सीप सिकौं, आत्मनिर्भर र समृद्ध बनौं

‘जति धेरै तपाईं सिक्नुहुन्छ, उति धेरै तपाईं कमाउनुहुन्छ, यो भनाइअनुसार सिक्ने र सीप विकास गर्ने प्रक्रियाले व्यत्तिाmलाई आर्थिक रूपमा सम्पन्न बनाउँछ भन्ने स्पष्ट पार्छ।

सीप सिकौं, आत्मनिर्भर र समृद्ध बनौं

सीप भन्नाले कुनै पनि काम वा गतिविधि सफलतापूर्वक, दक्षतापूर्वक र प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि हरेक व्यक्तिमा भएको ज्ञान, क्षमता र अनुभवको समिश्रण हो। यो एक यस्तो गुण हो जसलाई सिक्न, अभ्यास गर्न र समयसँगै विकास गर्न सकिन्छ। सीपले हरेकको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक कार्यमा परिणत गर्न मद्दत गर्छ, जसले गर्दा व्यक्ति स्वयंले विशिष्ट कार्यहरूमा उत्कृष्ट प्रदर्शन गर्न सक्छ। साइकल चलाउनेदेखि लिएर जटिल कम्प्युटर प्रोग्रामिङ वा नेतृत्व गर्ने क्षमतासम्मका सबै कुराहरू सीप अन्तर्गत पर्छन्। नेपाली शब्दकोशका  अनुसार, ‘सीपले कुनै पनि गतिविधि वा काम राम्रोसँग गर्ने क्षमतालाई जनाउँछ।’

सीप किन आवश्यक छ ? सीपले मानव जीवनमा सफलता हासिल गर्न र जटिल चुनौतीहरूको सामना गर्नका लागि अत्यन्त आवश्यक हुन्छ। सीपले हरेक व्यक्तिलाई आफ्नो जीवनमा आउने दैनिक व्यवहार, आवश्यकता र चुनौतीहरूका बीचमा  सफल र प्रभावकारी भूमिका निर्वाह गर्न सहयोग गर्छ। सीपले हरेक मानवलाई रोजगारी र स्वरोजगारीका अवसरहरू सिर्जना गर्छ, जसले व्यक्तिगत तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ। सीपको आवश्यकतालाई जोड दिँदै  विश्वका प्रसिद्ध लगानीकर्ता वारेन बफेटले भनेका छन्ः ‘जति धेरै तपाईं सिक्नुहुन्छ, उति धेरै तपाईं कमाउनुहुन्छ। 

यो भनाइअनुसार सिक्ने र सीप विकास गर्ने प्रक्रियाले व्यक्तिलाई आर्थिक रूपमा सम्पन्न बनाउँछ भन्ने स्पष्ट पार्छ। यसैगरी, प्लेटोले शिक्षाको महत्त्वबारे भनेका छन्ः ‘शिक्षाले मानिसलाई असल काम गर्न सिकाउँछ । प्लेटोको यस भनाइलाई सीप विकासको सन्दर्भमा जोड्दा, शिक्षा वा तालिममार्फत प्राप्त गरिने सीपले नै व्यक्तिलाई असल काम, उत्पादनशील कार्य र समाजका लागि उपयोगी योगदान दिन सक्षम बनाउँछ। यसर्थ, सीपले  हरेक व्यक्तिलाई आत्मनिर्भर, सक्षम, सबल र हरेक परिस्थितिमा आइपर्ने समस्या समाधान गर्न सक्ने बनाउँछ।

जीवनको अपरिहार्य सूत्र र युगको आह्वानः मानव जीवन एउटा अनवरत यात्रा हो, जहाँ प्रत्येक क्षण नयाँ चुनौती र सम्भावनाहरू लिएर आउँछ। यस यात्रालाई सफल, सन्तुष्ट र अर्थपूर्ण बनाउने मूल आधार हो- सीप। यस लेखमा प्रस्तुत यो सानो तर गहन नाराः ‘सीप सिकौं, केही गरौं, खाली नबसौं!’ आजको प्रतिस्पर्धात्मक विश्वका लागि मात्र होइन, युगौंदेखिको शाश्वत सत्य हो। यो केवल काम गर्ने प्रेरणामात्र होइन, यो आत्मनिर्भरता, व्यक्तिगत सक्षमता र राष्ट्रिय समृद्धिको मूल मन्त्र हो।

आजको युग ज्ञान, प्रविधि र विशेषज्ञताको युग होः उच्च शिक्षाको डिग्री र प्रमाणपत्रको महत्त्व भए पनि, जबसम्म त्यो ज्ञानलाई व्यवहारमा उतार्न सक्ने दक्षता र सीप हामीसँग हुँदैन, तबसम्म त्यो शिक्षा पूर्ण हुँदैन र बजारमा त्यसको खास मूल्य हुँदैन। कुनै पनि व्यक्ति, समाज र राष्ट्रको उन्नति त्यसका नागरिकहरू कति सक्षम, सक्रिय र सिर्जनशील छन् भन्ने कुरामा निर्भर गर्छ। ‘खाली नबसौं’ भन्नुको अर्थ केवल शारीरिक रूपमा व्यस्त रहनुमात्र होइन, यसको अर्थ हो- मानसिक रूपमा सिर्जनशील हुनु, समयको अधिकतम सदुपयोग गर्नु, निरन्तर आत्म–विकास गर्नु र देशको उत्पादन प्रक्रियामा जोडिनु।

सीपको महत्त्वः सीप किन सिक्ने, बहुआयामिक लाभहरू त्यस्तो औजार हो जसले मानिसको क्षमतालाई उत्पादकत्वमा बदल्छ। सीपले व्यक्तिलाई केवल जागिर पाउनमात्र होइन, बरु जीवनमा आइपर्ने कुनै पनि समस्याको समाधान गर्न सक्षम बनाउँछ र यसले व्यक्तिको व्यक्तित्व निर्माण र समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ।

बेरोजगारीको समाधान र आत्मसम्मानको आधारः हाम्रो नेपालजस्तो विकासोन्मुख देशहरूको सबैभन्दा ठूलो समस्या भनेको साक्षरता बढे पनि बेरोजगारी बढ्नु हो। लाखौं युवाहरू उच्च शिक्षा लिएर पनि खाली हात बस्नु परेको छ, किनकि बजारलाई आवश्यक पर्ने व्यावहारिक सीप र प्रयोगात्मक ज्ञान उनीहरूसँग छैन। विश्वविद्यालयको डिग्रीले सैद्धान्तिक ज्ञान दिन्छ, तर सीपले त्यो ज्ञानलाई पैसामा बदल्ने क्षमता दिन्छ। जस्तै एकजना युवाले कुनै पनि विषयमा स्नातकोत्तर गरेको हुन सक्छ, तर यदि उसलाई मोटरसाइकल मर्मत, इलेक्ट्रोनिक उपकरण मर्मत  वा उच्चस्तरीय पाककलाको सीप आउँछ भने, उसले पढाइ सकेर जागिरको खोजीमा महिनौं भौंतारिनु पर्दैन। उसले आफ्नो सीप प्रयोग गरेर तत्काल आय आर्जन गर्न सक्छ, र सम्भवतः एकजना उद्यमी बन्न सक्छ। सीपले व्यक्तिलाई कसैमाथि निर्भर हुन दिँदैन। आफ्नो मेहनत र सीपमा बाँच्न पाउँदाको सन्तुष्टि र आत्मसम्मान अमूल्य हुन्छ, जसले मानसिक स्वास्थ्यलाई पनि सकारात्मक प्रभाव पार्छ। सीपको कारणले प्राप्त हुने आर्थिक स्वतन्त्रताले मानिसलाई थप जिम्मेवार र आत्मविश्वासी बनाउँछ। 

बदलिँदो विश्वसँगको तालमेल र निरन्तर सिकाइ  आजको विश्व अत्यन्तै गतिशील छ साथै हरेक दिन  प्रविधि,  औजार, नयाँ प्रणाली र नयाँ कार्यशैली आइरहेका छन्। हिजो सिकेको सीप आज पुरानो र अप्रचलित  भइसक्छ। सीपको संसारमा, परिवर्तन नै एक मात्र स्थिर चीज हो। जस्तैः कुनै बेला ट्याली  एकाउन्टेन्टहरूको लागि अनिवार्य सीप थियो, तर आज धेरै कम्पनीहरूले क्लाउडमा आधारित सफ्टवेयर वा एन्टरप्राइज रिसोर्स प्लानिङ  प्रणाली प्रयोग गर्छन्। यदि एकाउन्टेन्टले नयाँ प्रणाली सिक्दैन भने, ऊ बजारबाट बाहिरिन सक्छ। यसको अर्थ होः जीवनभर सिक्ने। हामीले नयाँ प्रविधिसँग सम्बन्धित सीपहरू जस्तै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मेसिन लर्निङ, डेटा एनालाइसिस, साइबर सुरक्षा आदि सिकेर आफूलाई भविष्यका लागि तयार पार्नुपर्छ। यो निरन्तर सिकाइ नै आधुनिक युगमा सफलताको मुख्य सूत्र हो।

उद्यमशीलताको विकास र आय सिर्जनाः सीपले मानिसलाई जागिर खोज्ने  मानसिकताबाट जागिर सिर्जना गर्ने मानसिकतातिर लैजान्छ। यदि कुनै व्यक्तिसँग राम्रो डिजिटल मार्केटिङ वा ग्राफिक डिजाइनको सीप छ भने, उसले जागिर खोज्नुको सट्टा सानो डिजिटल एजेन्सी वा फ्रिलान्सिङ कम्पनी खोल्न सक्छ जस्तैः धेरै वर्ष विदेशमा गएर फर्केका व्यक्तिहरूले सिकेको पशुपालनको आधुनिक सीप वा जडीबुटी प्रशोधनको सीपलाई नेपालमा लागू गरी अर्गानिक फार्म वा उत्पादनमूलक उद्योग खोलेर सफलता पाएका धेरै उदाहरण छन्। यसले देशको उत्पादन बढाउँछ, आयात प्रतिस्थापन गर्छ र अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्‍याउँछ। हरेक उद्यमीहरूले सिर्जना गरेको आयले राष्ट्रिय समृद्धिमा टेवा पुग्छ।

कार्यशीलताको महत्त्व र पहलकदमीः केही गरौं भन्ने मूल सोचका अनुसार सीप सिक्नु पहिलो खुड्किलो हो, तर त्यसलाई व्यवहारमा उतार्नु, अर्थात् ‘केही गरौं’ दोस्रो र सबैभन्दा महत्त्वपूर्ण खुड्किलो हो। कुनै पनि सीप प्रयोगविहीन रहँदा त्यसको महत्त्व शून्य हुन्छ; यो बन्दुकमा रहेको गोली जस्तै हो, जबसम्म चलाइँदैन तबसम्म त्यसले लक्ष्य भेद गर्न सक्दैन।

अवसरको सिर्जना र समस्या समाधानः काम गर्ने मानिसले अवसरको पर्खाइ गर्दैन, ऊसले अवसर सिर्जना गर्छ। उसले बजारमा रहेका समस्याहरूलाई पहिचान गर्छ र आफ्नो सीप प्रयोग गरेर नयाँ समाधान प्रस्तुत गर्छ। जस्तैः कसैले  फर्निचर बनाउने सीप सिकेको छ। यदि उसले बजारमा महँगो र भारी फर्निचरको माग कम देखे भने, खाली हात बस्नुको सट्टा उसले फोल्डिङ फर्निचर, पर्यावरणमैत्री बाँसका फर्निचर  वा बहुउपयोगी  फर्निचर बनाएर नयाँ र आकर्षक बजार सिर्जना गर्न सक्छ। यही नै हो ‘केही गरौं’ को सिर्जनशील भावना हो।

सानो सुरुवात ठूलो परिवर्तन र निरन्तरताः हाम्रो सफलताको लागि जहिले पनि ठूलै लगानी वा ठूलै प्रोजेक्टको आवश्यकता पर्दैन। ‘केही गरौं’ भन्नुको अर्थ सानो सुरुवात गरेर त्यसलाई लगनशीलता र निरन्तरता दिनु हो। हरेक ठूलो रूख सानो बिउबाट सुरु हुन्छ। जस्तैः एकजना गृहिणीले हस्तकला  र ढाकाको उत्पादन सीप सिकेकी छन्। उनले ठूलो प्रदर्शनी वा पसल खोल्न नसके पनि, आफ्नै घरबाट अनलाइन अर्डर लिएर वा छिमेकीहरूको समूह बनाएर सानो स्तरमा काम सुरु गर्न सक्छिन्। समयक्रमसँगै उनको कामको गुणस्तर राम्रो हुँदै गएमा, उनले थप रुचिकर महिलालाई तालिम दिएर रोजगारी सिर्जना गर्न सक्छिन् र आफ्नो व्यवसायलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सक्छिन्। यो सानो सुरुवातले उनको परिवारको जीवनस्तर र स्थानीय महिला सशक्तीकरणमा ठूलो परिवर्तन ल्याउन सक्छ।

निष्क्रियताबाट मुक्ति र मानसिक स्वास्थ्यः निष्क्रियता मानव जीवनको सबैभन्दा ठूलो अभिशाप हो। कामविहीन हुँदादा मानिस शारीरिक रूपमा कमजोर, मानसिक रूपमा हतास र डिप्रेसनको सिकार हुन सक्छ। काममा संलग्न रहँदा मनमा उत्साह, शरीरमा स्फूर्ति, जीवनमा उद्देश्य र सकारात्मक सोच आउँछ। कामले मानिसलाई वर्तमानमा बाँच्न र भविष्यप्रति 
आशावादी हुन सिकाउँछ।

खाली नबसौंः ‘समयको उचित व्यवस्थापन र उपयोगिता, खाली नबसौं ?’ यो नाराको सार हो। यो जीवनको हरेक क्षणलाई मूल्यवान् बनाउने आह्वान हो। समयलाई सही तरिकाले सदुपयोग गर्नु भनेको जीवनमा सफलताको बिउ रोप्नु हो।
समयको सदुपयोगः उत्पादनशील गतिविधिमा जोड, हामीमध्ये धेरैले आफ्नो खाली समय सामाजिक सञ्जाल  हेरेर, अर्थहीन वेबसिरिज हेरेर वा गफमा बिताइरहेका हुन्छौं। ‘खाली नबसौं’को अवधारणाले यही समयलाई सिक्ने, उत्पादनशील काममा लगाउन र आफ्नो व्यक्तिगत पोर्टफोलियो निर्माण गर्न प्रेरित गर्छ। जस्तैः आफ्नो दैनिक कामबाट बचेको फुर्सदको समयलाई कुनै विदेशी भाषा सिक्न, बागवानी गरेर जैविक तरकारी उत्पादन गर्न, व्यवसायसम्बन्धी पुस्तक पढ्न वा अनलाइन कोर्स गरेर आफ्नो सीपलाई अझ तिखार्न प्रयोग गर्न सकिन्छ। कुनै व्यक्तिले आफ्नो साँझको खाली समयमा पार्टटाइम ग्राफिक, इनडजाइन वा अन्य समयानुकूल डिजाइनरको काम गरेर वा कफी मेकिङ सीप सिकेर अस्थायी स्टल राखेर आम्दानी गर्न सक्छ।

रचनात्मकता, सिर्जनशीलता र सौखलाई व्यवसायमा बदल्नेः खाली नबस्नुको अर्थ कहिलेकाहीँ शारीरिक र मानसिक आरामपछि आफ्नो सिर्जनात्मक सौखलाई समय दिनु पनि हो, जसलाई भविष्यमा व्यवसायमा बदल्न सकिन्छ। जस्तैः एकजना कुनै कर्मचारीले आफ्नो कार्यालय समय सकेपछि आफ्नो फोटोग्राफी सीप वा भिडियो सम्पादनको सौखलाई समय दिन सक्छन्। उनले सानातिना इभेन्टमा पार्टटाइम काम गरेर आफ्नो सौखबाट आम्दानी गर्न सक्छन्। समयक्रममा यही सौख ठूलो मिडिया हाउस वा कन्टेन्ट क्रिएटरको रूपमा स्थापित हुन सक्छ।

जीवनपर्यन्त सक्रियता र अनुभवको पुस्तान्तरणः ‘खाली नबसौं’ भन्ने सन्देश बालकदेखि वृद्ध अवस्थाका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। मानिसले आफ्नो उमेर ढल्किँदै जाँदा पनि आफूलाई सक्रिय राख्नुपर्छ र आफ्नो ज्ञानको पुस्तान्तरण  गर्नुपर्छ। जस्तैः अवकाश प्राप्त एक प्राविधिक वा शिक्षकले आफ्नो खाली समयमा नयाँ पुस्तालाई मेन्टरिङ  गरेर, सीप विकासका तालिमहरू दिएर वा आफ्नो अनुभवमा आधारित संस्मरण वा प्राविधिक गाइड लेखेर समाजलाई अतुलनीय योगदान दिन सक्छन्। यसले उनीहरूको स्वास्थ्य र खुसी दुवैमा सकारात्मक प्रभाव पार्छ र समाजलाई पनि लाभ मिल्छ।

कार्यान्वयनका सरल र उपयोगी उपायहरूः यो नारालाई व्यवहारमा उतार्नका लागि यहाँ केही सरल उपायहरू प्रस्तुत गरिएका छन्, जसलाई व्यक्तिगत पहलकदमी र सामाजिक प्रोत्साहनमार्फत अगाडि बढाउन सकिन्छः
सीप विकासका क्षेत्र र त्यसको व्यावहारिक कार्यान्वयनः  ‘सीप सिकौं, केही गरौं, खाली नबसौं’ भन्ने मूल मन्त्रलाई चार प्रमुख र आवश्यक सीपका क्षेत्रहरूमा विभाजन गरी त्यसको सिक्ने तरिका (सीप सिकौं), तत्कालको कार्यान्वयन (केही गरौं), फुर्सदको सदुपयोग (खाली नबसौं) र दीर्घकालीन व्यावसायिक सम्भावनाको स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सकिन्छ। यो ढाँचाले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक नतिजामा कसरी बदल्न सकिन्छ भन्ने कुरालाई सरल तरिकाले बुझाउँछ। यसअनुसार, सीपलाई मुख्यतया डिजिटल/प्राविधिक, हातको काम/शारीरिक, सफ्ट सीप र कृषि/पशुपालन गरी बिभिन्न वर्गमा विभाजन गरिएको छ, जसले आजको बजारको बहुआयामिक मागलाई समेट्छ। 

यी सीपहरूको कार्यान्वयनमा डिजिटल र प्राविधिक सीपहरू सबैभन्दा अग्रपंक्तिमा छन्। अनलाइन कोर्स, युट्युब र कोडिङ बुटक्याम्पहरू मार्फत वेबसाइट निर्माण, सामाजिक सञ्जाल व्यवस्थापनजस्ता सीप सिकेर खाली समयमा फ्रिलान्सिङ वा अनलाइन ट्युसनमार्फत तत्काल आम्दानी गर्न सकिन्छ। यी ससाना प्रयासहरूले भविष्यमा ठूला आईटी कम्पनी वा सफ्टवेयर सोलुसन प्रदायकको रूपमा व्यावसायिक सम्भावना बोक्छन्। यसैगरी, हातको काम/शारीरिक सीपहरू जस्तै सिलाइबुनाइ, प्लम्बिङ र मेकानिक्सलाई प्राविधिक शिक्षालय वा अनुभवी गुरुहरूबाट सिकेर सानो वर्कसप वा पसल खोल्न सकिन्छ। फुर्सदमा घरकै मर्मतसम्भार आफैं गर्दा पैसा बचत हुन्छ भने, यही सीप विस्तार भएर साना उद्योग  र तालिम केन्द्रहरू सञ्चालन गर्न सकिने सम्भावना रहन्छ। 

सफ्ट सीप र कृषि/पशुपालनसम्बन्धी सीपहरूले क्रमशः नेतृत्व र आत्मनिर्भरताको आधार तयार पार्छन्। पुस्तक, सेमिनार र अभ्यासबाट सिकिने सार्वजनिक वक्ता बन्ने र ग्राहक सेवा दिनेजस्ता सफ्ट सीपहरूले फुर्सदमा पुस्तक समीक्षा वा वादविवाद क्लबमा भाग लिएर व्यक्तित्व विकास गर्न मद्दत गर्छ र दीर्घकालमा मोटिभेसनल स्पिकर वा कर्पोरेट ट्रेनर बन्ने ढोका खोल्छ। त्यस्तै, सरकारी तालिम र कृषि विज्ञको परामर्शबाट सिकिने कृषि/पशुपालन सीपले कौशीखेती, सानो दुग्धजन्य उत्पादन सुरु गर्न उत्प्रेरित गर्छ। खाली समयमा जैविक तरकारी आफैं उत्पादन गरेर वा बाँकी उत्पादन बेचेर स्थानीय अर्थतन्त्रमा योगदान दिइन्छ भने, यसको अन्तिम लक्ष्य भनेको कृषि सहकारी वा एग्री–टुरिजम फार्म सञ्चालन गरी राष्ट्रिय उत्पादनमा योगदान पुर्‍याउनु हो। 

अन्त्यमाः सुनौलो भविष्यको आधार र संकल्प भनेको  सीप सिकौं, केही गरौं, खाली नबसौं! यो नारा कुनै अमूर्त सिद्धान्त होइन, बरु यो हरेक व्यक्तिको व्यक्तिगत र सामूहिक जीवनको सफलताको ब्लुप्रिन्ट हो। खाली बस्नु भनेको समय, शक्ति र सम्भावनालाई खेर फाल्नु हो, जसको परिणाम पछौटेपन र निराशा मात्र हो। सीपयुक्त र उत्पादक नागरिकहरूले नै सभ्य, सम्पन्न र आत्मनिर्भर राष्ट्रको जग निर्माण गर्छन्। आजको आवश्यकता भनेको रोजगारमूलक शिक्षा प्रणाली हो, जहाँ हरेक विद्यार्थीले डिग्रीसँगै हातमा काम गर्न सक्ने एउटा सीप लिएर निस्किउन्। सरकार, शैक्षिक संस्था र निजी क्षेत्रले यस अभियानलाई सँगै लिएर हिँड्नुपर्छ।

हामी सबैले आफ्नो रुचि, क्षमता र बजारको मागलाई मध्यनजर गरेर कुनै न कुनै सीपमा दक्ष हुनैपर्छ। त्यो सीप चाहे कोड लेख्ने होस् वा माटोका भाँडा बनाउने, मिसिन चलाउने होस् वा पर्यटकलाई गाइड गर्ने, हरेक सीपको आफ्नै महत्त्व छ। महत्त्वपूर्ण कुरा त के हो भने, हामीले सिक्न र गर्न कहिल्यै छोड्नु हुँदैन। यदि प्रत्येक नेपाली युवाले यो नारालाई आत्मसात् गरी काम गरेर आफ्नो खाली समयको सदुपयोग गर्न थाले भने, त्यो दिन टाढा छैन जब नेपालले वैदेशिक रोजगारीको विवशतालाई छोडेर आत्मनिर्भरताको स्वाभिमानले शिर ठाडो पार्न सक्नेछन्। त्यसैले, आजैबाट प्रण गरौंः खाली बस्ने छैनौं, निरन्तर सिक्नेछौं र केही न केही गरिरहनेछौं! यही संकल्पले हाम्रो व्यक्तिगत र राष्ट्रिय भाग्य बदल्नेछ। 
तिमिल्सिना, जनप्रिय बहुमुखी क्याम्पस पोखरामा अध्यापन गर्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.