शिव–पार्वती प्रेम : अस्तित्वको महामन्त्र
जीवन, जगत् र अस्तित्वको आधार प्रेम हो। यो पूर्वीय वाङ्मयको दार्शनिक निचोड हो। पूर्वीय सभ्यतामा जीवन र जगत्लाई हेर्ने विश्व दृष्टिकोण आध्यात्मिक प्रेमबाट निर्देशित छ। आकाशीय पिण्डहरूको स्थिरतामा पनि यसै आध्यात्मिक ऊर्जाले भूमिका खेलेको छ। त्यसैले त सन्तहरू भन्छन्– ‘त्यहाँ जीवन छ, जहाँ प्रेम छ। जहाँ प्रेम छैन, त्यहाँ जीवन छैन।’
प्रेमको यसै भावार्थलाई महामानव गौतमबुद्धले पनि स्वीकार गरेका छन्। उनी भन्छन्– ‘हजारौं युद्ध जित्नुभन्दा एक व्यक्तिलाई प्रेमले जित्नु महान् विजय हो।‘ त्यसैगरी, ‘प्रेम नै जीवनको एकमात्र अर्थ हो’ भन्ने लियो टोल्सटायको उद्गार स्मरणीय छ। नेपाली समाजमा प्रेमको सन्दर्भमा दोधारे चिन्तन देखिन्छ। अघिल्लो पुस्ताभन्दा पछिल्लो पुस्ता प्रेमको सवालमा खुला रहेता पनि प्रेमको खुलापनलाई समाजले रुचाएको देखिँदैन। समाजलाई सन्तुलित, सुरक्षित राख्न व्यक्ति–व्यक्तिबीचको प्रेमभावलाई सामाजिक मान्यता दिनैपर्ने हुन्छ।
विशेषतः हिन्दु दर्शनले पति–पत्नीबीचको सम्बन्ध समानता, समझदारी, सहहृदयता र आत्मीयतालाई विवाहको आदर्श मानेको छ। कानुनी र सामाजिक मर्यादाअनुसार पतिपत्नी दुवै समान अधिकार र कर्तव्य भएका जीवनसाथी हुन्। सामाजिक, सांस्कृतिक तथा राजनीतिक सवालमा पति–पत्नी दुवैको आवाज बराबर सुन्नु आवश्यक छ। दुवैले मनका कुरा खुला रूपमा भन्न सक्ने संवादको संस्कृति हुनुपर्छ। शंका, उपशंका हैन, विश्वास नै सम्बन्धको आधार हुनुपर्छ। दुवैले पहिचान जोगाउन पाउनुपर्छ।
प्रेम भनेको नियन्त्रण, दबाब, अनावश्यक शंका होइन, पूर्ण समर्पण र स्वीकृति हो। घर, परिवार, काम, सामाजिक र पारिवारिक दायित्व सबै कुरामा साझेदारी आवश्यक छ। प्रेम सम्बन्ध भनेको आर्थिक सुरक्षा वा सामाजिक दबाबका लागि होइन। आजभोलि पति–पत्नीबीचको प्रेमलाई अर्थ, करियर, स्वाभिमान र पहिचानसँग जोड्ने गरेको पाइन्छ, जुन सरासर गलत हो। स्वच्छ प्रेम, त्याग, परोपकार र करुणा बुझ्न शिवपुराणमा वर्णित रुद्रसंहिता सतिखण्ड र पार्वती खण्डले मद्दत गर्दछ।
सती पार्वतीको त्याग, तपस्या र निष्काम कर्म बुझ्न शिवको जीवनशैली र परोपकारी कार्यलाई मनन् गर्नुपर्छ। शिवको परोपकारी पक्षसँगै अर्को महत्वपूर्ण पक्ष पत्नीव्रत धर्मको निर्वाह पनि हो, जुन निकै महत्वपूर्ण र अनुकरणीय छ। पितृसत्तात्मक सामाजिक संरचनामा आधारित समाजमा पत्नीव्रतको प्रसंग हास्यस्पद लाग्ला तर हाम्रा हिमाली देवता शिवजीले यसको पालना गरेर संसारलाई आदर्श पतिको पाठ पढाएका छन्। हाम्रा पौराणिक साहित्यहरूले पनि पति–पत्नीबीचको आदर्शात्मक सम्बन्धलाई जोड दिएका छन्।
सनातन धर्मका शास्त्रमा वर्णित देवताहरूको एकभन्दा बढी पत्नीको भएको उल्लेख पाइन्छ। शिव भगवान्को मात्रै एक पत्नीको उल्लेख छ। दक्ष प्रजापतिकी छोरी सतीदेवीसँग विवाह गरेपछि शिवको सुखमय दाम्पत्य जीवनको उल्लेख पुराण र महाकाव्यहरूमा पाइन्छ। सतीले शिवलाई तीनवटै लोकका पिता, प्रभावशाली परब्रह्म परमात्मा भगवान् भनेर स्तुति गरेर पूर्णरूपमा आफूलाई शिवमा समर्पण गरेको थिइनँ।
शिवले सतीलाई पत्नी स्वीकार गरेर पतिधर्म पूर्णरूपले निभाएका थिए। शिव र सतीको दिनचर्या तन्त्र, मन्त्र, आत्मतत्व, तीन अग्नि (आह्वनीय, गार्हपत्य, दक्षिणाग्नि) र महामृत्युञ्जय मन्त्रको बारेमा चर्चा परिचर्चा गरेर बित्दथ्यो। बेलाबेलामा नन्दीमा सवार भएर सती र शिव कैलाश र पृथ्वीमा समेत विचरण गर्ने गरेको उल्लेख शिव महापुराणमा पाइन्छ। शिवजस्ता त्यागीले पनि विवाहपश्चात् आफ्नो गृहस्थ धर्मपूर्ण रूपले निभाएका थिए।
एकदिन शिव र सती पासा खेलेर बसेको बेला आकाशमार्गबाट सतीका बहिनीहरू आफ्ना देवता पतिहरूसँगै माइतीघर जान लागेको देखेर सतीले आफूलाई पनि पितामातासँग भेट्न मन लागेको कुरा व्यक्त गरिन्। दक्ष प्रजापतिले त्यो दिन विशेष यज्ञ र पूजाको आयोजना गरेका थिए। उनलाई शैव दर्शन र शिवको भेषभूषा मन नपर्ने भएकाले छोरी सतीलाई पनि निम्तो पठाएका थिएनन्। दिदीबहिनी गएको देखेर सतीले पनि माइती जाने इच्छा व्यक्त गरिन्। शिवले नबोलाएको ठाउँमा जान हँुदैन भनेर सम्झाए तर सतीले जन्मघर जानलाई निम्तो चाहिँदैन भनेर जाने तरखर गरिन्। दक्षको भव्य यज्ञमा धेरैको उपस्थिति थियो। प्रसिद्ध सप्तऋषि, शक्तिसहित सम्पूर्ण देवगण, यक्ष, गन्धर्ब र नागहरूको पनि उपस्थिति थियो। सतीलाई देखेर दक्षले क्षुद्र वचन बोले, शिव र उनको दर्शन, हाउभाउको पनि निन्दा गरे।
पतिको अनादर गरेको देखेर सतीले यज्ञकुण्डको आगोमा शरीर त्याग गरिदिइन्। शिवले सतीको शरीर बोकेर सम्पूर्ण पृथ्वी परिक्रमा गरे। सतीको अंग पतन भएको ठाउँमा पीठहरू उत्पन्न भए। शिवको यो कथा पत्नी प्रेम र कर्तव्यको पराकाष्ठ हो। आजका नवपुस्ताले शिवबाट सिक्ने यो अनुपम उदाहरण हो। शिवप्रतिको अथाह, अमूल्य, निःस्वार्थ प्रेमले गर्दा सतीले हिमालय र मेनकाको परिवारलाई जन्मघरको रूपमा रोजिन्।
- भगवान् शिवको अनुकरणीय आदर्श
- अस्तित्वको आधार र आध्यात्मिक ऊर्जा
- त्याग र तपस्याको पराकाष्ठा
- स्वार्थभन्दा माथि कर्तव्यको खोजी
- शाश्वत सम्बन्धको जग–विश्वास र चेतना
नारदमुनिले उपदेश दिएअनुसार ‘ओम् नमः शिवाय’ मन्त्र जप्दै असंख्य अप्ठ्यारा पलहरू पार गर्दै, थुप्रै परीक्षा दिँदै शिवलाई प्राप्त गरिन्। भगवान् शिवको आज्ञाले सप्तऋषिहरूले पार्वतीको परीक्षा लिएको रोचक प्रसंगहरू पुराणहरूमा छन्। ब्राह्मण भेषमा आएका शिवसँग पार्वतीको लामो कुराकानी भएपछि पार्वतीले निराश भएर अग्निमा प्रवेश गरेको प्रसंग पुराणहरूमा छ।
सतीले अग्निमै देह त्यागेको तर पार्वतीको तपस्याको बलले शरीर जलाउन नसकेको वर्णन शिव पुराणमा छ। यसको धेरै गहिरो अर्थ छ। आजका नवपुस्ता गृहस्थ जीवन अगाडि बढाउँदा अधिकार र इच्छाआकांक्षाको मात्रै कुरा गर्छन्, त्याग, तपस्या र बलिदानको त कुरै उठ्दैन। कर्तव्य त कुन चराको नाम हो भनेर खोज्नुपर्छ। परिवारका सदस्यहरूलाई सम्मान त परै जाओस्, गालीगलौज गरेर भिडियो बनाएर सामाजिक सञ्जालमा समेत राख्ने उदाहरण छन्।
केही युवायुवतीले परिवारका सदस्यलाई हरेक ढंगले सपोर्ट र समर्थन गरेका उदाहरण पनि छन्। प्रेम त्याग र विश्वासको विषय उठान गर्दा जहिले पनि मन प्रफुल्ल हुन्छ, शरीर हल्का हुन्छ। प्रेम त्याग र विश्वास मानव जीवनका आधारभूत मूल्य हुन्। प्रेम केवल भावना होइन, त्याग र विश्वासको गहिरो अभ्यास हो। यसको उत्कृष्ट उदाहरण सती, पार्वती, सीता, राधा, शिव, राम र कृष्णसँग जोडिएको छ। यी सबै प्रेममा बाहिरी सौन्दर्यभन्दा चेतनाको आकर्षण गुढ रूपमा रहेको पाइन्छ। प्रेममा विलासिताभन्दा विश्वासको ठूलो भूमिका हुन्छ।
धैर्य, समर्पण र आत्मिक बुझाइबाट विश्वास हुन्छ, त्यही विश्वास नै प्रेमको जग हो। प्रेम, त्याग र विश्वास मानव जीवनका आधारभूत र शाश्वत मूल्य हुन्। यी मूल्यबिना कुनै पनि सम्बन्ध दीर्घकालीन, गहिरो र अर्थपूर्ण बन्न सक्दैन। प्रेम केबल भावनात्मक आकर्षणमात्र होइन, यो आत्मिक सम्बन्ध हो। जसलाई त्यागले परिपक्व बनाउँछ र विश्वासले बलियो बनाउँछ। पौराणिक कथाहरूले यिनै मानवीय मूल्यहरूलाई प्रतीकात्मक र दार्शनिक ढंगले प्रस्तुत गरेका छन्। यस सन्दर्भमा पार्वती र भगवान् शिवको प्रेम, राम र सीताको प्रेम, कृष्ण र राधाको सम्बन्ध अनुपम उदाहरणका रूपमा स्थापित छ।
पार्वती र शिवको सम्बन्ध सामान्य सांसारिक प्रेमभन्दा भिन्न छ। भगवान् शिव तपस्वी, विरक्त र सन्न्यासी स्वभावका छन्। उनलाई भौतिक सुख, सामाजिक मान्यता र सांसारिक आकर्षणबाट रहने व्यक्तित्वको रूपमा प्रस्तुत गरिएको छ। पार्वतिले शिवलाई केवल पति होइन, जीवनको सत्य मार्गका रूपमा स्वीकार गरेकी छन्। पार्वतीको प्रेमको सबै भन्दा सशक्त पक्ष त्याग हो। सामाजिक रूपमा राजकुमारी पार्वतीले तपस्वी शिवलाई पाउनु, प्रेम गर्नु अस्वाभाविक मानिन्थ्यो तर पार्वतीले समाजको दृष्टिकोणभन्दा आत्मिक सत्यलाई प्राथमिकता दिइनन्। उनको त्याग शारीरिक कष्टमा मात्र सीमित छैन, यो मानसिक दृढता, धैर्य र आत्मसंयमको अभ्यास पनि हो।
समाजमा प्रेम प्रायः तात्कालिक भावना, भौतिक सुविधा र स्वार्थसँग जोडिएको देखिन्छ। सम्बन्धहरू छिटो सुरु हुन्छ र सानो समस्यामै छुट्ने अवस्था पनि बढ्दो छ। साँचो प्रेम सजिलो हुँदैन, यसमा आत्मसंयम, समझदारी र समयको परीक्षा उत्तीर्ण गर्नुपर्छ। निष्कर्षमा, पार्वती र भगवान् शिवको प्रेम–कथा पौराणिक आख्यानमात्र होइन, यो जीवन दर्शन हो। प्रेम, त्याग र विश्वासको सन्तुलनले मात्र सम्बन्धलाई अर्थपूर्ण र मजबुत बनाउँछ।
आजको भौतिकवाद र छिटो बदलिँदो समाजमा पनि पार्वती र शिवको प्रेमकथा, राधा कृष्णको स्वच्छ प्रेमसम्बन्धले प्रेमको गहिरो अर्थ बुझ्न प्रेरित गर्छ। साँचो प्रेम त्यागबाट परिस्कृत हुँदै विश्वासबाट अमर बन्छ। यसैले पार्वती शिवको प्रेम कथा युगौंपछि पनि मानव–सम्बन्धका लागि प्रेरणाको स्रोत बनेको छ। आज पनि हाम्रा पौराणिक कथाहरू सान्दर्भिक छन् र साँचो प्रेम आत्मिक, निस्वार्थ र धैर्यपूर्ण हुन्छ भन्ने शिक्षा दिन्छ।
प्रतिक्रिया दिनुहोस !