भर्तृहरिका अनुसार संसारमा चार प्रकारका व्यक्ति हुन्छन् : – १. बिनाकारण, बिनाप्रयोजन नै अरूलाई दु: ख दिने। २. आफ्नो सुखका लागि अरूलाई दु: ख दिने। ३. स्वार्थ पूरा हुने अवस्थामा मात्रै अरूको भलो गर्ने र, ४. आफूले अनेकौं कष्ट सहेर पनि अरूको भलो गर्ने। अमृत पाउन पौराणिककालमा देव र दानवहरू मिलेर समुद्र मन्थन गरे। त्यस मन्थनको सुरुमै भयंकर ‘हलाहल’ विष निस्कियो। त्यस विषको प्रभावले तीनैलोक त्रसित भयो। विषलाई नियन्त्रण गर्नु कसैको वशमा थिएन। विषको ज्वालाले सर्वत्र त्राहिमाम् मच्चिएको थियो।आफ्नो जगत् र आफ्ना जीवहरू दु: खी भएको देखेर भोलेनाथको हृदय पग्लियो। उहाँ स्वयं दु: खी हुनुभयो। उहाँले माता पार्वतीतर्फ हेरेर ‘के गरौं ?’ भनी सोध्नुभयो।
करुणामय जगज्जननीले भन्नुभयो, ‘यी तड्पिरहेका प्राणीहरूको दु: ख दूर गर्न हजुर सक्षम हुनुहुन्छ। हे नाथ ! हजुरले यी संकटग्रस्त जीवहरूलाई बचाउनुहोस्।’ त्यसपछि महादेवले त्यो भयानक हलाहल विषलाई आफ्नो हातमा राखेर पिउनुभयो। उहाँ महादेव हुनुभएको यसै कारणले त हो। संघर्ष, दु: ख, अपमान, तिरस्कार, चुनौती र निरन्तर परिश्रमको विष पिउन सक्ने व्यक्ति नै महान् बन्छ। यस्तो व्यक्ति नै जीवनमा सफल, आदर्श र कीर्तिमान बन्ने हो। शिवले यो विष आफ्नो कीर्ति फैलाउन पिउनु भएको होइन। उहाँले त विषको ज्वालाले डढेका जीवहरूको दु: ख हरण गर्न हो। जीवहरूको मुहारमा शान्तियुक्त, भयमुक्त र नैसर्गिक प्रसन्नता ल्याउन उहाँले यो त्याग गर्नुभयो। आफू कष्ट सहेर अरूको कल्याण गर्नु नै शिवत्त्वको पहिलो पाठ हो।
शिवलाई ‘वैद्यनाथ’ पनि भनिन्छ। उहाँ आयुर्वेदको मूल ज्ञानदाता हुनुहुन्छ। शिवले आयुर्वेदको ज्ञान सुरुमा देवताहरूलाई प्रदान गर्नुभएको थियो। पछिमात्र मानिससम्म यो दिव्य विद्या पुगेको हो। उहाँले धन्वन्तरीको रूपमा पृथ्वीमा अवतरित भएर आयुर्वेदलाई मानवजातिको हितका लागि प्रसारित गर्नुभयो। समुद्र मन्थनबाट निस्केको कालकुट विष पिएपछि शिवको कण्ठ नीलो भयो। यसै कारण उहाँलाई ‘नीलकण्ठ’ भनिन्छ। नीलकण्ठ रूपले विषलाई औषधिमा परिणत गर्ने गहिरो चिकित्सकीय सिद्धान्तलाई जनाउँछ। यो सिद्धान्त आजको आयुर्वेद र होमियोपेथीको समेत आधार मानिन्छ।
संस्कृत भाषामा ‘नेता’ शब्दको अर्थ निकै गहन छ। जसले अरूलाई अगाडि बढाउँछ र उन्नतिमा पु¥याउँछ, उही नेता हो। ‘नयति अग्रम् इति नेता’ अर्थात् जो अगाडि लैजान्छ, त्यो नेता हो। तर अचेल समाजमा यसको विपरीत देखिन्छ। राष्ट्र विकासको नारा दिने नेताहरूले आफ्नै पेट र पेटीमात्र भरेको देखिन्छ। अहंकारले डकारेको दृश्य प्रत्यक्ष भोग्न सकिन्छ। समाजका श्रेष्ठजनले सबैभन्दा बढी त्याग गर्नुपर्छ। उनीहरू आदर्श बनेर सबैको हितका लागि यत्नशील रहनुपर्छ। तब मात्र उनीहरू श्रेष्ठ मानिन्छन्।
भगवान् शिवले भयंकर विष पिएर देवताहरूलाई अमृत दिनुभयो। आफूले अतुलनीय कष्ट भोगेर अरूलाई सन्तुष्ट बनाउनुभयो। त्यसैले उहाँ देवहरूका पनि देव ‘महादेव’ हुनुहुन्छ। भोक लागेको बेला भोजन गर्नु ‘प्रकृति’ हो। अर्काको भाग खोसेर खानु ‘विकृति’ हो। तर आफू भोको भएर पनि आफ्नो भाग अरूलाई खुवाउनु ‘संस्कृति’ हो। विष स्वयंले पिएर अरूलाई अमर बनाउने अमृत पिलाउनु झन् कति महान् कुरा हो ! आमाले जसरी चिसोमा सुतेर बालकलाई न्यानोमा सुताउनुहुन्छ, भगवान् पनि समस्त जीवहरूको अखण्ड उपकार गर्नुहुन्छ।
- शिवले विष ज्वालाबाट प्रतप्त भएका जीवहरूको दु: ख हरण
- गर्न पिउनुभएको हो।
- आयुर्वेदका ज्ञानदाता शिवले धन्वन्तरीको रूपमा अवतरित भएर आयुर्वेदलाई संसारमा फैलाउनुभयो।
- शिवलाई संहारकमात्र नभई औषधि र वनस्पतिका अधिपति पुनर्निर्माणकर्ता पनि मानिन्छ।
हामी संसारका समस्त नियम र आदर्शहरू आफूबाहेक अरूमा लागू गर्न चाहन्छौं। हामी अरूको समीक्षा गर्छौं तर आफ्नो आत्मालोचना गर्दैनौं। संसारभरिका आदर्श व्यक्ति भगवान् शिव हुनुहुन्छ। सामान्यतया अरूलाई सुख दिनुलाई पुण्य र दु: ख दिनुलाई पाप भनिन्छ। तर नियत र भावले यसको निर्णय गर्छ। व्यभिचारद्वारा दिएको सुख पनि पाप हुन सक्छ भने उपचारका क्रममा दिइएको दु: ख पनि पुण्य हुन सक्छ। शिव शब्दको अर्थ नै कल्याण र मंगल हो। जसले जीवको मंगल विधान गर्नुहुन्छ, उहाँ नै शिव हो। अत: शिव सुन्दर र सत्य हुनुहुन्छ।
योग पथका पथिकहरूका लागि शिव ‘आदियोगी’ हुनुहुन्छ। उहाँले गोरखनाथ बनेर नेपालको गोर्खामा अवतार लिनुभयो। उहाँले हठयोग प्रदीपिका र सिद्धसिद्धान्त पद्धतिजस्ता अनेकौं ग्रन्थ दिनुभयो। आज संसारभर मनुष्यले गरिरहेको योग अभ्यास भगवान् शंकरकै अनुदान हो। संगीतका साधकहरूका लागि उहाँ महागुरु र आदि आचार्य हुनुहुन्छ। उहाँले दिव्य रागको झंकार गर्दा श्री राधाकृष्ण जलरूप बनेर गंगाको उत्पत्ति भएको कथा छ। उहाँको हातमा डमरु सुशोभित रहन्छ र उहाँ ‘नटराज’ बनेर नृत्य गर्नुहुन्छ। गायन, बादन र नर्तन गरी संगीतका तीनै विधामा उहाँ आदि प्रेरक हुनुहुन्छ।
शिवको नटराज मूर्तिको प्रतिमा विश्वविख्यात ‘सर्न’मा राखिएको छ। यो स्विट्जरल्यान्डको जेनेभामा अवस्थित परमाणु अनुसन्धान केन्द्र हो। सर्नले ब्रह्माण्डको आदिम अवस्था र मूलभूत कणहरूको अध्ययन गर्छ। नटराजको ‘कस्मिक डान्स’ले निरन्तरको सृष्टि, पालन र संहारको चक्र देखाउँछ। यो आधुनिक भौतिकशास्त्रको मूल सिद्धान्तसँग मिल्दोजुल्दो छ। सन् २००४ मा भारत सरकारले सर्नलाई यो प्रतिमा उपहार दिएको थियो। प्रसिद्ध भौतिकशास्त्री फ्रिट्जोफ काप्राले नटराजको नाचलाई क्वान्टम क्षेत्र सिद्धान्तसँग जोडेर व्याख्या गरेका छन्। सर्नमा राखिएको प्रतिमा आध्यात्मिक दर्शन र वैज्ञानिक अनुसन्धानबीचको सामन्जस्यको प्रतीक हो।
तन्त्र भनेको शिव र शक्ति अर्थात् चेतना र ऊर्जाको एकताको साधना हो। यसको मूल आधार शिव नै हुनुहुन्छ। उहाँलाई सबै तान्त्रिक विद्याको आदि प्रवर्तक मानिन्छ। उहाँको अर्धनारीश्वर रूपले पुरुष (चेतना) र प्रकृति (ऊर्जा)को अविभाज्य एकतालाई देखाउँछ। भैरव रूप तन्त्रको एक प्रमुख आयाम हो। भैरवी तन्त्र र विज्ञान भैरव तन्त्रजस्ता ग्रन्थ शिव–पार्वतीको संवादमा आधारित छन्। यसमा चेतनालाई विस्तारित गर्ने १ सय १२ वटा ध्यान योगका तरिका उल्लेख छन्।
अन्त्यमा, शिवले नै शंकराचार्यका रूपमा अवतरित भएर सनातन धर्मको रक्षा गर्नुभयो। उहाँले नै विभिन्न धामको प्रवर्धन र शास्त्रहरूको रचना गरी मानव जातिलाई मार्गनिर्देश गर्नुभयो। शिवको जीवन र दर्शनले हामीलाई त्याग, सेवा, योग र विज्ञानको एकीकृत ज्ञान प्रदान गर्छ। उहाँको आराधना गर्नु भनेको स्वयंको कल्याण र जगत्को उत्थानका लागि तयार हुनु हो।
प्रतिक्रिया दिनुहोस !