कोइराला परिवारको त्यो सानसौकत र रापताप

राष्ट्रिय राजनीतिको केन्द्रबाट छुट्दै गएको विराटनगर

राष्ट्रिय राजनीतिको केन्द्रबाट छुट्दै गएको विराटनगर

विराटनगर : प्रजातान्त्रिक आन्दोलनको जग बसाल्ने विराटनगर पछिल्लो समय ओझेलमा छ। राष्ट्रिय राजनीतिको इतिहास पल्टाउँदा विराटनगर छुट्दैन तर वर्तमान राजनीतिलाई विश्लेषण गर्दै जाने हो भनेचाहिँ विराटनगर छुटिरहेको छ। 

नेपालको प्रजातान्त्रिक आन्दोलन बिगुल फुक्ने काम विराटनगरबाट नै भएको थियो। १०४ वर्ष लामो जहानियाँ राणा शासन उखेल्न विराटनगरले गरेको योगदान इतिहासमा अंकित छ। १९९० को दशकदेखि गिरिजाप्रसाद कोइरालाको समयसम्म विराटनगर सधैं राष्ट्रिय राजनीतिक केन्द्रमा नै रहँदै आएको थियो। 

सिन्धुली दुम्जाबाट आएका कृष्णप्रसाद कोइरालाले सुरुवात गरेको प्रजातान्त्रिक आन्दोलनको जग बसाल्ने काम गरेका थिए। विराटनगरबाट नै ६ जना मुलुकको कार्यकारी प्रमुख नै भइसकेका छन्। त्यसमा पनि कोइराला परिवारबाटै ३ जना प्रधानमन्त्री भएका छन्। मात्रिकाप्रसाद कोइराला, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला त एकै परिवारका दाजुभाइ हुन् जो नेपालको प्रधानमन्त्री भइसके। विराटनगरबाटै मनमोहन अधिकारी, नागेन्द्रप्रसाद रिजाल पनि प्रधानमन्त्री भएका छन्। अधिकारी नेपालकै पहिलो प्रधानमन्त्री हुन्। जसले चलाएको ९ महिने शासन नेपालकै इतिहासमा लोकप्रिय छ। रिजाल जसले सिंहदरबार जल्दा राजीनामा दिएर नैतिकता पाठ सिकाए। उनी पनि विराटनगरकै हुन्। 

हाल नागरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्की पनि विराटनगरकी नै हुन्। विराटनगरले धेरै राजनीतिक योद्धालाई जन्माएको छ। तर, गिरिजाप्रसाद कोइरालाको निधनसँगै विराटनगर छायाँ पर्न थाल्यो। गिरिजाप्रसाद कोइराला कुनै नयाँ निर्णय गर्नुपर्‍यो भने विराटनगर आउँथे। गिरिजाप्रसाद कोइराला विराटनगर विशेष महत्व दिन्थे। उनको नयाँ घोषणा नै विराटनगरबाट हुन्थ्यो। पछिल्लो समयमा विराटनगरको चर्चा पनि कम नै हुँदै आएको छ। 

राजनीतिक विश्लेषक गिरिस भट्टराई राष्ट्रिय राजनीतिबाट पछिल्लो समय विराटनगर छुट्दै गएको बताउँछन्। ‘राष्ट्रिय राजनीतिको इतिहास पल्टाउँदा विराटनगर छुट्दैन तर वर्तमान राजनीतिलाई विश्लेषण गर्दै जाने हो भनेचाहिँ विराटनगर छुट्दै छ। योचाहिँ हामी महत्वपूर्ण रूपमा हेर्नुपर्‍यो, उनले भने। राजनीतिमा पुस्तान्तरण नहुनुको कारणले नै विराटनगरले त्यो क्षति भोग्न परेको उनको ठम्याइँ छ। ‘पुस्तान्तरण भएन, किन भने पछिल्लो पुस्तामा नै कोइरालाको लिगेसी बोकिदिने मान्छे भएन। ती काठमाडौंमा नै विचलनमा परे।’ 

प्रजातान्त्रिक आन्दोलनमा विराटनगर
नेपालको प्रजातान्त्रिक आन्दोलनको सुरुवात विराटनगरबाटै भएको हो। १९९३ सालमा विराटनगर जुट मिल स्थापना भयो। जुट मिलमा तत्कालीन जहानियाँ राणाशासनविरुद्ध मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, तारणीप्रसाद कोइराला लगायतले मजदुर आन्दोलन गरेको थिए। संगठित रूपमा मजदुर आन्दोलनबाट प्रजातान्त्रिक आन्दोलनको सुरुवात भएको देखिन्छ। जुट मिलमा भएको यो मजदुर आन्दोलनका बेला मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालालगायत पक्राउ परेका थिए। 

प्रजातन्त्रको स्थापनाका लागि भन्दै २००७ सालमा नेपाल प्रजातन्त्र रेडियोको स्थापना भयो। त्यो राणा शासनको अन्त्य हुनु पूर्वनै भएको थियो। २००७ साल मंसिर २८ गते तारणीप्रसाद कोइरालाले नेपाल प्रजातन्त्र रेडियोको स्थापना गरेका थिए। त्यहीपछि प्रजातन्त्र आएपछि २००७ साल चैत २० गते रेडियो नेपालमा रूपान्तरण गरिएको थियो। 

चैत २० गतेलाई रेडियो नेपालको स्थापनाको दिन मानिन्छ। नेपाली कांग्रेसको विरासत पनि विराटनगरमा रहेको थियो। बीपी कोइराला, मात्रिकाप्रसाद कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्मले कांग्रेसको नेतृत्व गरे। नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी महासचिव निर्वाचित भएका थिए। अधिकारी नै २००३ सालको मजदुर आन्दोलनको नेतृत्वकर्ता हुन्। 

कोइराला निवास चकमन्न
अन्नपूर्ण टिम कोइराला निवास पुग्दा सुनसान थियो। हामी पुग्दा डा. शेखर कोइरालाकी पत्नी पुनम कोइरालालगायत केही मानिस मात्रै घरमा थिए। हुन त डा. कोइराला चुनावी प्रचारमा गइसकेका थिए। कुनै बेलाको सधैंजसो ‘गुल्जार’ हुने कोइराला निवास निर्वाचनको बेलामा खासै चहलपहल नहुनुले पनि विराटनगरको अवस्थालाई उजागर गर्छ।

पुनम कोइराला २०३८ सालमा विवाह गरेर कोइराला परिवारमा आएपछि त्यो विरासत सम्झिन्छिन् ‘सानोबाबु (गिरिजाप्रसाद कोइराला) र नोना आमाको त्यो कमाण्ड, जसको सबैले सम्मान गर्थे, यहाँ कति रौनक हुन्थ्यो।’ कोइराला परिवारका छिमेकीहरू त्यो बेलाको कोइराला निवास रापताप सम्झिँदैछन्, ‘यो घरले धेरै दियो तर आज यस्तो हालतमा छ।’ कोइराला निवासको रापताप हराएपछि विराटनगरको चमक पनि गुमनाम भएको छ।

कोइराला परिवारको एक्लो उम्मेदवार डा. शेखर 
तीन प्रधानमन्त्री भएको कोइराला परिवार नै पछिल्लो समय राजनीतिक खडेरी लागेको छ। डा. शेखर, डा. शशांक र सुजाता कोइराला मात्रै राजनीतिमा सक्रिय छन्। त्यसमा पनि यो पटक डा. शेखर मात्रै उम्मेदवार छन्। पुनम कोइराला भन्छिन्, ‘डा. शेखर, डा.शशांक र सुजाता मात्रै राजनीतिमा हुनुहुन्छ, अरू त इन्टरेस्ट नै गर्दैनन्।’ पहिला जनताको छोरा प्रधानमन्त्री थिए मात्रिकाप्रसाद कोइराला। २००७ सालमा प्रजातन्त्र स्थापनापछि २००८ मा मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए। 

२०१५ सालको पहिलो आम निर्वाचनबाट निर्वाचित भएर विपि कोइराला प्रधानमन्त्री भए। त्यस्तै २०४८, २०५४, २०५५, २०५६ र २०६३ मा गरी पाँचपटक गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए। २०६२/६३ सालको आन्दोलनको नेतृत्व पनि गिरिजाप्रसाद कोइरालाले नै गरेका थिए। पहिला कोइराला परिवारबाट प्रशस्तै राजनीतिमा थिए। 

कोइराला परिवारकी भान्जी शैलजा आचार्य, नोना कोइरालाका बहिनी ज्वाइँ आमोदप्रसाद उपाध्याय, शैलजाकै बहिनी ज्वाइँ चक्र बस्तोलालगायत धेरै राजनीतिमा सक्रिय थिए। पश्चिम नेपालगन्ज गएरसमेत कोइराला परिवारकै सुशील कोइरालाले राजनीति गरेका थिए। २०७० देखि २०७२ सालसम्म सुशील कोइराला पनि प्रधानमन्त्री बने। २०७२ सालको संविधान जारी गर्दा सुशील कोइराला नै प्रधानमन्त्री थिए। पछिल्लो समय कोइराला परिवारमा राजनीतिमा लाग्ने खुम्चिँदै गएका छन्। 

भदौ २४ मा ऐतिहासिक स्थल कोइराला निवास पनि खरानी 
प्रजातन्त्रको जग बसाउने ऐतिहासिक धरोहरको रूपमा रहेको कोइराला निवास भदौ २४ गते आगजनी, तोडफोड, लुटपाट गरियो। यो दिन डा. शेखर कोइराला पत्नी पुनम घरमा नै थिइन। दिउँसो दुई पटक आएर पुनमको आँखा अगाडि निवास माथि आक्रमण भयो। जलाउने तोडफोड गर्ने, लुटपाट गर्ने काम भयो। उनले छिमेकीको घरमा गएर ज्यान जोगाइन्। 

त्यो बेला डा. शेखर चीन भ्रमणमा थिए। ‘हामी घरमा ५ जना थियौं, घरमा आक्रमण गर्न थालेपछि छिमेकीको घरमा लुकेर ज्यान जोगायौं।’ उनले त्यो बीभत्स घटना सम्झँदै भनिन्, ‘१९९०, २०४५, २०७२ को भूकम्पले पनि नभत्काएको यो ऐतिहासिक धरोहर आफ्नै आँखा अगाडि ध्वस्त भएको हेर्नुपर्‍यो। आँखाभरि आँसु पार्दै जलेको हेरेको हेरै हुनुपर्‍यो। 

गहभरी आँसु पार्दै उनले भनिन्, ‘लुगाफाटा सबै जलाइयो, चम्चा, भात खाने थालसम्म थिएन। घरमा सिलिन्डरसमेत विस्फोट गराइयो। म १२ दिनसम्म दाजु भाउजूको घरमा गएर बसे। भाउजूकै लुगा लगाएँ।, १३ दिनमा डा. साब (शेखर) आउनुभयो।’ आफ्नो परिवारले गरेको प्रजातान्त्रिक आन्दोलनको पुरस्कार यसरी दिएको भन्दै पुनमले दुःख मनाउ गरिन्। यो पिताजी (कृष्णप्रसाद कोइराला)ले बनाएको ऐतिहासिक धरोहर थियो, यसरी आँखै अगाडि ध्वस्त बनाइयो, कोही यो धरोहरलाई जोगाउनुपर्छ भन्ने भन्न नआएको पनि उनले दुख व्यक्त गरिन्।

गिरिजाप्रसाद चढ्ने गाडी पनि ध्वस्त 
प्रजातान्त्रिक आन्दोलनका नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको गाडी पनि जलाइयो। गिरिजाप्रसाद कोइरालाको ऐतिहासिक सामानहरू पनि जलाइएको छ। त्यसको भग्नावेश कोइराला निवासमा छ। यी खरानी भएको घरबाट उठेर कोइराला परिवार र विराटनगर चमक फर्काउने अभियान डा. शेखर लागेको उनी निकटहरू बताउँछन्। तीन महिना लगाएर बस्न हुनसम्मको घर बनाएको पुनम कोइराला बताउँछिन्।

शताब्दी लामो कोइराला निवास ऐतिहासिकता 
जहानियाँ राणाशासनको अवस्थामा सिन्धुलीको दुम्जाका कालिदास कोइराला काठमाडौं सुब्बा थिए। जनताका कुरा बोल्दा तत्कालीन राणा शासकले उनलाई ‘कालापानी’ भनेर मोरङको रंगेली पठायो। त्यो बेला तराई मधेसमा पठाउनु भनेको सजाय दिनुनै थियो। जनताको पक्षमा बोल्दा कालीदास काठमाडौंबाट लखेटिएका थिए। कालीदासले आफ्ना भाइ कृष्णप्रसाद कोइरालालाई पनि साथमा नै लिएर आए। कृष्णप्रसादले विराटनगरमा नै बसेर काम धन्दा सुरुवात गरे। त्यो विराटनगर जुट मिलको स्थापना भइसकेको थियो। 

कृष्णप्रसाद कोइरालाले जुटको व्यवसायसँग जनताको काम गर्न थाले। त्यो बेला जनताको काम गर्नु भनेको नै राणाविरुद्ध हुनु थियो। तर कृष्णप्रसाद कोइरालाले निडर भएकै कारण उनले सामाजिक काम पनि गर्न थाले। आदर्श स्कुल, काली मन्दिर बनाउनेदेखि शिक्षा, स्वास्थ्य, धार्मिकमा कृष्णप्रसादले सक्रिय भए। जसले उनी राणाको आँखी भए। उनले छोरा विपि कोइरालालाई बनारस पढ्न पठाए। त्यो बेला जनताको छोराछोरी पनि पढाउन पाइँदैन थियो। 

कृष्णप्रसाद साहसी र निडर भएकैले उनका छोराहरू मातृकाप्रसाद कोइराला, केशवप्रसाद कोइराला, तारणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला नै प्रजातान्त्रिक आन्दोलन होमिए। जसमा मातृका, बीपी र गिरिजाप्रसाद प्रधानमन्त्री नै भए। विराटनगरबाट कृष्णप्रसाद कोइरालाले रोपेको यो प्रजातान्त्रिक आन्दोलनको विरासत पछिल्लो समय आएर पूर्णविराम त लाग्ने होइन भन्ने अवस्थामा पुगेको छ। ७४ वर्षीया डा. शेखर कोइरालाले यो विरासत कति थाम्लान र पछिल्लो पुस्तालाई सार्लान त्यो त भविष्यले देखाउने विश्लेषकहरू बताउँछन्। कोइराला परिवारका नभए पनि कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र बौद्धिक राजनीतिज्ञ भनेर चिनिने डा. मीनेन्द्र रिजाल, डा. सुनील शर्मा जस्ता नेता पनि विराटनगरमा अझै छन्। 

उता कांग्रेस कम्युनिस्ट आन्दोलनमा उदाउँदा नेताहरू विनोद ढकाल, अमनलाल मोदी जस्ता नेता पनि नभएका होइन तर के भविष्यमा विराटनगर पुराना विरासत फर्काउन सक्ला त ? राजनीतिक विश्लेषक राजनीतिक विश्लेषक गिरिस भट्टराई यसो भन्छन्, हिजो विराटनगरको राष्ट्रिय राजनीतिमा जुन ग्राभिटी थियो। इतिहास फर्केहेर्दा विराटनगर नै पुगिन्छ। पछिल्लो समययता ओरालो लागेको अवस्थामा छ। 

विरासत कसले कायम गरिने भन्ने समस्या देखिएको छ।’ उनी विराटनगरले ६ जना प्रधानमन्त्री मात्रै होइन नेपालकै सफल अर्थमन्त्री भरतमोहन अधिकारी, महेश आचार्यदेखि धेरै सफल राजनीतिक पाएको बताउँछन्। ‘विराटनगर ६ वटा प्रधानमन्त्री मात्रै होइन, शिक्षा, अर्थमन्त्री दिँदै गर्दा किन त आज राष्ट्रिय राजनीतिमा विराटनगर ओझेलमा परेको छ, उनी प्रश्न गर्दै भन्छन्, ‘राजनीतिक विरासत किन पुस्तान्तरण भएन ? ’

विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा प्राध्यापन गराउँदै आएका भट्टराई कांग्रेस र कोइराला परिवार मात्रै नभएर कम्युनिस्ट आन्दोलनका अगुवा पनि विराटनगरले जन्माएको इतिहास सम्झाउँछन्। ‘त्यो कांग्रेस र कोइराला परिवार मात्रै होइन, मनमोहन अधिकारी, भरतमोहन अधिकारी जस्ता कम्युनिस्ट आन्दोलनका अगुवा पनि विराटनगरकै हुन्। उनीहरूको आधार त विराटनगर नै हो नि होइन र ? उनी भन्छन्, ‘जो हिजो विराटनगरबाट राष्ट्रिय स्तरका नेता उदाए। बीपी, मात्रिका हुन् वा उनका परिवारका सदस्य हुन वा कम्युनिस्ट आन्दोलनका अगुवाहरू हुन्।’

भट्टराई यी नेताहरूले काठमाडौं गएर विराटनगर बिर्सिएको पनि गुनासो विराटनगरबासी रहेको बताउँछन्। ‘उनीहरू काठमाडौं पुगे तर काठमाडौंबाट फर्किएर तल झरिदिएनन्। उदाए, विराटनगरबाट फर्केरचाहिँ हेरिदिएनन्,’ उनले भने। राष्ट्रिय राजनीतिमा संकट परेपछि मात्रै विराटनगरलाई सम्झिने काम गरेको पनि अहिले आएर विराटनगर ओझेलमा परेको उनको ठम्याइ छ। ‘राष्ट्रिय राजनीतिमा संकट परेको बेला मात्रै विराटनगरलाई सम्झिए वा फर्किएर आए तर राष्ट्रिय राजनीतिमा टिकिरहेको बेला भने आएनन्, सम्झिएनन्।’ उनी भन्छन्, ‘अप्ठ्यारो परेको बेला समर्थन खोज्न मात्रै विराटनगर आए।’

विराटनगरको यो राजनीतिक विरासतको फलचाहिँ पछिल्लो पुस्ता खान नपाएको उनको भनाइ छ। ‘उनीहरू पछिको पुस्ताले फलचाहिँ खान पाएन। विराटनगरले समग्र राष्ट्रिय राजनीतिको बोटचाहिँ रोप्यो तर फलचाहिँ अरूले नै खाइदिए। यो सबै पुस्तान्तरण हुन नसकेको कारणले भएको हो, उनले भने। 

मोरङ–६ वटा निर्वाचन क्षेत्र छन्। योपटक निर्वाचित भएर विराटनगर पुरानो विरासत फर्काउने ल्याकत राख्ने नेता नै नभएको विश्लेषकहरू बताउँछन्। योपटकको निर्वाचनमा उम्मेदवारहरूले विराटनगरलाई राजनीतिक राजधानी बनाउने घोषणा त गरेका छन्। मोरङ–६ का उम्मेदवार डा. शेखरले विराटनगरलाई राजनीतिक राजधानी बनाउने भनेका छन्। यो कुरा उनले पुरा गर्न पनि अब त्यही सजिलो छैन। एकातिर कांग्रेसमा पनि पछिल्लो समय गगन थापालाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिसकेको छ। देशको नेतृत्व गरेर विराटनगरलाई राष्ट्रिय राजनीतिको केन्द्रमा राख्न विगतको जस्ता सहजता पनि छैन। 

खरानीबाट उठेर विराटनगर विगतको विरासत फकाउने घोषणा गरेका कोइराला परिवारको लिगेसी बोकेका एक मात्र उम्मेदवार डा. शेखरसँग यो पटक कति सहज छ त मोरङ–६ ? उनी ८ बुँदे अठोटपत्र लिएर निर्वाचनमा होमिएका छन्। २०७९ सालमा निर्वाचित भएका कोइरालाले पुनः जित दोहोर्‍याउने अभिलास राखेका थिए। नेकपा एमालेका उम्मेदवार विनोद ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुबिना आचार्य चुनौती दिइरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका ओपेन्द्र रायले पनि उनलाई टक्कर लिइरहेका छन्। पहिलोपटक चुनाव लड्दा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमका नेता विजयकुमार गच्छदारसँग पराजित भएका थिए। गच्छदारले दुई स्थानबाट जितेका कारण यो क्षेत्र छोडेपछि कोइराला उपनिर्वाचनबाट २०६५ मा विजयी भएका थिए।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा त्यहीँबाट विजयी भए। एमालेका नेता लालबाबु पण्डितसँग २०७४ सालमा कोइराला झिनो मतान्तरले पराजित भएका थिए। त्यसबेला पण्डितले ३३ हजार ९४१ मत ल्याउँदा कोइरालाले ३३ हजार २६६ मत पाएका थिए। २०७९ को निर्वाचनमा कांग्रेस माओवादी केन्द्रसहितको गठबन्धन भएकाले कोइरालाले जित निकालेका थिए। कोइराला त्यस क्षेत्रबाट ३५ हजार २३४ मत पाएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी लालबाबु त्यसबेला कोइरालासँग पराजित भएका थिए। उनले २२ हजार ९४६ मत ल्याएका थिए। निर्वाचनको डा. कोइरालासँग प्रतिस्पर्धामा उत्रिएका एमाले उम्मेदवार ढकाल मुखमा पितृशोकपछि चुनावी अभियान फर्किएका छन्। 

गत माघ २९ गते उनको बुवा विष्णुप्रसाद ढकालको १०१ वर्षको उमेरमा निधन भएको थियो। १३ दिनको काजकिरिया सकेर ढकाल पनि चुनावी अभियानमा छन्। उनले कोरामा नै बसेको समयमा फागुन ३ गते क्षेत्रको विकास लागि भन्दा ३० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका थिए। कांग्रेसका नेता डा. शेखर र एमाले नेता ढकाल १७ वर्षपछि पुनः आमनेसामने भएका छन्। २०६५ सालको उपनिर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गरेका यी दुई नेताबीचको यो दोस्रो सीधा भिडन्त हो। त्यतिबेला डा. कोइराला विजयी हुँदा ढकाल तेस्रो भएका थिए। 

२०६५ को उपनिर्वाचन, २०७४ को विराटनगर महानगरको मेयर र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ–४ मा हार बेहोरेका ढकालका लागि यो चुनाव ‘अस्तित्वको लडाइँ’ र ‘कमब्याक’ गर्ने अवसर हो। तर कोइराला र ढकाललाई नयाँ पार्टीको रूपमा उदाएको रास्वपाकी आचार्य कडा टक्कर दिने अवस्था छ। पछिल्लो समय रास्वपाका बालेन शाह र रवि लामिछानेको दौडाहाले पनि आचार्य माहोल बनेको छ। युवापुस्तामा नयाँ लहर बढ्दो छ भने नेपाली कम्युनिस्ट पार्टीको आफ्नै प्रभाव छ। कोइरालालाई ढकाल, आचार्य र राय कडा टक्कर दिइरहेका छन्। यो क्षेत्रमा १७ जना उम्मेदवार छन्। १ लाख ३७ हजार ८३२ मतदाता छन्। यी नै मतदाताले फागुन २१ मा मोरङ–६ को फैसला गर्नेछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.