यही कोठा, यही घर
यही आँगन अनि यही चोटामा
झुन्डिएका, टाँसिएका अनि टांगिएका
ती मान्छेभित्रका मान्छेहरू...।
तर यिनै तस्बिरहरू, यिनै प्रतिबिम्बहरू
मान्छेभित्रका मान्छे भएका सजिएका छन्
यही माटो, यही धरतीको पाखोमा।
तिनै तस्बिरका मान्छेसित
तिनै जिउँदा श्वासहरूसित
प्रेरणा, जागरण अनि जोस
लिनु परेको छ हामीले, हृदयभरि
दरिला संकल्पहरू बोकेर
अनि यहींको आँगनमा झुल्किने ती रवि शशी
अनि यहींको माटोलाई साक्षी राखेर
हामी त्यही तस्बिरका नेगेटिभ भैदिनु परेको छ,
मान्छेभित्रको मान्छे भएर
न कि मान्छेको छाला ओडेको मान्छे भएर।।
यसो हेर्दा त भित्ताकै तस्बिर हुन्
अनि कागजमै छापिएका तस्बिर हुन्।
तर बोल्छन् ती तस्बिरहरूले
शब्द नचाहिने भाषाहरूमाअनि हेर्छन् हामीलाई,
आँखा नचाहिने आँखाहरूमा।।
हामीले बुझ्नु परेको छ ती भाषाहरू
अनि निहार्नु परेको छ ती हेराइहरू।।
तब मात्र सक्छौं हामी
मान्छे भित्रको मान्छे भैदिन।।
प्रतिक्रिया दिनुहोस !