तन्त्ररूप श्रीपशुपतिनाथ

तन्त्ररूप श्रीपशुपतिनाथ
सुन्नुहोस्

थोरै उच्चारण गरेर धेरै बोध हुने, एक पटक देखेर वा बोलेर अनेकार्थ विचारको विस्तार गराउने विधि शास्त्र र प्रक्रियाको नाम हो तन्त्र। ज्ञान र उपदेशको फैलावटलाई पनि तन्त्र भनिन्छ। स्वर्ग, मोक्ष र सुखका लागि उपदेश गरिएको तन्त्र, शास्त्र वा वाङ्मयको भण्डार विशाल छ। यस विशालता र वैभवको केन्द्रमा शिवशक्ति छ। शैवशक्ति श्रीपशुपतिनाथबाट अभिव्यक्त हुन्छ।

श्रीपशुपतिनाथले विभिन्न ब्रह्मको परार्ध, कल्प, मन्वन्तर र युगको प्रतिनिधित्व गर्छन्। मूलशक्ति सदाशिवलाई विन्दुरूपमा जान्नु भन्ने तन्त्रको अभिप्राय छ। देवता, वेद, लौकिक ज्ञान विज्ञान, द्रव्य र पदार्थहरू सबै श्रीपशुपतिनाथबाट प्रकट र विस्तार भएको कुरा तन्त्रमा उल्लेख छ। सबैको मूल वा बीज आदिनाथ सदाशिव श्रीपशुपतिनाथ नै हुन् भन्ने आशय तन्त्रमा पाइन्छ।

श्रीपशुपतिनाथको स्वरूप :  श्रीपशुपतिभन्दा अर्को कुनै पाउने तत्त्व छैन। श्रीपशुपतिको सन्निधि भन्दा बाहिर अर्को कुनै सुख छैन। श्रीपशुपतिको खोजभन्दा बाहिर अर्को कुनै ज्ञान छैन। ज्ञानयोगीहरूले आराध्य श्रीपशुपतिनाथलाई नै ब्रह्म भनेका छन्। ब्रह्म अक्षररूप परमात्मा श्रीपशुपतिनाथको विशेषण हो। श्रीपशुपतिनाथ सत्य, ज्ञान र आनन्दस्वरूप छन्। श्रीपशुपतिनाथलाई नै विज्ञानरूप र आनन्दरूप मानिन्छ। जुन साक्षात् प्रत्यक्ष छ त्यो ब्रह्म हो। ब्रह्मलाई कुनै विचार वा शब्दका माध्यमले पूर्णरूपमा व्यक्त गर्न सकिँदैन। त्यसैले उपनिषद्ले ‘नेति नेति’ भनेको छ। त्यस्तो ब्रह्मलाई तन्त्रमा श्रीपशुपतिनाथ भनिएको छ। सेवा गर्न योग्य श्रीपशुपतिनाथको परिचर्चा आत्मा, क्षेत्रज्ञ र रथीको रूपमा पुराण र तन्त्रमा पाइन्छ। पाशो वा विविध जालमा बाँधिएका वा फसेका जीवहरू श्रीपशुपतिनाथको उपासना गर्छन् । संवत्सर र अयनका सबै अहोरात्रहरू श्रीपशुपतिनाथको उपासनाका लागि स्वीकार्य छन्। तापनि विशेष गरेर महाशिवरात्रि महापर्व महत्त्वले भरिएको हुनाले बढी प्रासांगिक हुने गर्छ।

लिंगमूर्ति सदाशिव :  द्रव्यभेदले छ प्रकारका शिवलिंगको वर्णन पाइन्छ। तिनका सबै अंश र अवयव मिलेर शिवलिंगका चवालिस भेद देखिन्छन्। पहिलो पाषाण निर्मित शिवलिंग चार प्रकारका हुन्छन्। दोस्रो रत्ननिर्मित शिवलिंग सात प्रकारका हुन्छन्। तेस्रो धातुनिर्मित शिवलिंग आठ प्रकारका हुन्छन्। चौथो काष्ठ निर्मित शिवलिंग सोह्र प्रकारका हुन्छन्। पाँचौं माटोबाट बनेका शिवलिंग दुई प्रकारका हुन्छन्। छैटौं क्षणिक लिंग सात प्रकारका हुन्छन्। पाषाण निर्मित शिवलिंग उत्तम र धातुनिर्मित शिवलिंग मध्यम हुन्छ। पार्थिव शिवलिंग सर्वसिद्धिकर हुन्छ। लिंगको मूलमा ब्रह्मा, मध्यमा विष्णु र माथिल्लो भागमा प्रणव नामक महादेव ध्यानासनमा बसेका हुन्छन्।

लिंगको वेदीमा त्रिगुणात्मिका माहेश्वरी आम्बका हुन्छिन्। जसले वेदीका साथ शिवलिंगको पूजा र अभिषेक गर्छ उसले त्रिदेव र जगदम्बिका सबैलाई सन्तुष्ट पार्छ। अभिषेक जल, पञ्चामृत, उखुको रस र फलको रसहरूबाट गर्न सकिन्छ। जलाभिषेक शिवलाई ज्यादै प्रिय लाग्छ। नाम र रूपमा सीमित नहुने अलिंग परमसत्ता ईश्वरको मायाले लिंगरूपमा अभिव्यक्त हुन्छ। शिवलिंगका रूपहरू परमसत्ताको व्यक्त रूप हुन्। सात, आठ र एधार गरी छब्ेिबस प्रकारका लिंगतत्त्वहरू सारा पृथ्वीमा परिव्याप्त छन्।

पञ्चदेवको विस्तार :  तन्त्रमा ब्रह्मा, विष्णु, रुद्र, ईश्वर र सदाशिवलाई श्रीपशुपतिनाथकै रूप मानिएको छ। सद्योजात ब्रह्मा, वामदेव विष्णु, अघोर रुद्र, तत्पुरुष ईश्वर र ईशानलाई सदाशिव स्वीकार गरिएको छ। सद्योजात तत्काल फल दिने शिवको विशेषण हो। तन्त्रमा सद्योजातलाई ब्रह्माको रूपमा वर्णन गरिएको छ। वामदेव उत्तरदिशाको बोध गराउने शिवको विशेष रूप हो। वामदेवलाई तन्त्रमा विष्णुुको रूपमा अथ्र्याइएको छ। दक्षिण दिशाको बोध गराउने सरल र शान्त अघोरलाई रुद्रको रूपमा विस्तार गरिएको छ। पूर्व दिशाको बोध गराउने मूलपुरुष तत्पुरुष परमात्मालाई ईश्वरको रूपमा व्याख्या गरिएको छ। सर्वशक्ति सर्वगुण सम्पन्न ईशानलाई सदाशिवको रूपमा विश्लेषण गरिएको छ। तन्त्रमा अभिव्यक्त मूल भावलाई हृदयंगम गर्दा सृष्टि स्थिति प्रलयादि कारणहरू सबै श्रीपशुपतिनाथ में अन्तर्निहित छन्। तत्त्वहरूको समष्टि रूप नै श्रीपशुपतिनाथ हुन् भन्ने आशय भेटिन्छ।

वेदरूप श्रीपशुपतिनाथ :  आगमबाट यामल र यामलबाट वेद उत्पन्न भयो। नारायणीतन्त्रमा भनिएअनुसार ब्रह्मयामलबाट सामवेद, रुद्रयामलबाट ऋग्वेद, विष्णुयामलबाट यजुर्वेद र शक्तियामलबाट अथर्ववेदको विकास भयो। यामल शिवबाट विष्णुले सुनेर श्रीगणेशलाई बताउनुभयो र श्रीगणेशबाट प्रचार भयो। विश्वकै आदिग्रन्थ ऋग्वेदका दस भाग छन्। मन्त्र वा ऋचाहरूलाई वर्ग, मण्डल र अनुवाकमा भाग लगाइएको छ। देवस्तुति र सामाजिक रीतिरिवाज वर्णन गरिएको ऋग्वेदको परम्परा ज्यादै विस्तृत छ। तन्त्रमा सद्योजातलाई ऋग्वेद मानिएको छ। एक सय एक शाखामा विभक्त यजुर्वेदका दुई विभाग छन्।

याज्ञवल्क्यले प्राप्त गरेको संहितालाई शुक्लयजुर्वेद वाजसनेयसंहिता भनिन्छ। यसमा चालिस अध्यायहरू छन् र प्रत्येक अध्याय कण्डिकामा विभक्त छ। यज्ञ सम्बद्ध विषयहरू यजुर्वेदमा संश्लेषित छ। तन्त्रमा वामदेवलाई यजुर्वेदको रूपमा व्याख्या गरिएको छ। सामवेदलाई पूर्वाचिक र उत्तरार्चिक गरी दुई भागमा बाँडिएको छ। यसमा गानका भेदहरू छन्। तन्त्रमा सामवेदलाई अघोरको रूपमा स्वीकार गरिएको छ। अथर्ववेदमा काण्ड, अनुवाक, सुक्त र मन्त्र छन्। यसका नौ शाखा छन्। तन्त्रमा तत्पुरुषलाई अथर्ववेदको रूपमा व्याख्या गरिएको छ। देवताहरूमा श्रेष्ठ ईशानलाई सबै प्रकारका विद्याको खानी मानिन्छ। यामलको सार निकालेर भगवान् शिवले भोग र मोक्षको साधन बारह हजार तन्त्र वामदेव नामक मुखबाट उपदेश गरे। 

ज्ञान विज्ञानको उदय :  तन्त्रमा अन्य ज्ञान विज्ञानको विस्तार पनि श्रीपशुपतिनाथबाट भएको उल्लेख छ। चराचर जगत्मा दृश्य अदृश्य सबै प्रकारका ज्ञान विज्ञान जनश्रुतिको स्रोत पनि श्रीपशुपतिनाथलाई नै मानिएको छ। वार्ता दण्डनीति आयुर्वेद धनुर्वेद नाट्यशास्त्र वेदादि प्रतिपादित कृषि चिकित्सादि विज्ञान सद्योजातबाट प्रकट भए। वैदिक नित्य नैमित्तिक काम्य यज्ञादि विधिहरू वामदेवबाट विस्तार भए। आध्यात्मिक साङ्ख्ययोगादिमा प्रतिपादित प्रकृति पुरुष विवेचन सर्ववृत्ति निरोधादि योग अघोरबाट प्रकट भए। अतिमार्गिक वेद साङ्ख्ययोगादि शास्त्रमा भनिएको उपासात्मक पारमेश शास्त्र प्रतिपादित विविध भाषा मुद्रा मण्डल क्रियादि उपायरूप विज्ञान तत्पुरुषबाट प्रकट भए। वाग्भव कामराज शक्ति बीजात्मक लोपामुद्रादी विद्या पनि तत्पुरुषबाट प्रकट भए। सप्तकोटी महामन्त्रादि आध्यात्मिक महाज्ञान ईशानबाट प्रकट भए। शब्दको स्थान आकाश रहेको, ईशानबाट आकाशको उत्पत्ति भएकाले शब्दसँग सम्बद्ध सबै अवधारणाहरूको स्रोत ईशानलाई मानिन्छ।

  •  समस्त ज्ञान र ब्रह्माण्डको मूल
  • व्यक्त र अव्यक्त सत्ताको प्रतीक
  • पञ्चमुख र वेदको दिव्य संगम
  • लौकिक र आध्यात्मिक विज्ञानको स्रोत
  • पञ्चभूत र पदार्थको सृजनात्मक केन्द्र

पदार्थको विस्तार :  तन्त्रका साथै बृहज्जाबालोपनिषद् प्रथम ब्राह्मणमा पञ्चतत्त्व वा पञ्चमहाभूत श्रीपशुपतिनाथबाट फैलिए भन्ने कुरा उल्लेख छ। गुरुतत्त्व, मन्त्रतत्त्व, मनस्तत्त्व, देवतत्त्व र ध्यानातत्त्वमात्र होइन रस, गुण, वीर्य, ​​विपाक र शक्ति पनि श्रीपशुपतिनाथिबाट फैलिए। पृथ्वी, जल, तेज, वायु, आकाशको विस्तार पनि श्रीपशुपतिनाथबाट भयो। सद्योजाताद् पृथिवी । वामदेवाद् उदकम् । अघोराद् वन्हि:  । तत्पुरुषाद् वायु:  । ईशानाद् आकाशम् । 
स्थूलावस्था, स्वरूपावस्था, सूक्ष्मावस्था, अन्वयावस्था र अर्थतत्त्वावस्थाका स्रोतहरू पनि श्री पशुपतिनाथ नै हुन्। स्थूलदेखि सूक्ष्मसम्म, महत्देखि अणुसम्मका सबै तत्त्वहरू श्रीपशुपतिनाथबाट अभिव्यक्त भए। तैत्तिरीय आरण्यक र शान्ति अध्यायमा श्रीपशुपतिनाथका मुहारहरूको स्तुति पाइन्छ। अनेक प्रकारले प्रकट गर्न प्रयत्न गर्दा पनि पूर्ण रूपले व्यक्त गर्न नसकिने परमेष्ठी परमात्मा महाभट्टारक श्रीपशुपतिनाथलाई ऋषिमुनि साधक उपासकहरू सधैं आराध्य ठानेर अप्रतिम विश्वास गर्छन्। जो सर्वभावले श्रीपशुपतिनाथको शरणमा पर्छन् उनीहरू विशेष प्रयास विना नै परम कारण शिवलाई जानिरहेका हुन्छन्। जबसम्म संसारलाई वशमा राख्ने भुवनेश्वर पुरुणपुरुष वेदपुरुष तन्त्रपुरुष परमात्मा श्रीपशुपतिनाथको महिमाको बोध हुँदैन र दर्शन मिल्दैन तबसम्म जीव पाशबद्धभै चक्रनेमी (पाङ्ग्रा) को समान भवसागरको दु: खमा भौतारिरहन्छ। जतिबेला जीवले साक्षाद् जगन्नियन्ता हिरण्यगर्भेश श्रीपशुपतिनाथको ज्ञान र अनुभव हासिल गर्छ त्यसपछि जीव वा मनुष्यले पुण्यपापदेखि पन्छिएर, टाढा रहेर, कल्मष पापरहित भएर निरञ्जन शिव श्रीपशुपतिनाथको सान्निध्य प्राप्त गर्छ।

निष्कर्ष :  तन्त्रका फरक फरक आयाम छन्। वेद वेदांगादि चौध विद्यालाई पनि तन्त्रका नामले व्यवहार गरिन्छ। जस्तै व्याकरणतन्त्र, आयुर्वेद तन्त्र आदि। राज्य व्यवस्थाका अंकहरू एकाइहरूलाई पनि तन्त्र भन्ने गरेको पाइन्छ। जस्तै:  राजतन्त्र लोकतन्त्र गणतन्त्र शासनतन्त्र परिवार सेना भूगोलका एकाइहरू। पारिभाषिक हिसाबले आनन्दभैरव र आनन्दभैरवीको परस्पर संवाद भएको ग्रन्थ, विचार र दर्शनलाई तन्त्र भनिन्छ। दक्षिणाचार र वामाचार गरी दुई मुख्य मार्गको उपदेश भएको शास्त्रलाई तन्त्र भनिन्छ। आचार्य शंकरले सौन्दर्यलहरीमा चौसट्ठी तन्त्रको संकेत गरेका छन्। तन्त्रको एकीकृत रूप श्रीपशुपतिनाथ हुन्। महाशिवरात्रिको विशेष अवसरमा आराध्य र उपास्यको आराधना र उपासना गरेर जीवनलाई धन्य बनाउन सकिन्छ। मायारूपी पाश बन्धनबाट छुट्न सकिन्छ। लोभ मोह मद मात्सर्यादि तृष्णाहरूबाट मुक्त हुन सकिन्छ। भवबन्धनबाट मुक्ति र शिव सामीप्य।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.