आकाशमा कैलाश, धरतीमा धुनी
नेपाली माटोको मौलिक पहिचान बोकेको खस संस्कृतिमा ‘मष्टो’ परम्पराको स्थान अत्यन्तै उच्च छ। नेपालका पहाडी भूभागदेखि भारतका केही ठाउँसम्म खसहरूले मष्टोलाई कुलदेवताका रूपमा पुज्दै आएका छन्। मष्टोको स्वरूपलाई धेरैले शिवकै लौकिक र मानवीय अवतारका रूपमा स्वीकार गरेका छन्।
खस संस्कृति र मष्टोको शिव–स्वरूप : मानव जातिको उत्पत्ति र सृष्टिको गूढ रहस्यमा शिवलाई लिंग र धुनीको एकात्मक स्वरूपमा स्थापित गरिएको छ। धेरै अध्येताले खसहरूका यी आराध्यदेव मष्टोलाई शिव र शक्तिको समन्वयबाट बनेको ‘शैव परम्परा’कै एक कडीका रूपमा व्याख्या गरेका छन्। शिवलाई मष्टोको मूल स्रोत मानिन्छ। मष्टो, सिद्ध वा भैरवको उपासना गर्दा घ्यू (घृत) अर्पण गर्ने र धुनी जगाउने जुन प्रचलन छ, त्यसले हाम्रो प्राचीन परम्परालाई जीवन्त तुल्याएको छ। भूमि पूजनसँगै आगो, पानी र हावाको महत्वलाई आत्मसात् गरेर नै हाम्रा पूर्वजहरूले ‘भूत–चतुष्टय’ र ‘पञ्चतत्व’ जस्ता दार्शनिक धारणा विकास गरेका हुन्।
शिवको बहुल स्वरूपमा देखिने भैरव–भैरवी हुन् वा गौरी–शंकर, यी दुवै युग्म प्रकृतिको अनुपम छटाका बिम्ब हुन्। मष्टो पूजाको एउटा विशिष्ट पक्ष के छ भने यहाँ ‘थान’ हुन्छ तर मन्दिर हुँदैन। यो खुला आकाशमुनि प्रकृतिको सामीप्यमा गरिने पूजा हो। मष्टो पूजामा तान्त्रिक विधिको पनि प्रभाव छ, जहाँ राजसी र तामसी दुवै पद्धति अपनाइन्छ। राजसी पूजामा बली चढाइन्छ भने तामसी पद्धति अलि कष्टपूर्ण हुन्छ। यस परम्पराको सुन्दर पक्ष यो हो कि यहाँ जुनसुकै जातको व्यक्ति पुजारी वा धामी रहन सक्छ, जसले शिवको सर्वव्यापकतालाई पुष्टि गर्छ।
- खस संस्कृति र मष्टोको शिव–स्वरूप
- नाथ परम्परा र आदिनाथको महिमा
- प्रकृतिपूजा र पञ्चतत्वको दर्शन
- शिवरात्रिः प्रकृति संरक्षण र लोककल्याणको उत्सव।
नाथ परम्परा र आदिनाथको महिमा : शैव चिन्तनको अर्को महत्वपूर्ण हाँगो ‘नाथ’ परम्परा हो। यस दर्शनमा शिवलाई ‘नाथ’ र अरू सबैलाई ‘अनाथ’ (स्वामी र सेवक)का रूपमा हेर्ने गरिन्छ। नाथहरूलाई तान्त्रिक सिद्ध मानिन्छ र उनीहरू प्रकृतिपूजक शैव चिन्तनको मुख्य आधार हुन्। नेपालको सांस्कृतिक इतिहासमा अनेकौं नाथहरूसँग जोडिएका देवताहरू स्थापित छन्। काठमाडौंको मृगस्थलीमा रहेको बाह्रनाथ जोगी गुठीले प्रत्येक वर्ष वैशाख शुक्ल अष्टमीका दिननाथ जोगीहरूलाई भोजन गराउने ऐतिहासिक चलन आज पनि कायम छ। पशुपति क्षेत्रमै रहेको गोरक्षपीठमा गोरखनाथको अखण्ड धुनी अझै पनि प्रज्वलित छ, जसले हाम्रो प्राचीन योग र साधनाको परम्परालाई झल्काउँछ।
नेपाली मुद्रामा समेत गोरखनाथको नाम उल्लेख हुनुले यस परम्पराको राजकीय र सांस्कृतिक प्रभावलाई स्पष्ट पार्छ। काठमाडौं उपत्यकामा मत्स्येन्द्रनाथ र भैरवनाथका विभिन्न स्वरूप जनजीवनसँग जोडिएका छन्। भैरवलाई रातो, कालो र सेतो स्वरूपमा मात्र नभई आकाश भैरव र कालभैरवका रूपमा पनि पुजिन्छ। नाथ परम्पराको सुरुवात स्वयं शिवबाटै भएको हुनाले उहाँलाई ‘आदिनाथ’ भनिन्छ। यस परम्परामा ‘नाद’ अर्थात् ध्वनिको विशेष महत्व हुन्छ। गुरु–शिष्यबीचको ज्ञानको प्रवाहलाई नाद परम्परा भनिन्छ भने सन्तानको वंश परम्परालाई ‘विन्दु’ परम्परा भनिन्छ। नवनाथ र सिद्धहरू शैव दर्शनका अभिन्न अंग हुन्। नाथ योगीहरूमा सन्न्यासी र गृहस्थ दुवै चरित्र पाइन्छ। १४२७ सालदेखि नै गृहस्थ योगीहरूको परम्परा चलिआएको प्रमाण पाइन्छ, जसका कुलदेवता भैरव हुन्। खसहरू मष्टो पूजक भए पनि मष्टो स्वयं शिवकै प्रतीक हुन्, जहाँ लिंगोलाई शिव र धर्तीलाई शक्ति स्वरूप पूजा गरिन्छ। हजारौं वर्षदेखि चल्दै आएको यो भजन, कीर्तन र जात्राको इतिहासले हाम्रो शैव चिन्तनलाई नै प्रतिनिधित्व गर्छ।
प्राचीनतम धारा, पाशुपत र वैदिक सभ्यता : शैव दर्शनको सबैभन्दा प्राचीनतम धारा ‘पाशुपत मत’ हो। ऋग्वेद कालसम्म प्रकृतिपूजकका रूपमा रहेका शिवलाई यजुर्वेद कालपछि रुद्र–अभिषेक गरी ‘महादेव’ बनाइएको इतिहास पाइन्छ। ऋग्वेद पूर्वका प्रकृतिपूजक चिन्तनहरू- बोन, शाक्त र रौनको त्रि–एक भावलाई समेटेर त्रिशूललाई शिवको प्रमुख हतियारका रूपमा स्थापित गरियो। शिवको स्वरूपका बारेमा अनेकौं धारणा छन्, एक चिन्तनले उनलाई किराँती पुरुषका रूपमा चिनाउँछ भने अर्कोले अर्धनारीश्वर बिम्बमा प्रकृति र पुरुषको एकता ठम्याउँछ। शुक्ल यजुर्वेदमा रुद्र, महादेव र एकरजस्ता नामबाट शिवको व्यापक चर्चा गरिएको छ।
शैव चिन्तनका अनुयायीहरूले शिवका विभिन्न स्वरूपको वर्णन गर्दछन्। कसैले आठ, कसैले एघार त कसैले सयौं रुद्रको उल्लेख गरी पशुपतिनाथको आराधना गर्दछन्। यो सर्वविदितै छ कि शैव चिन्तन वैदिक सभ्यताभन्दा पनि धेरै पुरानो र मौलिक छ। शिवको ज्ञानको स्रोतका रूपमा पछि आएर शिवपुराण, लिंगपुराण, स्कन्दपुराण, अग्नि पुराण र वायु पुराणजस्ता ग्रन्थ विकास भए। यसका अतिरिक्त शिवसंहिता, पाशुपत सूत्र र शैव आगमजस्ता ग्रन्थ आज पनि उत्तिकै स्मरणनीय र पूजनीय छन्।
मानवीय व्यक्तित्व र राजकीय मान्यता : शिवको चरित्रमा मानवीय गुणहरूको पनि समिश्रण पाइन्छ। उनलाई ‘अकुल’ (कुनै विशेष कुलमा नबाँधिएको) व्यक्ति मानिन्छ। कसैले उनको जात वा कुल सोध्दा उनले आफूलाई ‘गोत्रहीन’ बताएको प्रसंगले शिव सबैका साझा र सीमाभन्दा बाहिरका हुन् भन्ने बुझिन्छ। शिवद्वारा प्रवर्तित चिन्तन नै शैवशास्त्र हो र यस दर्शनलाई नेपालको राजकीय मान्यता दिने काम लिच्छवि राजा अंशुवर्माद्वारा भएको थियो। आजका दिनमा यसका शाखाहरू तावा, साम्बा, मष्टो र मुन्धुमजस्ता अनेकौं मौलिक रूपहरूमा विस्तारित भएका छन्।
यी प्रायः सबै प्रकृतिपूजक परम्परा हुन्। मातृपूजा, पितृपूजा र धर्तीपूजाका यी तीन रूप वास्तवमा प्रकृति पूजाकै अवशेष हुन्। हाम्रो संस्कृतिमा प्रकृतिको संरक्षण गर्ने भावलाई धर्मसँग जोडेर हेर्ने गरिन्छ। उपकारी प्राकृतिक तत्वहरूलाई ‘देवत्वकरण’ गर्ने काम वैदिककालदेखि नै हुँदै आएको छ। भागवतले शिवलाई ‘विश्वात्मा’ भनेको छ भने ब्रह्माकुमारी राजयोगले उनलाई ‘परमपिता’ मानी उपासना गर्छ। पशुपतिनाथ क्षेत्रमा गुह्येश्वरीको नामबाट शैवशक्तिको जुन पूजा गरिन्छ, त्यसले शिव र शक्तिको अविच्छिन्न सम्बन्धलाई देखाउँछ।
शिवरात्रि र प्रकृतिको उत्सव : शिवको पूजा भनेको प्राकृतिक शक्तिप्रतिको अगाध भक्ति हो। वायुपूजा, कुलपूजा र पितृपूजाको संयुक्त रूप नै धर्ती र आकाशलाई जोड्ने कर्म बन्छ। रुख, पात, ढुंगा र लिंगो ठड्याएर कैलाशतिर फर्केर गरिने पूजाले मानिसलाई उसको जडसँग जोड्छ। मष्टो संस्कृतिमा शाकाहारी र मांसाहारी दुवै प्रकारका मष्टोहरू पुजिन्छन्, जुन अवैदिक आस्थाको एउटा विशिष्ट कर्मकाण्ड हो। शिवरात्रि केवल शिवको एकल रूपको उपासना गर्ने दिन होइन, यो त उनको बहुल स्वरूप र प्रकृतिप्रतिको सामूहिक विश्वासको महापर्व हो।
प्रतिक्रिया दिनुहोस !