मोरङका सबै क्षेत्रमा रास्वपाको उदय, परम्परागत दलको वर्चस्व ध्वस्त
विराटनगर : राजनीतिको केन्द्र मानिने मोरङमा भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नयाँ मोड ल्याइदिएको छ। परम्परागत दलको वर्चस्व ध्वस्त पार्दै मोरङको राजनीतिक इतिहास उल्टाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय भएको हो।
लामो समयदेखि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (यसअघिका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दल मिलेर बनेको नेकपा)जस्ता पुराना दलहरूको बलियो प्रभाव वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपाले तोडिदिएको छ।
परम्परागत दलको बिरासतलाई यसपटक मतदाताले एकै झट्कामा फालेर राजनीतिक समीकरण नै उल्टाइदिएका हुन्। (रास्वपा)ले मोरङका सबै ६ वटा क्षेत्रमा विजय हासिल गर्दै जिल्लाभरि पूर्ण रूपमा ‘क्लिन स्वीप’ गरेको हो। निर्वाचन परिणामले सिट परिवर्तन मात्र नभएर मोरङको राजनीतिक शक्ति सन्तुलन नै नयाँ दिशातर्फ मोडिदिएको छ। विगतमा पुराना दलबीच प्रतिस्पर्धा हुने गरेको मोरङमा यसपटक मतदाताले ती दलहरूलाई पूर्णरूपमा अस्वीकार गर्दै वैकल्पिक राजनीतिक शक्तिलाई एकमुस्ट समर्थन दिएका छन्।
मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपाने २७ हजार ३६७ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गरिन्। नेपाली कांग्रेसका खड्गबहादुर फागोले ११ हजार ९८६ मत प्राप्त गर्दा एमालेका घनश्याम खतिवडाले ९ हजार ८२३ मत पाए। न्यौपानेले झण्डै १० हजारभन्दा बढी मतान्तरसहित विजय हासिल गरेका हुन्।
मोरङ–२ मा पनि रास्वपाले प्रभावशाली जित दर्ता गरेको छ। कृष्णकुमार कार्कीले ४० हजारभन्दा बढी मत ल्याउँदै विजय सुनिश्चित गरेका छन्। उनका प्रमुख प्रतिस्पर्धी एमालेका दिलिपकुमार बगडियाले १५ हजार ६२४ मत पाए। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मीनेन्द्रप्रसाद रिजालले १२ हजार ७६४ मत मात्रै ल्याउन सकेन। विगतमा एमाले र कांग्रेसको बलियो आधार मानिने यो क्षेत्रमा रास्वपाको विजयले पुराना राजनीतिक समीकरणलाई तोडिदिएको छ।
मोरङ–३ मा रास्वपाका गणेश कार्की ३६ हजार ९२४ मतसहित निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका डा. सुनीलकुमार शर्मालाई १२ हजार ५७० मतान्तरले पराजित गरेका हुन्। शर्माले २४ हजार ३ सय ५४ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५०९ मत पाए। दोस्रो भएर चित्त बुझाएका शर्मा मोरङ–३ का निवर्तमान सांसद हुन्। यस क्षेत्रको परिणामले एमाले र कांग्रेसको परम्परागत प्रभाव कमजोर भएको स्पष्ट हुन्छ।
मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशीले ४० हजार ८३३ मत ल्याएर विजय हासिल गरेका छन्। उनले नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। घिमिरेले १२ हजार ८१८ मत मात्रै ल्याए। राजवंशी र घिमिरे बीचको मतान्तर २८ हजार १५ रहेको छ। राष्ट्रिय स्तरका प्रभावशाली नेतामध्ये एक मानिने घिमिरेको लज्जास्पद हारलाई कांग्रेसका लागि गम्भीर राजनीतिक धक्का मानिएको छ।
मोरङ–५ मा रास्वपाकी उम्मेदवार आशा झा ३० हजार ४३४ मत प्राप्त गर्दै निर्वाचित भइन्। उनका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका फूलकुमार लालवानीले ९ हजार ४१५ मत मात्र प्राप्त गरे। २१ हजार १९ को मतान्तरमा भएको जितले रास्वपाप्रति मतदाताको स्पष्ट समर्थन देखाएको छ।
मोरङ–६ मा भने यस निर्वाचनको सबैभन्दा ठूलो राजनीतिक अपसेट देखिएको छ। यहाँ रास्वपाकी उम्मेदवार रुबिना आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्दै सानदार जित हासिल गरिन्। उनका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले १२ हजार ८५० मत मात्र प्राप्त गरे भने एमालेका विनोद ढकालले ८ हजार ३१७ मतमा सीमित रहे। जिल्लाभरिमै सबैभन्दा धेरै मत प्राप्त गर्ने उम्मेदवारसमेत आचार्य हुन्।
विराटनगर माइती भएकी उनको घर चितवन हो। निर्वाचन लक्षित अभियानमा पनि उनले ‘विराटनगरकी छोरी, चितवनकी बुहारी’ भनेर भोट मागेकी थिइन्। पहिलोपटक राजनीतिक प्रतिस्पर्धामा उत्रिएकी उनले कोइराला परिवारले विरासत ढालेर सानदार जित दर्ता गराइन्। उनका सामु कोइरालाजस्ता राजनीतिक पुराना एवं अनुभवी खेलाडी निरीह सावित भए। राजनीतिक हस्तीमाथि धावा बोलेर संसदको यात्रा तय गर्दा आचार्यको चर्चा चुलिएको छ।
मोरङको राजनीतिक इतिहास हेर्ने हो भने यो परिणाम अत्यन्त असामान्य मानिन्छ। विगतका निर्वाचनहरूमा यो जिल्ला नेपाली कांग्रेस र एमालेको बलियो आधार क्षेत्रका रूपमा चिनिन्थ्यो। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङका ६ मध्ये कांग्रेसले ३ तथा एमाले, तत्कालीन माओवादी र स्वतन्त्र उम्मेदवारले १–१ सिट जितेका थिए। त्यसअघि पनि मोरङमा परम्परागत दलहरूकै वर्चस्व कायम थियो।
तर, यसपटकको निर्वाचनले लामो राजनीतिक परम्परालाई एकैपटक भत्काइदिएको छ। कांग्रेस, एमालेजस्ता प्रमुख दलहरूले एक सिट पनि सुरक्षित गर्न सकेनन्। यो परिणामले मतदाताले पुराना राजनीतिक शक्तिप्रति कडा असन्तुष्टि व्यक्त गरेको स्पष्ट हुन्छ। राजनीतिक विश्लेषक गिरीश भट्टराईका अनुसार मोरङको निर्वाचन परिणाम स्थानीय असन्तुष्टिको अभिव्यक्ति मात्रै नभएर राष्ट्रिय स्तरमै परम्परागत दलप्रति बढ्दै गएको निराशा र वैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षणको स्पष्ट संकेत हो। लामो समयदेखि सत्ताको वरिपरि घुमिरहने परिपाटीले भ्रष्टाचार, गुटबन्दी, नेतृत्व संकट र जनअपेक्षा पूरा गर्न नसकेको आरोपले पुराना दलहरूलाई समस्यामा पारेको उनको भनाइ छ।
‘पुराना दलप्रतिको वितृष्णालाई रास्वपाले नयाँ राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्दै मतदातालाई आकर्षित गरेको देखिन्छ,’ भट्टराई भन्छन्, ‘विशेषगरी युवा, महिला र सहरी क्षेत्रका मतदाता तथा परम्परागत दलबाट निराश भएका समूहले रास्वपालाई व्यापक समर्थन दिएको देखियो।’ सामाजिक सञ्जालमार्फत निर्माण भएको नयाँ राजनीतिक विमर्श, परिवर्तनको चाहना र नयाँ नेतृत्वप्रतिको विश्वासले पनि रास्वपाको पक्षमा माहोल सिर्जना गरेको उनको विश्लेषण छ।
मोरङजस्तो ऐतिहासिक रूपमा कांग्रेस र एमालेको बलियो आधार मानिने जिल्लामा एकै निर्वाचनमा सबै सिट गुम्नु परम्परागत दलहरूका लागि गम्भीर चेतावनीका रूपमा हेरिएको उनले बताए। अब ती दलहरूले आफ्ना संगठन, नेतृत्व शैली र राजनीतिक रणनीतिमा गम्भीर समीक्षा नगरे भविष्यमा अझ ठूलो राजनीतिक संकट सामना गर्नुपर्ने अवस्था आउन सक्ने भट्टराईको भनाइ छ।
मतदाताको बदलिँदो मनोविज्ञान, वैकल्पिक राजनीतिक शक्तिको उदय र परम्परागत दलप्रतिको असन्तुष्टिले नेपालको राजनीतिक शक्ति सन्तुलनमा नयाँ परिवर्तन ल्याइदिएको उनले बताए। ‘एक समय परम्परागत दलहरूको गढ मानिने मोरङमा एकै निर्वाचनबाट नयाँ राजनीतिक शक्तिको पूर्ण उदय हुनुलाई एउटा घटना मात्रै मान्न हुँदैन। अहिलेको परिणामले नेपाली राजनीतिमा परिवर्तनको माग स्पष्ट हुँदै गएको र वैकल्पिक नेतृत्वलाई अवसर दिन मतदाता तयार भएको सन्देश पनि हो,’ विश्लेषक भट्टराईले भने।
प्रतिक्रिया दिनुहोस !