खम्पा विद्रोहको सन्देश स्पष्ट छ– छिमेकी देशबीचको सीमारेखा केवल राजनीतिक सीमा हो, तर सुमधुर सम्बन्ध भने सीमारहित हुनुपर्छ।
नेपालको इतिहासमा महत्त्वपूर्ण मानिने खम्पा विद्रोह र त्यसको व्यवस्थापनले यही सन्देश दिन्छ। खम्पा विद्रोह केवल एउटा सशस्त्र घटनामात्र थिएन; यो नेपालजस्तो संवेदनशील भू–राजनीतिक अवस्थाको देशका लागि गहिरो पाठ पनि थियो। आजको राजनीतिमा सक्रिय भइरहेका युवा पुस्ताका लागि त यो झन् महत्त्वपूर्ण अध्ययनको विषय बन्न सक्छ। नेपालका राजनीतिक दलहरूले विदेशीलाई सूचना बेच्ने र उनीहरूकै इशारा वा प्रभावमा काम गर्ने गरेको आरोप त पटक–पटक सुन्दै आएका छौं। एकातर्फ देश भ्रष्टाचार, बेथिति र कुशासनले थिलथिलो बनेको छ भने अर्कोतर्फ विभिन्न राजनीतिक शक्तिहरूले एकअर्कालाई विदेशीको इशारामा काम गर्ने वा बाह्य शक्तिको प्रभावमा रहेको आरोप लगाइरहेका छन्।
यस्तो परिस्थितिमा जनताले भने ‘अब त देश बनोस्’ भन्ने अपेक्षासहित राजनीतिक स्थिरताको खोजी गरेका छन्। त्यसैले जनताले आफैं परिवर्तनको पक्षमा उभिँदै करिब–करिब दुई–तिहाइ मत एउटै राजनीतिक शक्तिलाई सुम्पेर देशको जिम्मेवारी नै दिएका छन्। अब स्थिर सरकार प्राप्त भएपछि जनताका अपेक्षा पनि स्पष्ट छन्– देशभित्र सुशासन र सामाजिक न्यायका आधारमा आर्थिक समुन्नति तथा नांगो वैदेशिक हस्तक्षेपबाट मुक्त सन्तुलित र सुमधुर वैदेशिक सम्बन्ध। यी दुई चाहना फरक–फरक जस्ता देखिए पनि वास्तवमा एकअर्काका परिपूरक हुन्। आर्थिक समृद्धिबिनाको राष्ट्रिय स्वाभिमान वा राष्ट्रिय स्वाभिमानबिनाको आर्थिक समृद्धि दिगो हुन सक्दैन भन्ने कुरा विश्वका विभिन्न द्वन्द्व र युद्धले प्रमाणित गरिसकेका छन्। यसैले आजको राजनीतिक नेतृत्व, विशेषगरी राजनीतिमा प्रवेश गरिरहेका युवाले, राष्ट्रिय स्वाभिमान र वैदेशिक सम्बन्धलाई कसरी सन्तुलित रूपमा अगाडि बढाउने भन्ने विषयमा गम्भीर अध्ययन गर्नु आवश्यक छ। यही सन्दर्भमा खम्पा विद्रोहबाट प्राप्त ऐतिहासिक शिक्षा अझ सान्दर्भिक देखिन्छ।
जब चीनले तिब्बतमा नियन्त्रण विस्तार गर्यो, त्यसपछि केही तिब्बती समूह असन्तुष्ट भए। सन् १९५९ मा तिब्बतमा ठूलो विद्रोह भयो, जसलाई इतिहासले ‘तिब्बती विद्रोह १९५९’ भनेर चिनिन्छ। विद्रोह असफल हुने संकेत देखिएपछि केही तिब्बती लडाकु नेपालतर्फ सरे। जसले नेपालको मुस्ताङ क्षेत्रलाई आधार बनाएर चीनविरुद्ध गतिविधि सञ्चालन गर्ने प्रयास गरे। यसले नेपाललाई अत्यन्त जटिल कूटनीतिक परिस्थितिमा पुर्यायो। पछि चीनको सहयोग र नेपाल सरकारको सक्रियतामा नेपाली सेनाले मुस्ताङ क्षेत्रमा गस्ती र निगरानी बढायो। स्थानीय बासिन्दाको सहयोगमा केही विद्रोही पक्राउ परे, केहीले
यसरी नेपालले दीर्घकालीन समाधानतर्फ महत्त्वपूर्ण कदम चाल्यो। यद्यपि यसको छायाँ आजसम्म नेपालको भू–राजनीतिक चेतनामा कुनै न कुनै रूपमा बाँकी छ। खम्पा विद्रोहको निःशस्त्रीकरणपछि नेपालले केही गम्भीर कूटनीतिक तथा रणनीतिक शिक्षा प्राप्त गर्यो। नेपालको ‘एक–चीन नीति’ स्पष्ट भयो। यसरी चीनसँगको विश्वास अझ बलियो बन्यो। तिब्बतसम्बन्धी गतिविधिमा नेपालले अत्यधिक सावधानी अपनाउन थाल्यो। सन्तुलित कूटनीतिक नीति अझ मजबुत बन्यो। राष्ट्रिय सुरक्षा नीतिमा स्पष्टता आयो। साथै नेपाललाई एक संवेदनशील भू–राजनीतिक देशका रूपमा बुझ्ने चेतना पनि बलियो बन्यो।
यी शिक्षा केवल इतिहासका पानामा सीमित रहने विषय होइनन्। आजको राजनीतिक नेतृत्व र नीति निर्माणका लागि पनि मार्गदर्शक हुनुपर्ने विषय हुन्। नीतिगत अस्पष्टता, असन्तुलित अभिव्यक्ति र बाह्य शक्तिप्रति अनावश्यक प्रतिक्रिया कहिलेकाहीँ नेपाललाई पुनः भू–राजनीतिक जटिलताको केन्द्रतिर धकेलिरहेको आभास हुन्छ। नेपालमा भएको खम्पा विद्रोहले सन्देश दिन्छ— राष्ट्रिय स्वाधीनता र सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ। सन्तुलित कूटनीति अपरिहार्य हुन्छ। विदेशी प्रभावप्रति सधैं सचेत रहनुपर्छ। जटिल समस्याको दीर्घकालीन समाधान संवाद र कूटनीतिबाट सम्भव हुन्छ। युवाहरूको ऊर्जा, साहस र आकांक्षा राजनीतिक परिवर्तनको ठूलो शक्ति हो। तर त्यो ऊर्जा यदि अध्ययन, संयम र जिम्मेवारीसँग नजोडिएमा त्यसले अस्थिरता पनि निम्त्याउन सक्छ। पुरानो उखान छ– ‘आफ्नो थैलीको मुख राम्रोसँग बाँध, अरूलाई दोष नदेऊ।’ आजको राजनीतिक र सामाजिक परिवेशमा यो उखान झन् सान्दर्भिक देखिन्छ। भू–राजनीति जस्तो संवेदनशील विषयमा के बुझ्ने, के नबुझ्ने, के बोल्ने, के नबोल्ने भन्ने चेतना आवश्यक हुन्छ।
आज नेपालमा कुनै पनि राजनीतिक विषय उठ्नासाथ त्यसलाई तुरुन्तै भारत, चीन, अमेरिका वा युरोप समर्थक वा विरोधीको लेबल लगाइदिने प्रवृत्ति बढिरहेको छ। केही तथाकथित विश्लेषक, सनसनी खोज्ने पत्रकारिता र अध्ययनविहीन अभिव्यक्ति दिने नेताहरूले वास्तविक बहसलाई अझै भ्रमित बनाइरहेका छन्। भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध उठिरहेको जेन–जी पुस्ताको आवाज आशालाग्दो छ। पछिल्लो राजनीतिक परिवर्तन र त्यसपछिको परिदृश्यमा युवाहरूको उपस्थिति नयाँ सम्भावनाको संकेत हो।
दुई देशबीचका सीमा र सम्बन्ध कहिले अत्यन्त सरल देखिन्छन् भने कहिले अत्यन्त जटिल। इतिहासका कतिपय घटना केवल विगतका स्मृतिमात्र होइनन्; ती भविष्यका सम्भावित संकटप्रति सचेत गराउने जीवित दृष्टान्त पनि हुन्। अनुसन्धानकर्ता तथा खोजमूलक पत्रकार राजेन्द्र कुँवरले लेखेको पुस्तकले खम्पा विद्रोहका विभिन्न आयाम उजागर गरेको छ। लेखकले मुस्ताङ, हुम्ला, दार्चुला, मनाङ, गोरखा, डोल्पा, ताप्लेजुङ, पोखरा, भैरहवा, वीरगन्ज र इनरुवासम्म पुगेर प्रत्यक्षदर्शी, स्थानीय बासिन्दा, नेपाली सेना र सुरक्षाकर्मीसँग अन्तर्वार्ता लिएर तथ्य संकलन गरेका छन्।
पुस्तकले विदेशी गुप्तचर संस्थाहरूको सम्भावित भूमिकादेखि विद्रोहको अन्त्यसम्मको घटनाक्रम प्रस्तुत गर्दछ। यसले नेपाललाई शक्तिशाली राष्ट्रहरूले रणभूमि बनाउन खोजेको सम्भावनाबारे पनि चेतावनी दिन्छ। लेखकको मुख्य सन्देश छ— नजिकका छिमेकीसँग सम्बन्ध सन्तुलित राख्नुपर्छ र टाढाका शक्तिशाली राष्ट्रहरूको सहारामा छिमेकीलाई चिढ्याउनु दीर्घकालीन राष्ट्रहितमा हानिकारक हुन सक्छ। खम्पा विद्रोहको निःशस्त्रीकरण जटिल र चुनौतीपूर्ण प्रक्रिया थियो। अन्ततः खम्पा विद्रोहले दिएको सन्देश अत्यन्त स्पष्ट छ— छिमेकी देशबीचको सीमारेखा केवल राजनीतिक सीमा हो, तर सुमधुर सम्बन्ध भने सीमारहित हुनुपर्छ। इतिहासले बारम्बार सम्झाइरहेको पाठ पनि यही होः आक्रोशले परिवर्तनको सुरुवात गर्न सक्छ, तर संयमता, ज्ञान र जिम्मेवार नेतृत्वले मात्र त्यसलाई दिगो बनाउन सक्छ।
प्रतिक्रिया दिनुहोस !