केस्राकेस्रा कुहिरोका

नियात्रा

केस्राकेस्रा कुहिरोका

कुहिरो र हावामिश्रित रातले सुमसुम्याइरह्यो मेरा हात, पाखुरा र गालाहरूमा। कुहिरोका केस्राकेस्रा छामिरहें। हावाका तरंगहरूलाई कसिरहें मुटुमा।

तीर्खा बटुल्न खोजेथें, तर गुमे कुहिराका केस्राकेस्रामा। घाम डुब्न लागेको छ। गोठालाहरूको अलि बढी नै हल्लीखल्ली छ, त्रिवेणीमा हामी पुग्दा। समथर ठाउँमा छ त्रिवेणी। वरिपरि हरिया डाँडा र पाटनहरू अग्लिँदै–अग्लिँदै उभिएका छन्।

‘एकातिर सहस्रलिंगबाट एउटा नदी बग्छ। अर्कातिर, बलदेजोडीबाट अर्को नदी बग्छ। बीचबाट बग्छ अर्को नदी। ती तीनवटै नदी यहीँ आएर मिलेपछि त्रिवेणी बन्छ’— बाजुराबाट गएका गोठाला रमेशबहादुर रोकायासँग भेट भएथ्यो हाम्रो। त्यहाँ रहेका ढुंगाबाट निर्मित ६ वटा मन्दिर पनि देखाए भाइले। त्रिवेणीको उत्तरतिर बिस्तारै उठ्दै गएको छ भूसतह। त्यसलाई बेस्सरी ढाकेको छ, कालाम्य जंगलले। दक्षिण र पूर्वतिर पनि उठ्दै गएको छ पाटन। अलिमाथि उच्च भागमा लहरै बनाइएका छन्, पोलिथिनधारी छाप्राहरू। चैतदेखि भदौसम्म बस्न र गर्भिणी, बिरामी गाईबस्तु बाँध्न बनाइएका रहेछन्, ती छाप्रा।

‘खप्तड, बझाङ, बाजुरा, डोटी, अछाम चार जिल्लाको साझा थलो हो दाइ। चारै जिल्लाका गरी चार सयभन्दा बढी गोठ छन् यहाँ।’ गोठमै बस्दाबस्दै अछामकी गोठाली हीरामतीसँग एक महिनाअघि मात्र बिहे गरेका रहेछन्, भाइले। ‘गोठमा बस्दाबस्दै दुई–चार चोटी देउडा नाचियो, मन मिल्यो, बिहे गरियो। अर्को जात भएकाले घरमा नभिœयाउने भनेका छन् बाआमाले। भिœयाएनन् भने नेपालगन्ज झर्ने, भारी ओसार्ने वा अरू ज्याला मजदुरी गर्ने’, आफ्ना योजना पनि सुनाए रमेश भाइले।

‘साँच्ची, यो जात भन्ने कुरा किन बनाएका होलान् मान्छेहरूले ? बल हुनेले बल नहुनेलाई हेप्न र थिच्न बनाएका हुन् बित्थामा यो जातको चलन। मान्छे जन्मेपछि ‘मान्छे’ भइहाल्यो नि उसको जात। कामको आधारमा जात बाँडेका रे। काम पनि जात हुन्छ, पेसा पो हुन्छ। टाठाबाठाले सुखसयल र मोजमस्ती गर्ने, पेसा अँगाल्ने र त्यसैलाई जात भनिदिने। एउटा काममा फसेको मान्छे कहिल्यै अर्को काममा पस्न नपाउने त्यस्तोमा जात नै गैगयो भनिदिने। अनि जोताउने मान्छे सधैं जोताउने, जोत्ने मान्छे सधैं जोत्ने। यो चलन चाहिँ फेर्नुपर्छ अब। त्यसै भएर पनि दलितसँग बिहे गरेको मैले। त्यो मनु भन्ने र जयस्थिति मल्ल भन्नेले चलाएका रे यो जातको चलन। तिनीहरूलाई भेट्न पाएको भए मुक्कैमुक्का हानिदिन्थें म। यही छिरिपाटनको गोठमा बस्ने डोटीको परियारसँग बझाङकी जोशीले र अछामकी कुँवरले बाजुराका विश्वकर्मासँग बिहे गरे यही महिना। हामी गोठमा बस्नेहरू नै भयौं जन्ती। सबै गोठाला जम्मा भयौं। सबैले आआफ्नो गोठबाट दही लग्यौं बाँडीचुँडी खायौं। बिहे सकिइहाल्यो। न पण्डित, न जग्गे, न तडकभडकको भोज र लत्ताकपडा। मन मिल्यो भने केही चाहिन्न मान्छेलाई। सहरमा जातभात तोड्न सिद्धान्तका ठूला ठेली तयार गरेर दराजमा कुहाउँछन् भन्छन्, हामी व्यवहारबाटै जातभात हटाइरहेछौं। लाखौं कुरा गर्नुभन्दा एउटा राम्रो काम गर्नु बेस, होइन त दाइ ?’ भेट्दा सामान्य गोठाला मात्र लागेथे रमेश रोकाया भाइ, चेतानामा निकै माथि रहेछन्। हामी ताजुब बन्यौं।

‘गाउँमा रमाइलो कि पाटनमा ?’ पाटनलाई बढी नै चिन्न खोज्नुभयो हाम्रो मित्रले। रमेश भाइले नेपालगन्जबाट प्रमाणपत्र तहसम्म पढेका पनि रहेछन्। विश्लेषण पनि तर्कका साथ गर्दा रहेछन्। ‘दु : ख र रमाइलो जहाँसुकै छ’, थपे भाइले, ‘पाटन त जाने श्रीखण्ड नजाने भालुकाँडा हो झन्।’ पाटनमर्म खुल्छन् भाइबाट। ‘हिउँदेखि हिउँसम्म गोठ राखिन्छ पाटनमा। अर्थात् चैतमा पाटन पस्दा हिउँ पग्लिसकेकै हुँदैन। असोजमा पाटनबाट झर्दा हिउँ पर्न थालिसक्छ खप्तडमा। चैतको बेला बझाङ, बाजुरा, डोटी र अछामका गोठगोठबाट गाई, भैंसी, घोडा, भेडाबाख्रा खप्तडतिर ल्याउँछौं। खप्तड त साझा हो नि यी चारै जिल्लाको। सक्नेले दुई चार वस्तुभाउ थप्छन् पनि। हिउँदभरि हिउँले छोडेका पाटनहरूमा जब हिउँ बिलाउँदै जान्छ, हरियो रंग बढ्दै जान्छ।

ख्वै, यो मान्छेको जात पनि अचम्मकै हुने रहेछ। मान्छे जहाँ गयो, त्यहाँ मन पनि सँगै जाने। मनमा रिसराग, झगडा, जितहार सबै हुने रहेछ। मान्छेको जात एक्लै बस्न नसक्ने। दुई–तीन जना हुनेबित्तिाकै अरूलाई जित्नैपर्ने। 

खुला र हरिया चौरमा बुर्लुक्कबुर्लुक्क उफ्रँदै चर्न थाल्छन् बस्तुभाउ। गोठालाहरू स्याउला र पोलिथिन जोहो गर्छन् र निर्माण गर्छन् स्याउले र प्लास्टिकको छाप्रा र गोठहरू। चारै जिल्लाका मान्छेसँग चिनाजानी हुन्छ, चारै जिल्लाका मान्छेसँग देउडा खेलिन्छ, एैंचौपैंचो चल्छ। जताको भए पनि एउटै परिवारजस्तो हुन्छ। पाटनपाटनमा दौडियो निष्फिक्री चराहरूजस्तै। कहिलेकाहीँ भने असाध्यै अप्ठेरो पर्छ पाटनमा। बिरामी पर्दा; बाघ, भालु, बँदेल र ब्वाँसाहरूसँग जम्काभेट हुँदा; एक्कासि बाक्लो हिउँ पर्दा र अन्नपानी सकिँदा भने गाह्रोसाह्रो छ पाटनमा। पाटनमा पस्यो। ६ महिनासम्म पाटनमै बस्यो। गाउँघरको खबर थाहा हुन्न। फर्कंदा कति आफन्त कहिल्यै नर्फने बाटो तताइसकेका हुन्छन्, कहिले लोग्ने अथवा स्वास्नीले अर्कै घरजम गरेर भागिसकेका हुन्छन्, कहिले घरखेत ढलिसकेको हुन्छ। बरु कालीपार जाँदा थाहा होला गाउँघरको खबर, यतातिर न फोन छ न चिठीपत्र। साँच्चै जंगलीयुगमै बस्न पाइन्छ पाटनमा। ६ महिना पाटन बसेर फर्कंदा पोसिलो घाँसले गाई, भैंसी फस्टाउँछन्। बेच्यो। पैसाको राम्रै जोहो गर्न पनि सकिन्छ। वनमै रमाउने मृग बन्ने हो भने पाटन जत्ति रमाइलो अन्यत्र कतै हुँदैन।’

त्रिवेणीमा देउता देख्नुभन्दा रमेश भाइ भेट्नु अर्थपूर्ण बन्यो हामीलाई। देउता केही बोल्न सक्तैनन्। बरु बसिरहन्छन्, चार भित्ताबीचको कारागारमा। मान्छेले ईश्वर त बनायो तर सबैभन्दा शक्तिहीन बनायो। हल्ला भने फिँजाइदियो— सर्वशक्तिमान छ ईश्वर। साँच्चै ईश्वर भएको भए मान्छेजत्तिको झुटो अरू कोही हुँदैनथ्यो यो संसारमा। ‘उता गोठमा अछामका लालबहादुर कडायत र बाजुराका हुकुम शाहीको पिटापिट छ। छुट्ट्याउनुपर्‍यो। लालबहादुरले त जिब्रो टोक्ने स्थितिमा छ। मान्छे मर्नै दिनु भएन नि। हिँडिहाल्नु त।’ हस्याङफस्याङ गर्दै पुगे रमेश भाइकी पत्नी हीरामती र अरू तीन भाइ। ‘होइन यता पनि गोठाला पनि दलदलका झन्डा बोक्छन् कि कसो ?’ मित्रको खसखसाए।

‘राजनीति त छैन। कहिलेकाहीँ माओवादी आउँछन्, खुवाउनुपर्छ, बास दिनुपर्छ र पैसा पनि दिनुपर्छ। बेलाबेलामा निकुञ्जका सिपाहीहरू आउँछन्। माओवादी पाल्ने तिमीहरू नै हौ भन्छन्। कुटपिट गर्छन्। । माओवादीकाल पाटन पस्न पनि पाएनौं। बाउबाजेदेखि वनमै रमाउने वनकी चरी हामी वन नै पस्न पाएनौं कैयौं वर्ष। दुई–तीन वर्ष त भयो नि पाटन पस्न पाएको’— हीरामतीसँगैका अर्का भाइले बताए।
‘यति रमाइलो पाटनमा बसेर पनि मान्छेमान्छेको झगडा त खुबै चल्दो रहेछ त’— अर्को मित्रले कोट्ट्याउनुभयो। मकगयो, त्यहाँ मन पनि सँगै जाने। मनमा रिसराग, झगडा, जितहार सबै हुने रहेछ। मान्छेको जात एक्लै बस्न नसक्ने। दुई–तीन जना हुनेबित्तिकै अरूलाई जित्नैपर्ने। अनि झगडा त हुने भइहाल्यो नि। यो बेहोसी झोल पनि अचम्मकै रै’छ’— रमेशलाई बोलाउन आउने भाइको कुरो टुंगिएकै थिएन। दक्षिणतिर डाँडामा रहेका गोठहरूबाट आवाज निस्कियो— ‘लौ, मार्, हान्, सालेलाई ठोक्।’ झगडाको आवाज पाटनको परपरसम्म पुग्यो। भाइबहिनीहरू मृग दौडे झैं फर्के त्यतैतिर।

जब तर्कहरू कमजोर हुन थाल्छन् अनि झगडा सुरु हुन्छ। पशुहरू तर्कने गर्दैनन् सीधै झगडा गरिहाल्छन्। झगडा भन्ने कुरा पनि अचम्म छ– झगडामा विपक्षी जहिले पनि काँडाजस्तो ठहरिन्छ झगडा गर्नेले आफूलाई भने चन्द्रमा झैं मान्छ। झगडा त जरुरी पनि पर्छ कहिलेकाहीँ। झगडा नै नहुने हो भने ठीक, बेठीक छुट्ट्याउने कसरी ? युद्ध भनेको पनि त झगडा नै हो नि दुई पक्षको जहाँ जित्न कायर बनेर लडिरहिन्छ। कायर यस अर्थमा कि नजितुन्जेल हारिन्छ कि भन्ने डर प्रबल । ठोक्, बजा, मार् भन्ने आवाज सुनियो। रोएको चिच्याएको आवाज पनि आयो।

असाध्यै मनमोहक छ, त्रिवेणी। जेठ महिनामा पर्ने गंगा दसहरामा ठूलै मेला लाग्ने कुरा बताए त्यहाँका पुजारीले। त्रिवेणीमा रहेका मन्दिरहरूबाट घण्ट बजाइरहेका आवाज सुनिन्छ मीठो धुनमा। अनकन्टार ठाउँमा त स्वास्थ्य केन्द्र बन्नुपथ्र्यो। आराम गर्ने होटेल र विश्राम थलो बन्नुपथ्र्यो। नेपालीहरू विद्यालय बनाउनुभन्दा मन्दिर बनाउनमा जोड दिन्छन्, अस्पताल स्थापना गर्नुभन्दा ढुंगाको मूर्ति र शंखघण्टको जोहो गर्न थाल्छौं, प्रहरी चौकी खडा गर्नुभन्दा अखण्ड धुनी भनेर कैयौं रूख बित्थामा बालेरै सक्छौं। यो उन्नतिको उदारता होइन। यो उज्यालोको सुन्दर आयाम होइन। ढुंगालाई देवता पुजेर अपराध लुकाउने प्रवृत्ति रहेसम्म समाजमा उज्यालो घुस्नै सक्तैन।

त्रिवेणीको मन्दिरअघिको ढुंगामा विश्राम गर्दा हाम्रो थकाइ अलि मत्थर भयो। मन्दिरहरूको नजिकै बगिरहेको कञ्चन नदीमा सूर्यका बिम्बहरू लहरिरहेका देखिन्थे। पारिपट्टिको पाटन हरियोबाट पहेँलो बन्दै थियो साँझपखको घामले। 
साँझ छिरिपाटनमा बस्ने कार्यक्रम छ। त्यसैले उत्तरी उकालो लाग्छन् हाम्रा पाइलाहरू। माथितिरबाट दुई भाइहरू त्रिवेणीतिर झर्दै थिए। ‘ए भाइहरू के ल्यायौ ?’ उनीहरू दुवैले पिठ्यूँमा
१५—१५ लिटरका सेता ग्यालेन बोकिरहेका देखेर सोधें।
‘मोही बोकेका।’ ‘हामीलाई पनि चखाउने हो मोही ?’
‘भैहाल्छ नि, मैले बोकेको मोही पिउ कि भाइले बोकेको ?’
‘जसले बोकेको भए पनि के फरक पर्छ र ? आखिर मोही त मोही नै हो।’ ‘मैले बोकेको भैंसीको मोही, भाइले बोकेको कोदोको मोही, कुन पिउँ ? एउटा अहिल्यै लाग्ने, अर्को महिनौंपछि लाग्ने।’
‘लौ मार्‍यो, त्यसो भए कुनै पनि नपिउने’— उनीहरूको विपरीत दिशातिर लाग्यौं हामी।

साँझ पर्न लागिसकेको छ। उकालो चढेपछि भेटेको कालो जंगलभित्र बेस्सरी हल्लाखल्ला गर्दै छन् चराहरू। चराहरूले त सल्लाह गरे पनि मीठो, हल्ला गरे पनि मीठो। डाँडामाथिबाट हेर्दा झन् सुन्दर देखियो त्रिवेणी। मन्दिरहरू मान्छेको उपस्थिति र आस्थाको निसानी दर्साइरहेछन्। बाटाहरूले मान्छेको गतिलाई प्रोत्साहित गरिरहेछन्, नदीले दर्साइरहेछ रहस्य र सम्भावनाको अनन्त नवीन धारहरू, झरिलो र हरिलो घाँसभित्रबाट टाउको उठाइरहेका बहुरंगी फूलहरू ब्युँझाउन खोज्दैछन् साँझलाई।

फूलहरू रंग र सुवासले झरिझुट्ट छन् तर पनि जिन्दगीभरि एकै ठाउँमा ठिंग उभिरहनुको पीडा बोकेका छन् उनीहरूले। संसारभरिकै नवीन जादु बनेर फक्रन्छन्, फूलहरू। टिपिदिन खोज्यो भने वा टोकिदिन खोज्यो भने कसैले कहाँ पन्छिन सक्छन् र फूलहरू।  ढकमक्क फूलैफूलले ढाकिएका पाटनहरू मन पर्ने मान्छे भेटिएको खुसीयालीमा फक्रिरहेछन्। मेरो मनभरि पनि ढकमक्क फक्रिए ती बहुरङ्गी फूलहरू। साँच्चै फूल र मन पर्ने मान्छे उस्तै हुन्— दुवैले रंगग उपहार दिन्छन्। त्यस बेला धरती र म दुवै फूलभन्दा बढी फक्रिरहेछौं, फूलका रंगहरू भेटेर।
त्रिवेणीमाथिको जंगल पार गरेपछि फेरि सुरु भएको छ विशाल पाटन। अघिअघि हिँडिरहनुभएको हाम्रो सहयात्रीले टपटप टिप्नुहुन्छ, भुइँका चार थुँगा फूल र हल्लाउँदै हिँड्नुहुन्छ हातमा।

‘फूल टिप्नु हुँदैनथ्यो’— माया र प्रतिरोध दुवै निस्कन्छ ममा। ‘फूल त हेर्न र वासना लिन मात्र हो। अर्काको जीवन चटक्कै चुँडालेर एक क्षण हल्लाउँदै फालिदिन आँट गर्ने कति स्वार्थी छौं हगि हामी मान्छेहरू ? फूल न धर्तीमा ब्युँतिएको सुमधुर संगीत हो, जो आवाजबिनै अनवरत बजिरहन्छ।’ कुरा ठिकै लाग्यो मित्रहरूलाई। तर फूल फर्काएर पुन :  डाँठमै टाँस्न सक्ने स्थिति थिएन। लुरुलुरु हिँड्नुको विकल्प पनि थिएन।
पाटनहरू अझ फराकिला देखिन्छन्। हामी छिरिपाटन पुग्दा सूर्य पूरै हराइसकेको छ। हाम्रो अघिल्तिर उत्तरपट्टि अलि उच्च भागमा सैनिक क्याम्प देखिन्छ, वीरभद्रजंग गुल्म। सैनिक क्याम्पभित्र र बाहिर सेनाहरू सल्बलाइरहेको देख्दा रमाइलो लाग्छ। निर्जन ठाउँमा क्याम्प बसाएर ठूलो परिवार जसरी काम गर्नुमा सेनाको सौन्दर्य प्रकट हुन्छ। जस्तापाताका नीला छानाहरू र सेनाले प्रयोग गर्ने हरियो रंगका भित्ताले उभ्याएका घरहरूले मान्छेको सीप, जाँगर र उपस्थितिको अर्थ प्रकट गरिरहे झैं लाग्छ। हामीले मसिनो खोलामाथिको साँघु तरिरहेको बेला कोटघरबाट बिगुल फुकिरहेको आवाज आयो। हाम्रै स्वागतका लागि !
सैनिक क्याम्पतिर जाने बाटो छोड्यौं र लाग्यौं बायाँतिरको बाटैबाटो। अलि पर बायाँतिर एउटा घर देखियो। वे टु होटेल लेखेको देखेर त्यतैको बाटो पछ्याएथ्यौं हामीले। हिँड्दाहिँड्दै हुत्तिँदै आएको कुहिरोले ढकमक्क ढाकिदियो हामीलाई। एक्कासि चिसो बढ्यो। मान्छेको पाइलाले बनाएको डोब पछ्याउनु बाहेक केही उपाय रहेन होटेल पुग्न। एउटा मात्र होटेल भएकाले यात्रुको चापले बास नपाइने हो कि भन्ने डर पनि बाक्लिँदै छ मनमा। थकाइ बलियो भएकाले त्यति धेरै कुरा पनि गर्न सकेनौं ।

साँझ झमक्कै परेपछि होटेलको आँगनमा हाम्रा पाइला परे। पर्यटन विकास बोर्डबाट सञ्चालन गरिएको रहेछ त्यो होटेल। हामीलाई होटेलसम्म पुर्‍याएपछि कुहिरो पूरै बिलायो। रिमरिम अँध्यारो भैसके पनि पाटनमा झुन्डझुन्ड बनेर चरिरहेका गाई, भैंसी र घोडाहरूको फुरफुर आनन्ददायी थियो। होटेलको पछिल्तिरको धुपी सल्लाको बोटबाट एकोहोरो कराइरहेको कागले हामीलाई नै स्वागत गरे झैं लाग्दै थियो। ‘भाइ पाहुना आयौं है’— होटेलको ढोकामा उभिरहेका भाइको ध्यान तान्यौं हामीतिर। ‘आउनुस्, बस्नुस्, थाक्नुभयो होला’— भाइको मीठो बोलीमात्र पनि थकाइ मेट्ने औषधि भयो हाम्रा लागि। भाइ १८–२० वर्षका थिए। भीमबहादुर रावल रहेछ उनको नाम। उनीसँगै उभिए ७–८ वर्षका अर्का भाइ। बलभद्र रावल उनी। दुवैको घर बाजुरा जिल्लामा।

‘खप्तडमा हिँड्दा कहिले कुन, कहिले कुन जिल्लामा टेकिन्छ पत्तै हुँदैन’— भीमबहादुर भाइले चिनाए हामीलाई। ‘ऊ त्यो आर्मी क्याम्प र खप्तड राष्ट्रिय निकुञ्जको अफिस बाजुरामा पर्छ। अलि पर पूर्वतिर खप्तड दह छ, त्यो पनि बाजुरामै पर्छ। तपाईंहरूले भर्खरै छोडेर आउनुभएको त्रिवेणीधाम डोटीमा पर्छ र खप्तड बाबाको आश्रम भने बझाङमा पर्छ। खप्तडमै पर्ने सहस्रलिंग भने अछाममा पर्छ। पैदल १४ मिनेटमा चार जिल्ला। चपक्कै बुझ्नुभयो सर’— हँसिलो मिजास रहेछ भीम भाइको।

होटेलमा बिजुलीबत्ती छैन। सलेदो हालेको टुकी बलिरहेछ भान्छामा। म आफ्नो विद्यालय जीवन सम्झन्छु। टुकी बालेर पढ्दा नाकभरि कालो ध्वाँसो जम्थ्यो। त्यही ध्वाँसोको कारण रुघा लाग्थ्यो। विद्युत्ले छोएको थिएन जितपुरफेदीलाई। टुकीको उज्यालोमै पढेर प्रथम र दोस्रो स्थान कायम राख्थें, कक्षाहरूमा। टुकीको उज्यालोले बालवय सम्झाइरहेछ।
होटेलमा हामी र ती दुई भाइमात्र छौं। धाराको पानी छुनै नसक्ने चिसो छ। हाम्रा गोडामा जलजलाउँदा फोका उठेछन्। ‘भोलि त हिँड्नै नसकिने हो कि ?’ डर पलायो एकाएक। हामीले तातो नुनपानीमा खुट्टा डुबायौं। तेल मालिस पनि गर्‍यौं र मझेरीमा रहेको अँगेनो वरिपरि बसेर जीउ सेकायौं। आनन्द र पीडा दुवै अनुभूत गरिरहेछ शरीरले। ती दुई भाइले खाना तयार गर्दै थिए। वीरभद्रजंग गुल्मका सिपाही हरिप्रसाद शर्मा पनि पुगे। उनले पनि सघाए दुई भाइलाई। आलुको तरकारी र अलिअलि गन्ध आउने चामलको भात तयार भयो। मीठो मानेर खायौं। ‘यही पनि बाजुरा वा सिलगढीबाट खच्चरलाई बोकाएर ल्याउनुपर्छ सर। यता केही तरकारी पनि पाइँदैन।’ भीम भाइले खाना खुवाउँदा भने।

सुत्ने बेलामा खप्तडलाई पूरै ढाकिसकेको थियो चिसो तर कम्पनदार कुहिरोले। ब्ल्याङ्केट ओढे पनि कुहिरोभन्दा बढी थर्थराइरह्यो हाम्रो शरीर। कुहिरो र चिसोले बिस्तारै काउकुती लगाइरहेछ शरीरभरि। दायाँतिरको झ्यालबाट एक मुस्लो चिसो हावा पसेपछि बायाँतिरको झ्याल पनि ह्वांगै खोलिदिएँ मैले। त्यो स्निग्ध लेकमा चिसोसँग खुम्चनुभन्दा पनि खुला हावाको काउकुती स्पर्श गरिरहनु बेग्लै आनन्द उठिरहेछ। हावासँगै पसेको कुहिरोको छनकमनक त अझ छ बिछट्टको।

ओढिरहेको ब्ल्याङ्केट फालेर होटेलबाहिर निस्किएँ म। कुहिरो र हावामिश्रित रातले सुमसुम्याइरह्यो मेरा हात, पाखुरा र गालाहरूमा। कुहिरोका केस्राकेस्रा छामिरहें। हावाका तरंगहरूलाई कसिरहें मुटुमा। प्रेमिल छहराहरूको आवाज फैलिरहेछन्, त्यो लेकका पाटनपाटनमा। घोडा हिनहिनाएको आवाज सुनेपछि भित्रिएँ म कोठाको कुनातिर। कुहिरोका केस्राहरूमा प्रेमका अभिलेख कोर्न दत्तचित्त छ पवित्र हावा। थकाइ र खुसी दुवैले नजिक पर्न सकेको छैन निद्रा।रातलाई कुहिरोले ढाक्यो। कुहिरोभित्रै सुनियो जनावरहरूको मधुर आवाज। कुहिराका केस्राकेस्रामा नयाँ अध्याय लेखुँ झैं लागिरहेछ मलाई।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.