पाल्पाका मतदानस्थलमा मतदानका लागि सबै किसिमको तयारी पूरा
तानसेन : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पाका ११८ वटै मतदानस्थलका २५३ वटै मतदान केन्द्रमा मतदानका लागि आवश्यक पर्ने सबै किसिमको तयारी पूरा भएको छ।
बिहीबार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पाका ११८ मतदानस्थलका २५३ मतदान केन्द्रमा मतदानका लागि आवश्यक पर्ने सबै किसिमको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत हरि प्रसाद शर्मा उपाध्याय पंगेनीले बताए।
स्थानीय राजनीतिक, नागरिक अगुवाको सहभागितामा सर्वदलीय सर्वपक्षीय बैठकहरू भएका छन्। मतदानका लागि खटिएका मतदान अधिकृत, सहयोगी कर्मचारी र सुरक्षाकर्मीले मतदानको वातावरण बनाउने काममा सक्रिय भएका छन्।
मतदानस्थलको चौकिल्ला निर्धारण गरेर मतदानस्थल निर्माणदेखि महिला, पुरुष र फरक क्षमता तथा ज्येष्ठ नागरिकका लागि छुट्टाछुट्टै लाइन निर्माणदेखि प्रत्यक्ष र समानुपातिक मत राख्ने स्थान निर्माणसँगै राजनीतिक दलका प्रतिनिधिहरू बस्ने व्यवस्थासम्म पाल्पाका सबै मतदान केन्द्रमा व्यवस्था गरिएको छ। मतदानका लागि सबै किसिमका तयारी पूरा भएको जनप्रिय मावि, तानसेन–६, बरतुङका मतदान अधिकृत डा. राजेन्द्र पौडेलले बताए।
मतदान केन्द्रमा मतदान अधिकृतहरूले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सबै किसिमको सुरक्षा व्यवस्था चुस्त-दुरुस्त बनाइएको र सबै मतदानस्थलहरूको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले बताइन्।
मतदानस्थलमा फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त बनाउन स्थानीयवासी तथा राजनीतिक दलहरूले सहयोग गरेका छन्। मतदातालाई मतदानस्थलमा अपाङ्ग, ज्येष्ठ नागरिक, महिला र फरक क्षमता भएका व्यक्तिहरूलाई फरक–फरक लाइनमा लगाउने गरी व्यवस्था गरिएको छ। पाल्पामा ७ वटा महिलामैत्री नमुना मतदान केन्द्र बनाइएको छ। निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको फागुन २१ गतेका लागि मतदाताको प्रतीक्षामा रहेको त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाकी मतदान अधिकृत मुना शर्माले बताइन्।
पाल्पामा ११८ मतदानस्थलमा २५१ स्थायी र २ वटा अस्थायी गरी २५३ वटा मतदान केन्द्र रहेका छन्। जिल्लामा २ लाख ७ हजार ४ सय ३६ मतदाता रहेका छन्। २०७९ सालको आम निर्वाचनमा पाल्पामा २ लाख १ हजार ३ सय २६ मतदाता थिए भने अहिले ६ हजार १ सय १० जना नयाँ मतदाता थपिएका छन्।
पाल्पामा निर्वाचनका लागि १,५१८ जना कर्मचारी परिचालन भएका छन्। पाल्पामा दुई सिटका लागि क्षेत्र नं. १ मा १० राजनीतिक दलका उम्मेदवार र ४ जना स्वतन्त्र गरी १४ जना तथा क्षेत्र नं. २ मा १४ राजनीतिक दल र २ जना स्वतन्त्र गरी १६ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।
प्रतिक्रिया दिनुहोस !