सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने समूह एउटै : लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने समूह एउटै भएको दावी गरेका छन्।
शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारको अखडा बनाउने कामले नै सिंहदरबार जलेको भन्दै सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने समूह एउटै भएको बताएका हुन्। उनले सिंहदरबार रास्वपाका मान्छेहरूले जलाएको भनेर भ्रम छर्ने र आरोप लगाउने काम भएको उल्लेख गरे। लामिछानेले विद्यालयको पोशाकमा आएका बालबालिकाको छाती र टाउकोमा गोली हानिएपछि संरचना जलेको तर्क गरे।
उनले सहकारी प्रकरणमा आफूलाई पक्राउ गर्दा अन्तिम इच्छा सोधिएकोमा निर्वाचनमा मतपत्रमा आफ्नो अन्तिम इच्छा देखाइदिन आग्रह गरे। मुलुकलाई समुन्नतिको बाटोमा लिएर जान र सुशासनको नयाँ रेकर्ड कायम गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।
उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा लिएर जाने भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारहरूलाई मागिखाने भाडो नभइ गरिखाने अवस्था सिर्जना गर्ने धारणा राखे।
त्यस्तै रास्वपा बरिष्ठ नेता बालेन्द्र शाहले देशलाई कृषिमा आत्मनिर्भर बनाउन किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्न जरुरी रहेकाले रास्वपाले यसलाई विशेष ध्यान दिने बताए। किसानलाई केही नेता र विचौलियाले सिन्डिकेटमा पारेर बाहिरबाट कृषि उत्पादन आयात गर्न बाध्य बनाइएको भन्दै उनले यसलाई रोकेरै छाड्ने स्पष्ट पारे।
शाहले चितवनमा किसानले सही मूल्य र बजार नपाएको समस्या भएकाले समस्या समाधान गर्ने प्रतिवद्धता जनाए।
प्रतिक्रिया दिनुहोस !