हुम्लाले गरायो सरकारको ध्यानाकर्षण
‘या त बाटो खोलिदिनुपर्यो, नभए चुनाव दोस्रो चरणमा सार्नुपर्यो ’
वीरेन्द्रनगर : हुम्लाको उत्तरी भेग नाम्खाको वडा नम्बर ६ ले गत आइतबार जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयलाई दुई छुट्टाछुट्टै पत्र लेख्यो। प्रतिकूल मौसम र हिमपातका कारण न्यालु लेकको बाटो बन्द भएको र मौसमका कारण मतदाता जिल्ला बाहिर रहेको उक्त वडाले जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराएको छ। त्यसैकारण ‘या त न्यालु लेकको बाटो खोलिदिन वा दोस्रो चरणमा मात्रै आफ्नो गाउँमा मतदान गराउने व्यवस्था गरिदिन’ वडाध्यक्ष पाल्जोर तामाङले पत्र लेखेका हुन्।
बाक्लो हिमपात र प्रतिकूल मौसमका कारण लिमी क्षेत्रमा फागुन २१ गते मतदान गर्न कठिन भएको स्थानीयको भनाइ छ। लगातारको हिमपातका कारण नारा लेक र न्यालु लेक क्षेत्र पूर्णरूपमा अवरुद्ध भएकाले आवतजावत पूर्णरूपमा बन्द भएको छ। बाटो बन्द हुँदा न उम्मेदवार मत माग्न गाउँ पुग्न सकेका छन्, न त जाडो छल्न जिल्ला बाहिर गएका मतदाताहरू गाउँ फर्किन सकेका छन्।
नाम्खा गाउँपालिकाका स्थानीय मिम लामाले हिउ पर्ने समयमा सरकारले निर्वाचन गराउन खोजेर स्थानीयलाई सास्ती दिएको बताउँछन्। मतदान गर्नका लागि हिमपातका कारण पैदल बाटो सहज नभएकाले हवाई सेवाको व्यवस्थाा सरकारले गर्नुपर्ने उनले बताए। ‘नत्र त हाम्रो ठाउँमा निर्वाचन नै दोस्रो चरण सार्नुपर्छ,’ लामाले भने।
लिमी, तिल, जाङ र हल्जी गाउँ समेटिएको नाम्खा गाउँपालिका–६ मा ६ सय ७२ मतदाता छन्। निर्वाचन आयोगले उक्त क्षेत्रमा तीनवटा मतदानस्थल तोकेको छ। उक्त वडाका ८० प्रतिशत मतदाता काठमाडौं, सुर्खेत, नेपालगञ्ज तथा भारतका विभिन्न स्थानमा छन्।
हुम्लाका समाजसेवी अर्जुन महतराले जाडो बढेसँगै हरेक वर्ष झैं यसपटक पनि धेरै स्थानीय परिवारसहित अस्थायी रूपमा जिल्ला बाहिर गएको बताए। भारी हिमपातका कारण उनीहरूलाई गाउँ फर्किन निकै कठिन छ,’ उनले भने, ‘निर्वाचनकै बेला हिमपात भयो भने त निर्वाचन पनि कसरी होला ?’ नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले हिमपातले निर्वाचन सम्पन्न गर्न असहज भएकाले वडा कार्यालयबाट निर्वाचन कार्यालयलाई मोटरबाटो खोलीदिन पत्र लेखेको बताए।
उनका अनुसार नारा र न्यालु लेक क्षेत्रमा बाक्लो हिउँ जमेकाले आवागमन पूर्ण रूपमा ठप्प छ। ‘हाम्रो वडामा ६ सय ७२ मतदाता छन्,’ उनले भने, ‘तर हाल गाउँमै कति जना उपस्थित छन् भन्ने यकिन छैन। अधिकांश मतदाता जिल्ला बाहिर छन्। यस्तो अवस्थामा निर्वाचन गरियो भने मत खस्ने सम्भावना अत्यन्त कम छ।’ सरकारले तत्काल हिउँ पन्छयाएर सडक खोल्ने व्यवस्था गर्नुपर्ने वा अन्यथा निर्वाचन सार्ने निर्णय गर्नुपर्ने उनले बताए।
नारा लेक र न्यालु लेक लिमी पुग्ने मुख्य प्रवेश मार्ग हुन्। ती लेक ५ हजार १ सय मिटरभन्दा उचाइमा छन्। ती क्षेत्रहरू अत्यन्तै दुर्गम र जोखिमपूर्ण भू–भागमा पर्छन्। जाडोयाममा त्यहाँ हिमपातका कारण यातायात पूर्णरूपमा अवरुद्ध हुने गर्छ। यस वर्ष भने निर्वाचन नजिकिँदै गर्दा नै सडक बन्द भएपछि समस्या झन् जटिल बनेको हो। स्थानीयका अनुसार त्यहाँ बसोबास गर्ने नागरिकहरूका लागि खाद्यान्न, औषधि र अत्यावश्यक सामग्री ढुवानीमा समेत सधैं सास्ती हुने गरेको छ।
हिमपातकै कारण आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू लिमी पुग्न सकेका छैनन्। निर्वाचन अभियानमा रहेका नेपाली कांग्रेसका नेता विजय लामाले बाटोमा भारी हिउँ जमेका कारण लिमी क्षेत्रमा चुनाव प्रचारमा जान नसकिएको बताए।
उनका अनुसार हिँउ जमेर बाटो बन्द भएका कारण मतदाता र उम्मेदारहरूबीच प्रत्यक्ष संवाद पनि भएको छैन। हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले निर्वाचका बेला मौसम प्रतिकूल भए जिल्लाका कम्तीमा १६ वटा मतदान केन्द्र प्रभावित हुन सक्ने बताए। उनले हिमाली भेगमा निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण हुने स्वीकार गर्दै प्रशासनले वैकल्पिक तयारी थालेको जानकारी दिए।
उनका अनुसार मतपेटिका र निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर प्रयोग गर्ने तयारी भइरहेको छ। मतदाताका विषयमा निर्वाचन आयोगसँग समन्वय जारी छ। निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर प्रयोग गरिए पनि मतदातालाई मतदान केन्द्रसम्म ल्याउने विषय जटिल बनेको छ। नाम्खाका स्थानियले भने तोकिएकै मितिमा निर्वाचन गर्ने भए कम्तीमा सडक खोलेर बाटो सहज बनाइदिन आग्रह गरिरहेका छन।
प्रतिक्रिया दिनुहोस !