कर्णालीमा एमाले र कांग्रेसका राष्ट्रियसभाका उम्मेदवारले गराए मनोनयन दर्ता
वीरेन्द्रनगर : आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले बुधबार निर्धारण गरेको मनोनयन दर्ताको कार्यतालिका अनुसार एमालेका मिनासिं रखाल र कांग्रेस प्रदेश सभापति ललितजंग शाहीले प्रदेश निर्वाचन आयोगको कार्यालयमा छुट्टाछुट्टै मनोनयन दर्ता गराएका हुन् ।
एमाले कांग्रेसबीचको भागवण्डामा महिला कलष्टरतर्फ एमालेका रखाल र अन्यतर्फ शाहीले मनोनयन दर्ता गराएका हुन् । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रुकुम पश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अन्जु महतारा शाहीले पनि मनोनयन दर्ता गर्न लागेका छन् । कर्णालीमा कांग्रेस-एमालेको बहुमत छ ।
जसमा कांग्रेसका १४ प्रदेश सांसद र ५९ पालिका प्रतिनिधि गरेर एक हजार आठ सय ६३ मतभार छ । तत्कालीन माओवादीको १३ प्रदेश सांसद तथा ४८ पालिका प्रतिनिधि गरेर एक हजार ६ सय एक मतभार र तत्कालीन एकीकृत समाजवादीको एक प्रदेश सांसदको ५३ मतभार र १० पालिका प्रतिनिधि गरेर दुई सय ४३ गरि नेकपाको एक हजार आठ सय ४४ मतभार छ ।
यस्तै,एमालेको १० प्रदेश सांसद र ३५ पालिका प्रतिनिधि गरेर एक हजार एक सय ९५ मतभार छ । राप्रपाको १ प्रदेश सांसदको ५३ र स्वतन्त्रको १ प्रदेश सांसद तथा ६ पालिका गरेर एक सय ६७ मतभार छ ।
प्रतिक्रिया दिनुहोस !