निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्फ खटिए कर्मचारी
बाजुरा : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । मतदान प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तालिमपछि निर्वाचन कर्मचारीहरूले आवश्यक सामग्री बुझेर तोकिएका मतदानस्थलतर्फ जान सुरू भएको छ ।
निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार जिल्लामा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहयोगी कर्मचारीहरूले मतपत्र, मतपेटिका, मतदान गोप्य कक्ष, छाप, मतदाता नामावलीलगायतका अत्यावश्यक सामग्री बुझेर आ–आफ्ना केन्द्रतर्फ जान थालेका छन् ।

जिल्लामा कुल ७७ मतदानस्थल, ११८ मतदान केन्द्र रहेका छन् । दुर्गम भूगोल र विकट बस्तीका कारण केही केन्द्रमा कर्मचारीहरू पैदलै सामग्रीसहित पुग्नुपर्ने अवस्था रहेको बताइएकोले भौगोलिक विकटताका आधारमा निर्वाचन सामग्री वितरण गर्न थालिएको जिल्ला निवार्चन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीले बताए । सुरक्षा व्यवस्थासहित कर्मचारीहरू चरणबद्ध रूपमा केन्द्रमा परिचालन गरिएको निवार्चन अधिकारी शाहीले बताए ।
मतदातालाई तोकिएको समयमै मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन र निर्वाचन कार्यालयले शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सबै पक्षसँग सहयोगको अपेक्षा गरेका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरामा ७ सय ९ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले बताए । मुख्य निवार्चन अधिकृत पोखरेलका अनुसार जिल्लाका १ सय १८ वटै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक अधिकृतसहित बढीमा ६ जनासम्म कर्मचारी खटाइएका छन् । सदरमुकाम मार्तडीको डिभिजन वन कार्यालयमा अस्थायी मतदानस्थल तोकिएको छ । अस्थायी मतदानस्थलमा ४ जना कर्मचारी खटाउने तयारी गरिएको छ ।
बाजुरामा कूल ८७ हजार ८ सय ६१ मतदाता छन् । जसमा ४५ हजार ४ सय २८ पुरुष, ४२ हजार ४ सय ३१ महिला र २ अन्य मतदाता रहेका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा ७ राजनीतिक दलसहित १ जना स्वतन्त्र गरी ८ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस !