भुक्ति- मुक्तिको सोपान ‘शिवमहापुराण’

भुक्ति- मुक्तिको सोपान ‘शिवमहापुराण’

हाम्रा मूल शास्त्र दुई प्रकारका छन्- श्रुति र स्मृति। श्रुति वेद हो भने पुराणहरू स्मृति हुन्। पुराणको संख्या धेरै रहे पनि १८ पुराण मुख्य छन्। १८ पुराणमध्येको शिवपुराण शिवभक्तिपरक पुराण हो। पुराणहरूको सन्देश परोपकार हो। जीवनपरक विभिन्न विषयवस्तु संग्रृहीत पुराण हाम्रा विश्वकोष हुन्।

सृष्टि, स्थिति र लयविज्ञानको रहस्य हाम्रा पुराणहरूको विवेच्य विषय हो। चेतना नै सृष्टि, स्थिति र लयका कारण भएको निष्कर्ष पुराणले नै दिन्छन्। सत्, चित् र आनन्द अनादि र अनन्त छ। ब्रह्माण्डको बीज नै सच्चिदानन्द हो भनिएको छ। त्यही सत्बीजको स्थूलरूप नै ब्रह्माण्ड भएकाले त्यसैको विशद व्याख्या पनि पुराणहरूमा भेटिन्छ।

शास्त्रमा प्रभुसम्मित, सुहृत्सम्मित र कान्तासम्मित बाक्यको चर्चा पाइन्छ। मन्त्रहरूका समूह वेदका वाक्य प्रभुसम्मित, साहित्यका वाक्य कान्तासम्मित र पुराणका वाक्य सुहृतसम्मित हुन्। पुराणले मानवलाई मित्रसम्मित वाक्यका माध्यमबाट सत्कर्म गर्न सल्लाह दिन्छन्। ‘अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् परोपकार पुण्याय पापाय परपीडनम्’ यो पौराणिक सुक्तिले परोपकारलाई नै पुराणको उद्देश्य बताएको छ।

हाम्रो पूर्वीय चिन्तनले मानव जीवनलाई ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास आश्रमका माध्यमबाट विश्लेषण गरेको छ। ब्रह्मचर्य आश्रममा प्रवेश गरी भरपर्दो शिक्षा प्राप्तिपश्चात् गृहस्थ आश्रममा प्रवेश गरेको मानवमाथि देवऋषि र पितृ ऋण हुन्छन्। ती ऋणबाट मुक्त हुन देव, पितृ र मनुष्य सेवापरक शुभकर्मको निर्देश पुराणहरूले दिन्छन्। पितृदेवो भव, मातृदेवो भव, अतिथि देवो भव, आचार्यदेवो भवःजस्ता जीवन्त सन्देश पुराणकै हुन्।

ईश्वरीय र पितृसत्तामा श्रद्धा र विश्वास पुराणहरूकै गर्भित आशय हुन्, जसले मानवलाई मानवत्वको श्रेणीमा राख्न मद्दत गर्छन्। पुराणमा भगवान् विष्णु, शिव आदिका विभिन्न अवतार, राजा–महाराजा र दैत्य–दानव आदिका कथा वर्णनका साथै मानवले गर्नुपर्ने, दैनिक, मासिक, वार्षिक कर्म र संस्कारगत प्रतीकात्मक कृत्य वर्णित छन्। तीर्थ, गणित, ज्योतिष, औषधि, भाषा आदि विभिन्न वैज्ञानिक तथ्यको पनि वर्णन गरिएका पुराणले मानव जीवनमा ठूलो महत्व राख्छन्।

पुराणको प्रयोजन श्रेय र प्रेयको प्राप्ति हो। पुरा नवं भवति (पुरानो भएर पनि नयाँ हुनु), पुरा अणति (पुरानालाई भन्नु) र प्राग्द्युतिमत् भवति (पुरानो प्रकाशिलो हुन्छ) आदि शब्दबाट परिभाषित पुराण धार्मिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक एवं भौतिक विश्वकोश हुन्, जसले वैदिक वाङ्मयका विषयवस्तुलाई बुझ्नेगरी सरलीकृत रूपमा बताउँछन्।

वेदमा वर्णित गुह्यतत्वको जानकारी लिन पुराण श्रवण, पठन, मनन् र चिन्तन आवश्यक छ। व्यावहारिक जगत्का कुरा समाजका लागि सुगम भाषामा वर्णित गर्ने पुराणहरू मानव जीवनका निधि भएकोले यिनको महत्व जीवनदायी छ। वैदिक धर्मले इष्टप्राप्तिमा ध्यान दिन्छ भने पौराणिक प्रक्रियाले कुवा, तलाउ, धर्मशाला बनाउने, विद्यादान, अन्नदान, जलदान आदि विविध पक्षमा ध्यान दिएर मानवलाई तिनका माध्यमबाट परोपकारमा लाग्न अभिप्रेरित गर्छन्।

धर्म, अर्थ, काम र मोक्ष मानव जीवनका चार पुरुषार्थमा मोक्ष अन्तिम लक्ष्य हो। मुक्तिका चार प्रकार सालोक्य –भगवान्का लोकमा बस्नु), सामीप्य (भगवान्का समीपमा बस्नु, सारुप्य (भगवान्)को जस्तै रूप भएर बस्नु र सायुज्य (सगुण भगवान्को श्रीविग्रहमा मिलेर एकीकृत हुनु) हुन्। सगुण भगवान् प्राप्तिको साधन सगुण भक्ति हो। निर्गुण भक्ति ज्ञानरूपा र सूक्ष्म छ। मोक्षका तीन साधन कर्म, भक्ति र ज्ञानमा ज्ञान सर्वोपरि भए पनि सर्वगम्य नभएकाले कर्म र भक्तिमा जोड दिइएको छ। कर्म पनि भक्तिभित्र पर्ने हुँदा भक्ति गरौं भन्छन् पुराणले। निर्गुण भक्ति पनि ज्ञानरूपा नै भएकाले सगुण भक्तिकै उपासना गरिन्छ।

प्रमुख अठार पुराणमध्येको शिवपुराण महत्वपूर्ण पुराण हो। भगवान् शिवको श्रीविग्रह, लीलावतार, कर्म र चरित्रको वर्णनमा आधारित यो पुराणलाई वायुपुराण पनि भनिन्छ। निर्गुण परमात्मा अजन्मा भएर पनि मायालाई लिएर जन्मग्रहण गरी प्राणीको रक्षा गर्छन् भन्ने शास्त्रवचन छन्। ‘अवतारा ह्यसंख्येया हरेः सत्वनिधेद्विजाः’ श्रीमद्भागवतले भगवान्का अवतार असंख्य बताएको छ। ती अवतार पूर्ण, आवेश र अंशावतार हुन्। निर्गुण र सगुण भगवत् अवतारमध्ये शिव अवतार सगुण पूर्णावतार हो। शिवलीला र क्रियाकलाप सगुण शिव अवतारका हुन्। मन्दिरमा स्थापित भगवान्का श्रीविग्रह मायिक सगुण स्वरूपका प्रतीकात्मक भएकाले वैदिक सनातन धर्मका अनुयायीले महत्वका साथ उपासना गर्दै आएका हुन्।

भगवान् शिवका लीला अवतार र चरित्रको पठनपाठनले मानवमाथि ईश्वरको असीम कृपा प्राप्त भै सत्वगुणको उदय भएर भक्ति जाग्छ भन्ने शास्त्रीय उद्घोष छ। शिवपुराणको अध्ययन, श्रवण, मननले, भक्तका हृदयमा काम क्रोधादि नष्ट भएर मैत्री, करुणा, सद्भाव, क्षमा, सहयोग र परोपकार आदि दैवीगुणको उदय हुन्छ। मानव, समाज र राष्ट्रहितका सुकर्म गर्न अभिप्रेरित गर्नु भगवान् शिवका अवतार एवं लीलाचरित्रको सन्देश हो। सगुण शिव भगवत्स्वरूप र लीलाचरित्रको उपासनाले मानवलाई आफ्ना स्वरूपको अनुसन्धान गर्ने भक्तिको उद्देश्यमा मद्दत पुग्छ। 

शिवपुराणभित्र मानव उत्थान र परोपकारमूलक विषयवस्तुको महत्व दर्शाइएको छ।पूर्वकालमा भगवान् शिवद्वारा प्रतिपादित शिवपुराण सबै सिद्धान्तको निष्कर्ष र शिवलाई सन्तुष्ट गर्र्ने धर्मग्रन्थ हो। सनतकुमारका उपदेशले कलिका मनुष्यको कल्याणका लागि व्यासमुनिले प्रतिपादन गर्नुभएको यो पुराण कलिका मानवको चित्तशुद्धिको अचुक औषधि हो। पूर्वजन्मका सुकर्म सञ्चित पुण्यवान् मानवले मात्र पढ्ने र सुन्ने सुअवसर पाउने परम उत्तम यो पुराण भगवान् शिवको साक्षात् वाङ्मयस्वरूप भएकाले सेवनयोग्य छ। यसको पठन र श्रवणले पाप÷दुष्कर्मबाट मुक्त भै शिवभक्ति पाई श्रेष्ठतम स्थितिमा पुगेर शिवपद प्राप्त हुने र चाहेको फल पाइने पनि फलश्रुति छ।

शिवपुराण सुन्ने मानिस साक्षात् शिवको रूप हुने भएकाले यो पुराण सदा सेवनीय छ। मानवलाई निष्पाप बनाई प्रशस्त भोग भोगेर मृत्युपश्चात् शिवलोकको बास गराउन समर्थ शिवपुराण सुन्नाले मात्र पनि सयौं राजसूय र अग्निष्टोमादि यज्ञबाट पाइने पुण्य प्राप्त हुने महिमा वर्णित छ। यो पुराण सुन्ने र कीर्तन गर्ने व्यक्तिका चरणको धुलोलाई तीर्थको संज्ञा दिइएको छ।

सधैं सुन्न नसके कुनै पवित्र महिनामा भए पनि स्थिरचित्तले एक मुहूर्तमात्र सुन्नाले पनि जस्तोसुकै महाकुकर्मका मल जलेर पार तरिने, सबै दान र यज्ञबाट पाइने पुण्य प्राप्त भई मुक्ति दिन समर्थ यस पुराणको महिमा सर्वोपरि बताइएको छ। शिवनाम जप र संकीर्तन कल्पवृक्ष समान फल दिने भएकाले धर्माचरणशून्य दुर्बुद्धि कलिका मानवको उद्धार गर्न लेखिएको यो पुराण श्रवणले कुलको उद्धार हुने हुँदा सदा सेवनीय छ।

श्रोताका हृदयमा शिवको बास गराउन समर्थ विद्येश्वरसंहिता, रुद्रसंहिता, शतरुद्रसंहिता, कोटिरुद्रसंहिता, उमासंहिता, कैलाशसंहिता र वायवीयसंहितासमेत सात संहिताको २४ हजार श्लोक चएमने शिवमहापुराणमा भक्ति, ज्ञान र वैराग्यको युक्ति भएकाले आदरपूर्वक सुन्न योग्य छ। 

परमात्मा समान शिवपुराण उत्कृष्ट गति र पुरुषार्थ चतुष्ट्य प्रदान गर्न समर्थ भएकाले भुक्ति–मुक्ति प्रदायक छ। आत्मतत्व ज्ञानीका लागि सदा सेवनीय, सत्पुरुषका लागि पूजनीय, आधिदैविक, आधिभौतिक र आध्यात्मिक तीन ताप शमन गर्ने, सुखदाता र ब्रह्मा, विष्णु महेश्वरको प्राणसमान शिवपुराण महापापी, दुराचारी, खल मानसिकता र नित्य काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यका गर्तमा डुबिरहने मानिसलाई पनि शुद्ध गर्न समर्थ साक्षात् शिवस्वरूप भएकाले यस पुराणको महिमा सर्वोपरि छ। ‘सेव्यः सेव्यः सदा सेव्यः शंकरः सर्वदुःखहा’ भनी सगर्व वर्णित बहुआयामिक सर्वदुःख निवारक शिवपुराण सेवन गरिरहन हितकर छ।

हिमालय पर्वतमा निवास गर्ने भगवान् शिव हामी नेपालीका लागि एक परम उपासनीय देव हुनुहुन्छ। उहाँले हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक जीवनमा सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ। शिवपुराणको निरन्तर श्रवण र मनन् गर्नाले भगवान् शिवको महिमा र चरित्रलाई वास्तविक रूपमा बुझ्न सकिन्छ। यदि हामी सबैको कल्याण हुने कर्ममा जुट्न सक्यौं भने भगवान् शिव हामीप्रति प्रसन्न हुनुहुनेछ। शिवको सच्चा भक्तिले मात्र मानव जीवनमा सुख, शान्ति र कल्याण प्राप्त गर्न सम्भव छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.