत्तिाm हो। यो त हाम्रो दैनिक जीवनका सरल कार्यहरूको एउटा योगफल हो।
 

दार्शनिक दृष्टिकोणमा, रोमन दार्शनिक मार्कोस अरेलियसका अनुसार, जीवन विचारहरूले बनेको हुन्छ। यसको अर्थ– मनलाई वर्तमान क्षणको सुन्दरतामा केन्द्रित गर्‍यौं भने हामी स्वतः खुसी हुनेछौं। कृतज्ञताको अभ्यास गरौं। जे छ, जस्तो छ, त्यसैमा रमाउनु खुसीको अर्को सरल र शक्तिशाली स्रोत हो। कृतज्ञता भनेको मानव जीवनमा पाएका राम्रा चीजहरूको मूल्यांकन गर्नु हो, चाहे त्यो सानो होस् या ठुलो। मानसिक प्रभाव नियालौं। मानव मनको स्वभाव भनेको नभएको कुरामा बढी ध्यान केन्द्रित गर्नु हो। यसलाई मनोविज्ञानमा ‘अभाव मानसिकता’ भनिन्छ। जब हामी कृतज्ञताको अभ्यास गर्छौं, जुन मानसिकता परिवर्तन भएर पर्याप्तताको मानसिकतामा रूपान्तरित हुन्छ।

अभ्यास कसरी गर्ने ? दैनिक सुत्नुअघि वा बिहान उठ्नेबित्तिकै तीनवटा कुरा लेख्ने वा मनन् गर्ने बानी बसाल्नुपर्छ। जसका लागि तपाईं आज आभारी हुनुहुन्छ। स्वास्थ्य, परिवार, एक पेट भोजन, एक कप तातो चिया— यी सरल कुरा नै ठुलो खुसीका स्रोत हुन्। यो अभ्यासले मस्तिष्कमा सकारात्मकता र सन्तुष्टिको रसायनको उत्पादन बढाउँछ। जस्तै; निस्वार्थ सेवा र सम्बन्धहरूको पोषण।

मानिस सामाजिक प्राणी हो र हाम्रो खुसी सधैं अरू मानिससँग जोडिएको हुन्छ। हार्वर्ड विश्वविद्यालयले गरेको ‘खुसीको अध्ययन’ले यही कुरा प्रमाणित गरेको छ– राम्रो सम्बन्ध नै लामो, स्वस्थ र खुसी जीवनको एकमात्र सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। धन, दौलत, पद, मानसम्मान वा करियरको सफलताभन्दा पनि परिवार, साथीभाइ र समुदायसँगको गहिरो, प्रेमपूर्ण सम्बन्धले मानिसलाई साँचो अर्थमा खुसी बनाउँछ।

अरूलाई दिनुको आनन्द : जब हामी निस्वार्थ रूपमा कसैलाई सहयोग गर्छौं, तब हामीलाई जुन आनन्द महसुस हुन्छ, त्यो कुनै पनि भौतिक सुखभन्दा कैयौं गुणा शक्तिशाली हुन्छ। दान, सहयोग वा सेवाले जीवनको उद्देश्य र अर्थको बोध गराउँछ। कसैको अनुहारमा मुस्कान ल्याउनु आफैंमा खुसीको उच्चतम रूप हो। शारीरिक सक्रियता र प्रकृतिसँगको सामीप्यताले खुसी थप्छ। शरीर र मनको सम्बन्ध अविभाज्य छ। एउटा स्वस्थ शरीर खुसी 
मनका लागि आधार हो।

व्यायाम र ऊर्जालाई कम नआकौं : नियमित शारीरिक सक्रियताले तनाव र चिन्ता कम गर्छ। सामान्य हिँडडुल वा योगले पनि इन्डोफिन्स नामक ‘खुसीको रसायन’ उत्पादन गर्छ, जसले प्राकृतिक रूपमै मुडलाई उकास्छ। खुसी रहन जिम जान अनिवार्य छैन; केवल दैनिक २०, ३० मिनेट हिँडाइ पर्याप्त छ। प्रकृतिसँगको सामीप्यताले ताजा बनाइराख्छ। सहरी जीवनको कोलाहलबाट केही समय प्रकृतिसँग जोडिँदा मन शान्त र तरोताजा हुन्छ। रुख–बिरुवा, खुला आकाश र स्वच्छ हावामा बिताएको समयले तनाव कम गर्छ। ‘फरेस्ट बाथिङ’ भनिने जापानी अभ्यासले त प्रकृतिमा समय बिताउँदा शारीरिक र मानसिक स्वास्थ्यमा हुने फाइदा वैज्ञानिक रूपमा पुष्टि गरिसकेको छ।

आत्म–करुणा र त्रुटि स्वीकार : पूर्णताको भ्रम खुसीको सबैभन्दा ठुलो बाधक हो। हामी अरूलाई त दया र करुणा देखाउँछौं तर आफैंलाई कठोरतापूर्वक जाँच्छौं। आत्म–करुणा भनेको आफूले गल्ती गर्दा वा असफल हुँदा पनि आफूप्रति दयालु हुनु र आफूलाई स्वीकार गर्नु हो। जब अपूर्णतालाई स्वीकार गर्छौं, तब आत्म–आलोचनाको भारी कम हुन्छ र मन हल्का हुन्छ।

असफलतालाई स्वीकार्नु : जीवनमा आउने अनेकौ चुनौती र असफलताहरूलाई सिकाइको अवसरको रूपमा लिनु खुसीको दार्शनिक आधार हो। दुःख र कठिनाइहरू जीवनका प्राकृतिक अंश हुन्; जसबाट भाग्नुको सट्टा तिनलाई स्वीकार गर्दै अगाडि बढ्नुले मानिसलाई आन्तरिक शक्ति र शान्ति प्रदान गर्छ।

खुसीका दैनिक चमत्कारहरू। खुसी खोज्न सधैं ठुला घटनाहरूको प्रतीक्षा गर्नु पर्दैन। साना, दैनिक क्षणहरूमा पनि असीम आनन्द लुकेको हुन्छ। जस्तै; प्रिय साथी भेट्दाको खुसी। लामो समयपछि जब कुनै पुरानो साथीसँग अचानक भेट हुन्छ, त्यो क्षण हाँसो र पुराना स्मृतिहरूको फोहोराले भरिएको हुन्छ। मित्रताको धागो आज पनि उस्तै बलियो छ भन्ने महसुसले हृदयलाई तुरुन्तै रिचार्ज गरिदिन्छ।

पुस्तकको संसारमा हराऔं : हातमा मन परेको पुस्तक लिएर शान्त ठाउँमा बस्नु आफैंमा सानो स्वर्ग प्राप्त गर्नु हो। किताब पढ्दाको त्यो सन्तुष्टि अलग्गै हुन्छ। जसले दिमागलाई खुवाउँछ र हामीलाई अझ समझदार, शान्त र खुसी बनाउँछ। पेट भरिनेगरी मनपर्ने खानाको पहिलो गाँस मुखमा हाल्दा जुन सन्तुष्टिको सास बाहिर निस्किन्छ, त्यो वर्णन गर्नै सकिँदैन। खानाले केवल शरीरलाई पोषण दिँदैन, यसले मनलाई पनि सन्तुष्टि र आराम दिन्छ।
नयाँ ठाउँ घुम्न पाउनु अर्को स्रोत हो। अपरिचित बाटोमा हिँड्नु वा समुद्रको किनारामा बसेर छालको आवाज सुन्नु— घुमफिरले दैनिक जीवनको एकरसतालाई तोड्छ र संसार कति सुन्दर र विशाल छ भन्ने बोध गराउँछ। प्रकृतिले दिने यस्ता साना उपहारले मनलाई एकैछिनमा शान्त र रोमाञ्चित बनाइदिन्छन्। सूर्यको पहिलो किरण। बिहान उठ्दा जब कोठामा सूर्यको पहिलो न्यानो किरण पर्छ, त्यो शान्त क्षणमा चराचुरुंगीको आवाज सुन्नु आफैंमा ठुलो सन्तुष्टि हो। जुन दिनभरिका लागि सकारात्मक ऊर्जाको सबैभन्दा सरल स्रोत हो।

अन्त्यमा, खुसीको खोजीमा प्रायः क्षितिजका ठुला–ठुला पहाडहरूमा हेर्छौं तर खुसी त घरको आँगनमा उम्रिएको सरल फूल रहेछ। खुसीलाई महँगो बन्न नदिऔं। खुसी कुनै जादु होइन, न त यो कुनै अलौकिक शक्ति हो। यो त हाम्रो दैनिक जीवनका सरल कार्यहरूको एउटा योगफल हो।

वर्तमानमा सजग हुनुमा खुसी छ। जे छ, त्यसका लागि कृतज्ञ हुनुपर्छ। राम्रो सम्बन्धहरूमा लगानी गर्नु, शरीरलाई सक्रिय राख्नु र निस्वार्थ रूपमा अरूलाई सहयोग गर्नुमा खुसी लुकेका छन्। साँचो खुसी त पानीको एक थोपा, न्यानो घामको किरण, एक असल साथीको साथ वा श्वासप्रश्वासको तालमा लुकेको छ। खुसीको स्विच सधैं तपाईंकै हातमा छ। यसलाई अन गरेर जीवनमा हरेक क्षणको मिठास ग्रहण सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.