माघको जाडो
माघैको जाडो नि तुषारो सेतै,
मुटु नै कमाउने मेरा बाबा मुटु नै कमाउने।
हात–गोडा झर्ला नि जस्तो है हुन्छ,
कुहिरो सँगै परेको फुसफुसे हिउँ,
डाँडा र पाखामा मेरा बाबा डाँडा र पाखामा।
घामका झुल्कामा टल्किन्छ पहाड,
चम्किन्छ आँखामा मेरा बाबा चम्किन्छ आँखामा।
बरफ झैं जमेका ती ढिका ढिका,
कुल्चिँदा मचक्क मेरा बाबा कुल्चिँदा मचक्क।
गल्ली र सडक देख्नै छ गाह्रो,
ढाक्या छ छपक्क मेरा बाबा ढाक्या छ छपक्क।
घरका छाना र आँगनै भरि,
रुवा झैं परेको मेरा बाबा रुवा झैं परेको।
भित्र र बाहिर गर्नलाई गाह्रो,
सिरेटो बढेको मेरा बाबा सिरेटो बढेको।
राडीपाखी ओछ्याई घुमराडी ओडी,
सुतेर रातमा मेरा बाबा सुतेर रातमा।
प्यालामा राखेको त्यो जिम्बु चिया,
बोकेर हातमा मेरा बाबा बोकेर हातमा।
प्रतिक्रिया दिनुहोस !