माटोमा महादेव : शिवमहापुराणले चिनाएको नेपाल
‘भज् सेवायाम्’ धातुबाट सेवा शब्दको निष्पत्ति हुन्छ। सेवा भनेको पूजा हो र सेवाको अर्थ नै भक्ति हो। हामी जसरी सेवा गर्छौं, भक्ति त्यहीँ प्रकट हुन्छ। हामीले दुःखीको जसरी सेवा गर्छौं, भगवान् काे जसरी सेवा गर्छौं वा पत्नीले पतिको सेवा गर्छिन्, ती सबै भक्तिका स्वरूप हुन्।
अब प्रश्न उठ्छ, शंकर भगवान् काे भक्ति किन गर्ने ? शिव नै कल्याण हुन्। भनिएको छ, ‘शं कल्याणं करोति इति शंकरः’ अर्थात्, जसले सारा प्राणीको कल्याण गर्नुहुन्छ, उहाँ नै शंकर हुनुहुन्छ। सम्पूर्ण प्राणीको कल्याण गर्ने हुनाले ती कल्याणदाताको सेवा हामीले गर्नैपर्छ।
वेदले भन्छ, ‘एको हि रुद्रो न द्वितीयाय तस्थुर्य इमांल्लोकानिशत ईशनिभीः।’ रुद्र एक मात्र हुनुहुन्छ, शिव एक मात्र हुनुहुन्छ। यस संसारमा उहाँबाहेक (परम तत्वका रूपमा) अरू केही छैन। उही भगवान् रुद्रले नै यो संसारलाई शासन गर्नुहुन्छ। तसर्थ, भगवान् सर्वज्ञ, सर्वशक्ति सम्पन्न, सर्वद्रष्टा, सर्वसाक्षी र सर्वेश्वर हुनुभएको हुनाले उहाँको उपासना गर्नु अत्यन्त आवश्यक छ।
शिवपुराण यति महत्वपूर्ण छ कि हामी नेपालीका सन्दर्भमा यसले विशेष महिमा बोकेको छ। शिवमहापुराण भन्छ, ‘नेपाले शिरो भागो गतस्तत्र द्रुपस्थितः।’ यसको अर्थ हो, भगवान् केदारनाथको शिरोभागका रूपमा नेपालमा भगवान् पशुपतिनाथ विराजमान हुनुहुन्छ। ‘लिंगम् पशुपतिं साक्षात् सर्वकामफलप्रदम्’, जुन देशमा भगवान् पशुपतिनाथ ज्योतिर्लिंगका रूपमा विराजमान हुनुहुन्छ, त्यहाँ सम्पूर्ण भक्तहरूको मनोकामना र अपेक्षा पूरा हुन्छ।
भक्तलाई इच्छित फल प्रदान गर्ने हुनाले नै शिवजीको पूजा आराधना गर्नु आवश्यक छ। शिवमहापुराणले नेपालका बारेमा अझ स्पष्ट पार्दै भन्छ, ‘नेपाले च शिवस्थानं समस्त सुख वल्लभम्।’ संसारमा यदि सुख भन्ने वस्तु कतै छ भने त्यो केवल नेपालमा छ। संसारको वास्तविक सुखको स्रोत नै भगवान् पशुपतिनाथ हुनुहुन्छ।
‘पशुपति’ शब्दको अर्थ अत्यन्तै गम्भीर छ। पशु, पाश र पति– यी तीनवटा शब्द मिलेर पशुपति बन्दछ। यहाँ ‘पशु’ भनेको जीवात्मा हो। उपनिषद् भन्छ, ‘यतो वा इमानी भूतानी जायन्ते येन जातानि जीवन्ति...।’ जीवात्मालाई ‘भूत’ पनि भनिन्छ र ‘पशु’ पनि भनिन्छ। हामी सबै प्राणीहरू पशु हौं। ‘पशु’ शब्दले जीवात्मा (मानिस लगायत) लाई बुझाउँछ, ‘पाश’ भनेको डोरी (बन्धन) हो र ‘पति’ भनेको रक्षक हो।
संसारको रक्षा गर्नेलाई पति भनिन्छ। संसारका पशुवत् व्यवहार भएका यावत् प्राणीहरूलाई ज्ञानरूपी डोरीले बाँधेर पतिरूपी भगवान्का चरणमा पुर्याउने जो सर्वशक्तिसम्पन्न ईश्वर हुनुहुन्छ, उहाँको नाम नै ‘पशुपतिनाथ’ हो। तसर्थ, शिवरात्रिमा हाम्रो पशुपतिनाथको उपासना, भक्ति र आराधना गर्नुभन्दा महत्वपूर्ण कुरा अरू केही हुन सक्दैन।
शिवमहापुराणजस्तो नेपालको महिमा व्याख्या गर्ने अर्को कुनै ग्रन्थ छैन। शिवमहापुराणको कोटिरुद्र संहितामा नेपाललाई एउटा पवित्र ‘पुरी’ मानिएको छ। जसरी अयोध्या र मथुरालगायतका सात पुरीहरूको चर्चा गरिन्छ, त्यसरी नै नेपाल स्वयंमा एउटा सार्वभौम एकछत्र पुरी हो। योभन्दा अर्को श्रेष्ठ पुरी छैन भन्दै भनिएको छ-‘नैपालाख्या पुरीयन्तु’।
प्रसिद्धिका दृष्टिले सारा ब्रह्माण्डमा कुनै एक मात्र प्रसिद्ध पुरी छ भने त्यो नेपालपुरी हो। त्यहाँ भगवान् पशुपतिनाथ साक्षात् विराजमान हुनुहुन्छ र सम्पूर्ण जीवात्माको इच्छा पूरा गर्नुहुन्छ। किनकि नेपाली माटोमा महादेव स्वयंको बास छ र भगवान् शिवकै महिमामा रचित शिवमहापुराणले नेपाल चिनाएको छ। यसरी यी विषय एकआपसमा अन्तरसम्बन्धित छन्। यसका साथै, शिवमहापुराणले कोशीको तटमा ‘नागेश्वर’ नामको शिवलिंग विराजमान हुनुहुन्छ भनी वर्णन गर्दछ। कोशीकै तटमा ‘भीमेश्वर’ नामको शिवलिंग र गण्डकीको तीरमा ‘बटुकेश्वर महादेव’ विराजमान हुनुभएको चर्चा पनि यसै पुराणमा पाइन्छ। ‘शालग्राम साक्षात् भगवान् हुन्’ भन्ने तथ्य र तुलसीको महिमा पनि यस पुराणमा वर्णित छ।
बाह्र ज्योतिर्लिंगको व्याख्या शिवमहापुराणका साथै स्कन्द पुराण, हिमवत्खण्ड, मानसखण्ड, अम्बिकाखण्ड, हिमाद्रिखण्ड र वाल्मीकि रामायणजस्ता तमाम ग्रन्थहरूमा प्रशस्त पाइन्छ। यसकारण शिवमहापुराण अत्यन्तै महत्वपूर्ण ग्रन्थ हो। यसको अध्ययन र अनुसरणबाट हामीले नेपालका धेरै महत्वपूर्ण आध्यात्मिक क्षेत्रहरूलाई उजागर गर्न सक्छौं। नेपालीहरूका लागि शिवमहापुराण एउटा अत्यन्तै गौरवशाली र महत्वपूर्ण ग्रन्थ हो।
प्रतिक्रिया दिनुहोस !