अघिल्लो फोनको पत्यार लागेको थिएन। नृपेन्द्रजीले पनि भनेपछि भक्कानो छुट्यो। के बोल्ने ? स्तब्ध भएँ !
सुरेशकिरणजीको जवाफ कुरेर बसेको १९ घण्टा भयो। अनलाइनमा देख्दिनँ। तैपनि वाट्सएपमा लेखेर पठाएको थिएँ– ‘ज्वजलपा सर, बालेन शाहले मेयरको शपथ नेपालभाषामा लिएको शब्दमा उतारेर पठाएको छु। सच्याएर वा शुद्ध गरेर पाउँ।’ तर साथीले मेरो म्यासेज हेरेकै थिएन।
अफलाइनमै छन्। सच्याएर पठाएपछि लेख पूरा गर्छु भनेर सोचिरहेको थिएँ। गत मंगलबार दिउँसो २:२१ बजे नचिनेको नम्बरबाट फोन आयो– ‘ज्वजलपा सर। सुरेशकिरण दाइबारे थाहा पाउनु भयो ?’ परिचित स्वर थियो। नामै नसोधी भने– ‘ज्वजलपा। के भयो ?’
‘हिजो हार्ट एट्याक भएर बित्नुभयो। टिचिङमा राखिएको छ। भोलि अन्त्येष्टि हुन्छ। उहाँ तपाईंको साथी हो। उहाँको सम्झनामा लेख लेखिदिनु पर्यो।’ मुखबाट शब्द फुटेन। अक्क न बक्क भएँ। त्यही बेला नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष तथा पत्रकार नृपेन्द्रलाल श्रेष्ठको फोन आयो। उठाउन नपाउँदै काटियो। तुरुन्तै रिकल गरें। उही सन्देश ‘सुरेशकिरण दाइ बित्नुभयो। भोलि अन्त्येष्टि हुन्छ। उहाँको बारेमा तपाईंको लेखका लागि दिलीपजीले फोन गर्छन्।’ अनि थाहा भयो कि भर्खर कुरा गरेको साथी दिलीप शाहीजी रहेछन्। अघिल्लो फोन सन्देशले पत्यार लागेको थिएन। नृपेन्द्रजीले पनि भनेपछि भक्कानो छुट्यो। हिजोमात्रै मातृभाषा अभियानबारे कुराकानी गरेको पासाको मृत्युको अकल्पनीय सन्देशले मुटु फुट्लाजस्तो भयो। के बोल्ने, के भन्ने, कसलाई भन्ने। स्तब्ध भएँ !

सुरेशकिरण मानन्धरजी मातृभाषा अभियन्तामध्ये अनन्य पासा (साथी) हुन्। २०८२ फागुन २५ गते सोमबार बिहान १० बजेतिर म्यासेन्जरमा १६ मिनेट ४८ सेकेन्ड उनीसँग संवाद भएको थियो। हामीबीच भएको चुरो कुरो एउटैमात्र थियो– जेन—जी आन्दोलनपछि सफलतापूवर्क भर्खरै फागुन २१ गते निर्वाचन सम्पन्न भयो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बहुमत आयो। अब प्रतिनिधिसभाका सांसदमध्ये मातृभाषी सांसदहरूले मातृभाषामा शपथ लिन्छन् कि लिँदैनन् ? किनभने रास्वपा भाषा र संस्कृतिप्रति त्यत्ति धेरै गम्भीर छैन। उसको चुनावी घोषणापत्रले प्रस्ट बोलेको छैन।
- सुरेशकिरणको भनाइ छ, ‘मातृभाषामा प्रकाशित पत्रपत्रिकाले स्रष्टा जन्माउँछ। भाषाको पाठक बढाउँछ। भाषा बचाउँछ।’
निर्वाचनबाट नयाँ अनुहारका जनप्रतिनिधि आएका छन्। निर्वाचितमध्ये उपत्यकाको नेवाः समुदायबाट काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठ, ललितपुर–१ बाट बुद्धरत्न महर्जन, भक्तपुर–१ बाट रुकेश रञ्जित छन्। मातृभाषाप्रति सचेत छन् भन्नेबारे उनीहरूसित परिचित छुइनँ भनेर सुरेशकिरणजीले भने।
तामाङ र नेपालभाषा बागमती प्रदेशको सरकारी कामकाजको भाषा भएकाले बढी चासो संघीय राजधानीमै हुन्छ। बागमती प्रदेश धादिङ–१ बाट आशिका तामाङले जितेकी छन्। प्रतिनिधिसभामा निर्वाचित र समानुपातिमा मनोनीत सबै पार्टीका नेपाली इतरका मातृभाषी सांसदलाई मातृभाषामा शपथग्रहण गराउन त्यसअघि सचेत गराउनुपर्छ भन्नेबारे हाम्रो मतैक्य रह्यो।
अब बन्ने प्रतिनिधिसभाले प्रधानमन्त्रीमा बालेन शाहलाई चयन गर्नेछ नै। बालेनले पक्कै पनि मैथिली मातृभाषामा शपथग्रहण गर्नैपर्ने हुन्छ भन्ने हाम्रो निचोड रह्यो। त्यत्तिखेरै कुरो भयो कि बालेन काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएर आउँदा नेपाली र नेपालभाषामा शपथ लिएका थिए भनेर सुरेशकिरणजीले पुनःस्मरण गरे। मैले त्यो शपथको घटना बिर्सिसकेको रहेछु। अब त्यही नेपालभाषामा शपथको प्रसंगलाई लिएर मेरो लेख तयार हुनेछ भनें। हाम्रो निचोड रह्यो– कि जसरी हुन्छ २७५ जना सांसदले शपथ लिनुअघि संविधानमा उल्लेख नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक धर्मनिरपेक्ष मुलुक हो भने हामीले नागरिकको तर्फबाट ध्यानाकर्षण गराउनु पर्छ।
संवादपछि मेयर बालेनको शपथग्रहणको समाचार सर्च गरेर पढें। भिडियो पनि हेरें। त्यही भिडियोमा वाचित शपथको व्यहोरा अक्षरमा उतारें, नेपाली र नेपालभाषा दुवैमा। नेपालभाषामा पारंगत छुइनँ। त्यसैले त्यही व्यहोरा शुद्ध गरेर पठाइ दिन सुरेशकिरणजीलाई उक्त भिडियोको लिंकसहित शब्द पठाएको थिएँ। तर अब सुरेशकिरणजीसँग अब कहिल्यै नभेटिने गरेर टाढिइसकेका छन्। सम्झना खातिरका यिनै शब्दमात्र बाँकी छन्।
तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय जनजाति विकास समितिले संयुक्त रूपमा आयोजना गरेको दुईदिने राष्ट्रिय भाषा कवि गोष्ठी २०५५ जेठ १३ र १४ गते प्रज्ञाभवन कमलादीमा भएको थियो। त्यसमा नेपालभाषा, मैथिली, अवधि, भोजपुरी, शेर्पा, मगर, थारु, तामाङ, थुलुङ राई, बान्तावा राई, वाम्बुले राई भाषाका करिब ६० कविता वाचन भए। नेपालभाषामा कवि सुरेशकिरणले ‘आज मलाई घण्टाघरले समय सोध्यो’ शीर्षक कवितावाचन गरेका थिए। वाम्बुले राई भाषामा मैले (गणेश राई) ‘आकाश चिथोर्न सकिन्न’ शीर्षक कवितावाचन गरेको थिएँ। उक्त कवि गोष्ठीमा वाचन गरिएका कवितालाई लिएर आयमेली कवि तथा लेखक ईश्वरवल्लभको २०५५ जेठ २३ गते शनिबार कान्तिपुर दैनिकमा ‘म बुद्धिमा आक्रमण गर्छु’ शीर्षक लेख छापिएको थियो। त्यसमा लेखिएको छ– ‘कि सुरेश किरण र गणेश राईहरूका मानस र चेतनाहरूको स्वरूपले हाम्रा मनका सबै कल्पनाले सिर्जनागत किरणहरू बुन्न थालिरहेका छन् (कान्तिपुर : २०५५ जेठ २३ शनिबार)।’
हो, त्यसरी सुरेशकिरणजीसँगको सहयात्रा मातृभाषाले जोडेको थियो। करिब २७ वर्ष रह्यो, एकअर्कालाई भौतिक रूपमा साथीमात्र मानेनौं, लेखन सहकार्य जारी राख्यौं। सुरेशकिरणजी ‘नेपालभाषा टाइम्स’ दैनिकको सम्पादक अनि म ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिकको सम्पादक भएर काम गर्दै आयौं। सुरेशकिरणको भनाइ छ, ‘मातृभाषामा प्रकाशित पत्रपत्रिकाले स्रष्टा जन्माउँछ। भाषाको पाठक बढाउँछ। भाषा बचाउँछ। नेपालीमा जतिसुकै बोले पनि मातृभाषामा आफ्नो अभिव्यक्ति गर्ने साहित्य सशक्त हुन्छ। मातृभाषा साहित्य रचना गर्नु भनेको उत्कृष्ट साहित्य रचना गर्नु हो।’
सर्वव्यापी मान्यता छ कि मान्छेले सुनेर अनि देखेर सिकिन्छ। मभित्र मातृभाषा लेख्नुपर्छ भन्ने चेतनाको दियो बाल्ने काम प्रसिद्ध मुन्धुमविद् बैरागी काइँलाले गर्नुभयो। २०४८ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा उनै बैरागी काइँलाको संयोजकत्वमा भएको किराँत भाषा कवि गोष्ठीमा मैले पहिलोपटक ‘लिब्जु भुम्जु बुक्सिपर्छ’ (लिब्जु भुम्जु उठ्नुपर्छ) शीर्षकमा कविता वाचन गरेको थिएँ। त्यसपछि नेपालभाषाको साहित्यिक गोष्ठीहरूमा उपस्थिति जनाउने मौका पाएँ। नेवारी पहिरनसहित उपस्थित भएर नेपालभाषाका रचना वाचन गर्ने परम्परा देखेर मनमनै कल्पना गरें। मैले पनि यसैगरी वाम्बुले राई भाषामा कविता गोष्ठी गर्नुपर्छ भनेर अठोट लिएँ।
त्यसपछि २०५५ कात्तिक १ गते मेरो गाउँ ओखलढुंगाको हिलेपानीस्थित श्री महादेवस्थान निमावि (हाल– मावि)को प्रांगणमा पहिलो पटक वाम्बुले राई भाषाको कविता गोष्ठी आयोजना गरें। यो क्रम २०८२ मंसिर २० गतेसम्म आइपुग्दा २६औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता तथा गोष्ठी सम्पन्न भइसकेको छ र त्यसको संयोजन गर्दै आएको छु। मातृभाषा अभियानमा नेपालभाषा भन्नासाथ झट्टै अगाडि सम्झिने मित्र सुरेशकिरण मानन्धरलाई असमयमै गुमाउनु पर्दा असह्य पीडा भइरहेको छ। आयुले आकाश चिथोर्न सकिन्न अनि काललाई टार्न सकिन्न रहेछ। माफी चाहन्छु पासा ! अल बिदा सुरेशकिरणजी !
प्रतिक्रिया दिनुहोस !