कञ्चनपुरका ३ वटै क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा
महेन्द्रनगर : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा कञ्चनपुरको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन्।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा नौ हजार ९२४ मत गणना हुँदा रास्वपाका उम्मेदवार जनक सिंह धामी तीन हजार ७६९ मत सहित अग्रस्थानमा छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार धामीपछि नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङ एक हजार ९३१ मतसहित दोस्रो स्थानमा छन्।
नेकपाकी विना मगर एक हजार ६३२ मत सहित तेस्रो स्थानमा छिन्। नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्याय एक हजार ४३ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा कुल ६१ हजार ७४ मत खसेको थियो।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा १८ हजार ५७६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराको अग्रता कायम छ। रास्वपाका बोहराले नौ हजार ८९० मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउदले दुई हजार ९१५ मत प्राप्त गरेका छन्।
एमालेका बचन बहादुर सिंहले एक हजार ८३२ मत प्राप्त गरेका छन्। नेकपाका उम्मेदवार माधव पन्तले एक हजार ९५८ मत प्राप्त गरेका छन्। कञ्चनपुर २ मा ६४ हजार ८८१ मत खसेको थियो।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा छ हजार ६९९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र सिंह महत दुई हजार ६७७ मतसहित अग्रस्थानमा छन्। त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले एक हजार १८२ मत ल्याएका छन् भने एमालेका दीपक प्रकाश भट्टले एक हजार २६६ मत प्राप्त गरेका छन्। नेकपाका मान बहादुर सुनार ५९५ मत प्राप्त गरेको छ। यो क्षेत्रमा कुल ५८ हजार ३६१ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस !