मधेस : गगनका लागि मौका
काठमाडौं : गगन थापा एक राजनीतिकर्मी मात्र होइनन्, देशकै प्रतिनिधि अनुहार पनि हुन् । झन् यो पालि कांग्रेसको विशेष महाधिवेशनबाट आकस्मिक तवरले पार्टी नेतृत्वमा पुगेपछि उनको चर्चा चुलिएको छ । आफूभन्दा करिब २ पुस्ता अग्रज नेतृत्वसँग पौंठेजोरी खेल्दै थापाले गरेको संघर्षले यो वर्ष मूर्तरूप लिएको छ, पार्टीको शीर्ष स्थान ओगट्ने सन्दर्भमा ।
संसदीय मोर्चामा भने उनको परीक्षा बल्ल सुरु भएको छ । यही बेला उनी झरेका छन् मधेस । किन ? सर्वत्र जिज्ञासा छ । २०६२/६३ को दोस्रो जनआन्दोलनबाट उनी नेपाली राजनीतिमा उदाए । अनि घर छेवै अर्थात् काठमाडौंको चाबहिलको बाँझो जमिन फुटाए । ०७० देखि लगातार जनप्रतिनिधि बने । आफ्नै रगत, पसिना र श्रमबाट सिंचेको मलिलो चुनावी क्षेत्र काठमाडौं–४ बाट उनी प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका छन् ।
यसपटकको निर्वाचनमा उनले सर्लाही–४ रोजेका छन् । पहिलेको क्षेत्र यसपटक किन त्यागे ?
कांग्रेस सभापतिमाथि तेर्सिएको प्रश्न हो । जबकि, राजनीतिमा अधिकांशको यात्रा हुन्छ– सजिलो बाटो रोज्ने, भिरको यात्रा त्याग्ने । कांग्रेस सभापति गगनले भने सजिलो बाटो छोडेर कठिन यात्रा नै रोजेका छन् । यसैकारण, राजनीतिवृत्तमा कौतुहलता छ ।
निश्चय नै, काठमाडौं–४ छोडेर सर्लाही–४ रोज्नु गगनका लागि सजिलो यात्रा हुँदै होइन । फरक परिवेश, फरक भेषभूषा, फरक स्थान र फरक मतदातामा भिजेर चुनाव जित्नु फलामको च्युरा चपाउनु जस्तै हुनेछ । तर, सँगसँगै अर्को पनि भनाइ छ– ‘नो रिक्स, नो गेन’ अर्थात् (चुनौतीको सामना नगरे सफल भइँदैन ।) हुन त पार्टीको नेतृत्व लिनेदेखि संसदीय राजनीतिमा पनि गगनले ‘रिस्क’ लिएकै छन्, सफलता पाएकै छन् ।
गगनका लागि सर्लाही–४ एउटा विषयले मात्रै सहज देखिन्छ । त्यो हो– कांग्रेसको गढ । यो क्षेत्रमा ०४८ देखि ०७४ सम्म कांग्रेसले किल्ला गाढेको थियो । ०४८ देखि ०५६ सम्म कांग्रेसका महन्थ ठाकुर विजयी भए ।
०७० र ०७४ मा कांग्रेसकै अमरेश सिंहले रूख चिह्न लिएर चुनाव जिते । तर, दुर्भाग्य, कांग्रेसबाट चुनाव जितेका ठाकुर र सिंह हाल कांग्रेससँग छैनन् । अमरेश पनि नेपाली राजनीतिमा चतुर, भूराजनीति बुझ्ने र स्वतन्त्र भए पनि जित्ने अनुहारका रूपमा चिनिन्छन् । अघिल्लो चुनावमा कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्रबाट चुनावमा उठी विजय हासिल गरेका थिए । यद्यपि त्यतिबेला उनलाई नेकपा एमालेको अदृश्य सहयोग पर्याप्त थियो ।
यसपटक पनि अमरेश कांग्रेसमा छैनन् । रास्वपाबाट गगनका प्रतिस्पर्धी बनेर मैदानमा छन् । विगतमा कांग्रेसको राजनीति हाँकेका दुवै नेता आफूसँग नहुनु पनि गगनका लागि अर्को चुनौती हो ।
गगनको आँटका पछाडि राजनीतिक सन्देश भने पक्कै छ । कुनै बेला मधेसमा एकछत्र राज गरेको कांग्रेस पछिल्ला दिनमा मधेसमै कमजोर बन्दै गएको छ । मधेसका नेताहरूबीचको आन्तरिक टकराव, गुटगत राजनीति, जातियता हावी र मधेसका एजेन्डालाई प्राथमिकता नदिँदा मधेसबाट कांग्रेस टाढिदै गएको हो ।
आधार क्षेत्रलाई मजबुत बनाउन र छरिएका कांग्रेसीलाई पुनः एक सुत्रमा बाँध्न गगनको उम्मेदवारी पक्कै पनि कडी हुने नै छ । त्यो सँगै, मधेसबाट हुर्केको रूख पुनः पालुवा भरेर हराभरा हुने विश्वास गगनमा देखिन्छ । विगतमा एउटा न्यारेटिभ पनि थियो–मधेसको प्रतिनिधित्व मधेसकै नेताले गर्छन्, पहाडको पहाडी समुदायले ।’
तर, गगनले मधेसको नेतृत्व पहाडी समुदायका नेताले पनि गर्छन् भन्ने सन्देश दिन खोजेका छन् । त्यसका लागि ‘काठमाडौंले हेप्छ, अधिकार दिँदैन, मधेसका नागरिकलाई दोस्रो दर्जाको व्यवहार गरिन्छ’ भन्ने मधेसका बासिन्दाको भावनालाई सम्बोधन गर्ने र विश्वास जगाउने चुनौती गगनसामु छ । त्यसका लागि गगनलाई राम्रो मौका पनि छ–मधेस र मधेसी जनताका पक्षमा उग्र नारा लगाएर मधेसका पक्षमा सिन्को नभाँच्ने मधेसी समुदायकै नेताप्रति वितृष्णा छ । गगनले थोरै मात्र विश्वास जगाएर मन जित्न सके जनताको मन जित्न कठिन
पनि छैन ।
स्वभावैले गगन निर्भिक र आँटिला छन् । आँट र साहसकै कारण विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्न सफल भए । जकडिएर बसेको कांग्रेसमा नेतृत्व हस्तान्तरण र र पुस्तान्तरणको आवाजलाई सार्थक बनाए । यसैकारण पनि मधेसी जनताको मतबाटै प्रधानमन्त्री बनेर देश हाँक्ने दृढता र विश्वासका साथ गगन सर्लाही–४ झरेका हुन सक्छन्।
प्रतिक्रिया दिनुहोस !