प्रतिनिधिसभा निर्वाचन : बर्दियामा पुराना उम्मेदवारलाई नयाँ दलको चुनौती
गुलरिया : फागुन २१ गते हुने आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि बर्दियामा पुरानै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य दलहरूबीच बिरासत जोगाउने र भत्काउने दाउपेच चलेको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा पुरानै उम्मेदवारहरूले नयाँ नारासहित चुनावी रस्साकस्सीमा होमिएका छन् । बर्दिया क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठाकुरसिंह थारु अघिल्लो निर्वाचनमा रेसमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचनमा उत्रिएका थिए। चुनाव चिन्ह ढकीया लिएर पराजित भएका थारु यसपटक भने घण्टी चुनाव चिन्ह मार्फत् चुनावी मैदानमा छन् ।
गत निर्वाचनमा सिके राउतको जनमत पार्टीबाट समानुपातिक उम्मेदवार बनेका अब्दुल खान यस पटक रेसमलाल चौधरीको नागरिक उम्मुक्ति पार्टीबाट चकिया चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा छन् । ०६४ को निर्वाचनमा तत्कालिन माओवादी पार्टीका बिजेता विष्णु प्रसाद चौधरी यसपटक नेपाली कम्युनिष्ट पार्टीबाट पाँचकुने तारा चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट पहिलो पटक शालिकराम अधिकारी चुनाव चिन्ह सूर्य लिएर प्रतिनिधि सभा निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन् । तत्कालिन कम्युनिष्ट गठबन्धनका बलिया उम्मेदवार वामदेव गौतमलाई पराजित गरी चर्चा बटुलेका नेपाली काँग्रेसका उम्मेदवार पूर्व सिंचाई मन्त्री संजय कुमार गौतम यसपटक चुनावी प्रतिस्पर्धामा छन् ।
०६४ सालमा तत्कालिन माओवादीकी सरला रेग्मीसँग हार ब्यहोरेका गौतमले ०७० साल सालमा एमालेका पूर्ण शर्मा,०७४ सालमा एमालेका वामदेव गौतम र ०७९ सालमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार एमालेका लक्ष्मण ज्ञवालीलाई पराजित गरी ३ पटक निर्वाचन जितेका छन् ।
यस पटक बर्दिया क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसको विरासत भत्काउने दाउँमा सबै दल छन् । गौतमले मन्त्री भएका बखत बबई,भादा औरही नदी नियन्त्रण आयोजनाको कार्यालय जिल्लामा स्थापना गरी बबई नदी नियन्त्रणमा गुन लगाएको चर्चा ब्यापक पारिएको छ ।
बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस पार्टी एवम् पत्रकारिता पेशा छाडेर नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका निवर्तमान कोषाध्यक्ष यमनाथ घिमिरे यतिखेर जनमत पार्टीबाट चुनाव चिन्ह हरन मार्फत चुनावी मैदानमा छन् । त्यस्तै समाजवादी पार्टी त्यागेका इन्द्र बहादुर रावल नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट हँसिया चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका छन् । चन्द्रा कुमारी राजगुरु नेपाल जनमुक्ति पार्टी चुनाव चिन्ह घर, ज्योती योञ्जन मंगोल नेशनल अर्गनाइजेशन चुनाव चिन्ह कुखुराको भाले, तिमोथी चौधरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) चुनाव चिन्ह गोलो घेरा भित्र दुई पात भएको गुलाबको फूल चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन् ।
दत्ता थारु आम जनता पार्टी चिन्ह मोबाइल,धनबहादुर विक श्रम संस्कृति पार्टी अञ्जुलीमा रहेको माटो, पवित्रा शाही नेपाल मजदुर किसान पार्टी मादल, मनोज यादव जनता समाजवादी पार्टी नेपाल ढल्केको छाता,मेघ बहादुर कामी नेपाल समाजवादी पार्टी इनार, लोक बहादुर राना मगर राष्ट्रिय जनमोर्चा गिलास, विरबहादुर कामी राप्रपा चिन्ह हलो,श्याम प्रसाद थारु राष्ट्रिय परिवर्तन पार्टी चुनाव चिन्ह बाँसुरी लिएर प्रतिस्पर्धामा छन् । त्यस्तै बर्दिया क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार घनश्याम अधिकारी चुनाव चिन्ह क्याप,निर्मल अधिकारी कैंची,मोहन पौडेल सारङगी चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।
क्षेत्र नम्बर २ मा कडा प्रतिस्पर्धा
बर्दिया क्षेत्र नम्बर २ मा गत निर्वाचनमा माओवादी केन्द्रबाट कांग्रेससँगको गठबन्धनबाट निर्वाचन लडेका सुरेश पन्थ यसपटक नेपाली कम्युनिष्ट पार्टीबाट पाँच कुने तारा चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन् । गत लुम्विनी प्रदेश निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचन जितेका धर्म बहादुर चौधरी यसपटक उज्यालो नेपाल पार्टीबाट चुनाव चिन्ह चिम लिएर चुनावी स्पर्धामा छन् । श्रीधर पोख्रेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिस्पर्धामा छन् ।
गत निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक सांसद विमला विक यसपटक नेकपा एमालेको सूर्य चुनाव चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धामा छिन् । उनी राज्यमन्त्री समेत भइसकेकी हुन् । गत निर्वाचनमा बाँकेमा कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित किशोरसिंह राठोर यस पटक बर्दिया क्षेत्र नम्बर २ को प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस पार्टीका पूर्व सहमहामन्त्री समेत भइसकेका राठोर सो क्षेत्रका बलिया उम्मेदवारका रुपमा मानिन्छन् । यस अघि रेसम चौधरीका बाबु स्वतन्त्र उम्मेदवार लालविर चौधरीले जितेको सो क्षेत्रमा विरासत बनाउने दाउमा उम्मेदवारहरू कडा प्रतिस्पर्धामा देखिन्छन् ।
अनिरुध्या आर्या जनता समाजवादी पार्टी नेपाल,खुशीराम थारु नागरिक उन्मुक्ती पार्टी नेपाल,टिकाराम चौधरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी),धर्मराज जैसी आचार्य नेपाल मजदुर किसान पार्टी, निता शर्मा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त),मान बहादुर बैगार श्रम सँस्कृति पार्टी,रतन सिं रावत राष्ट्रिय जनमोर्चा,शसी कुमार यादव जनमत पार्टी,सुशिल चौधरी राप्रपा र सोम बहादुर तमाङ मंगोल अर्गनाईजेशनबाट चुनावी मैदानमा प्रतिस्पर्धामा छन् । यसपटक बर्दियामा दल र स्वतन्त्रबाट गरी ३६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !