प्रश्न र मौन विद्रोहको कथा : याली

रचना गर्भ

प्रश्न र मौन विद्रोहको कथा : याली

यो कथा समयलाई काम लाग्ने बनोस्। तपाईंहरू कहिल्यै आफ्नाहरूसँग छुट्टिनु नपरोस्।

सेतीगण्डकी र कालीगण्डकीका किनारका बगरहरूलाई हामीले बगर हुनुको हीनताबोध मिश्रित परिभाषा दिइरह्यौं। भनिरह्यौं, यो बगरजस्तो त कहिल्यै हुन नपरे हुन्थ्यो। हामीले बगरलाई नदी वा खोलाको छेउमा बाँचेर पनि अतृप्त तिर्खामा बाँचिरहेको भन्दै सायद आफ्नो कुण्ठा बगरमाथि बिसाइरह्यौं। बिचरा बगर। हामीले निर्जीव बगरलाई सुनाइरह्यौं, तिम्रो जस्तो जीवनत कसैको नभए हुन्थ्यो।

तर थाहा छ, बगरसँग अनुभूति गर्ने हृदय नभए पनि ऊ बगिरहने नदी र खोलाभन्दा निकै भाग्यमानी छ। उसले आफ्नो धर्तीको आँगन छोड्नु पर्दैन। उसले फर्किनै नसकिने गरी आफ्नो भूगोल र देश छोड्नु पर्दैन। उसले आफू बगेको बाटो हुँदै उक्लिँदै नसकिने गरी समुद्रमा मिसिनु पर्दैन। याली पनि त्यस्तै पात्रहरूको यात्रा हो, जहाँ पात्रहरू नदीले झैं आफ्नो चाहनाबिनै करिब डेढ सय वर्ष अगाडि आआफ्नो आँगन छाडेर, समुद्रका छालहरूले झैं घामले साँझपख घर फर्किएको दृश्य हेर्दै, सोच्दै नसोचेको एउटा टापु देशमा  छट्पटाइरहनु पर्‍यो। अहिलेका देश छोड्ने पात्रहरूलाई त फर्किने सहुलियत पनि होला, ती प्राचीन पात्रहरूलाई त त्यो सहुलियत पनि मिलेन।

मेरो बाल्यकाल ग्रामीण जीवनमा हुर्कियो। खोला र गण्डकीको पानीसँग खेल्दै। खोलामा गाईबस्तुलाई आहाल बसाल्दै। खेत र चौरहरूमा गाइबस्तु चराउँदै। बाली रोपेपछि चौरमा गोरु जुधाउँदै। गोरु जुध्दा गोरुको सिङ भाँचिएपछि दुःख्दै, रुँदै घर फर्किंदै। मेरो बाल्यकाल आफ्नै गाउँको सानी बहिनीलाई पिँढीबाट चितुवाले टिपेर लगेको त्रासदीको कथाले पनि बेरियो। त्यहीबेला एउटा घर हेर्दैहेर्दै बित्यो, जुन, बनको मुनि एक्लै बाँचिरहेको थियो। याली मेरो बाल्यकालका प्रश्नहरूले जन्माएको कथा हो। मलाई खेतमा पानी लगाउन जान साथी चाहिन्थ्यो। मलाई एक्लै सुत्न डर लागेर निदाउन पनि बाको स्पर्श चाहिन्थ्यो।

एउटा घर कसरी एक्लै बाँच्न सक्छ ? त्यही सँगसँगै परिवारलाई छोडेर कलकत्ता जाने बाहरू कसरी कहाँ कहाँ पुगेर मात्र दुई दुई वर्षमा मात्र एउटा लालटिन वा केही सरसमान बोकेर घर फर्किन सक्छन् ? कसरी त्यो घरबारविहीन हुन सक्छ ? म आवश्यकताको भुँमरी बुझ्दिनथिएँ तर सम्बन्ध र मायाको बुझ्थें। सम्बन्ध र मायाको आवश्यकताका प्रश्नहरूले जन्मिएको कथाको यात्रा पनि हो, याली। यो कथा दुई भिन्न समय, राणाकालदेखि वर्तमान समयसम्म तर एउटै कथाको जगमा उभिएको छ। जहाँ पात्रहरूले चार देशको भूगोलमा र त्यहाँको समुद्र र नदीहरूमा उभिँदै तैरिँदै आफ्ना लागि निर्मित भाग्यलाई आफ्नै भाग्य ठान्छन्।

बाँच्ने प्रयास गर्छन्, सम्झिँदै आफ्नो भगवान् राम, जसको भाग्यमा पनि बनवास लेखिएको थियो। जसले उनीहरूलाई कहीँ कतै सान्त्वना पनि दिन्छ। ब्रिटिस उपनिवेशले ढाँटेर, जान लागेको ठेगाना भारत नै हो भनेर, पुगेपछि गरिबी हट्छ भन्ने प्रलोभन देखाएर चरम गरिबीले थिचिएका भारतीयहरूलाई कहाँ कहाँ पुर्‍याउँछन्। त्यहीमध्येको एउटा भूगोल, फिजी, एउटा टापु देशमा कसरी पुग्छ, बाउ हराएपछि, आमाले बा खोजेर आइज भनेर पठाएको छोरो र उसको यात्राले निकास पाउँछ कि पाउँदैन ? यो कथाको यात्रा र उत्सुकता म पाठकहरूमा छोड्छु।
यो कथाको यात्रामा म फिजी र कलकत्ताको याात्रामा निस्किँदा र यी पात्रहरूसँग उनका कथाहरूमा बाँच्दा जीवनमा पहिलोपटक आफ्नो परदेसिनु परेको यात्रालाई पनि सान्त्वना दिएको छु। सोच्दै कि हामीले आफूले आफैंलाई यत्तिकै निरीह ठान्दा रहेछौं। यो कथा पात्रहरूको खोजीमात्र होइन, यो मानवीय संवेदनाको मियोमा उनीएको कथा हो, जसले मलाई व्यक्तिको रूपमा बदलेको छ।

  • म आवश्यकताको भुँमरी बुझ्दिनथिएँ तर सम्बन्ध र मायाको बुझ्थें। सम्बन्ध र मायाको आवश्यकताका प्रश्नहरूले जन्मिएको कथाको यात्रा पनि हो, याली।
  • मेरो चाहना लेखकका रूपमा यतिमात्रै हो, कि यो कथा पढियोस्। यसका पात्रहरूलाई बुझियोस्। यो अलिकति भए पनि आउँदो समयलाई परिष्कृत हुन काम लागोस्।

ब्रिटिस लेखक वारसन सायरले भनेकी छन् कि आफ्नै घर सार्कको मुखजस्तो नभइकन कसैले आफ्नो घर छोड्दैन। तर, घर छोड्नु पर्ने कारण विविध हुन्छन्। राणाकालीन समय र वर्तमान समयमा देश छोड्नुका कारण फरक होलान् तर आवश्यकताको नियति उस्तै थियो र छ। तर अहिले जहाजको टिकट काटेर जहाँबाट जो पनि साहस बोकेर घर फर्किन सक्छ। तर घर आउन पाइनँ भनेर खबर लिएर आउने चिठी हिँड्ने बाटो पनि नबनेको समयमा नफर्किनेहरूलाई पर्खिनेहरूले गरेको प्रश्न पनि हो याली। घर पनि त यस्तो संरचना हो जसमा सधैं बसिरहन सकिँदैन। वर्तमान समयमा विकसित देशका वृृद्धवृद्धाहरूले समेत बाँचिरहेको जीवन यालीको मूलकथामा जोडिएर फेरि समयलाई प्रश्न गर्छ। समयसँग किन विकल्प छैन ?

आफूले जीवनभर दुःखले बनाएको घर बेचेर एज्ड केयर होममा नगइकन, किन मर्न सक्दैन मानिस आफ्नै घरको आँगनमा ? मानौं आजकल मानिसले घर बनाउँदैन। गुँड बनाउँछ। जहाँ गुँडसँग पनि रुखको स्वामित्व हुँदैन। यालीले प्रयास गरेको छ, प्रश्न नगरी प्रश्न गर्न, जसरी यालीभित्रका केही पात्रहरूले आत्महत्या गरेर प्रश्न गर्छन् ब्रिटिस उपनिवेशलाई। कहाँ मार्नुमात्रै विद्रोह हो र ?

चाहे एउटी एकल महिला हुन् चाहे प्रेमी प्रेमिका, चाहे उत्पीडन होस् चाहे जीवन संघर्ष, याली कोलाहल हैन, मौन विद्रोह हो। यो देवकी र अन्य नारी पात्रले फरक समयमा भिन्न रूपमा देखाएको साहसको पनि कथा हो। यो विभिन्न समयमा विभिन्न पात्रहरूले मलाई सोधेका प्रश्नहरूको उत्तर खोज्ने 
प्रयास पनि हो। यो प्रश्नहरूले जन्माएको कथा हो।

कथा भन्दिनँ। तपाईंहरूले कथा पढ्नु छ। समीक्षा पनि गर्दिनँ। त्यो पनि तपाईंहरूले नै गर्नु छ। यो कथा नभएर कथाको उत्खनन हो। यतिमात्रै भन्न सक्छु। निष्प्रभ सजीलाई माथि भनिएको बगरमै मिल्काइदिनुस्। ऊ एउटा माध्यम हो। उसको कार्य सकियो। तर याली यसको अर्थ जस्तै हराएको 
र बिर्सिएको कथा हो। यसलाई पढ्नुस् र यसका नदीजस्ता पात्रहरूलाई पढ्नुस्। मानव शास्त्रीहरूले भन्दै आएका छन्।
मानवीय सभ्यता र विज्ञानको विकासक्रम कथा वाचनले नै सम्भव भएको हो। हामीले हाम्रै लागि बनाएको भाषाको प्रसारणले नै सम्भव भएको हो हाम्रो विकासक्रम र परिमार्जन। सायद यसले हामीलाई अहंकारी पनि बनायो। दयालु र सँगसँगै हिंस्रक पनि। यसले बचाउने पेनिसिलिन पनि बनायो। र मार्ने हतियार पनि।

कहिलेकाहीँ म पनि यालीको पात्र पहिरनले झैं प्रश्न गर्छु। राइट दाजुभाइले जहाज नबनाइदिएको भए, यो जीवनको पखेटा यसरी उड्दैनथियो कि ? अल्झिन्थ्यो कि आफ्नै भूगोलमा। तर कसैले त गथ्र्यो आविष्कार। मेरो चाहना लेखकका रूपमा यतिमात्रै हो, कि यो कथा पढियोस्। यसका पात्रहरूलाई बुझियोस्। यो अलिकति भए पनि आउँदो समयलाई परिष्कृत हुन काम लागोस्। म मानिस हुनु र एउटा सूक्ष्म जीव यो युनिभर्समा रहनुको अर्थ एउटै हो। तर भिन्नता यो कथा हो। यो कथा समयलाई काम लाग्ने बनोस्। तपाईंहरू कहिल्यै आफ्नाहरूसँग छुट्टिनु नपरोस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.