टुकी र मैनबत्तीको बस्तीमा पहिलोपटक बिजुली

टुकी र मैनबत्तीको बस्तीमा पहिलोपटक बिजुली
सुन्नुहोस्

मकवानपुर : पूर्वी मकवानपुरको बागमती गाउँपालिका–३ को देउजर र गढनसिर बस्तीमा मंगलबार बत्ती बल्दा स्थानीयको अनुहारमा वर्षौँदेखिको प्रतीक्षाको खुसी झल्किएको थियो। कहिल्यै नबलेको उज्यालो पहिलो पटक घर-घरमा पुगेपछि टुकी र मैनबत्तीको भरमा बित्दै आएको उनीहरूको दैनिकीले नयाँ मोड लिएको छ।

गाउँपालिका अध्यक्ष सर्केश घलानले ट्रान्सफर्मर राखिएको पोलमा रिबन काटेर बत्ती बाल्दै गाउँमा बिजुलीको शुभारम्भ गरे। पालिकाले विपन्न समुदाय र विकट क्षेत्रलाई प्राथमिकतामा राखेर विकास गर्दै आएको उनले बताए। ‘यी दुई गाउँका प्रत्येक घरमा जस्ता छाउनेदेखि सडक सुविधा र आधारभूत सेवा विस्तारको काम हामीले गरेका छौँ,’ उनले भने, ‘अँध्यारोबाट उज्यालोतर्फको यो यात्रा देउजर र गढनसिरका लागि केवल बत्ती मात्र आएको होइन, धेरै सम्भावनाको ढोका पनि खुलेको छ।’

प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले विद्युत् पुगेपछि शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। बागमती गाउँपालिकाको कार्यालय झुरझुरेबाट करिब १७ किलोमिटर दक्षिण, रौतहटको चन्द्रनिगाहपुरसँग सिमाना जोडिएको यी दुई गाउँमा गत वर्षको वैशाखमै विद्युत् विस्तार सम्पन्न गर्ने गाउँपालिकाले लक्ष्य राखेको थियो। तर, भौगोलिक कठिनाइ र पहुँच अभावका कारण योजना एक वर्ष ढिलो गरी यस वर्ष मात्रै पूरा भएको हो।

गाउँपालिकाको पहलमा देउजरका ६२ घर र गढनसिरका १७ घरमा विद्युत् पुर्‍याउन नेपाल विद्युत् प्राधिकरणले फलामका पोल, तार र ट्रान्सफर्मरसहित अन्य विद्युतीय सामग्री उपलब्ध गराएको छ। थ्रीफेज लाइन विस्तारमा पालिकाले लगानी गरेको छ।

गाउँमा विजुली पुर्‍याउन स्थानीयको श्रमदानले पनि सम्भव भएको हो। दुर्गम भूभागमा पोल बोकेर खोल्सा–नाला पार गर्नु सामान्य काम थिएन। ‘आफ्नै हातले पोल उभ्याएर बत्ती बालिएको देख्दा जीवनकै ठूलो उपलब्धि जस्तो लाग्यो,’ स्थानीय दिलबहादुर पाख्रिनले भने। देउजरका बुद्धिमान जिम्बा र गढनसिरका प्रेम वाइबाले स्थानीय सरकारको पहलमा यो दिन देख्न पाउनु आफूहरूका लागि ऐतिहासिक क्षण भएको बताए।

३ नम्बर वडा अध्यक्ष कमानसिं पाख्रेनका अनुसार बागमती–३ ऐतिहासिक र प्राकृतिक सम्भावनाले भरिएको क्षेत्र हो। ‘गीताराजा–गीतारानी, बनठाकुर राजा र बनठाकुर रानीको इतिहाससँग जोडिएको यो ठाउँ चन्द्रनिगाहपुरसँग सडकले जोड्न सके पर्यटकीय गन्तव्य बन्न सक्छ,’ उनले भने। शीतल हावापानी र जैविक वातावरणले कृषि र पर्यटन दुवैको सम्भावना बोकेको उनको भनाइ छ।

यहाँ तामाङ समुदायको बसोबास छ। १९९८ तिर औलोको डरले समथर जमिनबाट तामाङ समुदायका पुर्खाहरूले यहाँ बस्ती बसाएका थिए। यी दुई बस्तीलाई गाउँपालिकाले भर्खरै सडक सञ्जालमा पनि जोडेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.