मुट्ठी बाहिर

कथा

मुट्ठी बाहिर
सुन्नुहोस्

उज्यालोमा त्यसलाई हेर्‍यो– गाँठो बाँधिएको रुमाल। उत्सुकतामा गाँठो फुकायो उसले। भित्र जे देख्यो, त्यसले धक्क फुलायो उसको छाती। मुटु बेतोडले  धड्कियो।

 

 

भद्रकालीबाट सिंहदरबार आउने मोडमा उभिएको थियो ऊ। घडीमा आँखा दौडायो– रातको ८ बजेको थियो। माइक्रोबसको पर्खाइमा ऊ १० मिनेटदेखि त्यहीँ थियो। चिसो हावासँगै चम्किरहेका बिजुलीले घनघोर पानी पर्न सक्ने सम्भावना डोर्‍याइरहेका थिए। 

टाढा मेघ गर्जेको सुनियो।

‘माइक्रो कुरेर साध्य नहोला जस्तो छ’, उसले पर्स छाम्यो। ट्याक्सी चढ्नेबित्तिकै दुई, तीन सय रुपैयाँ झ्वाम् हुन्छ, उसलाई राम्रैसँग थाहा थियो। साथमा छाता थिएन। उसमाथि महिना दिनअघि मात्र ऊ बिमारीबाट तंग्रिएको थियो। गाडी कुरेर बस्नुभन्दा, ट्याक्सीबाट जानु उचित ठान्यो।

पुतलीसडकबाट आइरहेको ट्याक्सीलाई उसले रोक्यो। ‘ट्याक्सी ! जावलाखेल जाउँ।’ सायद रुट मिलेर होला, ड्राइभरले कुनै प्रतिवाद गरेन। ऊ ट्याक्सीभित्र बस्यो। काँधमा बोकेको झोला सिटमा राख्यो। थकित आँखा बन्द गरेर सिटमाथि हात फैलायो। उसका औंला केही कुरामाथि परे।
मोबाइलको टर्च बाल्यो र उज्यालोमा त्यसलाई हेर्‍यो– गाँठो बाँधिएको रुमाल। उत्सुकतामा गाँठो फुकायो उसले। भित्र जे देख्यो, त्यसले धक्क फुलायो उसको छाती। मुटु बेतोडले धड्कियो। ट्याक्सी पुल्चोक पुगिसकेको थियो। उसले रुमाल आफ्नो झोलामा राख्यो।

जावलाखेल नपुग्दै बाटोमा चेकिङ गर्दै गरेका दुई पुलिस देखिए। एउटा बाइकवालालाई चेक गर्दै थियो, अर्कोले ट्याक्सीतिर हेर्दै सिटी फुक्यो– ‘ए पख्।’ पुलिसले ड्राइभरसँग कागज हेरुन्जेल उसले झ्यालबाहिर हेर्दै आफूलाई सामान्य देखाइरह्यो। जावलाखेल चोकमा पुगेर उसले ट्याक्सी रोक्यो। ‘यहीँ हो। कति भयो ?’ ‘१७०।’ ड्राइभरले ट्याक्सीको बत्ती बाल्यो। उसले दुई सय रुपैयाँ थमायो र बाँकी फिर्ता लिएन। बाटो सुनसान हुन थालिसकेको थियो। पानी छिट्याउन थालेकाले ऊ हतारहतार कोठातिर बढ्यो।

भित्र पसेर ढोका बन्द गर्‍यो। झ्यालको पर्दा उघारी बाहिर चियायो। पानी दर्किरहेको अगाडिको सडक अँध्यारो र सुनसान थियो। आउँदा कसैले नदेखेकोमा ऊ ढुक्क भयो। पर्दा तानेर सिधै ओछ्यानमा बस्यो। झोलाबाट रुमाल निकाल्यो। उसको अगाडि सुनका दुई झुम्का, नेकलेस र मोटो बाला ट्युबलाइटको सेतो प्रकाशमा टल्किरहेका थिए।

‘यत्तिका गहना ? ओह माई गड !’ एक्साइटमेन्टमा उसले त्यसलाई फेरि रुमालमा पोको पार्‍यो। ‘यो बेच्यो भने कति आउला ? सरसामान किन्नुभन्दा पहिले कोठाभाडा तिर्नुपर्छ। महिना मर्न नपाउँदै, घरबेटी सधैं किचकिच गर्छन्।’ ऊ दंग पर्दै मनमनै मुस्कायो।
धेरै योजना र कल्पनाबीच, ढिलामात्र सुत्न सक्यो ऊ। लागेको निद्रामा पनि त्यही गहनाका सपना देखिरह्यो। उठ्न ढिलो भयो आज। अनायासै सिरानीमुनि हात गए उसका रुमालको पोको यथावत् थियो। साथीले कलेज जान बोलाउन आएको थियो। सञ्चो नभएको बहानामा ऊ गएन।

खाना खाएर बाहिर निस्क्यो। चोकको पत्रिका पसलअगाडि भिड झुम्मिएको थियो। झुन्ड्याइएको पत्रिकाको हेडलाइनमा सबैका आँखा थिए, ‘भोजले गहना खायो।’ उसले उभिएरै पढिसिध्यायो। समाचार अनुसार, भोज गएर फर्केकी महिलाले सबै गहना रुमालमा पोको पारेर ट्याक्सीमा बिर्सेकी थिइन्।
‘त्यत्रो गहना पाएपछि कसले फर्काउँछ र ?’ उसकै पछाडि पत्रिका पढिरहने एकजना बुजु्रकले टिप्पणी गरे। ‘भोजभतेरमा गहनै किन लगाउनु पर्‍यो ? अनि गहनाको पोको नै बिर्सने, कस्ती रैछ ?’ अर्को व्यक्तिले उदेक मान्यो।

ऊ कोठा फर्कियो। थुप्रै विचार मडारिरहेका थिए ऊभित्र। उसले रुमाल भेट्टाएको ड्राइभरलाई के थाहा होला ? उसले आफैंसँग प्रश्न गर्‍यो– ‘ट्याक्सी चढ्ने ममात्रै पनि त हैन। फेरि ड्राइभरले अर्को पेसेन्जर नपाएको होला र ?’
ढोकाबाहिर कोही भर्‍याङ उक्लँदै थियो। एकछिन त सातो गयो उसको। ती व्यक्ति घरबेटीकहाँ आएका रहेछन्, भर्‍याङ चढी माथि गए। ध्यान विचलित भएर उकुसमुकुस भइरहेको थियो।
फ्रेस हुन कोठामा ताला लगाएर ऊ साथीकहाँ निस्कियो। उसलाई देखेर गफ चुटिरहेका साथीमध्ये एउटाले सोध्यो, ‘विकास भन् त, तैंले कुनै गहनाको पोको गाडीमा भेटेको भए फिर्ता गर्थिस् ?’ उसले कुनै जवाफ दिनुअघि अर्को साथीले भन्यो, ‘अहँ, म भए फर्काउँदिनथें। पैसाको अनिकाल परिरहेको बेला को बन्छ र सत्यवादी हरिश्चन्द्र ?’

एफएम बज्दैथियो, ‘ए, चुपचुप। समाचार आउँदै छ।’ ‘घटनाको छानबिन हुँदैछ। हामी छिटो जानकारी बटुलेर गहना फर्काउने कोसिस गर्दैछौं। ट्याक्सी ड्राइभरलाई खोज्ने प्रयास पनि भइरहेको छ।’ इन्सपेक्टर बताउँदै थिए। ऊ फक्र्यो। बाटोमा पुलिसको भ्यान देखेर तर्सियो। ओठमुखै सुक्यो उसको।

साँझ परिसकेको थियो। उसलाई खाना पकाउन मन लागेन। ओछ्यानमा बसेर घटनाहरू केलाउन थाल्यो। गहना पाएर ऊ खुसी थियो, तर त्यो खुसीसँग अदृश्य डर र चिन्ता पनि। जतिबेला पनि उसलाई पुलिस आइहाल्छन् कि भन्ने त्रास भइरहन्थ्यो।
कोठा बाहिर मानिसका आवाज सुनियो। कोही कसैको बारेमा जानकारी लिइरहेको जस्तो लाग्यो उसलाई। एउटाले प्रस्ट स्वरमा भन्यो, ‘ऊ त्यही अगाडिको सेतो घर हो।’ त्यो औंला आफूतिर नै सोझिएको जस्तो लाग्यो। डरले बत्ती निभायो। मुटुको ढुकढुक ऊ स्पष्ट सुनिरहेको थियो। आउन सक्ने पदचापसित कुनै अप्रत्याशित घटना पर्खिरहेको जस्तो महसुस गर्‍यो उसले।

पुलिसको सोधपुछमा बेइज्जती खेप्नुभन्दा पहिले आफैंले फोन गर्ने निर्णय गर्‍यो। उसले मोबाइल निकालेर सय नम्बरमा डायल गर्‍यो। ‘जय नेपाल। इन्सपेक्टर... बोल्दैछु हजुर।’ उताबाट आवाज आयो। ‘इन्स्पेक्टर साब, इन्स्पेक्टर साब’, ऊ बाँकी कुरा भन्न अत्तालियो।
‘हैन, कहिलेदेखि इन्सपेक्टर देख्न थालिस् ? अनि किन यसरी झिँझोली रहेछस् बिनासित्ती ?’ साथी आफ्नो घाँटीबाट उसको हात हटाउँदै करायो। आवाजले ऊ झसंग भयो। हिजो राति कोठामै थियो ऊ। काठमाडौं जानुपर्ने भए पनि नभ्याएर गएको थिएन।

खाना खाएपछि ढिला भएकाले साथी पनि त्यहीँ सुतेको थियो। दुवैजना निकै अबेरसम्म पत्रिकामा छापिएको समाचारबारे गफ गर्दै थिए। खाटको छेउमा लडिरहेको पत्रिकामा ठूला अक्षर चम्किरहेका थिए– ‘युवतीले गाडीमा ९१ लाख फेला पारिन्।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.