जनसुरक्षामा परनिर्भरताबाट आत्मनिर्भरतातर्फ

जनसुरक्षामा परनिर्भरताबाट आत्मनिर्भरतातर्फ

अर्थशास्त्रको मोडेल ‘सामुदायिक सुरक्षा जाली अर्थशास्त्र’ले समुदाय–स्वामित्वमा आधारित व्यवसायलाई सामाजिक सुरक्षासँग जोड्ने हाइब्रिड सामाजिक–आर्थिक प्रणालीको वकालत गर्छ।

विश्वव्यापी रूपमा खासगरी कोभिडको महामारीपछाडि राज्यको सामाजिक कल्याणकारी प्रणालीहरूले महत्त्वपूर्ण चुनौतीहरूको सामना गरिरहेका छन्। फिनल्यान्ड, स्विडेन, नर्वे र डेनमार्कजस्ता ऐतिहासिक रूपमा उत्कृष्ट सामाजिक सुरक्षा भएका देशमा समेत निरन्तर रूपमा सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा जालीको दिगोपनका मुद्दाहरूलाई उजागर गरेको छ। कुनै समय निर्विकल्प उदार र कल्याणकारी लाभहरूमा गर्व गर्ने र नमुना ठानिने यी सरकार अब कडा बजेट चाप, उच्च सामाजिक सेवाको माग र जनसांख्यिकीय परिवर्तनहरूसँग जुधिरहेका छन्, जसले सबैभन्दा उन्नत कल्याणकारी कार्यक्रमहरूको आभ्यासलाई पनि चुनौती दिइरहेको देखिन्छ।

विकासशील देशहरूमा विश्व बैंक र दाताहरूद्वारा अनुदानमा आधारित सामाजिक सुरक्षा जाली कार्यक्रमहरू अत्यावश्यक देखिएका छन्। तर अल्प विकसित मुलुकका करोडौं जनसंख्या उक्त सेवाबाट बाहिर रहेको तथ्यांकले देखाएको छ। धनी कल्याणकारी राज्यहरूले समेत आफ्नो प्रणाली कायम राख्न संघर्ष गर्दा बाह्य सहायतामा निर्भर गरिब राष्ट्रहरूले दीर्घकालीन स्थिरताको कसरी सुनिश्चित गर्न सक्छन् भन्ने चिन्ता छ। यो विश्वव्यापी अवस्थाले आर्थिक र सामाजिक स्थिरताको लागि लचिलो, आत्मनिर्भर जग निर्माण गर्दै समाजहरूले कसरी आफ्नो सबैभन्दा कमजोर जनसंख्यालाई सुरक्षित गर्न सक्छन् भन्नेबारे नयाँ विचारहरू जगाएको छ।

यसै सन्दर्भमा एउटा नयाँ अवधारणा ‘सामुदायिक सुरक्षा जाली अर्थशास्त्र’ नीतिनिर्माताहरू, अनुसन्धानकर्ताहरू र विकास विज्ञहरूमाझ चासोको विषय बनेको छ, जुन अवधारणा फिनल्यान्डको तुर्कु स्कुल अफ इकोनोमिक्सका अनुसन्धानकर्ता पंक्तिकार स्वयंले प्रस्ताव गरेको छ। यो अर्थशास्त्रको मोडेलले समुदाय–स्वामित्वमा आधारित व्यवसायहरूलाई सामाजिक सुरक्षासँग जोड्ने हाइब्रिड सामाजिक–आर्थिक प्रणालीको वकालत गर्छ। यसले विकसित राष्ट्रहरूमा राज्य–नेतृत्व समाज कल्याण र विकासशील देशहरूमा अनुदान पोषित सुरक्षा जालीहरूको परम्परागत दृष्टिकोणलाई चुनौती दिन्छ। बरु, यसले समुदाय–आधारित, आत्मनिर्भर मोडेललाई प्रवर्धन गर्छ जसले एकीकृत ढाँचाभित्र सामाजिक कल्याणलाई उत्पादनसँग जोडेर समाधान दिने प्रस्ताव गरेको छ।

जसमा समुदायहरूले आफ्नो सुरक्षा, लचिलोपन र समृद्धिको जिम्मा आफैं लिन सक्षम हुन्छन् भन्ने उपाय छ। यो विचार वर्तमान प्रणालीहरूको सीमितताहरू पहिचान गरेर सुरु हुन्छ। परम्परागत सामाजिक सुरक्षा जालीहरू – जस्तै नगद स्थानान्तरण, खाद्य सहायता, आवास सहुलियत, वा बेरोजगारी भत्ताहरू – आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक रूपमा कमजोर व्यक्ति तथा समूहहरूलाई सहायता गर्न महत्त्वपूर्ण हुन्छ। यद्यपि, तिनीहरू प्रायः बाह्य अनुदान कोष, राजनीतिक चक्र र आर्थिक परिवर्तनहरूबाट प्रभावित हुने र उतारचढावपूर्ण सरकारी बजेटमा भर पर्छन्। धेरै विकासशील राष्ट्रहरूमा, कार्यान्वयनमा ढिलाइ, कमजोर संस्थागत क्षमता, अभिजात (कुलीन) वर्गको कब्जा र स्थानीय परिवेशसँग कमजोर तालमेल हुनाले तिनीहरूको प्रभावकारितालाई अझ कमजोर पार्दछ।

प्रस्तावित सामुदायिक सुरक्षा जाली अर्थशास्त्रले समुदाय, बजार र राज्यबीचको सम्बन्धलाई पुनर्कल्पना गरेर यी समस्याको समाधान दिन्छ। विपन्न व्यक्ति तथा समूहहरूलाई सहायताको निष्क्रिय प्राप्तकर्ताको रूपमा राख्नुको सट्टा, मोडेलले उनीहरूलाई स्थानीय रूपमा शासित सामाजिक–आर्थिक प्रणालीमा सक्रिय सहभागीको रूपमा परिकल्पना गर्छ। समुदाय–सञ्चालित संस्थागत निकायले मोडेलको केन्द्रमा बसेर काम गर्छ। यो निकायले समुदायका सबै परिवार र व्यक्तिहरूको प्रतिनिधित्व गर्छ। सामाजिक–आर्थिक खाताको प्रबन्ध गर्छ। सामूहिक लगानी व्यवस्थापन गर्छ। सेयर र प्रोत्साहनहरू वितरण गर्छ। सरकारी कार्यक्रमहरूसँग समन्वय गर्छ र प्रत्येक घरपरिवारलाई आधारभूत आवश्यकताहरू पूरा गर्न तथा जोखिम भएको बेला सामाजिक सुरक्षा सहजरूपमा पुर्‍याउन सुनिश्चित गर्छ। यसले घरपरिवार, उद्यमी, बजार, स्थानीय सरकारहरू र बाह्य सरोकारवालाबीच पुलको रूपमा काम गर्छ। साथै, समुदायलाई मध्यस्तकर्ता तथा कुलीन वर्गको कब्जाबाट जोगाउँछ र लाभहरूको समान वितरण सुनिश्चित गर्छ।

मोडेलको आर्थिक इन्जिन सामुदायिक लगानी र साझा उद्यमशीलतामा निर्माण भएको हुन्छ। समुदायहरूले स्थानीय स्रोतहरू– पुँजी, भूमि, श्रम, ज्ञान– लाई एकत्रित कोष र समुदाय–स्वामित्वमा रहेका विभिन्न उद्यममा परिचालन गर्छन्। यी उद्यमले आम्दानी उत्पन्न गर्छन्, जसले समुदायको सुरक्षा जालीलाई प्रत्यक्ष रूपमा योगदान गर्छ। यसले सरकारी बजेट वा दाताको सहयोगलाई समेत उत्पादनमूलक व्यवस्थापन गरेर दिगो वित्तीय आधार निर्माण गर्छ। स्थानीय आर्थिक गतिविधिमा सामाजिक सुरक्षालाई एकीकृत गरेर, मोडेलले परम्परागत कल्याणकारी कार्यक्रमहरूमा सामान्यतया देखिने परनिर्भरताबाट आत्मनिर्भरतामा परिणत गर्नमा समर्पित हुन्छ। जसले स्थानीय स्तरमै उद्यमशीलता विकास, रोजगारी सिर्जना र आर्थिक विविधीकरणका लागि प्लेटफर्म पनि प्रदान गर्छ।

समुदायको प्रतिस्पर्धात्मकता बढाउनुका साथै यो मोडेलले हरेक सामाजिक–आर्थिक चुनौती सामना गर्ने क्षमतावान् बनाउँछ। सामुदायिक सुरक्षा जाली अर्थशास्त्रको एक विशिष्ट विशेषता भनेको वैज्ञानिक नवप्रवर्तनलाई स्वदेशी ज्ञानसँग मिलाउने कुरामा यसको ध्यान केन्द्रित गर्नु हो। मोडेलले समुदायहरूमा बहुमूल्य परम्परागत अभ्यास, पारिस्थितिक अन्तर्दृष्टि र स्थानीय सीपहरू छन्, जुन आधुनिक प्रविधिमार्फत बढाउन सकिन्छ भनेर स्वीकार गर्छ। यी ज्ञान प्रणालीहरूलाई संयोजन गरेर, समुदायहरूले उत्पादकता बढाउन, वातावरणीय दिगोपनलाई प्रवर्धन गर्न र जलवायु परिवर्तन तथा अन्य विषम झट्काको विरुद्ध सामना गर्ने क्षमता निर्माण गर्न सक्छन्। यसले जैविक विविधता संरक्षण, दिगो प्राकृतिक स्रोत प्रयोग र जलवायु–अनुकूलनशील विकासलाई प्रोत्साहन गर्छ।

यस प्रारूपले तीन अन्तरसम्बन्धित स्तरहरूमा काम गर्छ। बृहत् स्तरमा, राष्ट्रिय नीति, कानुनी रूपरेखा, सरकारी बजेट र बजार वातावरणले सामुदायिक कार्यान्वयन सशक्त बनाउन आकार दिन्छ। सरकारले नियामक समन्वय, प्राविधिक तथा आर्थिक सहयोग र सामाजिक सुरक्षा जाली कार्यक्रमहरू प्रदान गरेर महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, जसले सामुदायिक पहलहरूलाई पूरक र थप मजबुद बनाउँछ। मध्यम स्तरमा, सामुदायबाट सञ्चालित निकायले संस्थागत संयन्त्रहरू विकास गर्छ, जवाफदेहिता सुनिश्चित गर्छ, सामूहिक लगानीहरू व्यवस्थापन गर्छ, राज्यका संयन्त्रहरू र बजारहरूसँग सहकार्य गर्छ। सूक्ष्म स्तरमा व्यक्ति तथा घरपरिवारहरूले आफ्नो लगानी क्षमता, जीविकोपार्जन रणनीति, जोखिम र सुरक्षा जालीमार्फत प्रणालीमा आबद्ध हुन्छन्। यो बहु–स्तरीय संरचनाले फराकिलो संस्थागत संरचनाबाटसर्वसाधारणलाई लाभ दिनुका साथै स्थानीय परिस्थिति र वास्तविकताहरूमा आधारित भएर मोडेलले काम गर्छ।

मोडेलले चार प्रमुख सरोकारवालालाई विशेष जोड दिएको छ। तिनका भूमिका एकअर्कामा जोडिएका छन्। पहिलो– सरकार, सरकारले नियामक ढाँचाहरू स्थापना गर्छन्, प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्छन् र सामाजिक सुरक्षा कार्यक्रमहरू लागू गर्छन्। दोस्रो– समुदाय–सुशासित निकाय, जसले सामूहिक लगानीको प्रबन्ध तथा व्यवस्थापन गर्छ, स्रोतहरू बाँडफाँड गर्छ, द्वन्द्व समाधान गर्छ र लाभहरूको उचित वितरण सुनिश्चित गर्छ। तेस्रो– समुदाय–सुशासित निकायको मातहतमा रहने उद्यमीहरू, जसले सामुदयिक नवप्रवर्तन (उद्यम) चलाउँछन्, वस्तु तथा सेवाको उत्पादन गर्छन्, रोजगारी सिर्जना गर्छन्, नयाँ प्रविधिहरू अपनाउँछन् र सामुदायिक सुरक्षा जाल कोषमा योगदान गर्छन्। चौथो– घरपरिवार तथा व्यक्तिहरू, जसले आफूसँग भएको बचत तथा स्रोतहरू लगानी गर्छन्, निर्णय लिने काममा भाग लिन्छन्, उद्यमका सेयरहरू प्राप्त गर्छन्, नयाँ उद्यमहरू प्रस्ताव गर्छन्, आर्थिक अवसरहरू र सामाजिक सुरक्षा दुवैबाट फाइदा लिन्छन्। यो सरोकारवालाहरूको परिपूरक प्रणालीले सबैको अधिकार र जिम्मेवारीहरूलाई सन्तुलनमा राख्छ। एकताबद्ध प्रणाली सञ्चालन र स्वावलम्बी समाजलाई प्रवर्धन गर्छ।

मोडेलको सशक्त विशेषताको बाबजुद, व्यवहारमा आइपर्ने चुनौतीहरूलाई पहिचान गरिएको छ। कमजोर डिजाइन र अभ्यास गरिएमा लक्षित उद्देश्य प्राप्त हुन र यथेष्ट प्रोत्साहनहरू पाउन मुस्किल पर्न सक्छ। कमजोर सक्रियता, स्थानीय साधन, स्रोत र परिस्थितिसँग नितिगत बेमेल, कार्यान्वयनमा ढिलाइ र टाठाबाठा (कुलीन) वर्गको प्रभुत्वको जोखिमले प्रभावकारितालाई कमजोर बनाउन सक्छ। परनिर्भरताबाट आत्मनिर्भरतामा संक्रमणका लागि सावधानीपूर्वक संस्थागत डिजाइन, बलियो सुशासन र स्थानीय परिवेशको संवेदनशील संयोजन गर्न आवश्यक पर्छ। यी चुनौती यस मोडेलमा र हाम्रो गाउँटोलमा मात्र सीमित हुँदैनन्। तिनीहरूले विश्वव्यापी रूपमा कल्याणकारी प्रणालीहरूले सामना गर्ने व्यापक कठिनाइ तथा चुनौतिलाई समेत प्रतिविम्बित गर्छन्। तैपनि स्थानीय स्वामित्व, सामूहिक लगानी र एकीकृत सामुदायिक–सुशासनमा आधारित मोडेलको कार्यान्वयनले समसामयिक चुनौतीहरूलाई अझ सशक्त, दिगो, आधारभूत र प्रभावकारी रूपमा सम्बोधन गर्ने मार्ग प्रदान गर्छ।

विश्वव्यापी कल्याणकारी प्रणालीहरूले अभूतपूर्व चुनौतीहरूको सामना गर्दा, दिगो, समुदाय–नेतृत्वमा समाधानहरूका लागि बढ्दो महत्त्व छ। सामुदायिक सुरक्षा जाली अर्थशास्त्रले सामाजिक सुरक्षाको भविष्यका लागि एक प्रेरणादायी दृष्टिकोण र समाधानको उपाय प्रस्तुत गर्छ। सरकारी बोझ कम गर्न, स्थानीय सशक्तीकरणलाई प्रवर्धन गर्न, बलियो सामुदायिक अर्थतन्त्रहरू विकास गर्न, छिमेकी तथा सामुदायिक सम्बन्ध बलियो बनाउने, आफ्नै मजबुद सुरक्षा जालीहरू तयार गर्न र प्रभावकारी बनाउन सम्भव बनाउँछ। यसले निष्पक्षता, लचिलोपन र अवसरको विश्वव्यापी उद्देश्यहरूलाई प्रभावकारी कार्यान्वन गर्छ, जसले विकसित र विकासशील राष्ट्रहरू दुवैलाई तथा सहरी एवं ग्रामीण परिवेशलाई दीर्घकालीन सामाजिक सुरक्षा रणनीतिहरूमा पुनर्विचार गर्न मार्ग प्रशस्त गर्छ।

यद्यपि अझै पनि मोडेलको अवधारणात्मक विकास, निरन्तर परीक्षण र परिष्करणको चरणमा छ। यद्यपि मोडेलले साहसपूर्वक सुझाव दिन्छ कि उचित संस्थागत समन्वय र सामाजिक–आर्थिक उपकरणहरूको सदुपयोग गरेर समुदायहरूले कल्याणकारी स्वावलम्बी प्रणालीहरू स्थापना गर्न सक्छन् जुन सुरक्षात्मक मात्र होइन उत्पादक, लचिलो, आत्मनिर्भर र दिगोपन पनि हुन्छ। जहाँ परम्परागत कल्याणकारी प्रणालीहरू बढ्दो चुनौती भोगिरहेका छन् र दाता–सञ्चालित पहलहरू प्रायः दिगो प्रभाव सिर्जना गर्न असफल हुन्छन्, सामुदायिक सुरक्षा जाली अर्थशास्त्र समयसापेक्ष र नवीन दृष्टिकोणको रूपमा देखा परेको छ। यसले अनुसन्धानकर्ता, नीति निर्माता, विकास अभियानता र समुदायहरूलाई सुखद र सुन्दर भविष्यको कल्पना र अभ्यास गर्न प्रोत्साहित गर्छ। जहाँ आर्थिक उन्नति, सामाजिक सुरक्षा तथा सुरक्षा जालीहरू साझा समृद्धिको जगमा विकसित हुन्छन्। समुदायहरूले नेतृत्व गर्दा यो दृष्टिकोणले समाजकल्याण र दिगो आर्थिक विकासको सम्भावनामा आशावादी दृष्टिकोण प्रदान गर्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.