सृष्टि, स्थिति र संहारमा शिवतत्त्व
भगवान् शिव जन्म र मृत्युभन्दा पर छन्, उनमा विधि र निषेध पनि छैन, मुक्ति र बन्धन पनि छैन। उनका बन्धु–अबन्धु कोही छैनन्।
भगवान् शिव निर्गुण, निराकार र अनिर्वचनीय परब्रह्म हुन्। त्यसैले शिव तत्त्व परब्रह्म तत्त्व हो। शिवतत्त्व अगाध र दुर्विज्ञेय छ। यसलाई कुनै पनि इन्द्रियले ग्रहण गर्न, जान्न सक्तैन। यो मन र वचनको सीमाभन्दा पनि पर छ। यो एकमात्र सत् वस्तु हो। तत्त्वदर्शी विद्वान्हरू एकमात्र सत् वस्तुलाई पनि विभिन्न नामले पुकार्दछन्। ब्रह्मा, विष्णु, रुद्र, महेश्वर, काली, दुर्गा, पार्वती आदि विभिन्न नाम र रूपमा त्यही सत् वस्तु शिवतत्त्व व्यक्त भएको हो। त्यही नै अद्वितीय ब्रह्म तत्त्व हो।
ब्रह्मतत्त्व निर्गुण एवं निराकार हुन्छ। मायाका उपाधिले सगुण निराकार र सगुण साकार पनि बन्छ। भगवान् शिवलिंग रूपमा निराकार र मूर्तिरूपमा साकार मानिन्छन्। दुवै ब्रह्मरूप हुन्, परमात्म तत्त्व हुन्। जुन सदैव कल्याण स्वरूपको हुनाले जगत्को कल्याण गर्ने शिवलाई सदाशिव भनेको हो। उनी समस्त प्राणीलाई अनुग्रह गरेर मुक्तिदाताका रूपमा पञ्चकृत्य सम्पादन गर्छन्। ब्रह्मा, विष्णु, रुद्र, महेश्वर र सदाशिव पञ्चकृत्य सम्पादन गर्ने पञ्चब्रह्म हुन्।
शिवपुराण विद्येश्वर संहिता अनुसार ‘शिव’ शब्दमा ‘श’को अर्थ नित्य सुख र आनन्द हो। ‘इ’को अर्थ पुरुष हो अनि ‘व’को अर्थ अमृतरूपा शक्ति हो। यी सबैको सम्मिलित रूप शिव हो। यसको तात्पर्यार्थ चाहिँ अमृत स्वरूपा शक्तिले युक्त नित्य सुख र आनन्दमय पुरुष तत्त्व शिवतत्त्व हो। अ, उ, म, तीन तत्त्वयुक्त ह्रस्व प्रणवले पनि यही अर्थलाई व्यक्त गरेको छ। यहाँ ‘अ’ शिव, ‘उ’ शक्ति र ‘म’ चाहिँ शिव र शक्तिको एकत्व भन्ने अर्थ गरिएको छ। यसबाट शिवतत्त्व शक्तितत्त्वले अभिन्न छ भन्ने अर्थबोध हुन्छ।
कतिपय विद्वान्ले ‘शिव’ शब्दको अर्थ यसरी पनि गरेको पाइन्छ। उनीहरूका अनुसार ‘श’ भनेको शयन अर्थात् सुखशयन समाधि हो। ‘इ’ भनेको अभीष्ट प्राप्ति हो अनि ‘व’ भनेको अमृतमय देवानुग्रह हो। यसबाट के बुझिन्छ भने शिवतत्त्वको ज्ञान भएपछि साधकको समाधि सिद्धि हुन्छ, अभीष्ट वस्तुको प्राप्ति हुन्छ र दैवानुग्रह पनि प्राप्त हुन्छ। यसबाट त्रिविध तापको शमन हुन्छ। वस्तुत: संसारका अनन्त पाप र तापबाट पीडित प्राणीमात्रको विश्रामस्थल शिव हुन्। सारा जगत् अन्त्यमा भगवान् शिवमा गएर शयन गर्छ, आनन्दपूर्वक विश्राम गर्दछ। त्यसैले शिव सर्वाधिष्ठान, सर्वाश्रय, सर्वकल्याणमय एवं सर्वानन्दमय छन्।
भगवान् शिव जन्म र मृत्युभन्दा पर छन्, उनमा विधि र निषेध पनि छैन, मुक्ति र बन्धन पनि छैन। उनका बन्धु–अबन्धु कोही छैनन्। उनी सम्पूर्ण कल्याणका आधार हुन् अनि समस्त स्थावर जंगामात्मक जगत्मा उनी व्याप्त छन्। उनी कालका पनि काल हुन्, ईश्वरका पनि ईश्वर महेश्वर हुन्, देवताका पनि देवता महादेव हुन्। उनी गुणातीत र कालातीत छन्। उनी अनन्तविरुद्ध धर्मका आश्रय हुनाले दुर्विज्ञेय छन्। भगवान् शिव घोर र सौम्य, रागी र वैरागी, सक्रिय र निष्क्रिय, अरूप र सरूप, समष्टि र व्यष्टि, निर्गुण र सगुण, पर र अपरजस्ता परसार विरोधी धर्मको आश्रय हुनाले ऋषिमुनिहरू पनि यथार्थ रूपमा शिवतत्त्व जान्न सक्तैनन्। जो सर्वात्मना भगवान् शिवका शरणमा पर्दछन्, तिनले मात्र शिवतत्त्व जान्न, बुझ्न सक्तछन् भन्ने शास्त्रको मान्यता छ।
शिव निर्गुण, निराकार र अनिर्वचनीय परब्रह्म हुन्। त्यसैले शिवतत्तव परब्रह्म तत्त्व हो। शिवतत्तव अगाध र दुर्विज्ञेय छ, इन्द्रियले नि ग्रहण गर्न सक्तैन।
भगवान् शिवलाई आशुतोष भनिन्छ। उनी भक्तको सानोतिनो भक्तिभावबाट पनि छिट्टै प्रसन्न हुन्छन् र मनमाफीको वरदान दिन्छन्। उनले रावण र भस्मासुरलाई मनमाफिकको वर दिएका छन्। उनी अत्यन्त दयालु र परोपकारी छन्। समुद्र मन्थनबाट उत्पन्न हलाहल विष पिएर संसारलाई बचाई नीलकण्ठ बनेका छन्। उनमा लोभलाल्चा पटक्कै छैन। समुद्र मन्थनबाट निस्किएका कुनै पनि रत्नादि बहुमूल्य वस्तु उनले लिएका छैनन्। उनी साँच्चिकै विरक्त र वीतराग छन्। त्यसैले दृश्यमान जगत्लाई तुच्छ ठानेर विशुद्ध प्रकृतिमा नै उनी प्रसन्न रहन्छन्। परस्परविरुद्ध धर्मका बीचमा पूर्ण सामञ्जस्य स्थापना गरेर लोकोपकारी भएर सबैको कल्याण गरी विशुद्ध प्राकृतिक वातावरणमा रमाउनु, बस्नु शिवको शिवत्व हो, यही नै शिवतत्त्व हो।
शिवतत्त्व अनन्त अनादि छ भन्ने कुरा व्यक्त गर्न शिवपुराणमा ब्रह्मा र विष्णुको बीचमा भएको विवाद समाधान गर्न प्रकट भएको तेजोमय लिंगको आदि र अन्त्य ब्रह्मा र विष्णुले पनि पत्ता लगाउन नसकेको कथा प्रसंग प्रस्तुत गरिएको हो। शिवतत्त्वको पञ्चप्रकृतिमयता पञ्चब्रह्म चिन्तन र विश्वमयता शिवको अष्टमूर्ति चिन्तन एवं अन्य लीला विग्रहबाट स्पष्ट हुन्छ। शिवतत्त्व जगत्को विवर्तोपादान निमित्त कारण हो। सम्पूर्ण जगत् शिवमय छ अर्थात् शिवतत्त्व सम्पूर्ण जगत्मा व्याप्त छ। जगत्को सृष्टि, स्थिति र संहार शिवकै लीला हो।
शिवपुराणको कोटिरुद्र संहितामा उल्लेख भएअनुसार भगवान् शिवलाई अत्यन्त सन्तुष्टि दिने प्रिय तिथि कृष्ण पक्षको चतुर्दशी हो। प्रत्येक महिनाको कृष्ण पक्षको चतुर्दशी शिवप्रिय शिवरात्रि हो। फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी चाहिँ महाशिवरात्रि हो। शिवपुराणको कोटिरुद्र संहिताको अध्याय ३८, ३९, ४० मा शिवरात्रि व्रतोपवास महिमाको प्रसंग वर्णन गरिएको छ। त्यहाँ गुरुद्रुहनाम गरेको वनवासी भिल्लको सिकारको कथाका माध्यमबाट शिवरात्रिको व्रत उपवासको फल बताइएको छ। आफ्ना परिवारको उदरपूर्तिका लागि सिकार खोज्ने भिल्ल र भिल्लसँग शपथ खाएर सत्य वचन गर्ने मृग र मृगीको रोचक कथा उल्लेख गरेर सत्यनिष्ठा र नजानीकन पनि गरेको सत्कर्मबाट भिल्ल र मृगको सद्गति प्राप्ति देखाइएको छ।
दिनभर सिकार नपाएर थकित भए पनि परिवारको भोकतिर्खालाई ख्याल गरेर रातकै समयमा भए पनि सिकारका लागि पानीघाटका नजिकको रुखमा चढेर बसेको भिल्लले नजानीकन गरेको उपवास, जागरण, जल तथा विल्वपत्रार्चनबाट भिल्लको मनस्थितिमा बिस्तारै सकारात्मक परिवर्तन आएको र भोलिपल्ट उज्यालो हुँदा उसमा करुणाभावको उदय भएको पाइन्छ। भिल्लले सिकार नपाएको दिन संयोगले महाशिवरात्रिको दिन अर्थात् फागुन कृष्ण चतुर्दशी थियो, ऊ चढेको रुख बेलको थियो। बेलको वृक्षको फेदमा व्याधेश्वर शिवलिंग थियो। मृग आएको देखेर धनुमा ताँदो चढाउँदा हल्लिएर झरेका बेलका पात र पानी फेदको शिवलिंगमा पर्न गयो। सिकारकै लागि दिनभर भोकै बसी रातमा पनि उसले सुत्न पाएन।
यसरी, भिल्लको उपवास, जागरण र प्रहरपूजा भयो। उसले नजानीकन पनि गरेका यिनै सत्कर्मको फल प्राप्त गर्यो, हिंसा छोडेर प्राणीमा करुणा गर्ने भयो। यहाँ भिल्ल जीवात्माको प्रतीक हो। बेलपत्रका माध्यमबाट त्रिगुणमय कर्मफल भगवान् शिवमा अर्पण गर्नाले भिल्ल जीवन मुक्त भयो भने सत्य निष्ठामा रहेर आफ्नो जीवन अर्काकै उपकारका लागि समर्पण गर्न उद्यत मृग र मृगी पनि मुक्त भए। सांसारिक माया, मोह एवं विषयवासनाको जालो हटाएर परोपकारमा तत्पर हुनु पनि ईश्वरकै उपासना हो भन्ने यहाँ मृग र मृगीको क्रियाकलापबाट स्पष्ट भएको छ। प्राकृत जीवनका स्रोत अवरुद्ध भएर बिस्तारै आशक्ति शून्य हुँदै जाँदा जीवात्मामा त्याग र करुणाको भाव उत्पन्न हुन्छ र त्यसले प्राणीलाई सत्मार्गतिर उत्प्रेरित गर्दछ ।
समग्रमा, यो प्रसंग महाशिव रात्रिसँग जोडिएको छ। लिंगरूपमा प्रकट भएका शिवको अद्यन्त पत्ता लगाउन नसकेपछि ब्रह्मा र विष्णुले मिलेर भगवान् शिवको पूजा–अर्चना गरेको समय नै महाशिवरात्रि हो। त्यसैले पनि यसको विशेष महत्त्व छ। यो समय भगवान् शिवको आराधना गर्ने, व्रत उपवास गर्ने, भक्तहरूका लागि विशेष फलदायी भनेर बताइएको छ। गुणत्रयातीत, अवस्थात्रयातीत, स्वप्रकाश, आनन्दमय, निर्विकार, आद्यन्तरहित शाश्वत सनातन परब्रह्म स्वरूप शिव प्राणीमात्रका लागि सदा कल्याणकारी हुनाले सदा शिवका रूपमा महिमामय छन्, सम्पुजित छन्। शिवतत्त्व परब्रह्म तत्त्व भएकाले अगम्य छ ।
प्रतिक्रिया दिनुहोस !