महाशिवरात्रि : साधनाको महापर्व
शिव पूजामा रात्रिपूजालाई बढी महत्तव दिइएको छ। बाह्रै महिनाका कृष्णपक्षका चतुर्दशी शिवरात्रि हुन् भने फाल्गुण कृष्ण चतुर्दशीको रात्रि चाहिँ महाशिवरात्रि पर्व हो।
सर्वव्यापी भगवान् शिव चराचर जगत् सबैमा व्याप्त हुनुहुन्छ। मिठाईमा मिठास भरिएसरह भगवान् शिवको नाम नै मंगलमय छ। ‘शिवैकं निष्कल ब्रह्म’ भगवान् शिवमात्र एक परब्रह्म हुनुहुन्छ भनी वेदमा भनेकाले परमात्मा भगवान् शिवमात्र एक दाता, भोक्ता र भोग्य हुनुहुन्छ। शिव उपासना भनेको प्रपञ्चादिरहित निष्कल ब्रह्मको उपासना नै शिवको उपासना हो। शिव शब्दको अर्थ कल्याणदायक एवं व्यापक अर्थमा छ। ‘सर्वव्यापी स भगवान् तस्मात् सर्वगत शिवः’ भनी श्वेताश्वेतर उपनिषद्मा शिवलाई सर्वव्यापी, सबै प्राणीका घटघटमा बस्ने भनेर बताइएको छ।
सबैका साक्षी सर्वसत्तावाला सृष्टिस्थिति प्रलयकर्ता र कारणरूप ब्रह्मा, विष्णु, महेश्वर पनि भगवान् शिव हुनुहुन्छ। उहाँका सबै नाम कल्याणदायक छन्। शिव शंकर, रुद्र, कोटेश्वर, रुद्रेश्वर, आशुतोष, पशुपति, विश्वनाथ, त्रिलोकेश्वर, केदारेश्वर आदि सबै उहाँका मंगलकारी नाम हुन्। आवश्यकतानुसार विष्णुले मोहिनी अवतार लिएजस्तै के कस्तो कार्य हो ? त्यही नाम रूप अवतार भगवान् शंकरले पनि लिनुहुन्छ। यद्यपि उहाँको स्वरूप भनेको अचिन्त्य अव्यक्त तेजोमय ज्योर्तिर्मय छ।
‘अचिन्त्यमव्यक्तमनन्तरूपं शिवं प्रशान्तममृतं ब्रह्मयोनिम्।
तमादिमध्यान्तविहीनमेकं विभुं चिदानन्दमरूपमद्भूतम्।।
यस्तो परब्रह्म निष्कल निर्विकार हुँदाहुँदै पनि कार्यरूपमा त्यो परमेश्वर शिव, पशुपति, राम, कृष्णादि नाम रूपले प्रस्तुत भएर लोककल्याणमा निरन्तर लागिरहेको हुन्छ। लगाउनलाई पूर्व पश्चिम आदि दिशा नै जसका वस्त्र छन्। बासस्थान हिमालय पर्वत छ। खरले बनेको कुटीको कठ्यांग्रिँदो जाडो ठाउँमा मात्र झुप्रो छ। यी सबै वैराग्यका प्रतीक र अन्नका कण कणमा अमृत्त्त्व प्रदान गरी चराचर जगतलाई सुरक्षण गरिरहेको हुनुहुन्छ। प्रलयंकारी रूद्ररूपले गरेका विनाशक कृत्य शिवजीका प्रलयका रूपमा लिन सकिन्छ। यो उहाँको कार्यकै रूपमा लिइन्छ अर्थात् सृष्टि स्थिति प्रलयका द्रष्टा भनेकै भगवान् शंकर हुनुहुन्छ। शम् कल्याणम् करोतीति शंकर भनिन्छ।
शिव उपासनाका प्रकार : भगवान् शंकरको विभिन्न प्रकारले उपासना गर्न सकिन्छ। सामान्यतः अहिले दुई प्रकारका उपासना पद्धतिको यहाँ चर्चा गरौं। पहिलोमा निर्विकार शिवलाई पूजा सामग्रीरहित ढंगले मन, वचन र कर्मसँग जोडेर हृदयस्थलमा शिवलाई राखेर केवल ध्यान स्मरण मन्त्रपाठ वा विविध स्तोत्रद्वारा नित्यनिरन्तर उहाँको उपासनामात्र गरिरहनु अर्थात् हरक्षण आफूलाई उहाँमा जोडिरहनु तल्लीन भइरहनु एउटा प्रकार हो।
उपासना प्रकारमा विशेष पूजा भेटी बेलपत्र फलफूल नैवेद्य वस्त्र आदिद्वारा सजिसजाउका साथ पूजा उपासना गर्नु र दिव्य रूपको दर्शन गर्नु अर्को प्रकार हो। मानसिक पूजा प्रकार पहिलो हो भने श्रद्धा भक्ति एवं चौरासी व्यञ्जनादि पदार्थसहित विविध वस्तुको अर्पण दोस्रो प्रकार हो। १०८, १००८ आदि र लाख करोडका पूजा उपासना पनि यसै दोस्रो उपासना प्रकारमा पर्दछन्। जे होस्, यी दुवै उच्चकोटिका पूजा उपासना प्रकार हुन्। आफूसँग भएको वस्तुलाई अर्पण बुद्धिले उहाँमा समर्पण गर्न पाउनु अहोभाग्यको विषय हो। उहाँँ नै सबकुछ हुनुहुन्छ भन्ने मानेर एकाकार वृत्तिमा आफूलाई जोड्नु परमं सौभाग्य हो। मानव जीवन प्राप्तिको चरमं उपलब्धि हो।
आफूमा भएका वस्तुको उपयोग परमेश्वरमा समर्पण गरेर प्रसादको रूपमा आफूले ग्रहण गर्ने राख्ने र बाँकी प्रसाद अन्न वस्त्र फलफूल द्रव्य पैसा जस्ता वस्तु छरछिमेक नातागोता वा आफन्तमा दिनु समभाव कायम गर्नु हो। यद्यपि आफ्नो वस्तु द्रव्यादिको माया हुन्छ। त्यो आफ्नो वस्तु अर्कालाई दिँदा ऋणको रूपमा दिने अभ्यास प्रसाद वितरणको अभ्यास थियो। कालान्तरमा भगवान्ले दिएको बस्नु सबै आफ्नै हो मेरै हो अरूलाई दिनु हुँदैन भन्ने भावको विकास अहम् बुद्धिले गर्दा आएको हो। अथवा अधीनमा आएका रुपैयाँ पैसा अन्न वस्त्रादि भगवान्ले हामीलाई बहुद्रव्यात्मक पूजा प्रकारमा लगाउन, उपयोग गर्न दिनु भएको हो। तर हाम्रो साधना प्रकारको बुझाइ कम भएकाले यो मेरो हो भन्ने बुद्धिको विकासका कारण आफैंमा स्वामित्व कायम गर्दै गयौं। परिणामस्वरूप समाज धनी र गरीबको सीमामा बाँधिन पुग्यो।
समाजका दुई प्रकार र उपासनाको दुई प्रकारमा समानता : समाजमा धनी गरिब देखिए जस्तै भगवानको उपासनामा पनि दुई प्रकारमा समानता पाइन्छ। वैभवयुक्त पूजाका प्रकारमा धेरै सामग्री छन्। चौरासी व्यञ्जन वा छपन्नभोग लक्ष्यादि पूजाअर्चना यसका प्रतीक हुन् भने भित्री उपासना प्रकारमा मानसिक पूजा यथोपलब्ध वस्तुको समर्पणपूर्वक प्रसाद ग्रहण, अप्राप्तिमा पनि असन्तोषरहित अवस्था, मात्र हृदयमा भगवान् नामको निरन्तरता, सात्तिवक पूजाप्रकार आदि यसका स्वरूप हुन्। आशक्तिरहित अवस्थामा रहेको कर्ताको उपासना सात्तिवक हुन्छ भने लौकिक देखावटीमा रहेको कर्ताको उपासना राजसी हुन्छ र हाउभाउ पनि देखिन्छ नै। राजसी उपासनामा बढी सामग्री संकलन, अतिशुद्धता तथा शास्त्रीय अन्वेषण गरी शास्त्रवचनपरक कर्तव्य पालन गर्नैपर्छ।
यसर्थ यो मार्ग धनाढ्यले र कामना चाहनेहरूले गर्ने उपासना हो। यता सात्तिवक मार्गकाले भने आफ्नो शुद्ध बुद्ध पवित्र आत्मालाई भगवान्मा अर्पण बुद्धिले मात्र उपासना गर्छ। यो उपासना भित्री वैभवयुक्त हो तर लोक यसलाई गरिबी उपासनाका रूपमा देख्दछ। किनकि लोकसँग बाहिरी देखावटी धनसम्पत्तिलाई मात्र सम्पत्ति मान्छ। हुनुपर्ने चाहिँ धनी उपासकले समाजलाई डोर्याएर सात्तिवकपूजा उन्मुख गराई भएको सम्पत्तिलाई दैवी उपासनामार्फत देश एवं समाजको विकासमा लगाउनु पर्ने हो। यसबाट भौतिक विकासका साथै आध्यात्मिक विकासमा समाज लागिपथ्र्यो। हरेक व्यक्ति शिव उपासक बनेर आध्यात्मिक भावले समाजलाई जोडेर आफूसँग भएको द्रव्यादि प्रयोगद्वारा समाजको विकास गर्न सकिन्थ्यो।
आजको समाजले बुझ्ने धन भनेको भौतिकमात्र हो, जो ऐहिक सुखसाधनमात्र हो। यो नासवान् छ। अर्को उपासनापरक पारलौकिक धन छ जुन धनको प्रयोगले मानव यो लोकबाट माथि उठ्न सक्दछ। अथवा उठाउने प्रयत्न गर्दछ। त्यो धन भनेको आध्यात्मिक वैभवसम्पन्न धन हो। यसले मानवलाई स्वकर्तव्यको मार्गमा डो¥याउँछ र यो लोक र परलोक सुधारेर जीवात्मालाई परमात्मामा पु¥याउन मद्दत गर्दछ। मानव जन्मको सार्थकता यसै उपासना पद्धतिबाट मात्र सम्भव छ। जसमा पुग्न ब्रह्मादिदेवताहरू पनि हरपल लालायित हुन्छन् भनिएको छ।
स एव सर्वं यद्भूतं यच्च भाव्यं सनातनम्।
ज्ञात्वा तं मृत्युमत्येति नान्यः पन्थाः विमुक्तये।।
उपासनीय शिवको स्वरूप : उहाँको भित्री रूप कल्याणदायक, यो लोक र परलोकको सुख, स्वर्ग, मोक्ष, प्रकृति, महत्व, चित्त, अहङ्कार, पञ्चतन्मात्रामा अर्थात् शब्द स्पर्श, रूप, रस गन्ध तथा पञ्च महाभूत पृथ्वी जल तेज वायु आकाशलगायत यस चराचर जगतका अधिष्ठात्री देवताका रूपमा हुनुहुन्छ। यसका साथै जुन परमात्माका वशमा यो चराचर जगत छ। तिनै सबैका नियन्ता रूप भगवान्लाई शिव भनेर चिनिन्छ र न चिनेकाले पनि यस रूपमा चिन्नुपर्छ। शिव पुराणमा भनिएको छ कि– यसकारण उपासनीय शिवको यस रूपलाई सम्झिएर संसारको हरेक कार्यको कारण उहाँ नै हो भन्ने बुझेर उहाँको उपासना गर्नुपर्छ। यो नै समस्त चराचर जगतको कल्याणमा छ।
शिवरात्रि विशेष पर्व : शिव आराधनाको विशेष पर्व हो, शिवरात्रि। शिवको रात्रि भएकाले शिव पूजामा रात्रिपूजालाई बढी महत्व दिइएको छ। बाह्रै महिनाका कृष्णपक्षका चतुर्दशी शिवरात्रि हुन् भने फाल्गुण कृष्ण चतुर्दशीको रात्रि चाहिँ महाशिवरात्रि पर्व हो। अन्य रात्रिभन्दा यस महाशिवरात्रिमा शिव पूजा आराधना गर्ने प्रकार पनि भिन्न र महत्वपूर्ण मानिएको छ।
दिनभरिको निराहार व्रत बसी रात्रिको प्रथम प्रहरको प्रारम्भबाट शिवजीको विशेष आराधना शुरु हुन्छ। नित्यपूजित शिवमन्दिरहरूमा उपासना गर्नेले वा घरमा शिवजी स्थापना गरी उपासना गर्नेले पनि समान रूपमा उपासना गर्नुपर्छ। त्यसदिन साँझको नित्य पूजा केही पहिले सकेर साँझ ६ बजेदेखि बिहान ६ बजेसम्मलाई ४ भाग लगाई साँझ ६ बजे ९ बजे १२ बजे र बिहान ३ बजेका हिसाबले प्रहर पूजा गर्नुपर्छ। यसमा चार प्रकारका छुट्टाछुट्टै पूजाका सामग्री हुनुपर्छ। अघ्र्यदिने सामान्य पदार्थका अतिरिक्त प्रत्येक प्रहरको अन्त्यमा विशेष फलद्वारा अघ्र्य दिनुपर्छ। प्रथम प्रहरमा ६ बजे पूजा प्रारम्भ गरेर ८.५० सम्ममा गर्नुपर्ने पूजा पाठ नाम मन्त्रको जप ध्यान योग समाधि जे सकिन्छ गरेर अन्त्यमा पहिले तयार पारेको अघ्र्यमा बेलको (दाना) फल राखी यस मन्त्रले अघ्र्य दिई यस प्रकारको क्षमायाचना गरी समापन गर्नुपर्छ :–
प्रथम प्रहरको अघ्र्य दिने मन्त्र–
नमः शिवाय शान्ताय सर्वपापहराय च।
शिवरात्रौ मया दत्तं गृहाणाघ्र्यं प्रसिद मे।।
यसैगरी, द्वितीय प्रहरको पूजा ९ बजे राति थालेर ११.५० करिबमा तलको मन्त्रले बिमिरो फल राखी अघ्र्य दिनुपर्छ–
मया कृतान्यनेकानि पापानि हर शंकर !
गृहाणाघ्र्यमुमाकान्त शिवरात्रौ प्रसिद मे।
तृतीय प्रहरमा अघ्र्यदिने दारिमको फल र मन्त्र छ :–
दुःख दारिद्रयभावैश्च दग्धोऽहं पार्वतीपते !
मां वै त्राहि महादेव गृहाणाघ्र्यं नमोऽस्तुते।।
यसै प्रकारले चौथो प्रहरमा रम्भाफला (केला) राखेर
तलको मन्त्रले अघ्र्य दिनुपर्छ:–
किं न जानासि देवेश ! तावद्भक्तिं प्रयच्छ मे।
स्वपादाग्रतले देव ! दास्यं देहि जगत्पते !।।
यसरी, चौथो प्रहरको पूजा आराधना सकेर प्रातः कालको नित्य आरती पुष्पाञ्जलिपश्चात् महाशिवरात्रिको शिव उपासना सकिन्छ। चौथो प्रहरको पूजापछि स्नान गरेरमात्र नित्यपूजनादिको विधि गर्नुपर्छ। शिवमूर्तिभन्दा बढी शिवलिंगमा पूजाको बढी महत्व अग्नि पुराणमा बताइएको छ। अतः शिव उपासनामा शिवलिंगको पूजा उपासना नै साधक एवं गृहस्थका लागि लाभदायक मानिन्छ। पशुपति भगवान् शंकर हुनुहुन्छ भने ब्रह्मादि सकल देवता र चराचर जगत् पशुसरह मानिन्छ ।
उपसंहार : जगन्नियन्ता भगवान् शिवको उपासना नै जीवात्माले परमात्मालाई प्राप्ति गर्ने साधनाको उपासना हो। यस उपासनाबाट मानवले आफ्नो कर्तव्य पुरा गरी परलोकको यात्रा अर्थात् मोक्ष वा शिवलोक प्राप्त गर्दछ। लौकिक सामग्रीपरक पूजा आफूले संग्रह गरेका वस्तुलाई परमात्माको देन हो र यसका अधिकारी भनेका सबै मानव हुन्। अहिले भगवान्का इच्छाले मलाई उपयोगको अधिकार दिए पनि मैले सबैको कल्याणमा ऋणादि मार्फत लगाउनुपर्छ। यो नै लौकिक सामग्रीजन्य शिव उपासना हो भने लौकिक सामग्रीहरूलाई जिम्मा लगाएर निर्विकाररूप शिवको उपासना अर्को नित्य उपासनाको पाटो हो।
कुनै भौतिक पूजा सामग्रीभन्दा पनि पारलौकिक उपासनालाई जोड दिएर शिवत्वमा आफू नित्यनिरन्तर विलीन भएर गरिने उपासना विधि पद्धति नै मूल पद्धति हो। यो पद्धति धनमोह छोडेका सात्तिवक भक्तले पनि गर्न सक्छन् भने अकिञ्चन भक्तले आफूलाई शिवमा तल्लीन गराएर पनि गर्न सक्छन्। सम्पत्तिको उपयोग नत्याग्दासम्ममात्र हो त्यागेपछि वा मोह छोडेपछि धनी पनि अकिञ्चन भक्तमा गणना भएर उपासना गर्छन्।
तर घरमा बस्दा मोह जागृत हुने हुँदा गृह, पत्नी, पतिबाट टाढा बस्ने अभ्यास साधु सन्त सन्न्यासीले गरेका हुन्। यसको अनुसरण हामी गृहस्थले गरिरहनुपर्छ। तीर्थव्रत, शिवरात्रि, महाशिवरात्रि, गुरुकुल सेवा, दीनदुःखीको सेवा आश्रम वृद्धाश्रम यसैका प्रतीक हुन्। अन्त्यमा शिवत्वविमर्शमा उद्धृत यो स्कन्दपुराणको श्लोकबाट बिदा चाहन्छु–
लिंगरूपो महादेवो ह्यर्चनीयो मुमुक्षुभिः।
शिवात्परतरो नास्ति भुक्तिमुक्ति प्रदायकः।।
प्रतिक्रिया दिनुहोस !