संखुवासभामा मतगणना सुरु हुन सकेन
संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रको मतपेटिका मौसमका कारण सदरमुकाम ल्याउन नसक्दा मतगणनामा ढिलाइ भएको छ। ६३ जना मतदाता रहेको उक्त केन्द्रमा १३ मत मात्रै खसेको छ।
शुक्रबार सेनाको हेलिकोप्टरले भौगोलिक रूपमा विकट मानिएका भोटखोलाका दुई र सिलिचोङ गाउँपालिकाका दुई मतदान केन्द्रको मतपेटिका मात्रै नेपाली सेनाको हेलिकोप्टरमार्फत ल्याइएको छ। मौसम प्रतिकूल नहुँदा थुदामको मतपेटिका ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन्।
भोटखोला गाउँपालिकाको किमाथांका र रिदाक सिलिचोङ गाउँपालिकाको गौथला र काम्पेकको मतपेटिका हेलिकोप्टरबाट ल्याइएको हो। एक अस्थायीसहित १६५ मतदान केन्द्र रहेको संखुवासभामा १ सय २४ मतदान केन्द्रको मतपेटिका पैदल मार्ग र सडक मार्गबाट मतपेटिका गणनास्थलमा ल्याइसकिएको छ।
आएका मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ। शनिबार मतपेटिका ल्याएर मतगणना गरिने छ।
प्रतिक्रिया दिनुहोस !