सिन्धुपाल्चोक -१ मा रास्वपाका पराजुली र २ मा नेकपाका दुलाल विजयी
सिन्धुपाल्चोक : फागुन २१ गते भएको सिन्धुपाल्चोकको दुईवटै प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएको छ।
परिणाम अनुसार सिन्धसपाल्चोक क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भरतप्रसाद पराजुली निर्वाचित भएका छन् । उनले २४ हजार ४ सय १२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार माधव सापकोटाले १७ हजार ३ सय २७ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्।
बलेफी गाउँपालिका– ६ का स्थायी बासिन्दा पराजुलीलाई संसदीय अनुभव नभए पनि निजी क्षेत्रको लामो अनुभव र व्यवस्थापन क्षमताले फरक पहिचान दिएको छ। पराजुली हाल जुगल गाउँपालिकामा निर्माणाधीन ४५ मेगावाट क्षमताको ब्रह्मायणी जलविद्युत् आयोजनाका अध्यक्षसमेत हुन् । ऊर्जा क्षेत्रको विकास, स्थानीय रोजगारी सिर्जना तथा दिगो आर्थिक बृद्धिमा उनको संलग्नता उल्लेखनीय मानिन्छ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा ३० हजार ४ सय ८ मत प्राप्त गर्दै निर्वाचित भएका थिए । त्यतिबेला दोस्रो स्थानमा नेकपा एमालेका सरेश नेपालले २७ हजार ६६ मत प्राप्त गरेका थिए भने रास्वपाका दिनेश श्रेष्ठ ३ हजार ५ सय ३ मतमा सीमित भएका थिए ।
यस पटक भने नयाँ अनुहारका रूपमा चुनावी मैदानमा उत्रिएका पराजुलीले विकास, सुशासन र परिणाममुखी राजनीतिलाई मुख्य एजेन्डा बनाउँदै मतदाताको विश्वास जित्न सफल भएका छन्। त्यस्तै सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा युवराज दुलाल निर्वाचित भएका छन् । प्राप्त मत परिणामअनुसार दुलालले २१ हजार ६ सय ९९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी बंशलाल तामाङले १९ हजार १ सय ४६ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् । दुलाल २०७४ देखि २०७९ र २०७९ देखि २०८२ माघसम्म दुई पटक बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
यस अवधिमा उनले बागमती प्रदेश सरकारमा सामाजिक विकास मन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। दुलालले आफ्नो विकाससम्बन्धी काम, लामो राजनीतिक अनुभव र स्थानीय स्तरमा बनाएको विश्वासका आधारमा मतदाताको समर्थन प्राप्त गरेको स्थानीयहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस !