सुन्दर संसारको मन्त्र  :  वसुधैव कुटुम्बकम्

अध्यात्म

सुन्दर संसारको मन्त्र  :  वसुधैव कुटुम्बकम्
सुन्नुहोस्

हाम्रो गौरवशाली पूर्वीय दर्शनले ‘वसुधैव कुटुम्बकम्’को महान् आदर्श अगाडि सारेको छ। यो केवल दुई शब्दको मोहक नारा मात्र होइन, यो त सम्पूर्ण विश्वलाई एउटै परिवार मान्ने विराट चेतना हो।

यस अनन्त ब्रह्माण्डको एउटा सानो नीलो ग्रह, जसलाई हामी धर्ती भन्छौं जुन केवल माटो र ढुंगाको भौतिक थुप्रोमात्र होइन। यो त अर्बाैं जीवनहरूको ढुकढुकी, अनगिन्ती सपनाहरूको रंगमञ्च र प्रकृतिको एउटा अद्वितीय कलाकृति हो। प्रकृतिले सुन्दर ‘साझा फूलबारी’ उपहार दिएकी छिन्, जहाँ प्रत्येक प्राणीलाई आफ्नै लयमा बाँच्ने र रमाउने नैसर्गिक अधिकार छ।
धर्तीले हामीलाई भेदभाव नगरी जन्माएकी छिन्, हुर्काएकी छिन् र आफ्नै काखमा आश्रय दिएकी छिन्। तर, विडम्बना ! विवेकशील भनिएको मानव जातिले जब यो धर्तीलाई आफ्नो व्यक्तिगत पेवा र शक्तिको प्रदर्शन गर्ने अखडा ठान्न थाल्यो, तबदेखि नै यहाँ अशान्तिको बीउ रोपिन थाल्यो। हामी यो फूलबारीका माली मात्र हौं, यसका निरंकुश मालिक होइनौं।

इतिहासका काला पानाहरू पल्टाउँदा मानिसको विवेक र दानवताबीचको द्वन्द्व छर्लंग देखिन्छ। संसारमा शान्ति स्थापनाका लागि अहिंसाको आवश्यकता पर्छ तर मानवीय स्वभावको एउटा अँध्यारो पाटो हिंसासँग गहिरो गरी जोडिएको छ। यो हिंसा कुनै प्राकृतिक आवश्यकता होइन, बरु यो त मानिसभित्र लुकेको ‘अहं’को कुरूप र विषाक्त प्रतिफल हो। जब मानिसको अहंकारले सीमा नाघ्छ, तब उसलाई अरूको अस्तित्व केवल आफ्नो स्वार्थपूर्तिको साधन मात्र लाग्न थाल्छ।

आफ्नै अहंको तुष्टिका लागि र सत्ताको शिखरमा पुग्नका लागि लाखौं निर्दोषको रगत बगाउन नहच्किने हिंसकहरूले इतिहासलाई पटक–पटक कलंकित तुल्याएका छन्। हामीले हिटलरको नाजीवाददेखि मध्ययुगीन बर्बरतासम्म आइपुग्दा के देख्यौं भने हिंसकहरू कहिल्यै एक्लै हुँदैनन्। उनीहरूलाई साथ दिने उनीहरूको उन्मादलाई ‘राष्ट्रियता’ वा ‘धर्म’को छद्म आवरण ओढाएर जयजयकार गर्ने एउटा जमात सधैं तयार भइदिन्छ। यही सामूहिक चेतनाको स्खलन र विवेकको अन्धकार नै आजको विश्वको सबैभन्दा ठुलो त्रासदी बनेको छ।
हाम्रो गौरवशाली पूर्वीय दर्शनले ‘वसुधैव कुटुम्बकम्’को महान् आदर्श अगाडि सारेको छ। यो केवल दुई शब्दको मोहक नारा मात्र होइन, यो त सम्पूर्ण विश्वलाई एउटै परिवार मान्ने विराट चेतना र संवेदनात्मक एकता हो। यदि हामी एउटै परिवार हौं भने, एउटा सदस्यको आँखाबाट आँसु खस्दा अर्को सदस्यको ओठमा मुस्कान कसरी सम्भव छ ? तर आधुनिक मानवले यो विराट चेतनालाई बिर्सिएर आफूलाई भूगोलको साँध–सिमाना, भाषाको बार र धर्मको सानो घेरामा कैद गरेको छ।

विवेकशील मानिसले विवेक गुमाउँदा संसार कति भयावह हुन सक्छ भन्ने कुरा बितेका दुईवटा विश्वयुद्धले प्रमाणित गरिसकेका छन्। ती युद्धहरूले छोडेका घाउहरू अझै निको भएका छैनन्। आणविक अस्त्रको आडमा शान्तिको खेती गर्नेहरूले यो बुझ्नुपर्छ कि बारुदको थुप्रोमा बसेर शान्तिको सपना देख्नु मृगतृष्णा मात्र हो। आजको विश्वको अर्को गम्भीर पक्ष भनेको विश्वासको संकट हो। राष्ट्र–राष्ट्रबीच थुप्रै शान्ति सन्धि भएका छन्, सह–अस्तित्वका दस्तावेजहरूमा सुनौला अक्षरले हस्ताक्षर गरिएका छन्। तर, के ती हस्ताक्षरहरूले मानिसको त्रसित मनलाई शान्त पार्न सकेका छन्त ? वास्तवमा, यी सम्झौता र सन्धिहरू केवल बाहिरी आवरणमात्र हुन्। भित्रभित्रै मानिसले साँचो अर्थमा एकअर्कालाई विश्वास गर्न सकेको देखिँदैन।
अविश्वासको यो अभेद्य पर्खाल यति अग्लो र बलियो भइसकेको छ कि यसले छिमेकीको अनुहारमा शत्रुको छायाँ देखाइदिन्छ। शान्तिको माला जप्ने हातहरूले नै सुटुक्क विनाशकारी अस्त्रको स्विचमा औंला राखेका छन्। यो कस्तो विडम्बना हो जहाँ हामी ओठले शान्तिको कामना गर्छौं तर मुटुभित्र युद्धको तयारीमा तल्लीन रहन्छौं ? मानवीय चिन्ताको मूल जड नै यही दोधारे र धोकेबाज चरित्र हो।

मानिस विवेकशील प्राणी हो। विवेकको अर्थ केवल गणितीय हिसाब–किताब जान्नु वा प्रविधिको विकास गर्नुमात्र होइन। विवेक त त्यो हो, जसले हामीलाई अर्काको पीडामा रुन र अरूको खुसीमा रमाउन सिकाउँछ, सही र गलत छुट्ट्याउन सिकाउँछ। तर आजको मानिसले आफ्नो त्यही नैसर्गिक विवेक गुमाउँदै गएको छ। प्रविधिले संसारलाई एउटा ‘ग्लोबल भिलेज’ त बनायो, तर हृदयलाई भने झन् संकुचित पारिदियो। चन्द्रमासम्म पुग्ने रकेट त छ, तर छिमेकीको ढोकासम्म पुग्ने समय र संवेदना छैन।

जब विवेक हराउँछ, तब मानिस जंगली जनावरभन्दा पनि घातक बन्छ। किनकि जनावरले त भोक मेटाउन मात्र सिकार गर्छ, तर मानिसले त आफ्नो तृष्णा, अहंकार र मनोरञ्जनका लागि पूरै सभ्यतालाई दाउमा लगाइदिन्छ। यो संसार यहाँका सबै मानिसको साझा र सुन्दर घर हो। यसले हामीलाई अक्सिजन दिँदा हाम्रो जात सोध्दैन, यसले हामीलाई तिर्खा लाग्दा पानी दिँदा हाम्रो राष्ट्रियता सोध्दैन। प्रकृतिको यो अगाध र नि : स्वार्थ प्रेमलाई बिर्सेर हामी किन एकअर्काको रगतको प्यासी बनिरहेका छौं ? संसाररूपी यो साझा फूलबारीमा प्रत्येक फूललाई आफ्नै सुगन्ध छर्ने अधिकार छ। कोही गुलाफ भएर फुलून्, कोही सयपत्री भएर, कोही मखमली भएर त कोही बेलीचमेली भएर। तर ती सबैको जरा त यही धर्तीको माटोमा छ। यदि हामीले यो साझा धरातललाई नै नष्ट गर्‍यौं भने ती सुन्दर सुन्दर फूल कहाँ फुल्लान् ? हामी कहाँ 

उभिएर आफ्नो श्रेष्ठताको ढोल पिटौंला ?

अबको बाटो गम्भीर आत्मसमीक्षाको बाटो हो। हामीले हाम्रा सन्ततिलाई कस्तो संसार हस्तान्तरण गर्दैछौं ? के हामी उनीहरूलाई बन्दुकको नाल, घृणाको विरासत र बारुदले भरिएको आकाश छोडेर जान चाहन्छौं ? पक्कै पनि होइन। त्यसैले, संसार शान्त र सुखी नबनी अब हामीसँग अर्को कुनै विकल्प छैन। हामीले शस्त्रको अन्धो दौडलाई त्यागेर शास्त्र र सत्यको उज्यालो मार्ग रोज्नुपर्छ। हिंसा र प्रतिहिंसाको यो अन्तहीन दुष्चक्रलाई तोड्नका लागि बुद्धको करुणा, गान्धीको अहिंसा र मण्डेलाको क्षमाभावलाई पुन :  जीवनमा उतार्नु आवश्यक छ।

वास्तविक शान्ति कुनै औपचारिक हस्ताक्षरबाट होइन, बरु प्रत्येक व्यक्तिको हृदयको रूपान्तरणबाट सुरु हुन्छ। जब हामी आफ्नो संकुचित ‘म’ बाट माथि उठेर ‘हामी’ को विराटतामा विलिन हुन्छौं, तबमात्र यो धर्ती साँचो अर्थमा साझा घर बन्नेछ। विवेकशील प्राणीले आफ्नो विवेकलाई कहिल्यै बन्धक राख्नु हुँदैन। संसारका भीषण युद्धहरूले हामीलाई एउटै पाठ सिकाएका छन्— ‘युद्धमा कसैले जित्दैन, केवल मानवता हार्छ।’ त्यसैले, यो साझा फूलबारीलाई जोगाउन, ‘वसुधैव कुटुम्बकम्’ को प्राचीन तर शाश्वत भावनालाई साकार पार्न र मानिस–मानिसबीचको विश्वासको 
पुल बनाउन अब ढिला गर्नु हुँदैन।

अन्त्यमा, यो धर्ती हामी सबैकी आमा हुन्। आमाको काखमा बसेर एकअर्काको गला रेट्ने कुकर्म अब बन्द हुनुपर्छ। शान्ति कुनै गन्तव्य होइन, यो त हामीसँगै हिँड्ने एउटा सुन्दर प्रक्रिया हो। जबसम्म संसारको एक जना पनि मानिसको आँखामा हिंसाजन्य आँसु टिल्पिलाउ“छ, तबसम्म हाम्रो सभ्यता अपूरो रहन्छ। आउनुहोस्, हामी सबै मिलेर यो साझा र सुन्दर घरलाई अझ बढी सुन्दर, शान्त र सुरक्षित बनाउन आफ्ना साना–साना अहम्हरूलाई यो धर्तीको पाउमा विसर्जन गरौं। किनकि, संसार सुखी भयो भने मात्र हामी सुखी हुनेछौं र हाम्रो अस्तित्वले सार्थकता पाउनेछ। विवेकको दीप बलिरहोस्, शान्तिको जल बगिरहोस् र मानवताको फूल सदा सर्वदा मुस्कुराइरहोस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.